साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपाङ्ग राजनीति

चुनाव प्रचार-प्रसारमा तीब्रता आयो- म वैशाखी टेकेर लङ्गडोझैँ भएर हिँड्थेँ । घाइते ढाडले भावी लोकतन्त्रलाई ल्याप्चे लाउन मलाई अप्ठ्यारो होला कि भन्ने पीर थियो ।

Nepal Telecom ad

अनुवाद : निलकमल

(हरिशङ्कर परसाईं हिन्दी साहित्यका होनहार व्यङ्ग्यकार हुन् । बहुमुखी व्यक्तित्वका धनी परसाईंको प्रायः जीवनको सबै समय सामाजिक र सांस्कृतिक कृयाशीलतामा बित्यो । नागपुर विश्वविद्यालयबाट हिन्दी साहित्यमा एम. ए. गर्ने परसाईं जीवनभर पूणर्कालीन लेखक रहे । ‘वसुधा’ नामक पत्रिकाका संस्थापक सम्पादक रहेका परसाईंले धेरै राष्ट्रिय स्तरका पत्रिकाहरूमा नियमित स्तम्भ चलाए । भारतीय राजनीतिक र सांस्कृतिक यथार्थका व्यङ्ग्यधर्मी इतिहासकार परसाईं मानव जीवन-मूल्यको विघटनका द्रष्टा पनि हुन् । शास्वत साहित्यको कुरा गर्ने समालोचकहरूले व्यङ्ग्यलाई फगत पत्रकारिता भने पनि क्षणिक आदर्शलाई साहित्यको उपादेयता दिनेप्रति परसाईंले व्यङ्ग्यात्मक लेखनबाट धज्जी उडाएका छन् ।)

कथा, उपन्यास र निबन्धमा समेत कलम चलाए पनि उनको परिचय समग्रमा व्यङ्ग्य लेखन हो । ‘दो नाक वाले लोग’, ‘तटकी खोज’, ‘बेइमानीकी वरत’, ‘और अन्त में’ तथा ‘वैशाखका फिसलन’ लगायत दर्जनौँ ग्रन्थका स्रष्टा परसाईं सागर विश्वविद्यालयमा मुक्तिबोध पीठका निर्देशक रहे भने शिखर सम्मान, साहित्य अकादमी पुरस्कार तथा जवलपुर विश्वविद्यालयबाट डी.लीट.बाट समेत सम्मानित भएका थिए । प्रस्तुत व्यङ्ग्य निबन्धले समकालीन चुनावी राजनीतिको समग्र चित्र पाठकसमक्ष राखेको छ र यसलाई ‘हरिशङ्कर परसाईं रचनावली’को “विकलाङ्ग राजनीति” शीर्षकको रचनाबाट अनुवाद गरिएको हो । -अनुवादक)

चुनावका बेला हरेक वस्तुको महत्व बढ्छ । यसै कारणले मेरो ढाडको मूल्य पनि बढेको छ ।
तर चुनावी घोषणाको आसपासमा मेरो ढाड भाँचियो, दिसा गर्न ट्वाइलेटमा जाँदा चिप्लिएर । दुर्घटना हुनुमात्र के थियो यो खबर सारा देशभर फैलियो, सन्सनाएर । अर्को समस्या के भने ढाड तुरुन्तै निको हुने लक्षण पनि देखिएन । त्यसैले ढाडमा भारी प्लाष्टर गराएको थिएँ मैले ।

चुनाव प्रचार-प्रसारमा तीब्रता आयो- म वैशाखी टेकेर लङ्गडोझैँ भएर हिँड्थेँ । घाइते ढाडले भावी लोकतन्त्रलाई ल्याप्चे लाउन मलाई अप्ठ्यारो होला कि भन्ने पीर थियो ।

एक दिन दुई-तीन जना राजनीतिक प्राणीहरू मकहाँ आए । तिनीहरू …. पार्टीका कार्यकर्ता थिए । उनीहरूले बडो मर्मश्पर्शी भाषामा मेरो ढाडको हालत र कारणका बारेमा सोधे । मैले बताएपछि तिनीहरू मध्येको कसैले भन्यो- “जाऊँ, अलि अगाडि गएर कुरा गरौँ ।”

म खुट्टा खोच्याउँदै अरु अवस्था भन्दै गएँ । उनीहरू एक अर्काको मुख हेराहेर गर्नथाले ।
एउटाले भन्यो- “भेरी गुड ! यति भयो भने हाम्रो काम चल्छ ।”
अर्कोले भन्यो- “तर ढाड बाहिर त कुनै चोटपटकको लक्षण पनि देखिँदैन त !”
तेस्रोले भन्यो- “केही समस्या छैन । म हल्कासित सानो घाउ पारिदिन्छु । परसाईंजीलाई पनि कुनै पीडा हुँदैन । घाउ बाहिर मलम लाएर पट्टी पनि बाँधौँला ।”
मैले भनो- “तपाईंहरूको कुरा त मैले बुझिन नि !”

उनीहरूले भने- “हामी तपाईंसित एउटा प्रार्थना गर्न आएका हौँ । तपाईं प्रवुद्ध मान्छे हुनुहुन्छ । तपाईंलाई थाहा छ निकट भविश्यमा हुन गइरहेको चुनावको ऐतिहासिक महत्व छ । निरङ्कुुशता र लोकतन्त्रबीच ठूलो टक्कर हुन गइरहेको छ । यो सरकारले नागरिक अधिकारमाथि लगाम लगाएको छ । बोल्ने स्वतन्त्रता हनन् गर्दै कैयौँलाई जेलमा कोचेको छ । न्यायपालिकाको अधिकारको कटौती गरेको छ । हाम्रो पार्टी यो निरङ्कुशतालाई चिरेर लोकतन्त्रको स्थापनाका लागि चुनाव लड्दैछ । यो पवित्र कार्यका लागि हामीलाई तपाईंको साथ चाहिन्छ ।
“म के सहयोग गर्न सक्छु त ?” मैले भनेँ ।
“हाम्रो मतलब- हामीलाई तपाईंको ढाडको सहयोग चाहिन्छ ।” उनीहरूले भने ।
“मेरो ढाड ! ओहो ! म आफैँ सशरीर उपस्थित भएपछि मेरो ढाडैको किन आवश्यक पर्ला ?” मैले आश्चर्य मान्दै भनेँ ।

उनीहरूले भने- “होइन, ढाड मर्किएकाले तपाईंमा अर्को अलग व्यक्तित्व स्थापित भएको छ । मर्केको ढाडले राष्ट्रिय जीवनमा नै तपाईंलाई महत्पूर्ण बनाउन सकेको छ । हामीलाई फलानो पार्टीले मेरो ढाड भाँचिदियो भनी प्रचार गर्न अनुमति दिनुहोस् । यसबाट सारा देशमा त्यो पार्टी विरुद्ध विशाल जनमत खडा हुनेछ ।”
“यो झुटो प्रचार गराउन म पटक्कै चाहन्न ।” मैले भनेँ ।
एक जनाले भन्यो- “सोच्नुहोस् । ठण्डा दिमागेल सोच्नुहोस्- यो देशका लागि हुनेछ, लोकतन्त्रका लागि हुनेछ ।”
अर्काले भन्यो- “मानव अधिकारका लागि ! मानव गरिमा र राष्ट्रोत्थानका लागि ! आखिर तपाईं मानवतावादी प्रवुद्ध लेखक पनि त हो ।”

मैले उनीहरूको कुरा मानिनँ । मलाई मेरो ढाडको ठूलो चिन्ता थियो । म कसैले शब्दले पनि मेरो ढाड नछोओस् भन्ने चाहन्थेँ। उनीहरू अमीलो मन बनाएर फर्किए ।

बेलुका अर्को पार्टीका केही भाइहरू आए । उनीहरूले पनि मेरो ढाडका बारेमा निकै भलाकुसारी गरे र भने- “यति भए राम्रो काम बन्छ ।”
“कुरा खासमा के हो ?” मैले सोधेँ ।

“तपाईंलाई के भन्नु ? तपाईं आफै प्रबुद्ध लेखक हुनुहुन्छ । यो बेला देशको भविष्य सङ्कटमा छ । यदि हाम्रो पार्टीले भावी सरकार बनायो भने देशमा नयाँ उथलपुथल हुनेछ । तर त्यो फलानो पार्टीका मान्छे सबै घोर दक्षिणपन्थी र अवसरवादी छन् । तिनीहरूले देशलाई रसातलमा धकेल्छन् । खत्तमै पार्छन् ।” उनीहरूले भने ।
“त म के गर्न सक्छु ?” मैले फेरि सोधेँ ।
“तपाईंले केही पनि गर्नु पर्दैन । गर्ने हामी छौँ ….पार्टीले सबै गर्छ । प्रजातन्त्रको पुनर्वहालीपछि हामीले जति पटक चुनाव हारेका छौँ त्यो ….पार्टीकै कारणले हारेका छौँ । हामीलाई तपाईंको ढाड ….पार्टीले भाँच्यो भन्ने छूट दिनुहोस् । यसले गर्दा जनमत त्यो पार्टीको विपक्षमा स्वात्तै जान्छ ।” उनीहरूले भने ।

उनीहरूलाई मैले भनेँ- “म मेरो ढाडका बारेमा झुटो प्रचार हुन पटक्कै दिन्न ।”
एउटाले भन्यो- “यो देशका लागि ….. !”
अर्काले भन्यो- “मानवमुक्तिका लागि ….!”
तेस्रोले भन्यो- “प्रगतिशील नीति निर्माणका लागि…. !”
तर म पटक्कै सहमत भइनँ ।
अर्को दिन फेरि …. पार्टीका कार्यकर्ता आए ।
मेरो पुनः असहमतिपछि हिँड्ने बेलामा उनीहरू कड्किए- “आखिर तपाईंको ‘रेट’ कति हो ? त्यो त भन्नुहोस् ।”
मैले गर्जेर भनेँ- “म वेश्या हुँ र मेरो ‘रेट’ हुन्छ ?”
उनीहरूले भने- “हाम्रो मतलब यो भाँच्चिएको ढाडको उपयाेग गरे वापत तपाईं कति चाहनुहुन्छ ? हज्जार, दुई हज्जारले काम चल्छ ?”

मैले उनीहरूलाई झपारेँ । जाँदाजाँदै उनीहरू कराए- “तपाईंले हामीलाई सहयोग नगरेको फल भोग्नै पर्छ । अहिलेको सरकारले तपाईंलाई यसको उपचार खर्च दिएको छ । हाम्रो सरकार बनेपछि (चुनावपछि) एउटा शक्तिसम्पन्न आयोग गठन गरी उपचारका लागि लागेको राज्यको ढिकुटीको त्यो सारा पैसा हामी असुलउपर गर्नेछौँ ।
केही बेरपछि …पार्टीका कार्यकर्ता फेरि आए, जो हिजो पनि आएका थिए ।

उनीहरू भन्न थाले- “बडो लाजमर्दो कुरा भयो परसाईंजी ! तपाईं आफूलाई प्रगतिशील भन्नुहुन्छ तर दुई हजार रुपियाँमा आफूलाई प्रतिकृयावादी कित्तासमक्ष आत्मसमर्पण गर्नुभयो । पैसा नै चाहिएको भए हामी तपाईंलाई पाँचै हजार दिन्थ्यौँ नि ? हाम्रो सरकारले तपाईंको ढाडको उपचारमा यति धेरै रकम खर्च गर्‍यो तर तपाईं भने हाम्रो पार्टीको विरुद्धमा जानुभयो ।”

मैले भनेँ- “म बिकिनँ । मैले …… पार्टीको कुरा मानिनँ । तपाईंहरूको कुरा पनि मानिन । मेरो ढाडलाई म कुनै पनि पार्टीको चुनावी पोष्टर बन्न दिन्न ।”
यति बेला नै …. पार्टीका कार्यकर्ता फेरि आए । उनीहरूलाई देखेर मौजुद अर्को पार्टीका कार्यकर्ताहरू चिच्याउन थाले- “आए ! परसाईंजीलाई दुई हजारमा खरिद गर्ने पार्टीका माछेहरू आए ।”

अर्का पार्टीका कार्यकर्ताहरू यो सुनेर भट्याउन थाले- “दुई हजार ! यो दुई कौडीको लेखकलाई हामी दुई हजार पनि दिन्नौँ । तिमीहरू यसलाई पाँच हजारमा खरिद गर्न आएका होलाऊ ।”
अर्को पक्ष बम्कियो- “यो कुँडाकर्कटलाई हामी थोरै पाँच हजार दिन्छौँ ? पैसा धेर भा’छ र हामीलाई ?”
अब वादविवाद दुई पार्टीका कार्यकर्तातिर सर्‍यो । विवाद विवादमा मात्र सीमित रहे त हुन्थ्यो, हात हाल्लान् नै हुनथाल्यो । यो देखेर मलाई लाग्यो अब देशमा मिलीजुली सरकार बन्ला जस्तो छ । स्थिति मारपिटतिर पुग्यो ।

म दुवै पक्षतिर सम्हाल्नका लागि लागो र भनेँ- “तपाईंहरू दुवै पक्षको पैसा गलत ठाउँमा खर्च हुन खौज्दैछ । मेरो भाँच्चिएको ढाडको अब तपाईंहरूलाई कुनै जरुरत छैन । तपाइंहरूकै अब टाउको फुटेको छ, तपाईंहरूकै नाकबाट रगत बगेको छ । त्यसैका लागि मलाई कबोलेको रकम खर्चनुहोस्- देशका लागि ! मानव अधिकारका लागि ! राष्ट्रियताका लागि ! भ्रष्टाचारमुक्त समाजका लागि ! लोकतन्त्रका लागि । यसका लागि म हरिशङ्कर परसाईं साक्षी बस्न तयार छु ।”

“विकलाङ्ग राजनीति” शीर्षकको रचनाबाट निलकमलको अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x