पिँडालु पण्डित‘मन्त्री पुराण’ भित्र भेटिएका गणेशकुमार
’शक्ति कोसँग हुन्छ ?’ शीर्षकमा उनी यस्तो पाठ पढाउँछन् । उनी विश्वका अनेक शासक महाशासकका विषयमा उल्लेख गर्दै तिनको पतनसमेतका कुरा लेख्छन् र भन्छन्- शक्ति शासकसँग होइन, जनतासँग हुन्छ ।

कीर्तिशेष डा.गणेशकुमार पाैडेल :
पैंतिस चालिसबिचको के के न गर्छु भन्ने बेलाको केटौले उमेर । यही बिचमा ढल्यो विगत तिस वर्षदेखिको निर्विकल्प भनिएको मुलुकको निर्दलीय पञ्चायती शासन व्यवस्था । निर्दलीय पञ्चायती व्यवस्था ढलेपछि पुनः उदाएको बहुदलीय व्यवस्थाले दिन दुगुना रात चौगुना विकास हुन्छ भन्ने सोच पालेका थिए सर्वसाधारण जनताले । यही सोचका कारण उनीहरू पञ्चायत विरोधी आन्दोलनमा आफ्नो ज्यानको समेत पर्वाह नगरी दृढ साहसका साथ होमिएका थिए । जनताका अगाडि कसैको केही लागेन । व्यवस्था ढल्यो । तर, जनताले अपेक्षा गरे जस्तो चामत्कारिक विकास केही हुन सकेन । देशमा शासन व्यवस्थामा प्रत्यक्ष रूपमा संलग्न हुन पुगेका राजनीतिक नेता तथा कार्यकर्तामा हिजोकै शैली र आचरण हावी हुन थाल्यो । मुलुकको शासन व्यवस्था सञ्चालनदेखि अन्य कतिपय कुरामा नयाँपनको महसुस जनताले गर्न पाएनन् । यस्तो अवस्थामा उनीहरूमा विविध किसिमका असन्तुष्टिका स्वर गुन्जिन थाल्नु अनौठो कुरो थिएन । यो कुरा गणेशकुमार पौडेलका हकमा पनि लागु भयो ।
तब त यसैबिचमा अरू साहित्यकारले जस्तै साहित्यका माध्यमबाट आफ्नो आक्रोश पोख्न थाले कवि गणेशकुमार पौडेलले पनि । उनले यस आक्रोश पोखाइको साहित्यिक माध्यमलाई हास्यव्यङ्ग्ग्य भनेर नामकरण गरे । यसै प्रयासभित्र देखिएको उनको एउटा साहित्यिक कृतिको नाम हो, ‘मन्त्री पुराण’ । यस मन्त्री पुराण नामधारी हास्यव्यङ्ग्य कृतिभित्र समेटिएका उनका उनन्चालिस रचना प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो दश वर्षमा रचना गरिएका सिर्जना हुन जुन कुरा कृतिमा समाविष्ट लेखकको भनाइ नामक भूमिका खण्डमा उल्लेख छ । उनले यी रचना जे जस्तो भाषिक अभिव्यक्ति र शैलीमा लेखिएको भए तापनि ती सबै सिर्जना सकारात्मक भावका साथ लेखेको देखिन्छ । यी रचना कसैको चरित्र हत्या गर्ने मनशायले लेखिएका होइनन् भनेर सोही भूमिका खण्डमा उनले उल्लेख गरेको यसको शाब्दिक पुष्टि गर्दछ । त्यति मात्र नभएर उनले यसै भूमिका खण्डमा यसपछि अब सत्तामा आउनेहरू जनताको सेवामा सदासर्वदा अग्रसर रहने छन् भन्ने अपेक्षा पनि पालेको देखिन्छ । यी सबै कुराले के देखाउँछ भने उनको लेखाइ सकारात्मक भावतिर केन्द्रित छ । परिणामतः उनको लेखन निराशावादी छैन, आशावादी छ ।
स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रोजगारी । स्वास्थ्य क्षेत्रको रोजगारीका कारण म उनलाई भेट्दा डाक्टरसा’ब भनेर सम्बोधन गर्थे । उनी हाँसेर नमस्ते फर्काउँथे । उनीसँगको मेरो चिनजान करिब एक दशकअघि मात्रको हो । उनीसँगको पहिलो भेटमा उनले मलाई त्यतिखेरै प्रकाशनमा ल्याएएको ‘सुँगुर महिमा’ नामक कृति उपलब्ध गराएका थियो । त्यो सबै पढेको छु मैले । त्यसपछि उनी निरन्तर मेरो सम्पर्कमा रहे । काम विशेषले हेटौंडा जाँदा प्रायः उनीसँग भेट भइरहन्थ्यो । त्यतिखेर मेरा भाइ, भतिज पनि हेटौंडास्थित स्वास्थ्य सेवासँग सम्बन्धित निकायहरूमै कार्यरत रहेका कारण पनि उनीसँगको भेट मेरा लागि सहज हुन्थ्यो । यसै वर्ष अर्थात् २०७९ असारमा उनको देहावसान भयो भन्ने खबर सुन्दा मलाई यो खबर पत्याउन निकै सकस परेको थियो । पछि बाध्य भएर पत्याएँ । यतिखेर वि.सं. २०५६ मा नले प्रकाशनमा ल्याएको ‘मन्त्री पुराण’ नामक हास्यव्यङ्ग्य कृति हातमा लिएर पढिरहँदा पनि उनको फूर्तिलो हँसिलो अनुहार मेरा अघि नाचेको नाच्यै छ । यतिखेर मैले लेखिरहेका यी शब्द उनको जानकारीमा पनि पुग्न सक्ने भए म उनलाई अनुरोध गर्ने थिएँ, ’गणेशजी यहाँकै जस्तो विकृति र विसङ्गति स्वर्गमा पनि छ भने नडराइकन त्यहाँ पनि औँला ठड्याउनुस् र त्यस्ता विकृति र विसङ्गतिको पर्दाफास गर्नुस् है ।’ यति कुरा बकिसकेपछि, अब उनको ‘मन्त्री पुराण’ भित्र प्रवेश गरौं ।
गणेशकुमार पौडेल विरचित ‘मन्त्री पुराण’ बोक्रो पृष्ठसहित ९६ पृष्ठमा छ । यी कुल ९६ पृष्ठमध्ये ७६ पृष्ठमा कविता खण्ड छ भने बाँकीमा भूमिका तथा कुल ९६ संरचित विषयसूची समाविष्ट छन् । कृतिभित्र कुल ३९ वटा कविता छन् भने त्यसमध्ये पनि १६ वटा कविताका शीर्षकमा कहीं न कहीं मन्त्री शब्द झुन्डिएको छ । लेखन काव्य शीर्षकअनुरूप नै अघि बढेको छ । यहाँ मन्त्रीका विषयमा विविध किसिमका अभिव्यक्तिहरू विभिन्न शैली र विविध भाषिक स्वरूपमा अभिव्यक्तिएका छन् । यसबाहेक पनि बाँकी अधिकांश कविता राजनीतिप्रतिको असन्तुष्टिका स्वरमै केन्द्रित छन् । तर, यसरी अभिव्यक्तिएका सबै असन्तुष्टि सुधारका हेतु अभिव्यक्तिएका हुन् भन्ने कुरामा कुनै सन्देह छैन । कृतिभित्र लेखकीय भूमिकाबाहेक कृतिको गहन अध्ययनपछि डा. मोहनप्रसाद लाखे, रामचन्द्र ‘फुर्सती, भीम विराग, रमेश गोर्खालीद्वारा लेखिएका शुभकामनाजनित अभिव्यक्तिहरू समाविष्ट छन् । यीमध्ये पनि कवि गणेशकुमार पौडेलको ‘मन्त्री पुराण’ पारायण गर्दा शीर्षकमा रमेश गोर्खालीद्वारा लेखिएको भूमिका खण्डले कृतिको राम्रो चिरफार गरेको देखिन्छ ।
कृतिभित्रको पहिलो रचना ‘हाम्रा मन्त्रीज्यू सक्षम नेता हुनुहुन्छ’ मा कविको लेखनको तारो मन्त्री नभएर उनीहरूको प्रवृत्ति र शैली बनेको देखिन्छ । समय र परिस्थितिअनुसार आफूलाई बदल्न सक्ने यी नेता हिजो पञ्चायत कालमा पनि मन्त्री थिए, अहिले पनि मन्त्री छन् भनेर व्यङ्ग्य गरिएको छ । परिस्थिति अनुसार आफूलाई बदल्न सक्ने नेता /मन्त्रीसँग एकातिर कलमलाई तरबार भनेर वकालत गर्न पनि सक्ने र अर्कातिर परिआए तरबारलाई कलम भनेर पनि वकालत गर्न सक्ने क्षमता विद्यमान छ जस्तो शैलीमा उनीहरूलाई प्रस्तुत गरिएको छ । मन्त्रीज्यूको चारित्रिक विशेषता केलाउँदै उहाँहरू चुनावताक सोझासाझा जनताका अगाडि बाँसझै झुक्ने, आफू रावण भएर पनि जनताका सामु राम बन्न सक्ने क्षमता राख्छन् भनी उल्लेख गरिएको छ । यस्तो अभिव्यक्तिलाई होइन भन्न सक्ने क्षमता यथार्थमा कोही कसैसँग छैन यतिखेर पनि ।
कृतिमा सङ्ग्रहित ‘तक्मा कसले पाउँछ’ शीर्षकमा रचित कविता जति रोचक छ त्यत्तिकै घोचक पनि छ । यस व्यङ्ग्य कविताले राज्यका तर्फबाट वितरण हुने तक्माको चरम दुरूपयोग भइरहेको विषयलाई इङ्गित गरेको छ । राज्यका तर्फबाट वितरण हुने तक्मा आफ्नो भनेपछि मरेका/ढलेका र चाकडी चाप्लुसीमा दौडिएकाले मात्र पाउने कुरालाई यस कविताले उदाङ्गो पार्दै तिनले पाएका तक्मा सिनोभन्दा बढी गन्हाएको घृणात्मक अभिव्यक्ति यहाँ आएको छ, जुन विषय र अभिव्यक्ति तितो यथार्थमा आधारित छ ।
कृतिभित्र सङ्गृहित ‘हाम्रा मन्त्रीज्यू जनमुखी हुनुहुन्छ’ शीर्षकको कविता पढिरहँदा उहाँले यो कविता वि.सं. २०५५ तिरै लेखेको हो कि यतिखेर लेखेको हो भनेर पाठकमा दुविधा उत्पन्न हुन्छ । कविताले पहिलाको यथार्थभन्दा अहिलेको यथार्थ बढी ओकलेको भान हुन्छ पाठकलाई । उनी हाम्रा मन्त्रीज्यूका विषयमा कवितामा लेख्छन्-
कुर्सी डगमगाउन लागे
फुर्ति देखाउन जान्नुभएकै छ
कडा स्वरले धम्की दिने गर्नुभएकै छ
उहाँले मन्त्री पद नपाए
पार्टी त्याग्छु भन्नुभएकै छ
सरकार ढाल्छु भन्नुभएकै छ
चुनाव गराउँछु भन्नुभएकै छ
देश र जनतालाई खाल्डोमा हाल्न
उहाँ सदा सम्तयार हुनु भएकै छ .।
यति लामो अवधिसम्म नेताहरूमा यस किसिमको चरित्र र व्यवहार देखिनुले नेपालको शासकीय राजनीतिक अवस्थालाई यस कविताले छर्लङ्ग पारेको छ । जुन विषय पढ्दा र मनन गर्दा पाठकका मनमा कहाली लाग्छ । तर, पटक पटक यस्तै प्रवृत्ति र व्यवहार नियाल्न हामी बाध्य छौं । त्यति मात्र नभएर यस्तो प्रवृत्ति र व्यवहार कहिले अन्त होला भनेर पनि चिन्तित छौं ।
‘हाम्रा मन्त्रीज्यू जनमुखी हुनुहुन्छ’ सङ्ग्रहभित्र अर्को कविता छ ‘नेता मन्त्री भएपछि’ शीर्षकमा । यस कविताका विषयमा धेरै चर्चा परिचर्चा कवितामा उल्लिखित केही अंश मात्र यहाँ उद्धृत गर्दा पनि पाठकले आफैँ समीक्षा गर्नुहुन्छ यस कविताका सम्बन्धमा । पाठकीय समीक्षाका लागि निम्नलिखित कविताश पर्याप्त हुन्छ-
… उहाँ मन्त्री पदमा पुगेपछि त
गाली पचाउन सक्नुभएको छ
लाज पचाउन सक्नुभएको छ
झुट बोल्न जति पनि सक्नुहुन्छ
सत्य बोल्न उहाँले जानेकै छैन
उहाँले भनेको भएन भने
विद्रोह गरेर सत्ता समीकरण गर्नुहुन्छ ।
हाम्रा मन्त्रीज्यूले धम्की मात्र हैन
त्यस्तै परे दल बदल पनि गर्नुहुन्छ
त्यो मन्त्री पदका लागि
लिलाम बढीबढाउमा पनि उभिनुहुन्छ
उहाँ जसरी भए पनि मन्त्री बन्नुहुन्छ ।
भनेको मन्त्रालय नपाए
विपक्षीसँग गएर घाँटी जोड्नुहुन्छ ।
कवितांशका यति कुरा उल्लेख गरिसकेपछि पाठक स्वयंले राजनीतिक परिस्थितिको आंकलन गर्न सक्नुहुन्छ ।
राजनीतिक परिदृश्यमा प्रत्यक्ष रूपमा संलग्न यी वा ती सबै राजनीतिकर्मीहरूको चरित्र र हैसियत ठम्याउन सक्नुहुन्छ । यस्तै दिक्क लाग्दो राजनीतिक परिदृश्यका कारण कवि गणेशकुमार सङ्ग्रहभित्र ‘सहित सङ्घर्ष’ शीर्षकको अर्को एउटा कवितामा चुनाव त जुँघामा ताउ लगाउनेहरूको लागि मात्र हो, तसर्थ संसद् दोहोरी गायनको रोदीघर हो’ भन्न पुग्छन् । नेताहरूले संसदमा देखाएको गतिविधिलाई नियाल्दा कविले यहाँ अलिक बढी भने कि भनेर शङ्का गर्नु वा औँला ठड्याउनु पर्ने अवस्था देखिन्न ।
कवि गणेश पौडेल कवितामा मात्र पाठकलाई हसाउँदैनन्, उनी कविताको शीर्षक चयनमा पनि पाठकलाई मुसुक्क हसाउन सक्छन् । सङ्ग्रहभित्र उनको एउटा यस्तै कविता छ- ‘हाम्रा मन्त्रीज्यू इम्परर न्यू क्लोथभन्दा माथि’ शीर्षकमा । शीर्षक पढ्नेवित्तिकै कविता उदाङ्ग हुन्छ । कविताको भावभूमि हुन्छ । ‘हाँसो’ कविताले मन्त्रीका विषयमा के भन्दैछ कसरी मन्त्रीज्यूलाई चित्रण न छ भन्ने कुरा शीर्षकले नै ओकल्छ । यो कविता त्यस्तै छ । कविताभित्र कवि लेख्छन्-
मन्त्री पदमा पुगेपछि
छाप्रो नभएको ढाक्रेले पनि
गगनचुम्बी महल बनाउँछ,
चाउरी परेका गाला
र कलेटी परेका ओठ पनि
पुस्टिएर रातो पिरो हुन्छ ।
‘बुढो भए जवान हुन्छ’ कविता पढ्दै जाँदा यी नेताले जिन्दगीभरि त्यत्तिका लागि मरिमेटेका छन् भने जीवनको उत्तरार्द्धमा आएर बल्लतल्ल यति गरेका कुरालाई कविले किन यसरी रिस र डाह गरेको होला भनेर पाठकलाई लाग्न सक्छ । तर देशको सेवा गर्छु, देश विकास गर्छु भनेर रातदिन पट्ट्यारलाग्दो भाषण गर्नेहरूबाट आफ्नो हैसियत बिर्सिएर छोटै अवधिमा यस्तो हैसियत देखाउँदा कसलाई शङ्का लाग्दैन र उनीहरूक बोलाइ र गराइप्रति ? लाग्छ नि । अनि, त्यसमाथि कवि, त्यो पनि व्यङ्ग्य कवि अनि पाठकले सोच्छन्, कविले यति आफ्नो भावना ओकल्नु अन्यथा होइन ।
कवि कतिखेर सत्तामा बस्नेहरूलाई शक्तिको पारख गर्नेहरूलाई ’शक्तिशाली त जनता पो हुन्छ शक्तिमा जो सर्वोपरि रहन्छ’ भनेर सम्झाउन पनि बेर लाउँदैनन् । ’शक्ति कोसँग हुन्छ ?’ शीर्षकमा उनी यस्तो पाठ पढाउँछन् । उनी विश्वका अनेक शासक महाशासकका विषयमा उल्लेख गर्दै तिनको पतनसमेतका कुरा लेख्छन् र भन्छन्- शक्ति शासकसँग होइन, जनतासँग हुन्छ ।
सङ्ग्रहभित्रका कवितामा कतैकतै त कवि तुलनात्मक रूपमा अझ बढी कडा रूपमा उत्रँदै भन्छन्-
हाम्रा मन्त्रीजी त सत्तामा जान
अरूलाई मूर्ख बनाउनुहुन्छ
आफू सभ्य भएर सधै मन्त्रीको
कुर्सीमा बस्नुहुन्छ
जुठो हाडको निमित्त जसरी झगडा गर्छन्
उसै गरी हाम्रा मन्त्रीज्यू कुर्सीको लागि लड्नुहुन्छ ।
-कुकुरहरू
‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड’ भने झैँ यति भनिसकेपछि यसभन्दा बढी के भन्नु ! हो, उनी यसरी कुर्लिएको कविता हो, ‘हाम्रा मन्त्रीज्यूलाई जानकारी छैन’ शीर्षकको कवितामा । यस्तै अर्को ‘विचित्रको मन्त्रीको कुर्सी’ शीर्षकको कवितामा पनि उनी यसरी नै प्रस्तुत हुन्छन् र भन्छन्-
कुर्सीको विचित्रता यस्तो छ
जनतालाई झुक्याउन
कुर्सीले सिकाउँछ
रनभुल्लमा पार्न पनि
त्यही कुर्सीले सिकाउछ ।
गणेशकुमार पौडेलद्वारा विरचित उल्लिखित ‘मन्त्री पुराण’ कृतिभित्र सगृहित उनन्चालिस काव्य सिर्जनामध्ये यहाँ मुस्किलले नौ रचनाका विषयलाई मात्र साङ्केतिक रूपमा उल्लेख गरियो । यी कविता र यिनमा उल्लिखित कवितांशबाट उनका रचनाको भावभूमि प्रस्ट हुन्छ । उल्लेख गरिएबाहेकका बाँकी कविता पनि ओजपूणर् छन् । खंदिला छन् । व्यङ्ग्यभावले भरिपूणर् छन् । सङ्ग्रहभित्रका उनका कवितामा शास्त्रीय छन्दको पारख कहीं कतै छैन । उसो त यी कविता शास्त्रीय छन्दमा लेखिएको दावी पनि कविले गरेका छैनन् । मुक्त छन्दका कविता पनि लेखकीय सिप र कलाले पूणर् हुँदा काव्यभाव र प्रस्तुतिमा शास्त्रीय छन्दका कवितालाई माथ गर्ने खालका हुन्छन् । तर, यस सङ्ग्रहमा सङ्ग्रहित गणेशजीका कविता त्यसरी माथ गर्ने कोटिका पनि छैनन् । त्यो यसका पाठकले काव्य पठनका क्रममा सहजै पत्ता लगाउँछन् । भाषिक हिसाबले पनि कविता केही कमजोर छन्, यस्तो कमजोरीपन जानेर नभई प्रकाशनमा ल्याउनुअघि दोहार्याएर तेहर्याएर नपढ्नुको परिणाम हो भन्ने लाग्छ । तर, यी सबैलाई छायामा पारेर कवितामा उठाइएका विषयवस्तु आफैमा गहन हुन सफल देखिन्छन् । कविताका मूल्य, मान्यता र सिद्धान्तलाई पर पन्छाएर हेर्दा कवितामा पर्याप्त अग्र्यानिकता छ । विविध किसिमका सिंगारपटार र रासायनिकताको सम्मिश्रण यसमा छैन । जसका कारणले कविता राजनीतिक व्यङ्ग्यभाव प्रदान गर्न सफल देखिन्छ ।
मेरो आपसी सम्बन्ध र आक्कलझुक्कलको भेटघाटमा मैले पाएका कवि गणेश निकै जाँगरिला कवि थिए । उनमा भावनाको भेल थियो । असन्तुष्टिको ज्वारभाटा थियो । आक्रोशको पोखरी थियो । त्यो भेल, ज्वारभाटा र पोखरी जस्तो रूपमा उनको मानसपटलमा नाच्थ्यो त्यसलाई त्यस्तै रूपमा सर्लक्क ओकल्थे उनी । उनको यो अर्ग्यानिकता नबुझ्ने कतिपय पाठकले उनको कवित्वलाई अलिक कम आँकलन नगरेका पनि होइनन् । गरे । तर, यथार्थतामा त्यस्तो मूल्याङ्कन सत्यको नजिक थिएन । छैन । उनका बारेमा लेखिएका उल्लिखित अक्षर, शब्द, वाक्यर विचारमाथि घनघोर वकालत पनि हुन सक्ला, त्यो आफ्नू ठाउँमा सुरक्षित छ । खुला छ । तर, यतिखेर भने साहित्यिक सम्झनामा सीमित स्वर्गीय कवि गणेशकुमार पौडेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै म भने यो लेखनीबाट यहीं ओझेलिन्छु ।
०००
हेटौडामा ०८० जेठ २७ गते लोकार्पित
‘सिर्जना र सम्झनामा डा.गणेशकुमार पौडेल’ ग्रन्थबाट
Subscribe
Login
0 Comments
Oldest






































