साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यका विशिष्ट प्रतिभा रमेश विकलकाे स्मृतिमा कार्यक्रम सम्पन्न

वरिष्ठ स्रष्टा रमेश विकलको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै विकल प्रतिष्ठानका उपाध्यक्ष हेमनाथ पौडेलले विकल नेपाली साहित्यका विविध क्षेत्रमा कलम चलाउनु हुने विशिष्ट साधक हुनुभएको बताउनुभयो ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ कार्तिक ४ । नेपाली साहित्यका विशिष्ट प्रतिभा रमेश विकलको ९७ औं जन्म जयन्तीको अवसर पारेर आज एक कार्यक्रम सम्पन्न भएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठान आयोजक र सह आयोजक गोकर्णेश्वर नगरपालिका रहेको उक्त कार्यक्रम रमेश विकल साहित्य प्रतिष्ठान, गोकर्णमा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका निवर्तमान सदस्य सन्तोष चालिसेले विकलले शुरूका दिनहरूमा गोकर्ण क्षेत्रमा साहित्यिक र सामाजिक क्षेत्रमा गर्नुभएका विभिन्न प्रयासहरूलाई स्मरण गर्दै आगामी दिनमा विकल प्रतिष्ठानलाई नेपालकै साहित्यिक अध्ययन केन्द्रका रूपमा विकास गर्दै लग्नुपर्ने बताउनुभयो । विकल प्रतिष्ठानलाई आजको स्तरमा ल्याइपुर्‍याउन रमेश विकलका परिवारले गरेको योगदानलाई पनि वहाँले स्मरण गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि-गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले आफ्नो नगरपालिका साहित्यिक नगरपालिकाका रूपमा परिचित हुँदै जान थालेकोमा गर्व लागेको बताउँदै आगामी बजेटमा विकल प्रतिष्ठानलाई नियमित रूपमा सञ्चालन गर्न नगरपालिकाले कर्मचारीको व्यवस्था गर्न लागेको बताउनुभयो । अगामी दिनमा नगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको साहित्यिक पुरस्कारको व्यवस्था गर्न लागेको पनि वहाँले बताउनुभयो । गोकेर्णेश्वर नगरपालिकाले हाल स्थानीय र राष्ट्रिय स्तरमा प्रत्येक वर्ष साहित्यिक पुरस्कार वितरण गर्दै आएको छ ।

वरिष्ठ स्रष्टा रमेश विकलको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै विकल प्रतिष्ठानका उपाध्यक्ष हेमनाथ पौडेलले विकल नेपाली साहित्यका विविध क्षेत्रमा कलम चलाउनु हुने विशिष्ट साधक हुनुभएको बताउनुभयो । वहाँको विशेष परिचय भने आख्यान विधामा स्थापित भएको वहाँको कथन थियो । विशेषगरि ग्रामीण क्षेत्रका निम्न वर्गीय पात्रहरूलाई चयन गरेर कथा, उपन्यास लेख्न मन पराउने रमेश विकल नेपाली साहित्यको प्रगतिवादी धारलाई प्रतिनिधित्व गर्ने उच्च स्तरको प्रतिभा हुनुहुन्थ्यो; वहाँले भन्नुभयो । नेपाली आख्यान विधाबाट रमेश विकललाई झिकिदिने हो भने आख्यान विधानै अपूरो हुने वहाँको भनाइ थियो । त्यसैगरी प्रतिष्ठानका सदस्य सचिव वसन्त रिजालले गोकर्ण क्षेत्रमा जन्मिएका प्रतिभा रमेश विकल राष्ट्रकै प्रतिभा बन्न सफल हुनुभएकोमा सम्पूर्ण गोकर्ण क्षेत्र नै गौरवान्वित भएको बताउनुभयो ।

रमेश विकल साहित्य प्रतिष्ठानका सभापति रोचक घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा घिमिरेले भव्य भवन सहितको विकल प्रतिष्ठान आजको अवस्थामा आइपुग्नमा विकल परिवारका सदस्यहरू सहित गोकर्ण क्षेत्रका सांसद, गोकर्णेश्वर नगरपालिका लगायत स्थानीयहरूको पनि महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

०००
निर्मल अर्यालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x