साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘हलोक्रान्ति’को स्मरण गर्दै एक दिवसीय विचारगोष्ठी

प्रज्ञाप्रतिष्ठान सामाजिक शास्त्र विभाग, हलो क्रान्ति नेपाल र तोयनाथ स्मृति प्रतिष्ठानको आपसी सहकार्यमा ७४ औँ हलो क्रान्ति दिवसका अवसरमा ‘बहुआयामिक हलो क्रान्ति (२००६)’ विषयक एकदिवसीय विचार गोष्ठीको सम्पन्न भएको छ ।

Nepal Telecom ad

काठमाडौँ, ०८० साउन १२ । नेपाल प्रज्ञाप्रतिष्ठान सामाजिक शास्त्र विभाग, हलो क्रान्ति नेपाल र तोयनाथ स्मृति प्रतिष्ठानको आपसी सहकार्यमा ७४ औँ हलो क्रान्ति दिवसका अवसरमा ‘बहुआयामिक हलो क्रान्ति (२००६)’ विषयक एकदिवसीय विचार गोष्ठीको सम्पन्न भएको छ ।

गोष्ठीको समुद्घाटन प्रमुखअतिथि तथा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नुभएको थियो । गोष्ठीको पहिलो सत्रमा बोल्दै उहाँले भन्नुभयो– ‘२००६ साल, साउन ११ गते लमजुङको दुराडाँडामा भएको हलोक्रान्तिले सांस्कृतिक, राजनीतिक र सामाजिक क्रान्ति चेतनाको उद्घोषक गरेको थियो, तत्कालीन समयमा ब्राम्हणले हलो जोत्नु भनेको असामान्य कुरा नै मानिन्थ्यो । हलोक्रान्ति जातीय छुवाछूत अन्धविश्वास, उत्पीडन, शोषण र दमनविरुद्धको एउटा प्रतीकात्मक विद्रोह थियोे ।’ उहाँले ऐतिहासिक हलो क्रान्तिको इतिहासलाई जीवित बनाउन दुराडाँडामा हलो स्तम्भ र हलोपार्क निर्माण लगायतका काममा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस हलोक्रान्तिमा २७ जना ब्राह्मणले हलो जोतेर ऐक्यबद्धता प्रकट गरेका थिए । यसको प्रभाव देशका विभिन्न स्थानमा परेको थियोे । तत्कालीन राणा शासकमा ठुलै खैलाबैला मच्चिएको थियोे । यसैक्रममा प्रमुख अतिथि महतले हलो क्रान्तिका नेतृत्वकर्ता पण्डित तोयनाथ अधिकारी, शेषकान्त अधिकारी, हरिभक्त र श्रीकान्त अधिकारीलाई मरणोपरान्त सम्मान गर्नुभएको थियोे । सो सम्मान पण्डित तोयनाथ अधिकारीका बुहारी सुशीला अधिकारी, लेफ्टिनेन्ट शेषकान्त अधिकारीका छोरा डा.पूर्णकान्त अधिकारी, मुखिया हरिभक्तकी बुहारी लक्ष्मी पौडेल र श्रीकान्त अधिकारीकी श्रीमती गायत्री अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

यसैगरी विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले ७४ वर्षअघि दुराडाँडामा भएको हलोक्रान्ति शान्तिपूर्ण सांस्कृतिक क्रान्ति थियोे भन्नुभयो । उहाँले मानव सभ्यतामा श्रम र शिल्पको आधारमा वर्णाश्रम व्यवस्थाभित्र जातीय छुवाछूत, विभेद र अन्यायको उदय भएकाले त्यसको प्रतिरोधका लागि हलोक्रान्ति भएको उल्लेख गर्नुभयो ।

यसैक्रममा पूर्व सहायक मन्त्री डा. रामचन्द्र अधिकारीले त्यतिबेला समावेशी र समतामूलक समाज निर्माण गर्न हलोक्रान्तिको ऐतिहासिक भूमिका थियोे भन्नुभयो ।

सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले हलोक्रान्ति तत्कालीन समयको विभेदविरुद्वको सांस्कृतिक क्रान्ति थियोे । यो राणा शासनविरुद्ध साङ्केतिक उद्घोष पनि थियोे । यसले मुलुकभरि आफ्नो प्रभाव पारेको थियोे । यसैक्रममा पण्डित तोयनाथ अधिकारी र खजे दुरालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग नगरप्रमुख कोइरालाले अघि सार्नुभयो ।

हलोक्रान्तिका एक नेतृत्वकर्ता श्रीकान्त अधिकारीको मरणोपरान्त सम्मान ग्रहण गर्दै उहाँकी श्रीमती गायत्री अधिकारीले हलोक्रान्तिको इतिहासलाई नबङ्ग्याई निष्पक्ष ढङ्गबाट लेख्नुपर्ने कुरामा जोड दिनुभयो ।

यसैगरी श्रीप्रसाद अधिकारीले हलोक्रान्तिको यथार्थ इतिहासलाई जोगाइराख्न प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो ।
‘राष्ट्रिय दिवस हलोक्रान्ति’ शीर्षकको कविता मुक्तिनाथ घिमिरे र ‘तोयनाथ स्मृति’ शीर्षकको कविता शिवराज पौडेलले वाचन गर्नुभयो ।

गोष्ठीको पहिलो सत्रलाई समापन गर्दै तोयनाथ स्मृति प्रतिष्ठानका अध्यक्ष डा. लक्ष्मीकान्त पौडेलले हलोक्रान्ति नेपालको सम्पदा भएकाले यसको जीवन्तताका लागि दुराडाँडामा हलो पार्क र हलो स्तम्भ निर्माण गर्न प्रतिष्ठान लागि परेको बताउनुभएको थियोे ।

गोष्ठीमा दोस्रो सत्रको अध्यक्षता प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले गर्नु भएको थियोे ।

यस अवसरमा दीपक अधिकारीले ‘बहुआयामिक हलो क्रान्ति (२००६) विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । कार्यपत्रमा लमजुङ दुराडाँडामा २००६ सालमा भएको हलो क्रान्तिको प्रारम्भ इतिहास, यसको पक्ष र विपक्षका मत, आन्तरिक र बाह्य प्रभाव तथा परिणामबारे उल्लेख गरिएको छ ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले लमजुङको दुराडाँडामा भएको हलो क्रान्ति गण्डकी प्रदेशमा मात्रै सीमित नभएर यसको प्रभाव देशको कुनाकाप्चासम्म राजनीतिक र सामाजिक ढङ्गले परेको बताउनुभयो ।

यसैगरी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले कार्यपत्रमाथि टिप्पणी गर्दै रुढीवादी र छुवाछूत विरुद्ध हलोक्रान्ति चेतनशील र क्रान्तिकारी भावनाको उपज रहेको बताउनु भएको थियोे । उहाँले राजनीतिक र सांस्कृतिक क्षेत्रमा यसको व्यापक प्रभाव परेको थियोे थियो भन्नुभयो ।

राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले हलो क्रान्तिको सामाजिक र सांस्कृतिक पक्ष नेपाली समाजमा व्यापक परेको बताउनुभएको थियोे । डा. उमाकान्त अधिकारीले हलोक्रान्तिले सांस्कृतिक क्षेत्रमा ठुलै हलचल ल्याएको र यस चेतनाले रूढीग्रस्त समाजलाई झट्का दिएको थियोे भन्नुभयो ।

यस्तै रामबाबु अधिकारीले हलोक्रान्ति कसैले बिर्सन नमिल्ने एउटा महत्त्वपूर्ण उपलब्धि हो भन्नु भएको थियोे । गोष्ठीको दोस्रो सत्रको समापनका क्रममा प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य डा.कौशिला रिसालले लमजुङको दुराडाँडामा ७४ वर्षअघि भएको हलो क्रान्ति श्रम र समाजसँग अन्तरसम्बन्धित रहेको र यसबारे प्रज्ञा–प्रतिष्ठानमा पहिलोपटक विमर्श हुनु इतिहासको सम्मान हो भन्नुभयो । उहाँले कृषि क्रान्तिको सन्दर्भ उठिरहेको आजको समयमा हलो क्रान्तिले विशेष अर्थ राख्ने, हलो क्रान्तिको सुरुवात गर्ने पण्डित तोयनाथ अधिकारीलगायत चारजना नेतृत्वकर्ताहरू साँच्चिकै कृषि क्रान्तिका अगुवा हुन् भन्नुभयो । श्रम र सिपलाई समाजका हरेक जातजाति र समुदायसँग जोडेर लैजाँदा सार्थक हुने र यसले सामाजिक विकासमा सहयोग पुग्ने कुरा उल्लेख गर्नुभयो ।

अन्त्यमा, हलोक्रान्ति दिवसका सन्दर्भमा आयोजित बहुआयामिक हलो क्रान्ति (२००६) विषयक गोष्ठीले यसको इतिहास र उपलब्धिलाई स्थापित गर्न सरकारले सम्पदाको रूपमा अघि बढाउनु पर्छ भन्ने निष्कर्ष गोष्ठीको रह्यो ।

०००
– चेतनाथ धमला

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x