बद्रीप्रसाद दाहाल ‘भस्मासुर’युवा पुस्ता धन्यवाद ! बूढो पुस्ता जिन्दावाद !
अभिनव पुस्तालाई विदेशै धकेलेर जन्मभूमिलाई रूखो वृद्धाश्रम, अनाथ अपाङ्गशाला, संरक्षकहीन बालबराला केन्द्र बनाउन कम्मर कस्ने शासकवृत्तिले बूढा पुस्ताहरू सुस्ता क्षेत्रझै त हुँदै छैनन् ?
बद्रीप्रसाद दाहाल :
अङ्ग्रेज मोराहरूले निकै बठ्याइँ झिकेर बूढो पुस्ताको मनलाई सन्चो र सुविधा दिन द्विविधा नभै कति मीठो उखान बनाएछन् – ‘वोल्ड इज गोल्ड’ । यै उखानको प्रभावले त नयाँ पुस्ताका ठेट्ना र अल्लारेहरूलाई आश तथा त्रासमा राख्न वृद्ध पुस्तालाई सुनौलो ज्येष्ठको विशेषणमा रङ्गाएर बूढा पिढीलाई सिँढी नै चढाइदिएछन् । ज्येष्ठ पुस्ता त हल्लुडो, भार, टण्टा नभएर श्रेष्ठ हो नि भनेर देखाउन किमती सुनकै उखानको बखानले सिँगारेछन् वा । खैरे प्रौढहरूले । यो वस्तुवादले गाँजेको लोभी दुनियाँलाई दुन्याई ठिटाठिटीका मगज भुटेर हार्दिकताको न्यानो लिने ट्याक्टिसलाई सानोतिनो प्राक्टिस पक्कै भन्न मिल्दैन ।
हाम्रा नेपाली आहानबाजहरूले पनि ‘आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको भनेर छोरा, नातिनातिना र पनाति पुस्ताबाट मानित हुन धेरै दिमागी कसरतबाट जन्माए होलान् यो उखान । यसैले त यतिखेर संसारकै बूढाबूढी साठीको उमेर काट्दा पनि पाठापाठी लुछ्दै लाठी टेक्ने झन्झटबाट मुक्त भई आ-आफ्ना सरकारसामु मागका चाँग थुपारेर सहुलियत लिन गिडगिडाइ रहेका छन् । अनि भनिरहेछन् ‘बूढा पुस्ता नयाँ पुस्ताका हुन् गाता र छाता, नसम्झ यिनीहरू समाजका कुँडाकर्कट पाता । अनि पराक्रमको प्रतीक बनाएर बोल्छन्- बाघ बूढो र स्याल तन्नेरी ।
अनुभव र प्रज्ञाबाट खारिएका खोजक बूढा पुस्ताले मान्छेलाई चिरञ्जीवी बनाउन हाल ओखतिविज्ञानमा गतिलै फड्को मारेका छन् । एसियाको युरोप भनेर चिनिने जापान र अन्य विकसित पश्चिमी देशमा मान्छेलाई नब्बे वर्षभन्दा बढीको औसत आयु दिन सफल भएर बूढो उमेरसम्म बचाई मानमनितो गजबैले गरेका छन् बा । हामीजस्ता अविकसित देशका बूढाबूढी जो अन्नपानी भन्दा धुलो, धुँवा, दुर्गन्ध, मिति गुज्रिएका ओखती र गुणस्तरहीन खाना मानाका माना भकुर्दा पनि औसत आयु एकहत्तर वर्षबाट माथितिर उक्लन लागिसक्यौँ अरे भनेर हल्ला पिटाएका छन् दैव जाने । यो हाम्रै पाका जमातकै पौरखको खाका त हो नि ।
वास्तवमा बूढो हुनु भनेको आफैले दुःखसाथ आर्जन गरेको सम्पत्तिमा नयाँ पुस्ताबाट हेपिएर चेपिएर बिरानो बनी एक किसिमको शरणार्थी हुने ‘आश्रित-जीवन’ मृत्युकै सहोदर भाइ रहेछ । परचक्रीका छोरी, नातिनी र पनातिनीहरूले आफ्ना छोरा, नाति, पनाति सबैका दिमाग चाटेर आज्ञाकारी लगाम लगाएको अश्व जस्तै बनाउँदा रहेछन् । ससुराली बढी प्यारो र विश्वासिला हुँदा ससुरा, जेठान, सालासाली र सासू आमाहरूका अर्ती, उपदेश र सल्लाह साक्षात् अल्लाहवाणी मानेर आफ्ना छोरानातिहरू त अरूले नै बहकाए बा । त्यसैले आफ्नो घरको हैकमको लगाम परचक्रीले समातेपछि ग्रहहरूमात्र वक्री नभएर ईश्वरसमेत आग्रही पो बन्दारहेछन् गाँठे । भजन, धार्मिक प्रवचन र लोकगीत हेर्न सुन्न मन हुने हामी बूढा- बूढीका अभिलाषालाई टीभी च्यानलहरू नै गायब गरेर हेरेको हेन्यै बनाए बा । नयाँ पुस्ताका मोरामोरीहरूले । तास, भुटन, करी, मम, थुप्पा, पिजा र रेडलेबलका सिसी फोरेर हिपहप संस्कृतिका विकृतिमा छँटाएकाहरूले भान्सा, बैठक, टेलिभिजन, कम्प्युटर र ल्यापटप सबैमा एकाधिकार जमाई जगल्टा हल्लाई गाएको कर्कस रक सुन्नपर्दा उत्तरार्ध नै दिक्क वाक्क पो भा छ त ।
हरेकृष्ण हरेराम त परमधामै पुर्याइ दिए नारन शिव ॥
कहाँ गएर उजुर गर्ने यो एकछत्र विकृतिलाई हरे दैव ॥
सन्चो नभएर खोक्दा र बेथाले गालेर हँ हँ गर्दा डिस्टप भयो, भनेर पनाति जमातका सिल्पटले घरैबाट निकालबास गर्लान् कि जस्तो थिति नै आइसक्यो । नातिनी बुहारीका जमातले त हामी बूढाबूढीलाई ‘वोल्ड डग जस्तो भनेर खिसीट्युरी गरी हैरान पारिसके बा । उनीहरूको इष्टमित्र र साथी आउँदा भने भान्सै उज्यालो, हाम्रा ज्वाइँभानिज आउँदा भान्सामात्र नभएर छोरासमेत अँध्यारो बन्दा मलाई त बूढेसकाल कहर लागेर तापले मर्न पो रहर जाग्न थाल्यो गाँठे । आफ्नो रगत र पसिना बगाएर जोखिमी भ्रष्टाचार गरी उ बेला कमाएको सम्पत्तिमा बाघको छालामा स्यालको रजाइँ भनेझै मोज र भोजका अधिकारी त तेश्रा व्यक्ति र तिनीहरूका सम्बन्धित बनेको देख्दा मेरो त मुटु नै कुटुकुटु खाएर सिरकमा गुटुमुटु बनी रित्तिएको आँसु झार्न मन लाग्छ । घरमा बिग्रेको, भत्केको र फोहर भएको सबै हाम्रै कारणले सम्झेर कैयौँ पटक वृद्धाश्रम र पाटीपौवामा लगार्ने चेतावनीमा नयाँ पुस्ता गर्जिएको घटनाले त यो बूढो शरीर मूढो डौ लोचे कान लगाएर डल्लिनु सिबाय अरू उपाय नै छैन ।
हामीलाई ‘डेटस्पायर पर्सन को बिल्ला भिराएर गिल्ला छ्याप्ने नव- अभिनव कतिपय सन्नति तिथि, श्राद्ध, पूजाअर्चना र यज्ञलाई हेप्दै सोलोमोलो अन्धविश्वासको जामा पहिर्याइदिई धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा धुन्धुकारी नाच लगाएको दृष्य हेरिनसक्नु छ । इष्टमित्र देवपित्र मान्नुपर्छ भनेर डराई डराई भन्दा नातिनीपनातिनी बुहारीहरू हजुरहरू त अति कन्जरभेटिभ रहेछ । थाहा छैन ? संविधानमै धर्मनिरपेक्ष भैसकेपछि यस्ता काम गर्न हुँदैन पो भन्छन् । हामीलाई त भाषण छाँटेर बिहानबेलुका कै रासन नदिने धम्की पछार्न पो थाले बा । अनि मान्छे बूढो भए निउँ खोज्छ, गोरू बूढो भए भीर खोज्छ’ भन्ने उखान फलाकेर ट्वाँ पार्छन् । धमिरा लागेको काठलाई सिकर्मीले पनि पन्छाउँछन् भनेझै हिजोआज त सबैतिरबाट पन्छिन पर्ने परिवेशले बूढौलीपनदेखि वैराग छुटेर आउँछ । मिष्टर जोष्ट, मिष्टर घोष्ट, मिस जुली र मिस एलिजा नाम राखेर तेश्रो पुस्ताले चलन चल्तीका बूढा र पुराना नाम हटाई सटिक नाममा टिक लाउन पर्छ भनी बादुरेपन देखाउँछन् । विष्णु, कृष्ण, राम, लक्ष्मी, राधा, सीता सबै खिया लागेका वोल्ड नाम हुन् भनेर उथाङपथाङ बनाउने कुकाममा झर्को पस्किने क्रम जारी छ ।
वास्तवमा बूढाबूढी भनेको त थारो भैसी, खोरिया बारी र थोत्रा उपकरण जस्तै पो ठान्छन् नयाँ पुस्ता । कतिपय बूढाबूढीका त ज्येष्ठभत्ता पेन्सन र उपदान वा दक्षिणासमेतमा तेश्रो पुस्ता भागवण्डावादी नेताझै बनेर र्याल काढ्छन् भनी कानेखुसीमा दुखेसोको पोको फुकाई उदास पो बनेका छन् त हाम्रा समवयी साथीहरू । यसरी दिउसै रात पार्ने घटना उपघटनाबाट त धर्म, न्याय, नैतिकता र आचारले जिब्रो टोकिसकेको प्रमाणित हुन्छ । पनाति पुस्ता त ‘मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव, जस्ता वैदिक उक्ति बूढाबूढीहरूको काम नगरी खाने जुक्ति हो भनी हाकाहाकी लाले र कथुरेजस्ता बनेर डुक्रन्छन् बा । अन्त भन्दा तलवितल पर्छ भनेर बूढाका जमघटमा हामी सबै यो पीडाको विरेचन गर्दछौँ । तन बूढो हुनु भनेको विचार थोत्रिनु, सङ्कीणर् सोचाइहरू जम्मा हुनु, वा अन्धविश्वासको पहाड गजधम्म ठडिनु, भन्ने जडसूत्रवादी चिन्तनले नयाँ पुस्ता मजैले गाँजियो ।
कतिपय विकसित देशमा सत्तरी कटेका पाका नै राज्यको नवीन खाका दिने तागत राखेको देखेर पनि किन यसरी हेपेका? वास्तवमा यो अपरा विद्याकै कमाल हो । परा विद्याको ह्रास वा आध्यात्मिक शिक्षाको बकवास गर्नाले हामीलाई कता लैजाँदै छ कता ? हाम्रो शिक्षानीति त न पूर्ण भौतिकवादी, न अध्यात्मवादी न व्यवहारवादी भएकै परिणति हो त यस्ता विधि व्यवहार ? अझ अभिनव पुस्तालाई विदेशै धकेलेर जन्मभूमिलाई रूखो वृद्धाश्रम, अनाथ अपाङ्गशाला, संरक्षकहीन बालबराला केन्द्र बनाउन कम्मर कस्ने शासकवृत्तिले बूढा पुस्ताहरू सुस्ता क्षेत्रझै त हुँदै छैनन् ? गर्ने भन्दा गराउन उचाल्ने बढी दोषी हुने हुँदा औला त आफैतिर सोझिएको छ है ज्येष्ठ श्रेष्ठ मेरा साथीहरू । यसैले अब यो घडीमा बूढा पुस्ता जिन्दावाद । युवा पुस्ता धन्यवाद । बनाउन नयाँ रणनीति र कार्यनीति नेपालका राजनीतिक दलहरूलाई जित्ने गरी हाम्रो तेत्तीस लाखको पाका जमातका भाका घन्काऔँ । जय समृद्ध वृद्ध । धन्यवाद नूतन-अभिनूतन युवा मित्र । जिन्दावाद ज्येष्ठ एवं श्रेष्ठ युवा पुस्ताका भर्भराउँदा चित्र ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest






































