बागमती प्रदेश सञ्चार कार्यालय लामो

भैरव अर्याल : मभित्रका मेरा मित्र

यसअर्थमा धेरै लेखक कवि भैरव नबनून् । भैरव नै बन्ने हो भने उनको लेखन सिप, शैली, कुशलता आफूमा भरेर अघि बढून् । नभए जो जस्तो छ त्यस्तै मौलिक रूपमा अघि बढून् । नेपालमा भैरव जस्तो उनको काल खण्डमा थोरै थिए । अहिले धेरै छन् ।

खोइ कसरी गोकणर्तिर बस्ने भैरव म जाउलाखेलमा बस्ने मेरा मित्र हुन आइपुगे । अहिले सम्झेका दुई सम्भावना मात्र छन् । एउटा जगदम्बा प्रेस र अर्को गोर्खापत्र संस्थान । हो धेरै भेट त्यतै भएको थियो ।यो बीस तीस सालभित्र हुनुपर्छ । पहिलो भेट चाहिँ वासुदेवजीको शङ्कर महलको उत्तर पट्टिको घरमा भएको चाहिँ मसँग प्रमाण नै छ । पछि मन्त्रीक्वाटर बनाउन त्यो ठाउँ अधिग्रहणमा पर्‍यो र उहाँ श्रीमहलको दक्षिणतिर घर बनाएर बस्नपुग्नु भो । वासुदेवजीको पुरानो घरमा हामी बेला बेला भेला हुन्थ्यौँ । त्यहाँ वासुदेवजी, दातारामजी, श्रीधर खनाल, केशवराज पिँडालीजी, भैरव अर्यालजी, मुखियाजी र म सहोदर रूपमा भेट गर्ने थलो भएको थियो । त्यसबखत साझाका जियम पन्तजी पनि भेट हुन्थ्यो ।

वासुदेवजीको घरमा आलु चिउराको खाजा उहाकी कान्छी श्रीमती शान्तिजीले ख्वाउनुहुन्थ्यो । यसै बेलादेखि पछि जोडिन आएका श्याम गोतामेसमेत गर्दा नवग्रहको रूपमा अघि बढेको थियो । यसै समूहबाट कौवा प्रकाशनदेखि सभागृहमा पहिलो हास्य सम्मेलनको अवधारणा अघि बढेको थियो । कौवा प्रकाशनबाट प्रकाशित हास्यव्यङ्ग्य साझामा बेच्न दिने गरेको र त्यसको आम्दानीबाट अर्को प्रकाशनलाई भरथेग गर्ने गरिएको थियो । पछि हाम्रो भेटघाट कहिले जगदम्बा प्रेस, कहिले वासुदेवजीको पुल्चोक घरमा हुने गथ्र्यो । भैरव अर्याल मेरो बिहेमा जाउलाखेल घरमा एकपल्ट आउनुभएको थियो ।

केशवराज पिँडाली पनि राजाको सचिवकहाँ जान मकहाँ आउनुभएको थियो एकपल्ट मात्र । वासुदेवजीको घरमा तुलसी मेहरदेखि, साम्बभक्त सुवेदी, लीलाध्वज थापा, दाताराम शर्मा बेला बेला भेट हुने गथ्र्यो । त्यहाँ बालकृष्ण सम दम्पती र रामकृष्ण शर्मा (समालोचक) आदि धेरै व्यक्तिको आवतजावत हुन्थ्यो । दातारामजी र मेरो भेट धेरैजसो वासुदेवजीको घरमा हुने गथ्र्यो । टेकविर मुखियाजी पनि आउने गर्नुहुन्थ्यो । तर उहाको घरमा भैरवलाई र पिँडालीजीलाई भेट भएन ।

भैरवको किताप छाप्नमा वासुदेवजीको अग्रणी भूमिका छ । भैरवलाई केही सहयोग पनि दिएको भनी सुनेको छु । भैरव जगदम्बा प्रेसमा भेट हुने र उनलाई भेट्न पर्दा गोर्खापत्र संस्थानमा जानुपथ्र्यो । जगदम्बा प्रेसमा कृष्णचन्द्रसिंह प्रधान, राजेश्वर देवकोटादेखि धेरै कवि, लेखक वासुदेवजीको कोठामा भेला हुन्थे । त्यहाँ दिउँसो ठीक एक बजे चिया सबैलाई ख्वाउने चलन थियो । यसै बेला लेखक, कविसँग भेट हुने गथ्र्यो । गफ चल्थ्यो । साहित्यिक माहोल जम्थ्यो र कहिलेकाहीँ कमल दीक्षित आएर एकदुई कुरा च्वाट्ट भनी फर्कने गर्नुहुन्थ्यो । मेरो लागि जगदम्बा प्रेस धेरै कुरासँग जोडिएको सम्झन्छु । पहिलो कुरा मदन पुरस्कार पुस्तकालयमा म विद्यार्थी जीवनमा नै पहिलोपल्ट पुग्दा कमल दीक्षितले मेरो लाडलापनको फोटो खिचेर त्यहाँ राखेको सम्झन्छु । साथै पुस्तकालयमा किताप मिलाएर राख्नुभएको बताउँदै “ल भन्नुस् कुन किताप हेर्न चाहनुहुन्छ ?” भन्दा मैले ‘एक पापको कथा’ भन्ने बित्तिकै उहाँले निकालेर देखाउँदा मलाई अनौठो लागेको थियो । मैले पनि यसअघि जाउलाखेलको अध्ययन गृह पुस्तकालय चलाएर पुस्तकालयसम्बन्धी केही कुरा ज्ञान गर्ने अवसर पाएको थिएँ ।

जगदम्बाबाट सञ्चालित विद्या पुरस्कारमा काठमाडौँका हाइस्कुलेहरूको निबन्ध प्रतियोगितामा म प्रथम भएको थिएँ र त्यहाँ महिनाको रु. ३० रकम बुझ्न जानुपथ्र्यो । वासुदेवजीलाई यही निबन्ध प्रतियोगितामा गार्ड बस्दादेखि चिनेको थिएँ । सायद १९ सालतिर हुनुपर्छ । त्यस बखतसम्म मैले केही हास्यव्यङ्ग्य लेख मायालु पत्रिकामा छापिसकेको थिए । मैले केशवराज पिँडालीको ‘खै खै’ नेपाल एकेडेमीबाट प्रकाशित सायद १७ सालमा निस्केको २४-२५ सालतिर हेर्न भ्याएँ । मैले १८ सालमा आफ्नो पहिलो लेख म अग्लो भएँ प्रकाशित गर्दासम्म मलाई हास्यव्यङ्ग्यबारे थाहा थिएन । पछि साथीहरूले मन पराए र त्यस्तै लेख्दै जाँदा ख्यालख्याल किताप २०२३ मा प्रकाशित भयो । यो कितापले तहल्का मचाएपछि भैरवको पढन धेरैले सिफारिस गरे र २०२२ मा निस्केको उनको किताप पनि पिँडाली पढेपछि पढ्न थाले । रमाइलो लाग्यो । पिँडालीको ‘शूरवीरहरूको नर्क यात्रा’ले हसाउनसम्म हसायो । भैरवको काउकुतीले निकै प्रभाव परेकैले मैले उनलाई मेरो पहिलो हास्यव्यङ्ग्य पुस्तक ‘ख्याल ख्याल’मा भूमिका लेख्न अनुरोध गरेको थिएँ जुन मलाई अहिलेसम्म त्यत्तिकै मन पर्ने भूमिका हो ।

२०२५ सालमा मेरो हास्यव्यङ्ग्य ‘सन्चै छ ?’ निस्केपछि भैरवसँग राम्रो मित्रता रह्यो । म नयाँ सडक सधैँ जसो जान्थे र पीपलको बोटमा उनी गोर्खापत्रबाट फर्कंदा भेट हुन्थ्यो र हामी त्यहाँबाट रत्नपार्कतिर लाग्थ्यौँ । नयाँ सडकको सन्देशगृहमा म नवनीत, कादम्बिनी, सरिता, धर्मयुग, साप्ताहिक हिन्दुस्तान र दिनमान र ब्लिजसमेत जे निस्केको भेटे पनि किनेर लिने गर्थे । भैरवसँग भेटेपछि रत्नपार्कको रेस्टुरामा चिया नास्ता कचौडी, समोसा, निम्की आदि खाजा खाएर बस्दा गफ गाफ हुन्थ्यो । उनले पत्रिका हेर्दा मन परेको यो म लैजान्छु भन्थे । साप्ताहिक हिन्दुस्तान र धर्मयुगको त फागु अङ्कमा हास्यव्यङ्ग्य विशेषाङ्क नै हुने गथ्र्यो । कादम्बिनीमा पनि हास्यव्यङ्ग्यको स्तरीय स्तम्भ हुन्थ्यो । पहिला पकेटबुक साइजमा भारु एकको पुस्तक पनि राम्राराम्रा निस्कने गथ्र्यो र त्यो सबैको रुचिको विषयमा भेटिन्थ्यो । त्यस बखत धेरै पत्रिका र किताप किनेर पढ्ने बानी नै बसेको थियो । भैरवले एकपल्ट भनेका थिए अब दुइटा किताप लेख्नुपर्छ ।

अर्काको आँखामा आफू र आफ्नो आँखामा अरू । उनले खस खस पत्रिका पनि निकाल्नु राम्रो हुन्छ भन्थे । पछि मैले कलियुग हास्यव्यङ्ग्य पत्रिका मेरो सम्पादनमा २७-२८ सालमा निकालेर उनका केही रचना पनि छापेको थिए । भैरवले मलाई भेटेपिच्छे सन्चै छ ? भन्ने र त्यो कितापको चर्चा गरेर मान्छेलाई कहिल्यै सन्चो हुन्न । एउटा कुराले सन्चो भए अर्को बिसन्चो निस्कन्छ भनेर गाला फुलाउँदै हास्थे उनी । भैरवमा धेरै असन्तुष्टि थियो । उनी रिसाउँदा नराम्रा शब्द प्रयोग गर्न पनि पछि पर्दैनथे । उनी आफ्नो अङ्ग्रेजीमा कमजोर हुँदा एकपल्ट मलाई त्रि.वि.मा अङ्ग्रेजीमा भर्ना हुन जाऊ भन्दै हामी दुवै विभागमा पुगेका थियौ । तर अङ्ग्रेजीमा भर्ना हुन बी.ए. मा अङ्ग्रेजी हुनुपर्ने कारणले फर्केका थियौ । भैरवको मुस्कान मलाई निकै मन पथ्र्यो र उनीसँग हिँड्दा उनको अनुहार बेला बेला हेर्ने गर्थे । भैरव गोर्खापत्रमा सम्पादनको काम गर्दा त्यसबखतको पञ्चायतलाई राम्रै मानेर लेख्ने पनि गर्थे । तर पछि उनलाई प्रगतिवादी पनि भन्ने सुने । प्रत्येक लेखकले अग्रगामी विचार नै दिने हुँदा राजनीतिक रूपको टाचा लगाउनु आवश्यक छैन र कसैले आफ्नो स्वतन्त्र विचार कसैको पक्षमा दिन्छ भने पनि त्यसलाई गुटमा लिनु उचित हुँदैन । वास्तवमा लेखकले सबैबाट माथि उठेर सिर्जना गर्नुपर्छ भन्ने मेरो मान्यता छ । संसारमा अनेक दर्शन, सिद्धान्त, शास्त्रहरू छन् ।

कुनै एउटामा मात्र भर पर्नु बा त्यसको पछि लाग्नु अरू राम्रा विचारबाट वञ्चित हुनु हो । कुनै एउटै सिद्धान्तमा, शास्त्र र वादमा लाग्नु भेडाको लक्षण हो । राम्रा विचार, देश, काल, परिस्थितिअनुसार राम्रो विचारको अनुसरण गर्नु मान्छेको चेतनालाई सही प्रयोग गर्नु हो भन्ने मेरो मान्यता छ । मान्छेको अस्तित्व स्वतन्त्र रूपमा रहनुपर्ने मेरो दर्शनले मार्गदर्शन गरेको छ ।
भैरवको भात खाने मेसोको जागिरको भूमिका र साहित्यको भूमिका भिन्न विचारले युक्त छन् । उनले राजनीतिक व्यङ्ग्य कमै लेखे । सामाजिक बिकार र विकृति, बेथितिमा व्यङ्ग्य सरल र रमाइलो पाराले लेखे । उनको निबन्ध कुनै कुनै विज्ञान सम्बद्ध पनि छन् । कुनै कुनै अवधारणा हतपती पुरानो नहुने पाराका पनि छन् । कुनै कुनै त्यस बखतको ग्रामीण परिवेश र आधुनिक समाजको द्वन्द्व देखाउन सफल छन् । उनको समयको सामाजिक विकृतिलाई व्यङ्ग्य बजार्न उनी सफल भए र ती प्रभावपूणर् रहे । हास्यव्यङ्ग्य चेतनाकै कारण उनले समाजप्रति विचारको मात्र हैन जीवनकै विद्रोह गर्दै रहे । उनले आफ्नो शारीरिक कमजोरी खास गरी घाँटीको समस्या भएकोमा अलि असन्तुष्टि व्यक्त भएको देखिएको थियो । कलियुगमा मान्छेको फोटोको टाउको र शरीर व्यङ्ग्य चित्रका रूपमा पेस गर्दा उनलाई केटी बनाइएको, पिँडालीलाई कुखुराको पोथीले चुरोट लिएको आदि चित्रण गरी कार्टुन मुखियाजीले बनाउनुभएकोमा उनलाई अलि हीनताबोध भएको कुरा गरेको भन्ने सुनेको थिए ।

हास्यव्यङ्ग्यकारले आफै माथि व्यङ्ग्य गर्ने हुँदा त्यस बखत व्यङ्ग्य चित्र पनि उनैमा केन्द्रित गरेर समाजलाई व्यङ्ग्य गर्ने सोच अघि बढेको थियो । त्यतिखेर कार्टुन भरखर जस्तै प्रारम्भ भएको थियो । यस मामलामा श्याम गोतामेले आफ्नै कथा बनाएर मपाई निबन्धले राम्रै व्यङ्ग्य ठोकेको थियो । गोर्खापत्रमा त्यस बखत केशवराज पिँडाली पनि सम्पादन गर्ने जागिरमा थिए ।

पिँडाली त अझ श्रीमतीलाई नै विषय बनाएर उडाउँथे । यी दुवै हास्यव्यङ्ग्य सारथिमा खटपट हुने गथ्र्यो भन्ने सुनेको थिए । एकपल्ट बितेका साहित्यकारका बारे लेखिएको लेखमा पिँडालीले अरू साहित्यकारको नामको लहरमा बितेकाको मात्र दिएको भन्ने बिर्सेर आफ्नो नाम छुटेकोदेखि मरेका साहित्यकारको लहरमा जिउँदै उनी देखिएको कुरा हाँसोको विषय बनेको थियो । पिँडालीजीमा सबै म नै हुँ भन्ने भावना बढी थियो । उनी पछि लेखनमा चिप्लदै गए र स्तरहीन लेख्न थाले पैसाको लागि स्तम्भकार भएर । उनको लेख मैले लेखेको ठान्नेहरूले के लेखेको भनेर मलाई गाली पनि भोग्नुपरेको छ । पिँडालीजीले मेरो सन्चै छ ? मा भूमिका राम्रो लेखेका हुन् । उनीसँग पछि सम्बन्ध राम्रो थ्यो र त्यसबखत उनलाई हास्यव्यङ्ग्य समाजले हासने पुर्पुरो पुरस्कार पनि प्रदान गरेको थियो । मलाई मन पर्ने मेरा अग्रणी हास्यव्यङ्ग्यकारमा केरा पिँडाली र अर्याल नै हुन् । अरूले त्यत्तिको योगदान पनि गरेको देखिएको छैन । मान्छेहरू केशवराज पिँडाली र भैरव अर्यालपछि रामकुमार पाँडेको नाम जोडेर हास्यका त्रिमूर्ती पनि भन्ने गर्छन् । तर मलाई के लाग्छ भने मैले हास्यव्यङ्ग्य कम लेखे बढी पाँडे पुराण लेखेको हुँदा मेरो काम अलि भिन्न छ । उहाहरूसँग टाउको जोड्न मेरो हैसियत पुग्ला जस्तो लाग्दैन ।

हरिमोहन झा र कृष्णचन्द्रको हास्यव्यङ्ग्य मैले त्यस्तै सानो कितापबाट पढ्न भ्याएको थिए । वासुदेवजीले मेरो पुस्तक सन्चै छ ? मा व्यङ्ग्य चित्र राखेको देख्दा भैरवकोमा पनि राख्ने कुरा गरेपछि मैले मुखियाजी लगेर चिनाएको थिए । मुखियाजी राम्रो कलाकार हुनुहुन्थ्यो । तर व्यङ्ग्य चित्रकार होइन । मैले धेरै कर गरे पछि सुरु गर्नुभएको थियो र उहाँ पछि राम्रो व्यङ्ग्य चित्रकारको रूपमा उत्रनुभएको थियो ।

वासुदेवजीलाई कार्टुनको बारे केही ज्ञान थिएन र पाश्चात्य दर्शनको पनि कुनै अध्ययन । उहाँ पूर्वीय दर्शनमा ज्ञाता शिक्षक पनि । हामी दुईको सङ्गतमा दुवै कुरा आदान प्रदान हुँदा रमाइलोसँग सङ्गतको समय बितेको थियो । उहाँले धेरैको नक्कली नाम राख्नुभएको र मेरो राखेको थिएन । मैले २०३४ सालमा हास्यव्यङ्ग्यकारको भेला गरी मनोरन्जनको आलुपार्टी कार्यक्रमको थालनी गर्दा वासुदेवजीलाई र्उहाको कामको कदर गर्दै टेकवीर मुखियाजी र मेरो हस्ताक्षरमा अभिनन्दन पत्र प्रदान गरेको थियो । उनको नक्कली नामहरू बटुलेर मैले नेपाल कीर्तिमानमा राखेको थिए । उहाँ पहिला स्कुलमा पढाउने हुँदा उहालाई समकालीनहरूले माडसाहेब भन्थे । मलाई भाइसाहेब भन्ने गर्नुहुन्थ्यो । माया गर्नुहुन्थ्यो पुल्चोकमा बस्दा धेरै भेट हुन्थ्यो । पछि ढुङ्गा अड्डा पुगेपछि कम । उहाले आफ्ना सानातिना काम पनि सबै लेखोटमा उतारेर पुस्तकहरू आफैले प्रकाशन गर्नुभएको थियो । एक दिन श्याम गोतामेले मेरो अगाडि भन्नुभएको थियो बुढाले आफ्नोबारे लेखेर आफै प्रकाशन किन गरेका होलान् बरु हामीलाई भनेको भए हाम्रो नाममा हुन्थ्यो नि ? मैले केही जवाफ दिइनँ, हाँसिरहे । वास्तवमा वासुदेवको दुई पुस्तक एउटा सानो भीमसेनपाती र चिट्ठीचपेटा मात्र हास्यव्यङ्ग्य पाराको कृति मैले धेरै पटक पढेको हुँ अरू त्यति थाहा भएन । उहाँको व्यवहार मनोरन्जनात्मक थियो । उहाँले सबैलाई खुसी पार्ने र उत्साह भर्ने गर्नुहुन्थ्यो । भैरवका बारे कुरा गरिरहनुहुन्थ्यो र एउटा संस्था बनाएर सबै सबै मिलेर हास्यव्यङ्ग्यको उथान गर्ने हिसाबमा नाम राम्रो हास्यव्यङ्ग्य समाज नेपाल हासने नै राखेर जाने सोचको सल्लाह हुने गथ्र्यो । तर व्यवहारमा त्यो भएन र जसलाई सहयोग गर्नुभयो मृत्युपछि ती पर पुगे विचार र व्यवहारमा पनि । भैरवले नेपाली समाज राम्ररी बुझेका थिए । तर लेखनमा उनको आक्रोश थिएन र अन्तत आफैमा उकुसमुकुस भएर आफैलाई विसर्जन गरे । भैरवप्रति मेरो व्यक्ति र कृति दुवैमा श्रद्धा छ र अझै भन्छु एकथरीले अरूलाई सानो देखेर उनलाई मात्र महान् भन्नेबाट नयाँ प्रतिभाको एक प्रकारको हिंसा गर्ने समालोचकीय परम्परा छुट्न सकेको छैन । यस्मा दुःख लाग्छ । सबै लेखकको आआफ्नै स्थान छ । नेपाली समालोचकमा कुनै व्यक्तिको सम्पूणर् नपढी हचुवामा मूल्याङ्कन गर्ने एकथरी छन् भने अर्को थरी जाति, क्षेत्र, धर्म, लिङ्ग, ग्याङ, राजनीतिक आस्था, नाता, निकटता र क्षेत्रीयतामा पनि कृति समीक्षा गरेको देख्दा नेपालमा बौद्धिकता हैन अराजकता नै हाबी भएको महसुस हुन्छ । नेपालमा कामको कदर हैन ईष्र्या गर्ने र मनले राम्रो लागे पनि व्यक्त गर्न नसक्ने सागुरो छाती बोक्नेहरू नै बढ्दै गएको देखिन्छ । साहित्यमा पनि लिङ्ग, राजनीतिक आस्था खोज्ने र ग्रुपिङ गर्ने प्रवृत्ति बढ्दो छ । वास्तवमा सिर्जनामा प्रतियोगिता हुनुपर्ने हो प्रचारमा भैरहेको छ । नेपाली साहित्यको इतिहास नै विकृति बन्ने स्थितिमा पुगिसकेको छ । एकप्रकारले नेपाली साहित्यको इतिहास पुनर्लेखन गर्नुपर्ने देखिएको छ ।

भैरवले नेपाली पढे जुन मैले पढ्न पाइनँ । पिँडालीले राजनीतिदेखि नेपाली साहित्यमा जुन भूमिका खेले म त्यसबाट वञ्चित भए । मेरो जागिर कर्म पनि साहित्य र लेखनमा नभै भूगोलमा रह्यो । मेरो लेखन त एउटा हबीका रूपमा मात्र अघि बढेकाले मलाई आफ्नो लेखन, आफ्नो परिवेश र आफ्नो जीवनदेखि उहाँहरूको भन्दा धेरै भिन्न लाग्छ । म जतिबेला लेख्थे त्यसबखत सोखका रूपमा मात्र र अहिले पनि मैले सक्दो सोख विविधता मध्य हास्य एउटा भए पनि केही रचना छुटाएको छैन । यसरी गर्दा पनि पिँडालीभन्दा कम र भैरवभन्दा बढी लेखन जीवन भए पनि कितापहरू केही निस्कँदै छन् । हास्य साहित्यमा मात्र रुचि नभएकाले धेरै गर्न सकिने पनि चाहे अनुसार हुन सकेको छैन ।

गाईजात्रा हास्य महोत्सव २०३३ सालदेखि दरबारकै विशेष पहलमा प्रज्ञा-प्रतिष्ठानबाट वर्षको एकपल्ट एक हप्ता हुन्थ्यो । गाईजात्राले चिनिएका हास्य कलाकार थुप्रै छन् डा. धनन्जय रिमाल, लक्ष्मण लोहनी, मास्टर केशव, राजपाल हाडा (धु्रव हाडा), गोपालराज मैनाली, आनन्द थापा, सन्तोष पन्त, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, लय सङ्ग्रौला, उज्ज्वल घिमिरे, रवीन्द्र खड्का, रमेश बुढाथोकी, रमेश केसी (मट्टारे), राजेन्द्र बस्नेत, रामकेशर बोगटी, श्याम केसी, किरण केसी, विष्णु तिवारी, उज्ज्वल भण्डारी, शैलेश भण्डारी, साम्दे शेर्पा, उत्तम केसी, कमल मैनाली, विजय मानन्धर, विनोद ढुङ्गाना, वसन्त सापकोटा, ओममणि शर्मा, शम्भुजीत बास्कोटा आदि । त्यसबखत राज परिवार, परराष्ट्रमा आच आउने कुरा, धर्म, आदिमा ठाडो व्यङ्ग्य गर्न सतर्क गराइन्थ्यो । व्यक्तिगत आक्षेप, अश्लील, अपाङ्ग, नाम तोकेर कसैमाथि प्रहार, गालीगलौज, राज परिवार र परराष्ट्रमा आँच पुर्‍याउने व्यङ्ग्य निषेध थियो, गर्दैनथे पनि । मूल त सामाजिक र राजनीतिक, सरकारी कमी कमजोरी जस्ता कुरामा नै व्यङ्ग्य केन्द्रित हुने गथ्र्यो । वास्तवमा राष्ट्राध्यक्ष माथिको प्रहार सम्पूणर् देशलाई नै कमजोर बनाउनु किमार्थ राम्रो हैन । व्यक्तिगत हैन प्रवृत्तिगत नै स्तरीयताको दृष्टिले राम्रो मानिन्छ । आफ्नो धर्म पनि आस्था र विश्वासमा खलल पार्ने व्यङ्ग्य पनि आत्मघाती नै हुन्छ । त्यस बेलाको समितिमा मैले सल्लाह दिएका व्यक्ति र कार्यक्रम बनेका थिए । यो कार्यक्रमको उत्पतिमा मेरो सम्पादनमा निस्कने मायालु र कलियुग मनोरन्जन र हास्यव्यङ्ग्य पत्रिकाको प्रभाव मूल रूपमा देखिन्छ । पाटन कलेजका अङ्ग्रेजी प्राध्यापक नारायणप्रसाद श्रेष्ठ मेरो हास्यव्यङ्ग्यबाट निकै प्रभावित थिए । उनी दरबारमा राजाको सचिवका रूपमा काम गर्थे र उनले मेरो हास्यव्यङ्ग्य मन पराउने हुँदा एक दिन तपाईंका लागि केही हुँदै छ भनेर मलाई सङ्केत गरेको केही समयपछि एकेडेमीले मलाई बोलाएर सबै कार्यक्रम तयार भएको थियो । यो कुरा सत्यमोहन जोशी तात्कालिक प्राज्ञलाई राम्रै थाहा छ । उनले कतिपय भाषणमा व्यक्त पनि गरेका छन् । यसबारे विस्तार मैले नेपलिज कमिक्समा लेखेको पनि छ । कौवा प्रकाशनको माध्यममा हामीले २०३२ सालमा सभागृहमा विशेष हास्यरस कार्यक्रम पनि गरेको र यसपछि गाईजात्राको उपलक्षमा हास्य महोत्सव गर्ने चलन २०४५ सालसम्म राम्रै चले पनि ईश्वर बरालले २०४६ मा हटाए र त्यसलाई निरन्तरता प्रदान गर्न हास्यव्यङ्ग्य समाज गठन भएको थियो । २०४६ को आन्दोलनले ल्याएको परिवर्तन पछि पार्टी खोल्ने लहरमा हास्यव्यङ्ग्य महापार्टी खोल्ने घोषणा प्रज्ञाको प्रेक्षालयबाट मैले नै गरेको थिए ।

त्यसपछि सार्वजनिक रूपमा हलहरूमा विभिन्न समूहबाट हास्यव्यङ्ग्य कार्यक्रम चल्न थालेको थियो । कार्यक्रमलाई निरन्तरता दिन ईश्वर बराललाई भन्दा उनले अब परिवर्तन भयो हास्यव्यङ्ग्य चाहिन्न भन्दा मैले भनेको थिए झन् चाहिन्छ । तर दुर्भाग्य पछिल्लो समय धेरै क्षमता भएकाहरू निरङ्कुश भए र गाई गधा छुट्याउन नसकी दलगत पाल्तु बनेर हास्यव्यङ्ग्यलाई प्रदूषण मुक्त हैन विकृतियुक्त बनाएको देखियो । यसबाट समाजमा अनर्गल जसले जे गरे पनि हुन्छ भन्ने मेसेज अराजक रूपमा गयो । नेपाली समाजमा हास्यव्यङ्ग्य भन्ने बित्तिकै गालीगलौज भन्ने बुझिन थालियो ।

नयाँ विशुद्ध हास्यव्यङ्ग्य गर्ने व्यक्ति जन्मेन र कतिका एकाधिकारका रूपमा स्तरहीन प्रस्तुति हुन थाल्यो । हास्यव्यङ्ग्य पनि सबै हास्यव्यङ्ग्य हुन गयो जनताको नजरमा । हास्यव्यङ्ग्य लेखन साहित्य र व्यङ्ग्य चित्र ओझेलमा परे । प्रहशन अभिनय नाटक मञ्चनलाई नै हास्यव्यङ्ग्यका रूपमा प्रचार भयो । वास्तवमा व्यङ्ग्य चित्र र दृश्य प्रदर्शनको मूलभाव हास्यव्यङ्ग्य भए पनि तिनको आआफ्नो अस्तित्वमा व्यङ्ग्य चित्र र प्रहशन नै अर्थात् कार्टुन र कमिक्स बा कमेडीको आफ्नो अस्तित्व मौलिक रूपमा रहेन । हास्यव्यङ्ग्य साहित्यमा पनि नयाँ पिँढी बरालिएर बढी प्रदर्शनतिर लहसियो । कालजयी प्रकारको सिर्जना कम नै हुँदै गयो । लेखन पनि व्यक्तिवादी जस्तै व्यवहार देखियो । वासुदेव गुठी बन्यो । भैरव गुठी रह्यो, पिँडालीको बन्न सकेन । वास्तवमा समष्टिमा हास्यव्यङ्ग्यको एउटै छातामा जान सकिने थियो । त्यो हुन सकेन । हासने घरको अवधारणा सबैलाई समेट्ने रूपमा आएको हो तर यो सपना सपनै रहेको छ । सबै एकै ठाउँ आएर विषयमा एकत्रित हुन सके यो नहुने हैन । कुनै दिन केही हुने रूपमा यसको डिजाइन सार्वजनिक भएकै छ । भविष्यमा केही होला नै ।

प्रत्येक लेखक एकापसमा भिन्न हुन्छन् । लेखकको घर परिवार, शिक्षा दीक्षा, अनुभव, उसको सामाजिक वातावरण र परिवेश र परिस्थिति भिन्न भिन्न हुने हुँदा उसको लेखनमा पनि भिन्नता आउनु स्वाभाविक हुन्छ । यसैले ती एकापसमा तुलनीय हुँदैनन र सानो ठुलो भन्ने पनि हुँदैन । आआफ्नो युग हाँकेका हुन्छन् आफ्नो लेखाइको प्रखरताले । पिँडालीको समयमा उनले तहल्का मचाएका हुन् । भैरवले पनि आफ्नो समयमा उच्चता प्राप्त गरेका थिए । उच्चता प्राप्त गर्नमा पनि परिवेश र परिस्थितिले निकै प्रभाव पारेको हुन्छ । लेखकमा पनि पाठ्यक्रममा रहेको, प्रचारको मूलमा रहेको, साथीसङ्गातिको सहयोग जस्ता कुराले प्रभाव पार्दछन् । पिँडालीले साप्ताहिक पत्रिकाको सम्पादक भएर हास्य स्तम्भ लेखेको र गोर्खापत्रमा पनि लेखेकाले निकै प्रभावपूणर् रह्यो । पाठकसम्म पुग्न उनलाई बाधा बन्धन भएन । भैरवले पनि केही गरे तापनि स्तम्भ त्यति जमेको देखिएन । भैरवलाई माया गर्ने धेरै साथी थिए । उनी स्वच्छ छविका मात्र हैन मिलनसार र मृदुभाषी पनि थिए । पिँडालीमा अलि अहम् थियो । उनी बीपीको निजी सचिव पनि भएकाले राजनीतिमा पनि खप्पिस थिए । व्यक्तिगत जे सुकै भए पनि उनको खै खै कृति नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा मानक नै मान्नुपर्ने कृति हो ।

साहित्यिक र कथात्मक उच्च साहित्यिक कृति प्रभावपूणर् नै रह्यो । उनको उपन्यास क्षेत्रमा पनि योगदान रह्यो । नेपाली हास्यव्यङ्ग्यमा २००८ सालमा नै रसवरि चमचम प्रकाशित गरे पनि, कृष्णप्रसाद चापागाईले राम्रै लेखे पनि त्यति नाम चलेन । सायद उनले राम्रो प्रचार पाएनन् । श्रीधर खनाल हास्यव्यङ्ग्य क्षेत्रमा नाम चले पनि कृति ठोस रूपमा आएको फाइफुट्टी राजको कामले नै हो । उनी त्यसबखत जासुसी उपन्यासमा माहिर थिए जुन पछि अगाडि बढेन । नेपाली प्रहशन क्षेत्रमा धेरै कलाकार जन्मिए पनि लेखनमा न नयाँ देखियो न प्रखर साहित्यिक व्यक्तित्व नै देखा परे । श्याम गोतामे पछि हरिबन्दी अघि बढन सकेनन् । नरेन्द्रराज पौडेल पनि कथातिर लागेर पछिल्लो समय हास्यव्यङ्ग्य कृतिमा आधा दर्जन कृतिकै हाराहारीमा रोकिए जस्तो देखिए । नयाँ साहित्यिक ओज भएका कालजयी लेखक नभएका हैनन् तापनि प्रखर रूपमा अघि आउन सकेनन् । एकथरी साधनाभन्दा प्रचारमुखी भए समसामयिक स्तरहीन लेखनले उज्यालो आकाश देखिएन । अतः भैरव जस्तो आउन सक्ने स्थिति रहेन । हुन त भैरवको समय र अहिले उनी बितेपछि धेरै फरक भैसकेको छ र भैरव नै जन्मनुपर्छ भन्ने पनि हैन । तर लेखनमा साहित्यिक पाराभन्दा नारा उराल्ने बढी देखिएकाले यो क्षेत्र त्यति उर्वर देखिएन । हुन त बिनाभुटुनको च्वाइको लेखक, एघारौँ अवतारका लेखक जस्ता काठमाडौँ खाल्डो बाहिर मोफसलामा राम्रा शिल्पी देखिए पनि एक दुई कृतिभन्दा बढी आएन । पोखराका विश्व शाक्यले हास्य क्षेत्रमा निकै काम गरे तर उनी नेपाली समालोचकको आँखामा परे जस्तो लागेन न त काठमाडौँका हृदय मिश्र नै । सूर्यबहादुर पिवा केही गर्दा गर्दै बिते । लक्ष्मण लोहनी पनि कविताको सङ्कलन गर्दै छु भन्दा भन्दै बिते । घटोत्कच पनि अरू सङ्कलन नगर्दै दमाहा मात्र ठटाएर हिँडे । कविताको क्षेत्रमा पिँडाली केही गर्दै थिए तर हास्यव्यङ्ग्य कविताको पुस्तक न पिँडालीले न त भैरवले नै तयार गरे बरु २०२४ सालमा महाकविको मनोरन्जनले एउटा रूप दियो । पछि राजनीतिक रूपमा मञ्च मचाउने कविताले हास्यव्यङ्ग्य कविताको साहित्यिक ओज देखाउन सकेन । यो अभाव मञ्चनमा अग्रणी भएर शैलेन्द्र सिम्खडाले नेतृत्व प्रदान गरेको देखियो । लक्ष्मण नेबटियाले भरमग्दुर कवितालाई उठाउने कर्म गर्दै रहेको देखिन्छ । गाम्नागे पनि हास्य र व्यङ्ग्यमा सन्तुलन ल्याउन प्रयास गर्दै रहेको पाइन्छ । हास्यव्यङ्ग्यको नाममा रहेका संस्थाहरूले व्यक्तिका बारे केही गरे पनि सामूहिक साहित्य प्रवर्धनमा ठोस काम गरेको देखिएको छैन । हासनेले पनि प्रारम्भमा केही गरेर लेखन, चित्राङ्कनमा एउटा मानक खडा गरे पनि पछि माहोल अनुकूल नभएकाले हात झिकेको र हास्यव्यङ्ग्यको समष्टि विकासमा प्रज्ञाले पनि ठोस काम नदेखाएको स्थितिमा यो क्षेत्र ओझेलमा परेको महसुस हुनु अस्वाभाविक हैन । चट्याङ मास्टर लेखनमा वृद्ध नदेखिए पनि वृद्धाश्रमतिर लागे र केही दिएपछि केही नदिने हुन् कि भन्ने अवस्था सिर्जना भएको छ । आस लाग्दा आर.सि. रिजालको साधना हास्यव्यङ्ग्यलाई पार नलगाई अरू डुङ्गा खियाउन लागे जस्तो र भैरहवाका भीमप्रसाद सुरुकै जस्तो लागेका भए एक हातको एउटा औँला रिजर्भ गर्न सक्ने देखिए पनि हराएरै बसे । यसबाट के देखिन्छ भने २०२० देखि ३० सम्मको दशकमा जुन अभियानले हास्यव्यङ्ग्यलाई उठायो त्यति धान्न पनि अहिले धौ धौ परेको छ ।

यस्तै मुकुन्द आचार्य केही किताप राम्रा लेखे पनि प्रखर रूपमा आउन भ्याएको देखिएन । होनहार लेखक पनि एक दुई किताब लेखेपछि अस्ताएको देखिन्छ । यसलाई उठाउन दरै कदम चाल्नुपर्ने भएको छ । अहिलेको अवस्था झन् बढी हास्यव्यङ्ग्यको मूल फुट्नुपर्नेमा सुक्दै जानु विडम्बना नै मान्नुपर्ने देखिन्छ । त्यसैले देशमा, समाजमा, राजनीतिमा अनेक विकृति, बेथिति र विडम्बना बढेको देखिन्छ । हास्यव्यङ्ग्यलाई एउटा मानक स्तरमा उठाउन केही प्रयास गर्नै पर्ने देखिन्छ । साथै अलि अलि छनक भएका लेखकलाई प्रोत्साहन गरी यो क्षेत्रमा बढीभन्दा बढी योगदान गर्न प्रेरणा दिने वातावरण सिर्जना हुनुपर्ने जरुरी छ । भैरव अर्याल पछिल्लो समय अलि सन्तुलनमा थिएनन् भन्ने बुझिएको हो । यो शारीरिक कमजोरी उनको कमजोरी हैन । सामाजिक झैझमेला, आर्थिक अभाव त्यस बेला खासै ठुलो थिएन कि भन्ने अड्कलबाजी किन लगाइन्छ भने मेरो आफ्नो जागिर ४७५ हुँदा उनको कमाइ १५०० भन्ने सुनेको थिएँ । घरगृहस्थीको भार त उनले हास्यव्यङ्ग्यद्वारा नै उडाउन सक्थे तर शारीरिक दुरावस्था धान्न नसकेरै उनी गोकणर्मा हाम फाले बा खस्न पुगे र यो हुनु नै दुर्भाग्यपूणर् रह्यो । त्यत्रो चेतनाका धनी, अर्कालाई सिकाउन सक्नेमा यो सनक आउनु ज्ञानलाई नाघ्नु बुद्धि विवेकको र अरू सामाजिक कारण हुन सक्तैन भन्ने मेरो सोच रहेको छ । उनी शरीरकै रोगका कारण त्यो अवस्थामा पुगे जस्तो लाग्छ मलाई । यसरी जानेमा साहित्यिक मित्र पछिल्लो पिँढीका साहित्यिक पत्रकार नकूल सिलवाल पनि हुन् । दुवैको कारण बुझ्न सकेको छैन स्पस्ट रूपमा । साहित्यकारलाई सङ्गत चाहिन्छ, सम्मान चाहिन्छ र काम अनुसार माम र ठाम पनि चाहिन्छ । नेपाली साहित्यकारहरूको अप्रत्यक्ष हिंसा विभिन्न संस्थाले हीनता बोध गराएर, कुनै सहयोग नगरेर र योग्यता र योगदान अनुसार सम्मान नदिएर गरे जस्तो लाग्छ मलाई । मैले आज पनि धेरै समर्थ साहित्यकारहरूको गुनासो सुन्दै छु । अयोग्य बा कम योग्यलाई राज्यले जागिर दिने, प्रमोसन दिने, सम्मान दिने गरेको छ । यसकै कारण धेरैलाई प्रज्ञा-प्रतिष्ठान र जागिर दिने संस्थाप्रति वितृष्णा हुने गरेको छ । मान पदवीमा पनि बेमानकै राज र सम्मानको बदला अपमान नै धेरै देखिएको छ । कतै लेखकहरू जनताको आँखामा उच्च भए पनि सरकारकोमा ओझेल नपरुन् भन्दा यसबाट वञ्चित र बाहिर परेका देशलाई विशेष योगदान दिएका धेरै लेखक कविको नामको सूची अघि सार्न सकिन्छ । यसअर्थमा धेरै लेखक कवि भैरव नबनून् । भैरव नै बन्ने हो भने उनको लेखन सिप, शैली, कुशलता आफूमा भरेर अघि बढून् । नभए जो जस्तो छ त्यस्तै मौलिक रूपमा अघि बढून् । नेपालमा भैरव जस्तो उनको काल खण्डमा थोरै थिए । अहिले धेरै छन् । आउँदै छन् । आजको समय भैरवले पुग्दैन । जसरी भानुभक्त नपुगेर देवकोटा आए आफ्नो समयमा उनै ठूला भए । नेपालमा राज्यले नै अन्याय गरेर कसैलाई च्याप्ने प्रथा सुरु गरेको देखिन्छ । बालकृष्ण सम छोडी व्यथित उपकुलपति बने । प्रज्ञाका सबैको समयमा बाहिर बसेका साहित्यकारको तुलना गरे स्पष्ट अन्याय देखिन्छ । काम गरेका बाहिर भएको प्रमाण अहिले पनि उस्तै छ । पद दिँदा पनि विधागत देखिएन । राष्ट्र कलाकार, राष्ट्र इतिहासकार, राष्ट्र निबन्धकार खोइ ? राष्ट्रको कुन विधामा को अग्रणी कसले योगदान गरेको छ कसले हेर्ने ? जसको शक्ति उसको भक्ति भने झैँ देश पछि पर्नुको कारण पनि अग्रणी योग्य व्यक्तिको नेतृत्वको अभाव पनि हो । कवि लेखकमा चेतना खुलेको देखिन्न । अन्यथा आफूभन्दा अयोग्यलाई चाकडी बजाउने काम हुने थिएन । जागरण आएको देखिएन । भैरव जस्ता लेखक अझै पनि जालझेलले ओझेलमा परेको देखिन्छ । कहिले देशले यस्ता विकृतिबाट मुक्ति पाउने होला ! सायद यो मूर्ख राजमा यस्तै हुनेछ । तर भैरहने छैन समय आउने छ ।

यसपालि मलाई भैरव पुरस्कार बाध्यतावश दिन लिन परेको महसुस हुन्छ । भैरव पुरस्कार राख्दा म र म अध्यक्ष भएको संस्था हासने दुवैले पत्रम् पुष्पम् पाँच पाँच सय गरी एक हजार राखिएको हो । यसरी सुरुमा थोरै रकम राखेको पुरस्कार एउटा भैरवप्रति एउटा श्रद्धा थियो । त्यो पुरस्कार हास्यव्यङ्ग्य लेखकलाई दिने गरिएको थियो । पछि मलाई प्रस्ताव आउँदा मैले इन्कार गरेर अरू मान्छे नै देखाइदिएको हुँ । धेरैलाई दिएपछि पनि प्रेसर आउँदा मैले भनेको थिए, मलाई आफ्नै मित्रको नाममा राखेको त्यो पनि आफ्नो सहयोग पनि रहेकोले लिन नसक्ने भन्दा पनि साहित्यिक मित्रहरूको सद्भाव र धेरै आग्रह आएकाले मैले भनेको र लेखेको पनि हो यो पालिका लागि विशेष पुरस्कारका रूपमा ग्रहण गरेको हो । पुरस्कार मभन्दा अघि बिसौँ जनालाई दिएकाले एउटा अग्रज र योगदानका आधारमा हुनुपर्छ भन्ने मेरो मान्यता भैरवको मुख हेरेर स्वीकृति जनाएको थिएँ । तर परिस्थितिले पनि मेरो हातबाट त्यो ग्रहण गर्न नलेखिएको रहेछ सायद । पुरस्कार दिने दिनअघि नै म नर्वे उडेको थिएँ । मलाई वासुदेव लुइटेल पुरस्कारमा पनि मापदण्ड त्यति ठीक लागेको थिएन र उनकै अनुहार हेरेर मैले स्वीकृति दिएको थिएँ । को के भन्ने कुरा पाठकलाई र भविष्यका अनुसन्धानकर्तालाई छोडेर मैले प्राप्त गरेका यी दुई हास्यव्यङ्ग्यको ठूला पुरस्कारको रकम २०७८ सालमा मेरो ७५ औँ जन्मोत्सवको उपलक्ष्यमा दुवै रकम जोडी दुई लाख एघार हजार एघार रुपैयाँ राशी राकुपा बालवाङ्मय पुरस्कार बिस वर्षमुनिकालाई प्रकाशित पुस्तकका आधारमा दिने गरी नेपाल बालवाङ्मय तथा अनुसन्धान केन्द्रलाई जिम्मा लगाएको छु । अर्को ३६५ रुपैयाँँ मैले काठमाडौँ उपत्यकाब्यापी माध्यमिक विद्यालयमा निबन्ध प्रतियोगिता हुँदा स्कुलमा पाएको विद्या (कमलमणि दीक्षितको आमाको नाममा राखिएको) पुरस्कार प्रथम पुरस्कारको रकमसमेत जोडेर प्रत्येक वर्ष दिने व्यवस्था मिलाएको छु । सद्भाव राख्न व्यक्तित्वको भार आफूमाथि नपरोस् भन्ने हेतुले सद्भाव अरूमा सर्दै जावोस् र सिर्जना नेपाली साहित्यमा अघि बढोस् भनी पुरस्कारको व्यवस्था गरे पछि मलाई एकप्रकारको उहाँहरूप्रति सही श्रद्धाञ्जली दिएको सम्झेर सुखानुभूति भएको छ ।

हाम्रा मूल्य मान्यता धेरै विघटनमा परेका छन् । ज्येष्ठताको मर्यादा हराउँदै गएको छ । कुनै सङ्घ संस्थामा कसैको योगदान र उमेरको कुनै ख्याल नगरी मान्छेहरू चयन हुन्छन् । अनुशासन शासनमै नभएपछि प्रशासनको काम देखादेख डकैती हुन थालेको छ । अवस्था धेरै फेरिएको छ । भैरवको समयसम्म केही सत्ययुग बाँकी थियो । अहिलेका हास्यव्यङ्ग्यकार वादको विवादमा फसेका र आफ्नो पक्षका जतिसुकै गल्ती भए पनि विरोध गर्न सक्दैनन् । लेखक परावलम्बी हुँदै गएको देखिन्छ ।

मलाई लेखकीय स्वतन्त्रता जोगाउन कठिन भएको छ । तर देशका लागि केही गर्छु भन्ने जो कोहीलाई मैले सक्दो सहयोग गर्ने गरेको छु। देशको विकृति बढ्दै गएमा खुम्चिँदै जानुपर्ने स्थिति देखा पर्दै छ । अहिले धेरै प्रकारका विकृति, विडम्बना, विरोधाभास छन् । लेख्ने खजानाको कमी छैन । तर केमा कति लेख्ने गाह्रो भएको छ । लेख्यो छाप्न गाह्रो छ । छाप्यो कसैको ईष्र्याको जालोमा पर्ने सम्भावना बढ्दै गएको छ । अहिलेका हास्यव्यङ्ग्यकार विशुद्ध साहित्यिक पाराले भैरवले जस्तो लेख्ने क्षमता गुमाएको अवस्था छ । कहाँ भैरव खोज्ने । हामी भैरव खोज्दै छौ । भैरव खोज्नुको अवस्था भैरवकै गतिमा जीवन जिउनु हुनेछ । त्यसैले समयानुकूल विशुद्ध साहित्य सिर्जना गर्ने शुद्ध साहित्यिक मनहरूको अभाव हुँदै गएको छ । कसैले लेखिहाले गालीगलौज र कसैले लेखी हाले राजनीतिकै धार पक्डेर प्रतिपक्षलाई भरमार व्यङ्ग्य बजार्ने हान्ने काम हुँदै छ ।

राम्रो साहित्यिक ओज भएको रचना छाप्ने, छाप्न प्रोत्साहन गर्ने पत्रपत्रिका ज्यादै न्यून छन् । पहिले जस्तो लेखकलाई अनुरोध गर्ने सम्पादक देखिँदैनन् । भैरव अहिले भएको भए के लेख्दा हुन् ? भैरवलाई माया गर्नेहरूले उनको हास्यव्यङ्ग्य हेरेर त्यस्तै लेख्ने खुबी भएका नव लेखकलाई प्रोत्साहन गर्ने बेला आएको छ ताकिस्व छ, सुन्दर कालजयी हास्यव्यङ्ग्यको विकास हुँदै नेपाली हास्यव्यङ्ग्यलाई अझ माथि उठाउन मद्दत पुगोस् ।

शान्तिचोक, ललितपुर
मो. ९८४१४७८२१३
(आलेख, पूर्णाङ्क -३७/३८, २०७८)

बागमती प्रदेश सञ्चार कार्यालय लामो