साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विद्रोही कटुवालको एउटा व्यङ्ग्यचित्र

पापी पेट भर्नका लागि अनेकन दुष्कर्ममा निर्लिप्त भइरहेको मान्छेप्रतिको भीषण आक्रोशलाई भुँडीविहीन मानिसको कल्पनामार्फत प्रस्तुत गरेका छन् उनले । जब भुँडी नै हुँदैन त्यसलाई भर्नु पनि पर्दैन अनि भुँडी भर्नु नपरेपछि मानिसले कुनै दुष्कर्म, अनाचार, दूराचार र पापाचार केही गर्दैन ।

Nepal Telecom ad

पृष्ठभूमि :
कवि हरिभक्त कटुवालले कालजयी गीत र प्रभावशाली कविता लेखेका छन् । उनका गीत र कवितामा प्रेम-वियोग, आँसु-हाँसो, वेदना र कुण्ठा पोखिएको पाइन्छ । सरल, संवेद्य र सुबोध भाषामा रचित उनका रचना त्यतिखेर मात्र होइन अहिले पनि उत्तिकै लोकप्रिय रहेका छन् । काठमाडौं रहँदाको उनको व्यक्तित्वलाई यहाँका साहित्यकारहरूले कवि र जँड्याहाको पर्यायवाचीका रुपमा समेत स्मरण गर्ने गरेका छन् । उनको जँड्याहा व्यक्तित्व जति बलशाली थियो त्यो भन्दा धेरै बलशाली थियो कवि तथा गीतकार व्यक्तित्व । यही कारणले पनि होला जाँडले मातेर बेपर्वाह सडकमा लतारिँदै हिँडेका कटुवाललाई जो कसैले भेट्दा पनि छिःछिः र दूरदूर गरेन । माया नै गर्‍यो अनि सद्भाव नै राख्यो ।

हरिभक्त कटुवालका धेरै कविताहरूमा विसङ्गत समाजका विकृत चिन्तन एवम् क्रियाकलापहरूप्रति कटाक्ष गरिएको पाइन्छ । यो कटुव्यङ्ग्यका रुपमा पोखिएको उनीभित्रको विद्रोह हो । कटुवाल स्वभावैले पनि स्वाभिमानी र विद्रोही थिए । रक्सीले उनलाई पिएको बेलामा मात्र होइन नपिएका बेलामा पनि उनीभित्रको स्वाभिमान र विद्रोही स्वभाव कुनै न कुनै रुपमा प्रकट हुन्थ्यो । उनीसँगको साहचर्यमा रहेकाहरूको स्मरण यस्तै छ ।

कवि कटुवालभित्र व्यङ्ग्य चेतना पर्याप्त थियो । प्रेमले दिएका आघात-सङ्घात, सामाजिक उहापोह, राष्ट्रिय-अन्तर्राष्ट्रिय घटनाचक्र, विश्वको विसङ्गत पर्यावरण, खासगरी मानिसले भोग्नु परिरहेको चरम अमानवीयता प्रति कवि कटुवालको व्यङ्य-चेत अत्यन्त प्रखर देखिन्छ । उनको यो चेतना कहीँ भाव वा अर्थसँग समाहित भएर अप्रत्यक्ष रुपमा रहेको छ भने कहीँ यो शाव्दिक प्रयोग मार्फत प्रत्यक्ष पनि प्रस्तुत भएको देखिन्छ ।

चित्रात्मक प्रसङ्ग :
विसङ्गत पर्यावरणलाई मूत्र्याउने क्रममा कवि कटुवाल कविता लेख्थे । चित्रकलाप्रति पनि उनको केही झुकाव थियो । यदाकदा उनी चित्र कोर्थे । उनले के कति चित्रहरू सिर्जना गरेका थिए ? यो प्रश्न भने अझै अनुत्तरित नै रहेको छ । उनका अप्रकाशित रचनाहरूसँगै चित्रहरूको खोज-अनुसन्धान गरिनुपर्ने उनीसँग सम्बन्धित अर्को एउटा महत्वपूणर् विषय हो । कटुवाल चित्रमार्फत पनि विसङ्गत पर्यावरणप्रति व्यङ्ग्य प्रहार गर्न निकै सिपालु थिए भन्ने कुराको बलियो प्रमाणका रुपमा ‘अब जन्मने मान्छे’ शीर्षकको एउटा व्यङ्ग्यचित्र (कार्टुन) हामीसँग उपलब्ध छ । यो व्यङ्ग्यचित्र अविनाश श्रेष्ठ र अरुद्वारा सम्पादित तथा असमः कवि हरिभक्त कटुवाल स्मृति समितिद्वारा प्रकाशित ‘स्मृति ग्रन्थ’ १९८१ मा छापिएको छ ।

व्यङ्ग्यचित्रको चित्रण :
‘अब जन्मने मान्छे’ शीर्षकको व्यङ्ग्य चित्रमा एउटा गज्जबको श्वैरकल्पना गरिएको छ । कटुवालले रेखाचित्रद्वारा अब जन्मने मान्छेको एउटा सिङ्गो आकार प्रस्तुत गरेका छन् । आकार अस्वाभाविक र हाँसो उठ्दो छ । आवश्यकताभन्दा ठूलो एक टाउको र दुईवटा कान छन् तर एउटा आँखा पूरै निधार ढाकेर नाकको फेदीसम्म र दुवै कानतिर फैलिएको देखिन्छ । चित्रमा मानिसको घाँटीदेखि तल कम्मरसम्मको भाग छैन । कानकै फेदबाट दुईतिर झिना दुई हात झरेका छन् भने तिनै दुई हातका तलपट्टि दुईटा खुट्टा जोडिएका छन् । मानव आकृतिको बडेमान टाउको ती दुई लुतुरे खुट्टाले थामिरहेको देखिन्छ । छातिदेखि कम्मरसम्मको भाग, जहाँ मानव शरीरका अत्यन्तै महत्वपूणर् अवयवहरू- मुटु फोक्सो, कलेजो, पेट आदि हुन्छन्- ती कुनै पनि अङ्ग चित्रमा देखाइएको छैन । चित्रमै उल्लेखित मितिले बताउँछ यो चित्र कटुवालले २०२८ साल वैशाखमा रचना गरेका हुन् ।

चित्रद्वारा सम्प्रेषित अर्थ एवम् मूलमर्म :
चित्रले केही साङ्केतिक अर्थ सम्प्रेषण गरिरहेको प्रतीत हुन्छ । बडेमाको टाउकोभित्र पक्कै पनि धेरै गिदी अथवा ठूलो र फराकिलो मष्तिष्क हुनैपर्‍यो । बदलिएको विश्व परिस्थितिमा साँघुरो विचार वा अल्प सोचाइले अब धान्नेवाला छैन । अब जन्मिने मानिसलाई कुचुक्क परेका साना दुई आँखाले मात्र पुग्दैन बरु एउटै विशाल आँखाको आवश्यकता छ, जसले धेरै टाढा र सुदूर भविष्यका दृश्यचित्रहरू एकदम नजिक र अहिले नै हेर्न सकियोस् । त्यसकारण अब जन्मिने मान्छेको आँखा कानसम्म तन्किएको ढ्याब्रे हुनैपर्दछ ।

चित्रमार्फत प्रस्तुत गरिएको तीब्र व्यङ्ग्य भने घाँटीभन्दा तलका खासगरी छाति र पेटलाई कटुवालले अनावश्यक ठम्याएका छन् । मानिस यन्त्रवत् बन्दै गएको र मानवीय सम्वेदना निख्रिदै गएको भावगत यथार्थलाई उठाएर मान्छेको बदलिएको स्वार्थी प्रवृत्तिप्रति कटुवाल गम्भीर असहमति जाहेर गर्दछन् । छाती नै नभएपछि त्यस्तो असम्वेदित मुटु हुने कुरै भएन । त्यसै गरी पापी पेट भर्नका लागि अनेकन दुष्कर्ममा निर्लिप्त भइरहेको मान्छेप्रतिको भीषण आक्रोशलाई भुँडीविहीन मानिसको कल्पनामार्फत प्रस्तुत गरेका छन् उनले । जब भुँडी नै हुँदैन त्यसलाई भर्नु पनि पर्दैन अनि भुँडी भर्नु नपरेपछि मानिसले कुनै दुष्कर्म, अनाचार, दूराचार र पापाचार केही गर्दैन भन्ने निष्कर्ष सहजै निकाल्न सकिन्छ ।

यो चित्र मार्फत सम्प्रेषण हुने व्यङ्ग्यात्मक भावको मूलमर्म पनि यसैमा सन्निहीत रहेको अनुभूति हुन्छ । अर्कोतर्फ व्यक्तिगत रुपमा असफल प्रेमको आघातबाट विदीणर् बनेको मुटु र खाली राख्नै नसकिने अगस्ती पेट लिएर कटुवाल नेपाल पसेका थिए भन्ने कुरा पनि यहाँ स्मरणीय छ । ।

निष्कर्षमा :
यसरी प्रस्तुत चित्रमार्फत कटुवालले आफ्नै कटुयथार्थलाई मानवीकरण गरी समस्त मानिसका असङ्गत कार्यकलापप्रति हाँसो उडाउँदै ‘अब जन्मने मान्छे’को प्राक्कल्पनाद्वारा विसङ्गत पर्यावरणप्रति तीव्र र सशक्त व्यङ्ग्य गरेका छन् । यस किसिमको व्यङ्ग्य कटुवालको मनोचेतनामा रहेको विद्रोह हो, जसलाई यस व्यङ्ग्य चित्रमार्फत प्रस्तुत गरिएको छ । निष्कर्षमा भन्नुपर्दा यो एउटैमात्र चित्र मार्फत पनि कवि कटुवालमा रहेको व्यङ्ग्य-विद्रोहलाई पर्याप्त आकलन गर्न सकिन्छ ।

कलङ्की, काठमाडाैं
‘भानु’ मासिकको हरिभक्त कटुवाल विशेषाङ्क (२०६४)

तस्विर स्केच : अनलाइन खबर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x