साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘मन्त्री पुराण’ भित्र भेटिएका गणेशकुमार

’शक्ति कोसँग हुन्छ ?’ शीर्षकमा उनी यस्तो पाठ पढाउँछन् । उनी विश्वका अनेक शासक महाशासकका विषयमा उल्लेख गर्दै तिनको पतनसमेतका कुरा लेख्छन् र भन्छन्- शक्ति शासकसँग होइन, जनतासँग हुन्छ ।

Nepal Telecom ad

कीर्तिशेष डा.गणेशकुमार पाैडेल :

पैंतिस चालिसबिचको के के न गर्छु भन्ने बेलाको केटौले उमेर । यही बिचमा ढल्यो विगत तिस वर्षदेखिको निर्विकल्प भनिएको मुलुकको निर्दलीय पञ्चायती शासन व्यवस्था । निर्दलीय पञ्चायती व्यवस्था ढलेपछि पुनः उदाएको बहुदलीय व्यवस्थाले दिन दुगुना रात चौगुना विकास हुन्छ भन्ने सोच पालेका थिए सर्वसाधारण जनताले । यही सोचका कारण उनीहरू पञ्चायत विरोधी आन्दोलनमा आफ्नो ज्यानको समेत पर्वाह नगरी दृढ साहसका साथ होमिएका थिए । जनताका अगाडि कसैको केही लागेन । व्यवस्था ढल्यो । तर, जनताले अपेक्षा गरे जस्तो चामत्कारिक विकास केही हुन सकेन । देशमा शासन व्यवस्थामा प्रत्यक्ष रूपमा संलग्न हुन पुगेका राजनीतिक नेता तथा कार्यकर्तामा हिजोकै शैली र आचरण हावी हुन थाल्यो । मुलुकको शासन व्यवस्था सञ्चालनदेखि अन्य कतिपय कुरामा नयाँपनको महसुस जनताले गर्न पाएनन् । यस्तो अवस्थामा उनीहरूमा विविध किसिमका असन्तुष्टिका स्वर गुन्जिन थाल्नु अनौठो कुरो थिएन । यो कुरा गणेशकुमार पौडेलका हकमा पनि लागु भयो ।

तब त यसैबिचमा अरू साहित्यकारले जस्तै साहित्यका माध्यमबाट आफ्नो आक्रोश पोख्न थाले कवि गणेशकुमार पौडेलले पनि । उनले यस आक्रोश पोखाइको साहित्यिक माध्यमलाई हास्यव्यङ्ग्ग्य भनेर नामकरण गरे । यसै प्रयासभित्र देखिएको उनको एउटा साहित्यिक कृतिको नाम हो, ‘मन्त्री पुराण’ । यस मन्त्री पुराण नामधारी हास्यव्यङ्ग्य कृतिभित्र समेटिएका उनका उनन्चालिस रचना प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो दश वर्षमा रचना गरिएका सिर्जना हुन जुन कुरा कृतिमा समाविष्ट लेखकको भनाइ नामक भूमिका खण्डमा उल्लेख छ । उनले यी रचना जे जस्तो भाषिक अभिव्यक्ति र शैलीमा लेखिएको भए तापनि ती सबै सिर्जना सकारात्मक भावका साथ लेखेको देखिन्छ । यी रचना कसैको चरित्र हत्या गर्ने मनशायले लेखिएका होइनन् भनेर सोही भूमिका खण्डमा उनले उल्लेख गरेको यसको शाब्दिक पुष्टि गर्दछ । त्यति मात्र नभएर उनले यसै भूमिका खण्डमा यसपछि अब सत्तामा आउनेहरू जनताको सेवामा सदासर्वदा अग्रसर रहने छन् भन्ने अपेक्षा पनि पालेको देखिन्छ । यी सबै कुराले के देखाउँछ भने उनको लेखाइ सकारात्मक भावतिर केन्द्रित छ । परिणामतः उनको लेखन निराशावादी छैन, आशावादी छ ।

स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रोजगारी । स्वास्थ्य क्षेत्रको रोजगारीका कारण म उनलाई भेट्दा डाक्टरसा’ब भनेर सम्बोधन गर्थे । उनी हाँसेर नमस्ते फर्काउँथे । उनीसँगको मेरो चिनजान करिब एक दशकअघि मात्रको हो । उनीसँगको पहिलो भेटमा उनले मलाई त्यतिखेरै प्रकाशनमा ल्याएएको ‘सुँगुर महिमा’ नामक कृति उपलब्ध गराएका थियो । त्यो सबै पढेको छु मैले । त्यसपछि उनी निरन्तर मेरो सम्पर्कमा रहे । काम विशेषले हेटौंडा जाँदा प्रायः उनीसँग भेट भइरहन्थ्यो । त्यतिखेर मेरा भाइ, भतिज पनि हेटौंडास्थित स्वास्थ्य सेवासँग सम्बन्धित निकायहरूमै कार्यरत रहेका कारण पनि उनीसँगको भेट मेरा लागि सहज हुन्थ्यो । यसै वर्ष अर्थात् २०७९ असारमा उनको देहावसान भयो भन्ने खबर सुन्दा मलाई यो खबर पत्याउन निकै सकस परेको थियो । पछि बाध्य भएर पत्याएँ । यतिखेर वि.सं. २०५६ मा नले प्रकाशनमा ल्याएको ‘मन्त्री पुराण’ नामक हास्यव्यङ्ग्य कृति हातमा लिएर पढिरहँदा पनि उनको फूर्तिलो हँसिलो अनुहार मेरा अघि नाचेको नाच्यै छ । यतिखेर मैले लेखिरहेका यी शब्द उनको जानकारीमा पनि पुग्न सक्ने भए म उनलाई अनुरोध गर्ने थिएँ, ’गणेशजी यहाँकै जस्तो विकृति र विसङ्गति स्वर्गमा पनि छ भने नडराइकन त्यहाँ पनि औँला ठड्याउनुस् र त्यस्ता विकृति र विसङ्गतिको पर्दाफास गर्नुस् है ।’ यति कुरा बकिसकेपछि, अब उनको ‘मन्त्री पुराण’ भित्र प्रवेश गरौं ।

गणेशकुमार पौडेल विरचित ‘मन्त्री पुराण’ बोक्रो पृष्ठसहित ९६ पृष्ठमा छ । यी कुल ९६ पृष्ठमध्ये ७६ पृष्ठमा कविता खण्ड छ भने बाँकीमा भूमिका तथा कुल ९६ संरचित विषयसूची समाविष्ट छन् । कृतिभित्र कुल ३९ वटा कविता छन् भने त्यसमध्ये पनि १६ वटा कविताका शीर्षकमा कहीं न कहीं मन्त्री शब्द झुन्डिएको छ । लेखन काव्य शीर्षकअनुरूप नै अघि बढेको छ । यहाँ मन्त्रीका विषयमा विविध किसिमका अभिव्यक्तिहरू विभिन्न शैली र विविध भाषिक स्वरूपमा अभिव्यक्तिएका छन् । यसबाहेक पनि बाँकी अधिकांश कविता राजनीतिप्रतिको असन्तुष्टिका स्वरमै केन्द्रित छन् । तर, यसरी अभिव्यक्तिएका सबै असन्तुष्टि सुधारका हेतु अभिव्यक्तिएका हुन् भन्ने कुरामा कुनै सन्देह छैन । कृतिभित्र लेखकीय भूमिकाबाहेक कृतिको गहन अध्ययनपछि डा. मोहनप्रसाद लाखे, रामचन्द्र ‘फुर्सती, भीम विराग, रमेश गोर्खालीद्वारा लेखिएका शुभकामनाजनित अभिव्यक्तिहरू समाविष्ट छन् । यीमध्ये पनि कवि गणेशकुमार पौडेलको ‘मन्त्री पुराण’ पारायण गर्दा शीर्षकमा रमेश गोर्खालीद्वारा लेखिएको भूमिका खण्डले कृतिको राम्रो चिरफार गरेको देखिन्छ ।

कृतिभित्रको पहिलो रचना ‘हाम्रा मन्त्रीज्यू सक्षम नेता हुनुहुन्छ’ मा कविको लेखनको तारो मन्त्री नभएर उनीहरूको प्रवृत्ति र शैली बनेको देखिन्छ । समय र परिस्थितिअनुसार आफूलाई बदल्न सक्ने यी नेता हिजो पञ्चायत कालमा पनि मन्त्री थिए, अहिले पनि मन्त्री छन् भनेर व्यङ्ग्य गरिएको छ । परिस्थिति अनुसार आफूलाई बदल्न सक्ने नेता /मन्त्रीसँग एकातिर कलमलाई तरबार भनेर वकालत गर्न पनि सक्ने र अर्कातिर परिआए तरबारलाई कलम भनेर पनि वकालत गर्न सक्ने क्षमता विद्यमान छ जस्तो शैलीमा उनीहरूलाई प्रस्तुत गरिएको छ । मन्त्रीज्यूको चारित्रिक विशेषता केलाउँदै उहाँहरू चुनावताक सोझासाझा जनताका अगाडि बाँसझै झुक्ने, आफू रावण भएर पनि जनताका सामु राम बन्न सक्ने क्षमता राख्छन् भनी उल्लेख गरिएको छ । यस्तो अभिव्यक्तिलाई होइन भन्न सक्ने क्षमता यथार्थमा कोही कसैसँग छैन यतिखेर पनि ।

कृतिमा सङ्ग्रहित ‘तक्मा कसले पाउँछ’ शीर्षकमा रचित कविता जति रोचक छ त्यत्तिकै घोचक पनि छ । यस व्यङ्ग्य कविताले राज्यका तर्फबाट वितरण हुने तक्माको चरम दुरूपयोग भइरहेको विषयलाई इङ्गित गरेको छ । राज्यका तर्फबाट वितरण हुने तक्मा आफ्नो भनेपछि मरेका/ढलेका र चाकडी चाप्लुसीमा दौडिएकाले मात्र पाउने कुरालाई यस कविताले उदाङ्गो पार्दै तिनले पाएका तक्मा सिनोभन्दा बढी गन्हाएको घृणात्मक अभिव्यक्ति यहाँ आएको छ, जुन विषय र अभिव्यक्ति तितो यथार्थमा आधारित छ ।

कृतिभित्र सङ्गृहित ‘हाम्रा मन्त्रीज्यू जनमुखी हुनुहुन्छ’ शीर्षकको कविता पढिरहँदा उहाँले यो कविता वि.सं. २०५५ तिरै लेखेको हो कि यतिखेर लेखेको हो भनेर पाठकमा दुविधा उत्पन्न हुन्छ । कविताले पहिलाको यथार्थभन्दा अहिलेको यथार्थ बढी ओकलेको भान हुन्छ पाठकलाई । उनी हाम्रा मन्त्रीज्यूका विषयमा कवितामा लेख्छन्-
कुर्सी डगमगाउन लागे
फुर्ति देखाउन जान्नुभएकै छ
कडा स्वरले धम्की दिने गर्नुभएकै छ
उहाँले मन्त्री पद नपाए
पार्टी त्याग्छु भन्नुभएकै छ
सरकार ढाल्छु भन्नुभएकै छ
चुनाव गराउँछु भन्नुभएकै छ
देश र जनतालाई खाल्डोमा हाल्न
उहाँ सदा सम्तयार हुनु भएकै छ .।

यति लामो अवधिसम्म नेताहरूमा यस किसिमको चरित्र र व्यवहार देखिनुले नेपालको शासकीय राजनीतिक अवस्थालाई यस कविताले छर्लङ्ग पारेको छ । जुन विषय पढ्दा र मनन गर्दा पाठकका मनमा कहाली लाग्छ । तर, पटक पटक यस्तै प्रवृत्ति र व्यवहार नियाल्न हामी बाध्य छौं । त्यति मात्र नभएर यस्तो प्रवृत्ति र व्यवहार कहिले अन्त होला भनेर पनि चिन्तित छौं ।

‘हाम्रा मन्त्रीज्यू जनमुखी हुनुहुन्छ’ सङ्ग्रहभित्र अर्को कविता छ ‘नेता मन्त्री भएपछि’ शीर्षकमा । यस कविताका विषयमा धेरै चर्चा परिचर्चा कवितामा उल्लिखित केही अंश मात्र यहाँ उद्धृत गर्दा पनि पाठकले आफैँ समीक्षा गर्नुहुन्छ यस कविताका सम्बन्धमा । पाठकीय समीक्षाका लागि निम्नलिखित कविताश पर्याप्त हुन्छ-
… उहाँ मन्त्री पदमा पुगेपछि त
गाली पचाउन सक्नुभएको छ
लाज पचाउन सक्नुभएको छ
झुट बोल्न जति पनि सक्नुहुन्छ
सत्य बोल्न उहाँले जानेकै छैन
उहाँले भनेको भएन भने
विद्रोह गरेर सत्ता समीकरण गर्नुहुन्छ ।
हाम्रा मन्त्रीज्यूले धम्की मात्र हैन
त्यस्तै परे दल बदल पनि गर्नुहुन्छ
त्यो मन्त्री पदका लागि
लिलाम बढीबढाउमा पनि उभिनुहुन्छ
उहाँ जसरी भए पनि मन्त्री बन्नुहुन्छ ।
भनेको मन्त्रालय नपाए
विपक्षीसँग गएर घाँटी जोड्नुहुन्छ ।

कवितांशका यति कुरा उल्लेख गरिसकेपछि पाठक स्वयंले राजनीतिक परिस्थितिको आंकलन गर्न सक्नुहुन्छ ।
राजनीतिक परिदृश्यमा प्रत्यक्ष रूपमा संलग्न यी वा ती सबै राजनीतिकर्मीहरूको चरित्र र हैसियत ठम्याउन सक्नुहुन्छ । यस्तै दिक्क लाग्दो राजनीतिक परिदृश्यका कारण कवि गणेशकुमार सङ्ग्रहभित्र ‘सहित सङ्घर्ष’ शीर्षकको अर्को एउटा कवितामा चुनाव त जुँघामा ताउ लगाउनेहरूको लागि मात्र हो, तसर्थ संसद् दोहोरी गायनको रोदीघर हो’ भन्न पुग्छन् । नेताहरूले संसदमा देखाएको गतिविधिलाई नियाल्दा कविले यहाँ अलिक बढी भने कि भनेर शङ्का गर्नु वा औँला ठड्याउनु पर्ने अवस्था देखिन्न ।

कवि गणेश पौडेल कवितामा मात्र पाठकलाई हसाउँदैनन्, उनी कविताको शीर्षक चयनमा पनि पाठकलाई मुसुक्क हसाउन सक्छन् । सङ्ग्रहभित्र उनको एउटा यस्तै कविता छ- ‘हाम्रा मन्त्रीज्यू इम्परर न्यू क्लोथभन्दा माथि’ शीर्षकमा । शीर्षक पढ्नेवित्तिकै कविता उदाङ्ग हुन्छ । कविताको भावभूमि हुन्छ । ‘हाँसो’ कविताले मन्त्रीका विषयमा के भन्दैछ कसरी मन्त्रीज्यूलाई चित्रण न छ भन्ने कुरा शीर्षकले नै ओकल्छ । यो कविता त्यस्तै छ । कविताभित्र कवि लेख्छन्-
मन्त्री पदमा पुगेपछि
छाप्रो नभएको ढाक्रेले पनि
गगनचुम्बी महल बनाउँछ,
चाउरी परेका गाला
र कलेटी परेका ओठ पनि
पुस्टिएर रातो पिरो हुन्छ ।

‘बुढो भए जवान हुन्छ’ कविता पढ्दै जाँदा यी नेताले जिन्दगीभरि त्यत्तिका लागि मरिमेटेका छन् भने जीवनको उत्तरार्द्धमा आएर बल्लतल्ल यति गरेका कुरालाई कविले किन यसरी रिस र डाह गरेको होला भनेर पाठकलाई लाग्न सक्छ । तर देशको सेवा गर्छु, देश विकास गर्छु भनेर रातदिन पट्ट्यारलाग्दो भाषण गर्नेहरूबाट आफ्नो हैसियत बिर्सिएर छोटै अवधिमा यस्तो हैसियत देखाउँदा कसलाई शङ्का लाग्दैन र उनीहरूक बोलाइ र गराइप्रति ? लाग्छ नि । अनि, त्यसमाथि कवि, त्यो पनि व्यङ्ग्य कवि अनि पाठकले सोच्छन्, कविले यति आफ्नो भावना ओकल्नु अन्यथा होइन ।

कवि कतिखेर सत्तामा बस्नेहरूलाई शक्तिको पारख गर्नेहरूलाई ’शक्तिशाली त जनता पो हुन्छ शक्तिमा जो सर्वोपरि रहन्छ’ भनेर सम्झाउन पनि बेर लाउँदैनन् । ’शक्ति कोसँग हुन्छ ?’ शीर्षकमा उनी यस्तो पाठ पढाउँछन् । उनी विश्वका अनेक शासक महाशासकका विषयमा उल्लेख गर्दै तिनको पतनसमेतका कुरा लेख्छन् र भन्छन्- शक्ति शासकसँग होइन, जनतासँग हुन्छ ।

सङ्ग्रहभित्रका कवितामा कतैकतै त कवि तुलनात्मक रूपमा अझ बढी कडा रूपमा उत्रँदै भन्छन्-
हाम्रा मन्त्रीजी त सत्तामा जान
अरूलाई मूर्ख बनाउनुहुन्छ
आफू सभ्य भएर सधै मन्त्रीको
कुर्सीमा बस्नुहुन्छ
जुठो हाडको निमित्त जसरी झगडा गर्छन्
उसै गरी हाम्रा मन्त्रीज्यू कुर्सीको लागि लड्नुहुन्छ ।
-कुकुरहरू

‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड’ भने झैँ यति भनिसकेपछि यसभन्दा बढी के भन्नु ! हो, उनी यसरी कुर्लिएको कविता हो, ‘हाम्रा मन्त्रीज्यूलाई जानकारी छैन’ शीर्षकको कवितामा । यस्तै अर्को ‘विचित्रको मन्त्रीको कुर्सी’ शीर्षकको कवितामा पनि उनी यसरी नै प्रस्तुत हुन्छन् र भन्छन्-
कुर्सीको विचित्रता यस्तो छ
जनतालाई झुक्याउन
कुर्सीले सिकाउँछ
रनभुल्लमा पार्न पनि
त्यही कुर्सीले सिकाउछ ।

गणेशकुमार पौडेलद्वारा विरचित उल्लिखित ‘मन्त्री पुराण’ कृतिभित्र सगृहित उनन्चालिस काव्य सिर्जनामध्ये यहाँ मुस्किलले नौ रचनाका विषयलाई मात्र साङ्केतिक रूपमा उल्लेख गरियो । यी कविता र यिनमा उल्लिखित कवितांशबाट उनका रचनाको भावभूमि प्रस्ट हुन्छ । उल्लेख गरिएबाहेकका बाँकी कविता पनि ओजपूणर् छन् । खंदिला छन् । व्यङ्ग्यभावले भरिपूणर् छन् । सङ्ग्रहभित्रका उनका कवितामा शास्त्रीय छन्दको पारख कहीं कतै छैन । उसो त यी कविता शास्त्रीय छन्दमा लेखिएको दावी पनि कविले गरेका छैनन् । मुक्त छन्दका कविता पनि लेखकीय सिप र कलाले पूणर् हुँदा काव्यभाव र प्रस्तुतिमा शास्त्रीय छन्दका कवितालाई माथ गर्ने खालका हुन्छन् । तर, यस सङ्ग्रहमा सङ्ग्रहित गणेशजीका कविता त्यसरी माथ गर्ने कोटिका पनि छैनन् । त्यो यसका पाठकले काव्य पठनका क्रममा सहजै पत्ता लगाउँछन् । भाषिक हिसाबले पनि कविता केही कमजोर छन्, यस्तो कमजोरीपन जानेर नभई प्रकाशनमा ल्याउनुअघि दोहार्‍याएर तेहर्‍याएर नपढ्नुको परिणाम हो भन्ने लाग्छ । तर, यी सबैलाई छायामा पारेर कवितामा उठाइएका विषयवस्तु आफैमा गहन हुन सफल देखिन्छन् । कविताका मूल्य, मान्यता र सिद्धान्तलाई पर पन्छाएर हेर्दा कवितामा पर्याप्त अग्र्यानिकता छ । विविध किसिमका सिंगारपटार र रासायनिकताको सम्मिश्रण यसमा छैन । जसका कारणले कविता राजनीतिक व्यङ्ग्यभाव प्रदान गर्न सफल देखिन्छ ।

मेरो आपसी सम्बन्ध र आक्कलझुक्कलको भेटघाटमा मैले पाएका कवि गणेश निकै जाँगरिला कवि थिए । उनमा भावनाको भेल थियो । असन्तुष्टिको ज्वारभाटा थियो । आक्रोशको पोखरी थियो । त्यो भेल, ज्वारभाटा र पोखरी जस्तो रूपमा उनको मानसपटलमा नाच्थ्यो त्यसलाई त्यस्तै रूपमा सर्लक्क ओकल्थे उनी । उनको यो अर्ग्यानिकता नबुझ्ने कतिपय पाठकले उनको कवित्वलाई अलिक कम आँकलन नगरेका पनि होइनन् । गरे । तर, यथार्थतामा त्यस्तो मूल्याङ्कन सत्यको नजिक थिएन । छैन । उनका बारेमा लेखिएका उल्लिखित अक्षर, शब्द, वाक्यर विचारमाथि घनघोर वकालत पनि हुन सक्ला, त्यो आफ्नू ठाउँमा सुरक्षित छ । खुला छ । तर, यतिखेर भने साहित्यिक सम्झनामा सीमित स्वर्गीय कवि गणेशकुमार पौडेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै म भने यो लेखनीबाट यहीं ओझेलिन्छु ।

०००
हेटौडामा ०८० जेठ २७ गते लोकार्पित
‘सिर्जना र सम्झनामा डा.गणेशकुमार पौडेल’ ग्रन्थबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
0
Would love your thoughts, please comment.x
()
x