साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्तकमा काव्यिक सौन्दर्यको परावर्तन

पाठकको मनभित्र हलचल ल्याउने सामर्थ्य भएका रेहित सैजुका मुक्तकहरु आफ्नो वणर्न, चर्चा र बखान गर्न आफै सक्षम छन् । अकबरी सुनलाई कसी लगाउनु पर्दैन । इन्द्रको अगाडि स्वर्गको बखान गर्न पनि सुहाउन्न ।

Nepal Telecom ad

खगेन्द्र गिरि ‘कोपिला’ :

छन त म सुन्दर भव्य म्युजियमभित्र छु
आ-आफ्नै परिधि अनि नियमभित्र छु
नदी सागरमा पौडिने छु, सपना छैन मेरो
बाध्यताले सिसाको एक्वारियमभित्र छु ।

केही गहकिलो कुरो भनेजस्तो लाग्ने यी पङ्क्तिका रचनाकार भर्खर २२ वर्षका युवा हुन् । २२ वर्षको उमेरमा प्रकाशित गरेको उनको पुस्तकमा सङ्ग्रहित यो मुक्तक उनले अलि अगाडि नै लेखेका हुन पनि सक्छन् । उमेरभन्दा पनि व्यक्तिको जिज्ञासा र जिज्ञासालाई समाधान गर्ने तत्परताले नै कुनै गहन सत्यको बोध हुन्छ भन्ने दृष्टान्त हो यो मुक्तक ।

एउटा २०/२२ वर्षको तन्नेरीले आफ्ना सपना र आफू बसेको परिवेशको असन्तुलनलाई एक्वारियमसित दाँजेर यति कलात्मक र बिम्बात्मक रुपले मुक्तकमा ढाल्न सक्नु सुखद आश्चर्यको कुरा हो । मुक्तकलाई तुकबन्दी र चारपङ्क्तिको साँचोमा ढाल्न त जसले पनि सक्छन् तर बिम्ब, विचार, मनोविज्ञान र शब्दको कला भर्न भने सबैले सक्दैनन् । यी तन्नेरी मुक्तककारसित भने त्यो कला भरपुर रहेछ ।

रामेछापमा जन्मेका तन्नेरी युवा रेहित सैजुको ‘परावर्तन’ नामक मुक्तकसङ्ग्रह पढेपछि म यस्तो लेख्न अग्रसर भएँ । उक्त सङ्ग्रहमा संकलित २४० ओटा मुक्तकहरुमध्ये अधिकांशले अचम्मसित मेरो मनलाई ताने । कुनैकुनैले अत्यन्त भावुक बनाए । कुनैकुनैले चिन्तनको गहिराईमा लगेर छताछुल्ल पार्दै भिजाएर फर्काए । कुनैकुनै मुक्तक त हृदयको केन्द्रस्थलमा गएर टक्क अडिन पनि पुगे । जीवनलाई हेर्ने, बुझ्ने र मनन गर्ने यी मुक्तककारको दृष्टिकोण देखेर म ‘परावर्तन’ पढुञ्जेल एकोहोरो मोहित भइरहेँः

न साँचेको जस्तो हुन्छ न रोजेको जस्तो हुन्छ
न भनेको जस्तो हुन्छ न खोजेको जस्तो हुन्छ
यो जिन्दगी रहेछ अलिखित, अदृश्य वस्तुजस्तो
न ठानेको जस्तो हुन्छ, न सोचेको जस्तो हुन्छ ।

यी पङ्ति पढेपछि आहा नभनेर रहन सकिन्न । जीवनको सोपान र यथार्थको चित्रलाई चार पङ्क्तिमा यति सुन्दर प्रकारले ढालेका छन् रेहितले । यो मुक्तक साँच्चै भन्नुपर्दा मुक्तकको मात्र नभएर जीवनकै परिभाषा बन्न पुगेको छ ।

मुक्तक के हो ? के हैन ? भन्ने बारेमा धेरैले धेरै कुरा लेखिसकेका छन् । मुक्तकमा के हुनुपर्छ र मुक्तकद्वारा कुन कुरा अभिव्यक्त गर्नु पर्छ भन्ने कुरामा पनि धेरैले अनेकौं अर्ति, उपदेश, सल्लाह र आदेश दिइसकेका छन् । कुनै एउटा राम्रो मुक्तक नै मुक्तकको सुन्दरको परिभाषा हो भन्ने भनाईलाई आत्मसात गरेर भन्दा म यो भन्न कुनै सङ्कोच मान्दिन कि रेहित सैजुका मुक्तकहरू राम्रो मुक्तकका नमूना, उदाहरण, मानक र परिभाषा बनेका छन् । यति राम्रा मुक्तक नेपाली साहित्यमा कमै लेखिएका होलान् कदाचित् । रेहितको अर्को मुक्तकको बान्की हेरौँः

धेरै गुज्रियौँ समस्यामा अब उपाय बनाउनु छ
न्याय छिनोफानो गर्ने एउटै निकाय बनाउनु छ
आऊ हातेमालो गरौँ हटाएर सारा कुभावना
भेदभावरहित समावेशी समुदाय बनाउनु छ ।

कनिकुथी यसो दुईचार अक्षर कोरेर आत्मप्रचार गर्ने र आफूलाई ठूलै साहित्यकार हुँ भनेर आफै विज्ञापन गर्नेहरूका पुस्तकमा यस्ता सटिक, अर्थपूणर् र बान्किला मुक्तक भेटिनन्न् । रेहितका मुक्तक पढ्दा उनले मुक्तकलाई गम्भीर ढङ्गले बुझेको र आफ्ना मुक्तकमा पनि गम्भीर कुरो पस्किन खोजेको देखिन्छ । उनले मुक्तकमा अनुप्रास मिलाउने नाममा भावनाको घाँटी निमोठेका छैनन् । भावना पोख्ने नाममा मुक्तकको चोटिलो र कसिलोपनमाथि अन्याय गरेका छैनन् । प्रत्येक पङ्क्तिमा कुतुहल दिँदै, दिँदै अन्तिम पङ्क्तिले त्यस कुतुहललाई उदाङ्ग पारेर पाठक र स्रोतालाई घत पार्न उनी निकै सिपालु रहेछन् । उनका मुक्तकले घत पार्नुमा यो मात्र कारण छैन । केही सन्देशमुलक भाव र सत्यको उद्घाटन गरेर रेहितका मुक्तक स्रोता र पाठकका मनमा केही गम्भीर छाप पार्न सक्षम छन् । उदाहरणको लागि यस मुक्तकको चोटिलोपन र त्यससित अभिव्यक्त भएको सन्देशको गहनतालाई पनि हेरौँ तः

क्षमताअनुसारको काम लगाउनुस् अनि देश बन्छ
विदेशिने प्रथालाई बन्द गराउनुस् अनि देश बन्छ
सबैको स्वर यही हो मनन गर्नुस् तर एकचोटी
युवाका सपना देशमै खन्याउनुस् अनि देश बन्छ ।

यी मुक्तकहरू केही नमुना मात्रै हुन् । ‘परावर्तन’ भित्र समेटिएका अधिकांश मुक्तकहरू पठनीय, श्रवणीय, स्मरणीय र उल्लेखनीय छन् । प्रायः जसो प्रत्येक मुक्तकका शब्दशब्दमा काव्यिक सौन्दर्यको परावर्तन भइरहेको आभास हुन्छ । रेहितका मुक्तकहरू भावले गहन र अभिव्यक्तिले घतलाग्दा छन् । यी मुक्तकले साहित्यिक सौन्दर्यको परावर्तन र मुक्तकीय स्वादको परिवर्तन सँगसँगै गरिरहेका छन् भन्दा अतिशयोक्ति कदाचित् नहोला ।

फलले पनि मौसम अनुसार फल्नु पर्ने रहेछ
यसरी समय अनुरूप सबैले चल्नु पर्ने रहेछ
सलाईको काँटीले पनि ठूलो पाठ सिकायो
कसैलाई जलाउन त स्वयम् जल्नु पर्ने रहेछ ।

‘परावर्तन’ मा समेटिएका मुक्तकहरु अनेक रङ्, अनेक छटा, अनेक बान्की र अनेक रुपमा छरिएका छन् । विषय र चिन्तनको बहुआयामिक छटा देख्न सकिन्छ मुक्तकको यस सानो पुस्तकमा । विषयगत रुपले हेर्दा रेहितका मुक्तकमा मानवीय मूल्य र मान्यताप्रतिको प्रेम मुखरित भएको पाइन्छ । एउटा नागरिकको नाताले बोक्नु पर्ने सामाजिक दायित्वबोध र देशप्रतिको कत्र्तव्यबोध उद्भासित भएको छ अनेक मुक्तकमा । मुक्तककारमा रहेको राजनीतिप्रतिको चासो कतै असहमति त कतै आक्रोशको रुपमा पोखिएको छ । राजनीतिभित्रको विकृति, विसङ्गति र भ्रष्टाचारप्रति व्यापक मात्रामा कटाक्ष हानेका छन् उनले । रेहितले लेखेका छन्ः

जताततै पार्टी सम्मेलन, अधिवेशन भइरहेछ
राजनीति एउटा हास्यव्यङ्ग्य फेसन भइरहेछ
को, कस्तो ? छुट्याउनै विश्वास गर्नै गाह्रो भो
चोक, पार्टी सेटिङ थलो एप्लिकेसन भइरहेछ ।

मान्छेले मान्छेलाई गर्ने अमानवीय व्यवहार र सामाजिक अन्यायका विरुद्ध पनि रेहितले चोटिलो व्यङ्ग गरेका छन् । गिर्दो सामाजिक सदभाव र मान्छेको बढ्दो अहंकारमाथि पनि उनले कटाक्ष हानेका छन् । अनेक प्रकारका कुकर्म, सामाजिक अपराध, हरेक प्रकारका दमन तथा प्रताडनाका विरुद्ध आफ्ना मुक्तकबाट चोटिलो प्रहार गर्न उनी पछि परेका छैनन् । सबैभन्दा बढी त देश र समाजलाई उन्नत मार्गमा डोर्‍याउने चाहना र मानव जीवनलाई सार्थक र कत्र्तव्यमुखी बनाउने अभिलाषाले ओतप्रात छन् रेहितका मुक्तक । आफ्नो जीवन र मुक्तककारिताको उद्धेश्यलाई कसरी आफ्नामा मुक्तकमा ढालेका छन् रेहितले । हेरौँ तः

कुनै एक ठाउँमा प्रभुत्व जमाउन पाइयोस्
हिँड्दै गर्दा भरोसाका हात समाउन पाइयोस्
धेरै थोक चाहन्न म यो जीवन जिउने क्रममा
मात्र दुईचार मीठा सम्बन्ध कमाउन पाइयोस् ।

यस्ता अनेकौँ सबल पक्ष हुँदाहुँदै पनि रेहितका मुक्तकमा दोष नभएको भने हैन । यद्यपि कुनै पनि सिर्जनामा दोष खोज्नुभन्दा त्यसको सौन्दर्यपान गर्नु महत्वपूर्ण हुन्छ जस्तो लाग्छ । उर्दूृ भाषामा एउटा भनाई छ— ‘तराशने वाला अच्छाइयाँ ढुँढता है लेकिन तलाशने वालेको केवल कमीयाँ ही नजर आती है’ (कला भर्ने मान्छेले गुण खोज्छ तर कोट्याउने मान्छेले दोष मात्रै देख्छ’ भने झैं रेहितका मुक्तकमा रहेका दुर्बल पक्षभन्दा सबल पक्षले नै पाठकको ध्यान तान्छ ।

तैपनि राम्रा मुक्तक लेख्ने सामर्थ्य भएका र अझ राम्रा मुक्तक लेख्ने प्रचुर सम्भावना भएका रेहितले आफ्ना मुक्तकमा देखिएका ससाना दोषहरूलाई पन्छाएर अघि बढ्नु आवश्यक छ । यसले मुक्तकलाई थप परिष्कृत गर्न सघाउ पुर्‍याउँछ ।

मुक्तक खँदिलो, पोटिलो र चटक्क पारेर लेखिनु पर्ने विधा हो । रेहितका मुक्तकहरुमा भाव र लालित्यताको मीठास हुँदाहुँदै पनि कुनै कुनै मुक्तक खँदिला, पोटिला र चटक्क पर्न सकेका छैनन् । मुक्तकका कुनै लामा त कुनै छोटा पङ्क्तिले सिर्जना कसिलो हुन सकेको छैन । लामा पङ्क्तिलाई छोटा बनाएरर चटक्क पार्ने र भरसर सबै पङ्तिका शब्दहरुमा अक्षर समानता नभए ध्वनि समानता स्थापित गर्ने प्रयत्न गर्ने हो भने रेहितका मुक्तकको यो दोष पक्ष पनि हट्ने छ ।

नेपाली साहित्यमा मुक्तक र गजल लेख्नेहरुमा उर्दू शब्दप्रति अत्यधिक मोह देखिन्छ । उपयुक्त र भावप्रधान नेपाली शब्द हुँदाहुँदै उर्दू शब्दको अनावश्यक प्रयोग गर्ने चलनले रेहितलाई पनि गाँजेको छ । आयातीत उर्दू शब्दको साँटो नेपाली मौलिक शब्दको प्रयोग गर्ने हो भने रेहित सैजुबाट यी भन्दा पनि अझ राम्रा मुक्तक रचिने सम्भावना छ भन्न कुनै कन्जुस्याइँ गर्नु हुँदैन । उनको अर्थपूर्ण मुक्तकले भन्नु पर्ने कुरा स्वयम् भनिदिए पछि अरुले के भनिरहनु पर्‍यो र ?

यस्ता विषयमा चुनौति मोल्न अलि गाह्रै मान्छन्
कुन सही कुन् गलत छिचोल्न अलि गाह्रै मान्छन्
नोट र भोटमा सजिलै बिक्ने समाज छ हाम्रो पनि
निमुखाको पक्षमा लागेर बोल्न अलि गाह्रै मान्छन् ।

मुक्तकले आफ्नो बखान आफै गरिरहेको हुन्छ । सुन्दर र अर्थपूणर् मुक्तकको निम्ति कुनै शास्त्रिय समालोचना वा तार्किक समीक्षाको आवश्यकता पर्दैन । पठन, श्रवण, आस्वादन र मनन गरेर मुक्तकको मीठाससित आफूलाई एकाकार गर्न सकिन्छ । मुक्तकको रसमा डुबेपछि हृदयबाट निस्किने ‘वाह र आह’ शब्दको ध्वनि नै राम्रो मुक्तकको सटिक समीक्षा बनिदिन्छ । मैले रेहित सैजुको मुक्तकसङ्ग्रह ‘परावर्तन’को समीक्षा गर्ने आँट गर्न सकिनँ । यस पुस्तकमा समेटिएका मुक्तकका शब्द र रसभित्र डुब्दै गएपछि मेरो मनभित्र उब्जिएका भावलाई अभिलेखिकरण गर्दै जाँदा यो समीक्षाजस्तो बन्न पुगेको मात्रै हो । यथार्थमा यो सम—इच्छा हो । मजस्ता भावुक पाठकको मनभित्र हलचल ल्याउने सामर्थ्य भएका रेहित सैजुका मुक्तकहरु आफ्नो वणर्न, चर्चा र बखान गर्न आफै सक्षम छन् । अकबरी सुनलाई कसी लगाउनु पर्दैन । इन्द्रको अगाडि स्वर्गको बखान गर्न पनि सुहाउन्न । आउनुहोस् रेहितको यस मुक्तकबाट मेरो माथिको भनाईलाई पुष्टि गरौँ :

देखेकै भरमा बस्तुको अनुमान गर्नु व्यर्थ छ
बिरालोले बाघसँग घमासान गर्नु व्यर्थ छ
ए हजुर धेरै गलफति गरेर नदिनु स्पष्टीकरण
इन्द्रको अगाडि स्वर्गको बखान गर्नु व्यर्थ छ ।

०००
आदर्शमार्ग, रानाचोक नेपालगन्ज- १

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होला कि नहोला ?

होला कि नहोला ?

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
0
Would love your thoughts, please comment.x
()
x