सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भोलारामको आत्मा

नारदले भने- “म नारद हुँ । तिमीलाई लिन आएको । हिँड स्वर्गमा तिमीलाई । पर्खिरहेका छन् ।” आवाज आयो “मलाई जानु छैन । म त पेन्सनको दरखास्तमा अड्किएको छु ।

Nepal Telecom ad

व्यङ्ग्यानुवाद  :: आर.सी.रिजाल

यस्तो कहिले भएको थिएन ।

धर्मराजले लाखौँ वर्षदेखि असङ्ख्य मान्छेको कर्म र सिफारिसको आधारमा स्वर्ग वा नर्कमा बासस्थान तोक्दै आएका थिए । तर यस्तो कहिल्यै भएको थिएन ।

धर्मराजका सामुन्ने बसेका चित्रगुप्त बारम्बार चस्मा पुछ्दै जिब्रोले बारम्बार औंलामा क लगाउँदै खाताहरूका पाना पल्टाएर हेर्दै थिए । गल्ती पत्ता लाग्नै सकेको थिएन । आखिर उनले दिक्क भएर खाता यस्तो जोडले बन्द गरिदिए, एउटा झिँगा त्यसभित्रै च्यापियो । मरेको चुक झिंगा निकाल्दै भने “महाराज रेकर्ड सबै ठीक छ । भोलारामको आत्माले पाँच दिन पहिले नै शरीर त्यागिसकेको र आत्मा यमदूतको साथ यस लोकको लागि रमाना पनि भइसकेको, तर यहाँ अहिलेसम्म आइपुगेन ।”

धर्मराजले सोधे- “अनि त्यो दूत कहाँ छ त ?” “महाराज, ऊ पनि बेपत्ता छ ।”

त्यति नै बेला ढोका खोलेर यौटा यमदूत होस हराएझैं हत्तारिँदै पस्यो उसको मौलिक कुरूप अनुहार परिश्रम, चिन्ता र भयको कारण झन् विकृत भएको थियो उसलाई देख्नासाथ चित्रगुप्त कराए- “ए तँ कहाँ थिइस् यत्रो दिन ? भोलारामको आत्मा कहाँ छ ?”

यमदूतले हात जोड्दै भन्यो- “हृदयसागर । म कसरी भनु के भयो ? आजसम्म मैले धोका खाएको थिइनँ तर भोलारामको आत्माले मलाई छक्यायो । पाँच दिन पहिले जब भोलारामको आत्माले देह त्याग्यो तब मैले तुरुन्त समातेर यस लोकको यात्रा आरम्भ गरेँ । सहरको सीमाबाहिर निस्केपछि म उसलाई वायुवेगको गतिमा यता ल्याउँदै थिएँ । त्यसैबेला ऊ मेरो हातबाट फुत्केर कहाँ गायब भो कहाँ। यो पाँच दिन मैले सारा ब्रह्माण्डमा छान मारेँ तर कहीं पत्ता लागेन ।”

धर्मराजले रिसाएर भने- “मूर्ख । आत्मा ल्याउँदाल्याउँदै बूढो भैसकिस् तैपनि एउटा जाबो बूढो मान्छेको आत्माले तँलाई छक्यायो ।”

दूतले शिर झुकाएर भन्यो- “महाराज मेरो सावधानीमा बिल्कुल कसर थिएन । मेरा यी अभ्यस्त हातले कस्ता वरिष्ठवरिष्ठ वकिल त छुट्न सकेनन् तर यसपटक त इन्द्रजाल नै भयो ।”

मान्छे आफ्नो साथीलाई केही सामान पठाउँछन् तर बाटोमै रेलका कर्मचारीले उडाइदिन्छन् । चित्रगुप्तले भने- “महाराज आजकाल पृथ्वीमा यस प्रकारको व्यापार धेरै चलेको छ कपडाको पार्सलबाट मोजा निकालेर रेलका अफिसरहरूले लाउँछन् । मालगाडीको डिब्बाका डिब्बा बाटैमा काट्टिन्छन् । एउटा अर्को कुरा पनि हँुदै छ- राजनैतिक दलका नेता विरोधी नेतालाई अपरहण गरी बेपत्ता पार्छन् । कतै भोलारामको आत्मालाई पनि कोही विरोधीले ऊ मरेपछि उडाइदिएका त हैनन् ?”

धर्मराजले व्यङ्ग्यपूर्वक चित्रगुप्तलाई हेर्दै भने- “तेरो पनि रिटायर हुने उमेर भयो। जाबो भोलाराम जस्तो सामान्य गरिब मानिससँग कसको के लेनदेन ?” त्यसैबेला कताबाट घुम्दैफिर्दै नारदमुनि आइपुगे । धर्मराज चुपचाप बसेको देखेर सोधे- “किन धर्मराज ? चिन्तित भएर बस्नुभएको छ नि । अझै नर्कको निवासस्थानको समस्या हल भएको

“छैन कि क्या हो ?” धर्मराजले भने- “त्यो समस्या त उहिल्यै समाधान भैसक्यो नरकमा विगतसाल एकदमै गुणकारी कालिगढ आए । कयौँ घर बनाउने ठेकेदार आए, जसले पूरा पैसा लिएर रद्दी भवन निर्माण गरे । ठूलाठूला इन्जिनियर पनि आए जसले ठेकेदारसँगै मिलेर पञ्चवर्षीय योजनाको र कम झ्वाम पारे ओभरसियरहरू पनि आए, जसले कहिले काम नगरेका मजदुरको नाम हाजिरीमा चढाएर नगद हड़पे उनीहरूले धेरै छिटो नरकमा कयौं भवन निर्माण गरे । तर त्यो समस्या त हल भो अहिले एउटा विकट समस्या आइपरेको छ । भोलाराम नाम गरेको मान्छे मरेको पाँच दिन भयो । त्यसको आत्मा दूतले ल्याउँदाल्याउँदै बीचैमा छक्याएर गायब भयो उसले सारा ब्रह्माण्डमा खोज्यो तर कहीं भेटेन । यदि यस्तो हुन लाग्यो भने पापपुण्यको भेद नै मेटिन्छ ।”

नारदले सोधे- “उसले आयकर तिर्न बाँकी त थिएन ? हुन सक्छ आयकरवालाले रोकेको हो कि ?” चित्रगुप्तले भने- “आम्दानी भए पो कर तिर्नु, भोकले मरेको थियो ।” नारदले भने- “समस्या एकदमै मन छुने खालको छ । ल, मलाई त्यसको नाम ठेगाना भन्नुस् । म पृथ्वीमा जान्छु ।” चित्रगुप्तले खाता हेरेर भने- “उसको नाम भोलाराम थियो ऊ जवलपुर सहरको धमापुर भन्ने टोलको नालीको किनारमा डेढकोठे साह्रै पुरानो घरमा सपरिवार बस्थ्यो।। भन्ने उसकी एक श्रीमती, दुई छोरा र एक छोरी छन् उमेर लगभग ६० वर्ष सरकारी कर्मचारी थियो । रिटायर भएको पाँच वर्ष भयो । उसले घरभाडा नतिरेको एक वर्ष भएको थियो त्यसैले घरधनी उसलाई निकाल्न चाहन्थ्यो यस्तैमा भोलारामले संसार छोडेको आज पाँच दिनभयो । धेरै सम्भव छ, यदि घर मालिक साँच्चिकै मालिक हो भने भोलाराम मर्नासाथ उसको परिवारलाई त्यो घरबाट निकालेको होला त्यसैले उसको परिवारको खोजी गर्न तपाईंले धेरै घुम्नुपर्छ ।” आमाछोरीको संयुक्त रुवाइले नारदले भोलारामको घर पत्ता लगाए ।

ढोकामा गएर नारदले भने- “नारायण । नारायण ।” छोरीले नारदलाई हेरेर भनी- । “अर्को घरतिर जानुस् महाराज ।”

नारदले भने- “मलाई भिक्षा चाहिँदैन, मलाई भोलारामको बारेमा केही कुरा गर्नुछ । तिम्री आमालाई बाहिर पठाऊ छोरी ।” भोलारामकी श्रीमती बाहिर आइन्, अनि नारदले सोधे “आमा, भोलारामलाई के रोग ?”

“के भनु ? गरिबीको बिरामी थिए । पाँच वर्ष भयो, पेन्सनको आशमा बसेको तर पेन्सन अहिलेसम्म पाइएन । हरेक दसपन्ध्र दिनमा एउटा निवेदन दिन्थे, तर कार्यालयबाट केही जवाफ आउदैनथ्यो । आए पनि “तिम्रो पेन्सनको बारेमा विचारविमर्श हुँदै छ” भन्ने जवाफ आउँथ्यो । यो पाँच वर्षमा सबै गहना बेचेर खाइसक्यौं । फेरि भाँडाकुँडा बिक्री गर्यो । अब धरमा बेच्नको लागि केही बाँकी थिएन । चिन्तामा डुब्दाडुब्दै भोकको कारण उहाँको मृत्यु भयो ।

नारदले भने- “के गर्नु हुन्छ आमा ? उसको उमेर यति नै लेखेको रहेछ ।” “यस्तो नभन्नुहोस् महाराज, उमेर त धेरै हुन्थ्यो । महिनामा पचास साठी रुपैयाँ पेन्सन पाएको भए केही अरू काम गरेर गुजारा टर्थ्यो । तर के गर्नु ? नोकरी छुटेको पाँच वर्ष भयो, अहिलेसम्म एक कौडी पाइएन ।”

नारदसँग दुःखको कथा सुन्ने फुर्सद थिएन । उनी आफ्नो विषयमा आए- “आमा, भन्नुस् है उसको यहाँ कसैसँग प्रेम थियो कि ? जसलाई ऊ मन पराउँथ्यो ।” श्रीमतीले भनिन्- “लगाव, माया प्रेम त महाराज बालबच्चासँग हुन्छ ।”

“हैन, परिवारभन्दा बाहिर पनि हुनसक्छ । मेरो मतलब तपाईंबाहेक कुनै स्त्री … ? स्त्रीले घुरेर नारदलाई हेर्दै भनिन्- “अब केही नबोल्नुस् महाराज, तपाईं साधु हुनुहुन्छ, लफङ्गा त हैन ? जीवनभर उहाँले परस्त्रीलाई आँखा उठाएर पनि हेर्नु भएन ।”

नारदले हाँसेर भने- “हो तपाईंले यस्तो सोच्नु ठीक हो। यही हो हरेक असल गृहिणीको आधार । ल त आमा, म हिंडें ।”

स्त्रीले भनिन्- “महाराज तपाईं त साधु र सिद्ध पुरुष हुनुहुन्छ केही उपाय गर्न सक्नुहुन्छ कि ? उनको रोकिएको पेन्सन पाइयोस् र यी बालबच्चाको पेट केही दिन भरियोस् ।”

नारदलाई दया जागिसकेको थियो उनले भने- “साधुको कुरा कसले सुन्छ ? मेरो यहाँ कुनै मठ पनि छैन तैपनि म सरकारी कार्यालयमा गएर कोसिस गरौंला ।” त्यहाँबाट नारद सरकारी कार्यालय पुगे । त्यहाँ पहिलो कोठामा बस्ने कर्मचारीसँग भोलारामको पेन्सनको बारेमा कुरा गरे त्यो कर्मचारीले नारदलाई ध्यानपूर्वक हेरेरे भन्यो- “भोलारामले दरखास्त त दिएको थियो तर त्यसमा तौल राखेको थिएन । त्यसैले कहीं उड्यो होला ।” नारदले भने- “भाइ यहाँ यत्रो पेपरवेट त राखेको छ । त्यसले किन नथिचेको त ?” कर्मचारी हाँस्यो- “तपाईं साधु हुनुहुन्छ, यो दुनियाँदारी सम्झन सक्नुहुन्न । दरखास्त पेपरवेटले थिचिन्न । तैपनि तपाईं पल्लो कोठामा बस्ने कर्मचारी भेट्नुहोस् ।”

नारद अर्को कर्मचारी कहाँ पुगे । उसले तेस्रो कर्मचारी कहाँ पठायो तेस्रोले चौथो, चौथोले पाचौँलाई गर्दै पच्चीस तीस कर्मचारी र अफिसरलाई भेटेर निस्के अनि एउटा पालेले नारदलाई भने- “महाराज, तपाईं किन यो झन्झटमा फस्नु भो ? वर्षभरि चक्कर लगाए पनि तपाईको काम बन्दैन । तपाईं सिधै प्रमुखकहाँ पुग्नुहोस् । उसलाई खुसी पार्न सक्नुभयो भने काम तुरुन्तै हुन्छ ।”

उनलाई रोक्ने कुरै भएन । विना ‘भिजिटिङ्ग कार्ड’ आएको देखेर प्रमुखले रिसाएर भने- ‘यसलाई नारद कार्यालय प्रमुखको कोठामा पुर्‍याऊ ।” बाहिर चौकीदार उँधिरहेको थियो त्यसैले कुनै मठमन्दिर सम्झनु भयो कि क्या हो ? फटाफट भित्र प्रवेश गर्नु भो । चिट किन नपठाए के ?” नारदले भने- “कसरी पठाउनु ? चौकीदार निदाइरहेछ ।”

“के काम छ ?” हाकिमी पाराले सोधे । नारदले “भोलारामको पेन्सनको बारेमा” भने ।

हाकिमले भने- “तपाईं बैरागी हुनुहुन्छ । अफिसको रीतिरिवाज जान्नुहुन्न । साँच्चै भन्ने हो भने भोलारामले गल्ती गर्यो । भाइ, यो पनि एक मन्दिर हो । यहाँ पनि दानपुण्य गर्नुपर्छ । तपाईं भोलारामको आत्मीयजस्तो लाग्छ । भोलारामको दरखास्त उडिरहेको छ, त्यसमा तौल राख्नुहोस् ।”

नारदले सोचे- फेरि यहाँ तौलको समस्या खडा भयो प्रमुखले भने- “भाइ, सरकारी पैसाको मामला हो पेन्सनको काम बीसौं कार्यालयमा जान्छ ढिलो त भैहाल्छ बीस, पटक एउटा कुरा बीस ठाउँमा लेख्नुपर्छ अनि मात्र पक्का हुन्छ जति पेन्सन पाउँछ त्यति त मसलन्द खर्च लाग्छ अँ, छिटो पनि हुनसक्छ तर प्रमुख रोकिए ।

नारदले भने- “के तर ?”

प्रमुखले कुटिल मुस्कानसाथ भने- “केही तौल चाहिन्छ । तपाईंले बुझ्नुभएन जस्तो छ जस्तै तपाईंको यो सुन्दर वीणा छ, यसको तौलले भोलारामको दरखास्तलाई थिच्न सक्छ मेरी छोरी गाउनबजाउन सिक्दै छिन् म यो उनलाई दिन्छु । साधु सन्तको वीणाले त अझ राम्रो स्वर निकाल्छ ।”

नारद आफ्नो विणा खोस्न लागेको देखेर हड्बडाए तर फेरि सम्हालिएर उनले वीणा टेबलमा राखेर भने, “ल यो लिनोस्, अब तुरुन्तै पेन्सनपट्टा बनाइदिनोस् ।” प्रमुख खुसी भएर उनलाई कुर्सीमा बसाए वीणालाई अर्को कुनामा राखेर घन्टी थिचे । पाले हाजिर भयो ।

प्रमुखले आदेश दिए- “वरिष्ठ अधिकृतसँग भोलारामको केसको फाइल मागेर ल्याऊ ।” केहीबेरमै पालेले भोलारामको सय डेढसय दरखास्तले भरिएको फाइल लिएर आयो । त्यसमा पेन्सनको कागत पनि थियो । प्रमुखले फाइलको नाम हेरेर निश्चित गर्नको लागि सोधे- “के नाम भन्नुभएको थियो साधुरामजी तपाईंले ?” नारदले सम्झे प्रमुखले कान कम सुन्छन् । त्यसैले अलि ठूलो स्वरमा भने- “भोलाराम ।”

एक्कासि फाइल भित्रैबाट आवाज आयो “कसले बोलाउँदै छ मलाई ? हुलाकी हो ? पेन्सनपट्टा तयार भयो ?” नारद झस्के । तर तुरुन्त कुरा बुझिहाले र सोधे- “भोलाराम, तिमी के भोलारामको आत्मा हौ ?” फाइलबाट “हो” भन्ने आवाज आयो ।

नारदले भने- “म नारद हुँ । तिमीलाई लिन आएको । हिँड स्वर्गमा तिमीलाई । पर्खिरहेका छन् ।” आवाज आयो “मलाई जानु छैन । म त पेन्सनको दरखास्तमा अड्किएको छु । मलाई यहीँ बस्न मन छ । म आफ्नो दरखास्त छोडेर जान सक्तिनँ ।”

०००
‘भोलारामको आत्मा’ अनुदित कृतिबाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सर्कसमण्डलीको शासन

सर्कसमण्डलीको शासन

हरिशंकर परसाईं
छिनौरा ! नेता या जनता ?

छिनौरा ! नेता या...

हरिशंकर परसाईं
लोकतन्त्रको नौटङ्की

लोकतन्त्रको नौटङ्की

हरिशंकर परसाईं
पैसाकाे खेल

पैसाकाे खेल

हरिशंकर परसाईं
ओ. हेनरी

ओ. हेनरी

हरिशंकर परसाईं
म नर्कबाट बोल्दै छु

म नर्कबाट बोल्दै छु

हरिशंकर परसाईं