सुलसुलेनिबन्धकार अधिकारीको ‘संवेदनाको समायोग’ कृतिमाथि विमर्श
दोस्रो सत्र विमर्श-संवादमा वक्ताका रूपमा त्रिविका उपप्राध्यापक कुमारी लामा र डा. अशोक थापाले ज्ञानु अधिकारीकृत ‘संवेदनाको समायोग’ निबन्धसङ्ग्रहबारे गम्भीर बहस गरेका थिए ।

काठमाडौ, ०८० भाद्र ९ । हार्दिक होटल, काठमाडौंमा आज निबन्धकार ज्ञानु अधिकारीको आत्मपरक निबन्धसङ्ग्रह ‘संवेदनाको समायोग’ कृतिमाथि गम्भीर विमर्श कार्यक्रम सम्पन्न भयो ।
विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको सो कार्यक्रममा दुई चरणमा विभक्त भएको थियो ।
कार्यक्रमको पहिलो सत्रमा नवपुस्ताका समीक्षक सावित्रा पाण्डे काफ्ले, अनिता कोइराला, सरस्वती सरस र सुधा शर्माले पाठकीय प्रतिक्रियाका रूपमा पठन अनुभूति व्यक्त गरेका थिए। यस कार्यक्रमको सञ्चालन महेश क्षितिजले गरेका थिए ।
यसैगरी दोस्रो सत्र विमर्श-संवादमा वक्ताका रूपमा त्रिविका उपप्राध्यापक कुमारी लामा र डा. अशोक थापाले ज्ञानु अधिकारीकृत ‘संवेदनाको समायोग’ निबन्धसङ्ग्रहबारे गम्भीर बहस गरेका थिए । यस सत्रको संचालन पत्रकार राजकुमार बानियाँले सहजीकरण गरेका थिए ।
काठमाडौंमा पाठकीय प्रतिक्रियाका साथ भएको यस बहसमा पुस्तकको रचना, शिल्प, शैली भन्दा पनि महिला र पुरुषवाद बढी चर्चा भए पनि सहजकर्ता र सबै वक्ताले ज्ञानु अधिकारीको यस निबन्धकृतिमा पाठकको मनमस्तिष्क हल्लाउने सामर्थ्य रहेको र आत्मपरक निबन्धको इतिहासमा यो कृति विशिष्ट रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा निबन्धकार ज्ञानु अधिकारीले उठेका प्रश्नहरूको उत्तर दिँदै “समालोचना र निबन्ध फरक विधा हो, यी निबन्धमा म स्वतन्त्र भएर पोखिएकी छु” भन्ने धारणा राखेकी थिइन् ।
कार्यक्रममा वक्ताहरूलाई सम्मानोपहार प्रदान गरिएको सो कार्यक्रममा सभापति र प्रमुख अतिथि कुनै नराखिएको औपचारिक- अनौपचारिक र पृथक् किसिमको रहेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest











































