साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शेषराज भट्टराईका व्यङ्ग्यात्मक निबन्धको विषयक्षेत्र

यही विसङ्गत र विकृत पर्यावरणलाई जस्ताको तस्तै प्रस्तुत गरी सङ्गतिको आकाङ्क्षा व्यक्त गर्नु उनको निबन्ध लेखनकाे मूल धेय रहेको प्रष्ट हुन्छ ।

Nepal Telecom ad

निबन्धकार शेषराज भट्टराईको जन्म वि.सं. २०२३ साल खोटाङ जिल्लामा भएको हो । उनले नेपाली विषय लिएर स्नातकसम्मको अध्ययन गरेका छन् । उनको जन्मथलो खोटाङ जिल्ला भए पनि कर्मथलो पोखरा बनाएका निबन्धकार भट्टराईले व्यङ्ग्यात्मक निबन्ध फाँटमा झुल्केर स्वादिला निबन्धहरू नेपाली साहित्यमा पस्केका छन् । भट्टराईका निबन्ध सङ्ग्रहहरू ‘ऋषिमुनिका सन्तान सिसीमुनि’ (२०५९), ‘जातले पकाएको भात’ (२०६७), ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’ (२०६९), ‘तावाबाट उफ्रिएको माछो भुङ्ग्रोमा’ (२०७१), ‘धर्मको धोक्रो’ (२०७४), ‘पावर अफ पर्स’ (थैलीको तुजुक) (२०७८), उनका हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहहरू हुन् ।

भट्टराईका निबन्धहरूको अध्ययन गर्दा नेपाली निबन्धको फाँटमा नवीन शैली लिएर देखापर्ने स्वच्छन्दतावादी निबन्धभित्र व्यङ्ग्यको गर्विलो प्रस्तुति रहेको पाइन्छ । समाजको यथार्थलाई टिप्तै मानवीय चेतनाको दियो सल्काएर आलोक छर्नु पनि उनको निबन्धको स्वर हो । उनका निबन्ध विचारपरक र आत्मपरक दुबै बान्कीका छन् । कतै विचार दिन सल्बलाउँछन् भने कतै भावनामा पनि बग्दछन् ।

विशेषत उनी जीवन भोगाइका क्रममा सँगालेका अनुभव ज्ञानविज्ञान, मनोविज्ञान, सामाजिक अवस्था, धार्मिक गतिवधि, आर्थिक अवस्था, जातीय र वर्गीय विषयलाई विषयवस्तु बनाएर निबन्ध लेख्छन् । उनको निबन्धगत सघन चिन्तन छ र अनुभूति भावपूणर् रहेको छ । निबन्धमा जुन विषय छुन्छन् त्यसलाई एक अनुभूतिको अन्तरघुलन गरी शब्दमा प्रकटीकरण गर्ने उनमा चमत्कारिक जादूको छडी छ । उनी केबल भावनामा बहकिँदैनन् आफूले उठान गरेका विषयवस्तुलाई गतिलो तर्क र प्रमाण प्रस्तुत गरी साँच्चिकै यस्तै छ भन्ने मनमथिङ्गलमा छाप बसाल्न पनि उत्तिकै सिपालु छन् ।

भट्टराई कतिपय स्थानमा पाठकलाई सोचनीय बनाउन पनि त्यत्तिकै खप्पिस देखिन्छन् । सांस्कृतिक, प्राकृतिक, राजनैतिक, ऐतिहासिक, सामाजिक विषयको व्यङ्ग्यात्मक अभिव्यक्तिको झटारो अर्को निबन्धगत वैशिष्ट्य हो । विसङ्गत र विकृत जीवनको प्रस्तुति नै उनको आफ्नो नवीनतम पन हो । समाजमा चेतना दिन, समाजलाई बदल्न र सामाजिक न्याय र मानवतावादको खोजी राष्ट्रिय चिन्तन देशभक्ति भावका विचार उनका निबन्धले गजबले बोकेका छन् ।

विचार र चिन्तनलाई सरल सहज र आलङ्कारिक कवितात्मक लय छोटाछोटा सरल वाक्यले उनका निबन्ध सामान्य पाठकले सजिलै बुझ्ने खालका सरल सरस र हँसिला र मिजासिला पनि छन् । पाठकले निबन्धमा आँखा लगाएपछि पुरै नपढी छोड्न नसकिने कौतुहलता र पढौँ पढौँ लाग्ने पाठकको मन तान्ने खालका रहेका छन् । समाजमा चेतना दिने र परिवर्तनको बाटोमा डोर्‍याउने खालको विचार उनका निबन्धले दिन्छ । आफ्नो विचार प्रवाह र चिन्तनको वैयक्तिक अनुभूतिलाई विशृङ्खलतामा शृङ्खलता खोज्दा पाठकलाई पेट मिचीमिची हँसाउने खालका प्रसङ्ग, उखान टुक्का मिसाएर प्रस्तुति गर्ने कला उनको अचम्मको छ । उनका निबन्ध मौलिक छन् । विषयगत विविधता छ । कोमल र गम्भीर चिन्तनलाई सहज रूपमा पस्केका छन् ।

निबन्धहरू कतिपय कवितात्मक रहेका छन् भने कतिपय प्रवचनात्मक शैली अपनाएर लेखिएका छन् । शासन व्यवस्थाले सिर्जना गरेका नकरात्मक पक्षलाई प्राय हरेक निबन्धमा समेटिएको छ । जनचेतनाको संप्रेषण गर्दै अन्याय, अत्याचार, थिचोमिचो र यथास्थितिबाट मुक्त हुन सहरदेखि गाउँवस्तीसम्मका नागरिकमा उत्साह जगाउनु नै निबन्धकारको निबन्धगत उद्देश्य देखिन्छ ।

मानिस साहित्य सिर्जना गर्छ, धर्म, अर्थ, काम, मोक्षको उद्देश्य राखेर । शेषराज भट्टराई यीभन्दा पृथक दृष्टिकोणले निबन्ध लेख्छन् । उनलाई समाजले पढ्छ वा पढ्दैन त्यसतर्फ उनी कुनै महत्व दिँदैनन् । उनी आफ्नो मथिङ्गलमा समाज घोल्छन् । हुँदा खाने वर्ग राजनीति बोकेर ठग नीति चरित्र धारण गर्ने, राष्ट्रियताको नारा बोकेर देशका नदीनाला जमिन विदेशतिर बेचेर धन कुम्ल्याउने वर्ग, भ्रष्टाचार तथा धार्मिक व्यथिति लुटतन्त्र गुण्डातन्त्र देख्छन् । सांसद चुनाव जित्छन्, भत्ता पचाउन संसदमा अनुहार देखाउँदैनन्, देखाइ हाले कि त निदाउँछन्, कि त तोडफोड गर्छन् । भट्टराईलाइ यस्ता दृश्यहरू पच्तैनन् । यिनै विषयवस्तु राम्ररी पढ्छन् र व्यङ्ग्यात्मक शैली अपनाएर आफ्ना निबन्धमा सिस्नोपानी हान्ने गर्छन् ।

भट्टराई समाजमा जे देख्छ्न् त्यही लेख्छन् । उनले कुनै चस्माले समाज हेर्दैनन् । समाज हेर्ने चस्मा उनको आफ्नै छ । समाज पढ्न उनलाई छेक्तैन । किनभने उनी कसैका पनि होइनन् हुन् भने सबैका हुन् । उनी साझा बन्न चाहन्छन् । उनका निबन्धमा पनि साझा पनको दम छ । उनी आफ्ना निबन्धमा गुटको काम छैन भन्छन् । गुटवालाले व्यक्तिलाई आफ्नो गोप्य कुरा बताउँदैन । किनभने गुटभित्र त ढाँट, छल, साम, दाम, दण्ड, भेद हुन्छ । बरु शब्द खेलाउनुमा उनलाई आनन्द छ । हास्यव्यङ्ग्यकृति उनका सन्तान भन्दा प्यारा छन् । उनी फुर्सत पाउनासाथ सिर्जना कर्ममै रमाउन आतुर हुन्छ् । हाम्रो समाज बदलियोस्, व्यथितिको अन्त्य होस् न्यायपूणर् समाज बनोस्, सबैले न्याय पाउन्, सोझा साझा पनि यस धरतीका सन्तान हुन् उनको पनि यो धरती हो, यहाँ उनी पनि हाँस्न पाउनुपर्छ । स्वतन्त्रताको सास फेर्न पाउनुपर्छ भन्ने आग्रह नै उनका निबन्धमा सरल ढङ्गले व्यक्त भएको पाइन्छ ।

देशका युवा वी.ए., एम.ए. पढेर रोजगार नपाएर पानी र जवानी दुबैले विदेशी भूमि सिंचाइ गरिरहेका छन् । यो देशको पानीले यही देशको जमिन भिजाउनुपर्छ । यस देशका युवाले यसै देशमा श्रमका पसिना दानाले यो देशको माटो सजाउनुपर्छ । आफ्नो सीप र जाँगरले यो देश सजाउनुपर्छ । हामीले पनि हाम्रो माटो र वातावरणमा रहेको खेर गइरहेका प्राकृतिक सम्पदाको भरपुर संरक्षण र सदुपयोग गरेर श्रमलाई लगानी गरी उत्पादनमा जोड दिएर उत्पादन विक्री वितरण गरी राष्ट्रिय आय बढाउने र जनताको जीवनस्तर उकास्ने परिस्थिति निर्माण हुनुपर्छ भन्ने उनको निबन्धगत सन्देश रहेको पाइन्छ ।

उनी अभिधात्मक किसिमले निबन्ध लेख्दैनन् लक्षणा र व्यञ्जनात्मक किसिमले निबन्ध लेखेर समृद्ध नेपाल सुखी नेपाली देख्ने चाहनाले निबन्ध लेख्छन् । यिनै विषक्षेत्रमा आधारित हुँदै भट्टराई निबन्ध लेखनमा सक्रिय छन् । उनका निबन्ध हास्यव्यङ्ग्यात्मक शैली-संरचनामा संरचित छन् । नेपाली समाजमा विद्यमान विकृति र विसङ्गति नै उनका निबन्धको विषयक्षेत्र रहेको छ । यही विसङ्गत र विकृत पर्यावरणलाई जस्ताको तस्तै प्रस्तुत गरी सङ्गतिको आकाङ्क्षा व्यक्त गर्नु उनको निबन्ध लेखनको मूल धेय रहेको प्रष्ट हुन्छ ।

०००
सम्पर्क ९८४६०६००९२
फूलबारी-११, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x