भावकेशर बरालबुख्याचाहरू
कसले बनाउन लगायो बालाई यतिका बुख्याचाहरू कसले सजाउन लगायो हाम्रै बारीमा बिकामी मुर्कट्टाहरू ? आखिर कसले बनायो हाम्रो घरलाई यन्त्रमानवको सङ्ग्रहालय ?

आमा !
कसले बनाउन लगायो
बालाई यतिका बुख्याचाहरू ?
कसले सजाउन लगायो
हाम्रै बारीमा बिकामी मुर्कट्टाहरू ?
आखिर कसले बनायो
हाम्रो घरलाई यन्त्रमानवको सङ्ग्रहालय ?
बा दिनहुँ
घामसितै उठेर
गाड्न लगाउनुहुन्थ्यो
बारीमा नयाँ बुख्याचा
र भन्नुहुन्थ्यो,
कान्छा ! अब तैँले बाली कुर्न पर्दैन ।
मख्ख पर्थेँ म
खुसीहरू छचल्किँदै छचल्किँदै
ओठ हुँदै आँखासम्म नाच्न थाल्थे
नसकिँदै हाम्रो प्रणयगान
बाका आँखामा उदासी खेल्न थाल्थे
भन्नुहुन्थ्यो बा-
कान्छा ! यो पालि पनि काम गरेन बुख्याचाले !
प्रत्येक बिहानी
आफूमा सुकुमार आभा लिएर
पूर्वतिरको भन्ज्याङबाट झुल्किन्थ्यो घाम
घामसितै मिसिन खोज्थे हाम्रा गुलाबी मुस्कान
तर, टुसाउन नपाउँदै खुसीका कोपिलाहरू
हुरी चल्थ्यो
झरी पर्थ्यो
तुसारो र कुहिरो खस्थ्यो
अनि मुर्झाउँथे फक्रन तम्तयार कलिला सपनाहरू ।
भन्नुहुन्थ्यो बा-
झुम्राको बनाए पनि
हीराले सजाए पनि
विवेक भर्न नसकेपछि
बुख्याचा, बुख्याचा नै हुँदोरहेछ
कान्छा ! बेकारीमा थुपारिएछ यतिका बुख्याचाहरू !
आज अनुभव गर्दैछु
आखिर रिमोट नै गुमाएपछि
कसरी बिकामी बन्दारहेछन् यन्त्रका मानवहरू !
र, कसरी नाच्दा रहेछन् पराई सङ्गीतमा !
आमा-
कसले बनाउन लगायो
बालाई यतिका बुख्याचाहरू
कसले सजाउन लगायो
हाम्रै बारीमा बिकामी मुर्कट्टाहरू ?
आखिर कसले बनायो
हाम्रो घरलाई यन्त्रमानवको सङ्ग्रहालय ?
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































