साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ४५३औँ शृङ्खला विशेष कविगोष्ठी सम्पन्न

अध्यक्ष राम विनयको अध्यक्षता र सदस्य प्रशान्त खरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथि एवम् विषयप्रस्तोताका रूपमा प्रा.डा.कृष्णचन्द्र शर्मा उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिमा प्रा.डा.रामप्रसाद ज्ञवाली हुनुहुन्थ्याे ।

Nepal Telecom ad

काठमाडौं, २०८१ साउन ५ । विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४५३औँ शृङ्खला साउन ५ गते शनिबार अपराह्न ठिक १ बजे ‘अध्यात्मवाद र भौतिकवादको समन्वय’ विषयमा विशद चर्चासहित विशेष कविगोष्ठीको आयोजना गरी सम्पन्न गरियो ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सदस्य प्रशान्त खरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथि एवम् विषयप्रस्तोताका रूपमा प्रा.डा.कृष्णचन्द्र शर्मा उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिमा प्रा.डा.रामप्रसाद ज्ञवाली र अतिथिहरूमा मधेसी आयोगकी सदस्य माननीय आभा सेतु सिंह, प्रा.डा.जीवेन्द्र देव गिरी, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, साहित्य सन्ध्याका प्रारम्भका अभियन्ता डा.पुरुषोत्तम सेढाईँ, प्रा.डा.बद्रीविशाल पोखरेल, डा.गोविन्दप्रसाद आचार्य, वरिष्ठ स्रष्टाहरू अनिल पौडेल, गायत्रीकुमार चापागाईँ, डा.राजेन्द्रप्रसाद अधिकारी, डा.कृष्ण सुवेदी, रत्न उप्रेती, खेमराज दाहाल, डम्बर पहाडी, रत्ननिधि रेग्मी, डिल्लीराज अर्याल, डा.चिन्तामणि सिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।

‘अध्यात्मवाद र भौतिकवादको समन्वय’ विषयमा प्रमुख अतिथि प्रा.डा.कृष्णचन्द्र शर्माले विशद चर्चा गर्नुहुँदै विज्ञानले वस्तुको रूपको सम्पूणर् नाश हुँदैन, चेतना भन्ने कुरा मानवमा मात्र होइन रुख बिरुवामा पनि हुन्छ भन्ने मान्यता ११० वर्ष पहिले नै भारतीय वैज्ञानिकले नै पत्ता लगाएकामा पेरिसमा हालसालै धातुमा पनि चेतना हुने, पत्थरमा पनि लैङ्गिकता हुन्छ भन्ने पत्ता लगाएर विज्ञान र अध्यात्मवादको सम्बन्ध छ भन्ने मान्यता पश्चिमा वैज्ञानिकले स्थापित गरेका छन् तर हामीकहाँ अलि फरक छ । हाम्रै शास्त्र गीतामा ज्ञानका सबै परिभाषा पाइन्छ, त्यसका अनुसार नाश नहुने चेतना हो र स्वभाव अध्यात्म हो । सबै सबै विषयको अध्ययन दर्शन हो । हामीकहाँ भने अन्धविश्वासमा अध्यात्मलाई अल्मल्याइएको छ । यथार्थमा भावनाको प्रतीक अध्यात्म हो । पाश्चात्य वैज्ञानिकले पानी नै परम सत्य हो भने, त्यसपछिकाले वायु परम सत्य हो भने तर ग्रिकमा अग्नि परम सत्य हो भनियो । साङ्ख्य दर्शनले चेतना र दर्शनको समन्वय मानेको छ ।

प्लेटो र शंकराचार्यले अभिव्यक्त गरेका विचारले अध्यात्म अन्धविश्वासमा परिणत भएको पाइन्छ । गणितको मुख्य स्रोत पाइथागोरस मानिन्छ, त्यसैगरी इजिप्टका पिरामिडमा लासको कपडा १२ मिटर हुने, तौल पचास ग्राम हुने र लास वर्षौँसम्म सुरक्षित रहने, पिरामिडका दुई सय मिटर माथिसम्म १०० टनका ढुङ्गा राखिएका दृष्टान्तले विज्ञानको प्रयोग भएकै पाइन्छ । हडप्पा सभ्यता तीन हजार वर्ष पुरानो मानिन्छ भने नेपाली मूर्तिलाई वर्कले विश्वविद्यालयले दश हजार वर्ष पुरानो पुष्टि गरेको छ । विकासको पनि चक्र हुन्छ । मानिसको आयु सक्रियताका साथ सय वर्ष मानिएको छ । ऋग्वेदको थालनी नै अग्निपुजनबाट भएको छ । हामीले भने देवता र मानवको सेतुको रूपमा अग्निलाई मान्ने गरेको सभ्यता छ । ऋग्वेद मानवसभ्यताको खोजीको क्रममा फेला परेको हो । पश्चिममा इलियड र ओडेसी प्राचीन महाकाव्य मानिन्छन् भने हामीकहाँ ऋग्वेद सर्वाचीन मानिन्छ । ऋग्वेदले पुरोहित भनेको अगाडि जाने र ब्राह्मण भनेको विद्वान भन्ने मान्यता राखेको छ । अग्निका छेउमा बहुमूल्य धातुहरू पाइन्छन् भनेर विज्ञानले भनेको कुरा हजारौँ वर्ष पहिले नै ऋग्वेदले उजागर गरिसकेको तथ्य हो ।

ऋग्वेदमा सँगै हिँडौँ, सँगै बाँचौँ भनेर समानताका पक्षमा पहिले नै वकालत गरिएको छ । अथर्व वेदले चाहिँ पृथ्वी, रुखबिरुवाका बारेमा महत्तागान गाएको छ । यजुर्वेदमा गणितका कुरा सिकाइएको छ । तसर्थ वेदले समग्र जीवनका बारेमा र जीवनसँग जोडिएका कुराको स्थापना गरेको छ भने पुराण र स्मृतिग्रन्थहरूमा चाहिँ स्वर्ग र नर्कका कुरा उठाइएको छ, विभेदका कुराहरू लेखिएको छ । वेदले भ्रमका पक्षमा होइन सत्यका पक्षमा वकालत गर्ने भएकाले सत्यको पहिचान नहोस् भनेर नै सबैले वेद पढ्ननहुने बन्देज लगाइएको छ र अन्धविश्वासको बढोत्तरी भएको पाइन्छ । वेदमा अग्नि, जल, वायु, आकाशको अस्तित्व स्वीकार गरिएको छ । वेदमा बालविवाहको संस्कार पाइँदैन । मुस्लिम आक्रमणपछि ऐतिहासिक कारणले महिलासुरक्षाका नाममा बालविवाह चलाइएको पाइन्छ । मूर्ति, फूलमाला पदार्थ हुन्, मन्दिर पदार्थ हो तर भावना चाहिँ चेतना हो ।

हाम्रो समाजमा पनि कैयौँ व्यक्तिले अन्धपरम्परालाई बदल्ने प्रयास गरेको पाइन्छ तर परिवर्तन सहज प्रक्रिया भने होइन । पश्चिमको समाजशास्त्रीय सिद्धान्तले सबै विचार समेटेको छ र हामीले पनि आफ्नो विचार निर्माण गर्नुपर्छ । हाम्रो संस्कृति उदार एवम् सहिष्णु भएकाले कमजोर ठानिएको पाइन्छ । अन्धविश्वासप्रति सचेत हुँदै हाम्रा सामाजिक मान्यतालाई समाजवादसँग जोड्नु आवश्यक छ । संस्कृति नै हरेक समाजको पहिचान हो । भौगोलिक स्रोतसाधनलाई प्रयोग गरेर जनताको जीवनस्तर उठाउने माक्र्सवादी दर्शनको व्यवहारिक प्रयोग नभएकाले हाम्रो राजनीति र व्यवहारको तालमेल नभएको हो । अहिलेको अवस्थामा पदार्थ र चेतनाको विवाद होइन समन्वय आवश्यक रहेको छ भन्ने धारणा राख्नुभयो ।

विशेष समारोहमा भानुप्रकाश जोशी, सोइना दाहाल, देबु लुइटेल, प्रा.डा.बद्रीविशाल पोखरेल, डा.चिन्तामणि सिवाकोटी, डा.कृष्ण सुवेदी, रत्न उप्रेती, ज्येष्ठ स्रष्टा रुद्रप्रसाद पोखरेल, आभा सेतु सिंह, गोपालकुमार मैनाली, डा.गोविन्दप्रसाद आचार्य, नर्मदेश्वरी सत्याल, ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा, रत्ननिधि रेग्मी, नवराज श्रेष्ठ, खेमराज निरौला, सञ्जय सोती, असीम सागर, भोलानाथ सुवेदी, अर्जुन अन्योल, गायत्रीकुमार चापागाईँ, केशव ज्ञवाली ‘आगत’, डा.मनोज जोशी, कुसा वस्ताकोटी, जानुका गुरागाईँ, जयन्ता पोखरेल, गीता सापकोटा, कल्पना अधिकारी भट्टराई, बलराम विष्ट, दिल कार्की, देवीप्रसाद घिमिरे, बालकुमार क्षेत्री र दिलबहादुर महराले आआफ्ना कविता, गीत, गजल, हाइकु, लघुकथा, मुक्तक वाचन गर्नुभएको थियो ।

वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै प्रा.डा.रामप्रसाद ज्ञवालीले चार दशकदेखि अविरल र अविश्रान्त यात्रा गरिरहेको, सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्या पुरानो, आधिकाररिक र क्रान्तिकारी संस्था हो । आजको यो विशेष समारोहमा प्रगतिवादी, अध्यात्मप्रतिका, निराशा अभिव्यक्त भएका, प्रगतिशीलताविहीन गरी सबै खाले कविता वाचन गरिएका छन् । वाचित रचनामा विषयको विविधता भने रहेको छ । कवितामा निर्माण, सङ्कल्प र आशावादिताका कुरा पनि आएका छन् । हरेक स्रष्टाले अज्ञानताको सीमा हुँदैन भन्ने बुझ्नुपर्दछ । कविताका निश्चित तत्त्व हुन्छन् तर लय कविताको निजत्व हो ।

कवितामा शब्दको सौन्दर्य हुन्छ र मितव्ययी शब्द चयन गरिनु आवश्यक हुन्छ । विचार तथा भावना वा भावगाम्भीर्य वा थोरैमा धेरै भन्नसक्ने सामथ्र्य कवितामा हुनु आवश्यक छ । पाठककको भित्रसम्म पुग्नेगरी विचार सम्प्रेषण गर्ने र अनुभूतिको तरङ्ग पैदा गर्नसक्ने क्षमता कवितामा हुनुपर्दछ । आनन्द मात्र कविताको उद्देश्य हुनुहुन्न । स्रष्टाले सामूहिकतामा, एकतामा सौन्दर्य खोज्नुपर्छ । अर्थचमत्कार गर्ने शैलीको प्रयोग गरिनुपर्दछ । जबसम्म आलोचना सहन सक्तैन तबसम्म ऊ कवि हुनसक्तैन । कविले शब्दलाई खेलाएर चराले जस्तो गुण बनाउनुपर्दछ । नयाँ नयाँ विम्बको प्रयोग हुनु आवश्यक छ । प्रचलित विम्बको प्रयोग पनि समयसापेक्ष हुनु आवश्यक छ र विम्बको प्रयोगले नयाँपन ल्याउनु आवश्यक छ । हरेक कुरामा राम्रा र नराम्रा पक्ष हुन्छन् । विरोध मात्रैले समस्याको समाधान गर्दैन । कविता लेख्दालेख्दै कवितामै कवि रूपान्तरण हुनसक्नुपर्छ । सानो त्याग, सङ्घर्ष र मिहिनेतले सफल कवि बन्नसकिँदैन । जीवनसँग जोडिएका अनुभूतिको सुन्दर संयोजन आफ्ना सिर्जनामा कविले गर्नसक्नुपर्दछ । कवि हुनु भनेको जिम्मेवार र सम्वेदनशील बन्नु पनि हो ।

कवि विशिष्ट व्यक्ति हो त्यसैले उसको विशिष्ट दायित्व पनि हुन्छ । कविले ढोँगी र पाखण्डी जीवन बाँच्नुहुँदैन । स्रष्टाले दिमाग र मन सफा गर्नु पनि आवश्यक छ र कविमा विनम्रता पनि आवश्यक हुन्छ । कविहरू स्वाभिमानी हुनु चाहिँ आवश्यक छ तर अभिमानी हुनुहुँदैन । कवि आफैँले आफ्नो मूल्याङ्कन गर्नु पनि आवश्यक छ । के लेख्दै छु र कसका लागि लेख्दै छु भन्ने कुराको हेक्का राखिनुपर्दछ । आज वाचित कविताका सर्जहरूले यिनै मान्यताका कसीमा आपूmलाई घोट्नुहोस् र सिर्जनामा अनवरत लागिरहनुहोस् भन्ने शुभकामना पनि दिन्छु भन्नुभयो ।

समारोहका अध्यक्ष राम विनयले यो विशेष समारोमा हामीले चर्चामा रहेको र विवाद पनि रहेको विषय ‘अध्यात्मवाद र भौतिकवादको समन्वय’ विषयमा आज गम्भीर बहस गरेका छौँ । हाम्रो निमन्त्रणा स्वीकार गरिदिएर उपस्थित भइदिनुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरूलगायत सबै सबै धन्यवादका पात्र हुनुहुन्छ । आज गरिएको बहस, सुनिएका सिर्जनाले नेपाली समाज र सम्पूर्ण नेपालीले भोगेका पीडा, व्यहोरेका विकृति जीवन्तरूपमा चित्रण गर्ने र आफ्ना सिर्जनाका माध्यमबाट नेपाली समाजको रूपान्तरणको अपेक्षा राखेका छन् । प्रमुख अतिथिले अत्यन्त विशद रूपमा परिचर्चा गरिदिनुभएको छ, म उहाँप्रति आभार व्यक्त गर्दछु ।

वास्तवमा अहिले विरोध मात्रै होइन समन्वयको आवश्यकता रहेको छ भन्ने यथार्थलाई आजको बहसले उजागर गरेको छ र वाचित कविताले पनि रूपान्तरणको सङ्केत गरेका छन् । समग्रमा आजको यो विशेष समारोह उपयोगी साबित भएको छ भन्ने हामलिाई लागेको छ । सन्ध्याको अर्को महिनाको ४५४ औँ शृङ्खलामा पनि कुनै समसामयिक विषयमा छलफल तथा बहस गर्नेगरी उपस्थितिका लागि निमन्त्रणा गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

०००
– रमेश पोखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x