साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘म फर्केर आएँ’ कवि कोमलको कठोर झटारो

कवि कोमलका कवितामा कतै कतै हास्य अलि बढी प्रबल हो कि ? झै लागे पनि एकआध प्रसङ्गलाई बिर्सिदिंदा हास्य र व्यङ्ग्य सन्तुलित भएर एकअर्कासँग हातेमालो गरेर प्रस्तुत भएको पाइन्छ ।

Nepal Telecom ad

डा. गंगाप्रसाद अधिकारी :

अग्निमीडे पुरोहितम् यज्ञस्य देवमृत्विजम् । होतारं रत्नधातवम् । ऋग्वेद १।१।१

यज्ञका लागि अग्निको आह्वान गरिएको गायत्री छन्दमा रचित यो मन्त्र सम्भवतः विश्वकै पहिलो कविता हो । कम्तीमा पनि सात हजार वर्षको कविताको इतिहास । अपौरुषेय अर्थात् लोकरचना । वेदको रचनाभन्दा दुईचार हजार वर्षपछि मात्र पूर्वमा बाल्मीकिको रामायण अनि बाल्मीकिपछि मात्र पश्चिममा इलियड र ओडिसीको रचना होमरबाट भएको पाइन्छ । यसर्थ हाम्रो कविताको इतिहास निकै दर्पिलो र गर्विलो छ ।

कविता किन लेखियो होला ?
पूर्वमा चतुर्वर्गप्राप्ति अर्थात् धर्म, अर्थ, काम र मोक्ष अनि आनन्दलाई कविताको उद्देश्य मानिएको छ मूल रूपमा । पश्चिममा पनि आनन्दलाई नै कविताको प्रयोजन बताइएको पाइन्छ । पश्चिममा प्लेटो नीतिका पक्षमा उभिएर कविताले नैतिकता पढाउनुपर्छ भन्छन् भने त्यहीँ अरस्तु जीवनका अपूर्णताहरूलाई पूर्णता दिनु कवितको प्रयोजन बताउँछन् । हाम्रो भने पहिलो कविता नै कल्याणको कामनाका लागि लेखिएको रहेछ “अग्निमीडे पुरोहितम्…” अर्थात् हाम्रा यज्ञमा रत्नरूपी फलले सजाउनका लागि हे अग्निदेव ! तपाईं यज्ञमा पाल्नुहोस् । यहाँ ऋत्विक्हरूले यज्ञ गर्छन् र होताहरू यज्ञमा आहुति चढाउँछन्…। त्यस्तै आदिकवि बाल्मीकिले मनको आक्रोशलाई वाणी दिँदै कविता लेखेछन् “मा निषादः प्रतिष्ठां त्वमगमः शाश्वती…”

पश्चिममा क्रोचे भन्छन् कविता कविको आत्माभिव्यञ्जना हो, अरू केही होइन । किनभने त्यो कविको मनमा नै प्रकट हुन्छ र त्यहीं बिलाउँछ । हामीले मानेको कवितालाई उनी कवितै मान्दैनन् र भन्छन् : त्यो त कविताको छायाँ मात्र हो । वास्तवमा कविले कवितालाई मनभित्रै अनुभूत गर्छ प्रथमतः अनि त्यसलाई प्रकट गर्न चाह्यो भने हाम्रो कविता जन्मने हो । कविताको सृजना प्रक्रिया नै यही हो । हामी कविका जुठा अनुभूतिमै रमाइरहेका हुन्छौं ।

तुलसीदास भन्छन् : स्वान्तः सुखाय तुलसी रघुनाथ गाथा…. हो, मनभित्र रहुन्जेल अनि स्फुरणका वेला कविता स्वान्तः सुखाय नै हुन्छ । मनभित्र उब्जेको त्यो सौन्दर्यानुभूतिले नै प्रथमतः कविमन आह्लादित र चमत्कृत हुन्छ भित्रभित्रै । अनि मात्र त्यसको वाह्य अभिव्यञ्जना हुन्छ कविताका रूपमा । तबमात्र कविमनको अमूर्त सौन्दर्य मुर्तिन्छ कविता भएर । जब कविको संवेदना मुर्तिएर बाहिर आउँछ अनि त्यो सामाजिक सम्पत्ति बन्दछ नत्र त्यो कविको निजी मनको निजी सम्पत्ति नै रहन्छ कविमनमा बसुन्जेल । अतः कविताको पहिलो प्रयोजन कविको स्वान्तः सुख हो भने बाहिर अभिव्यक्त भएपछि सामाजिकको आनन्दको विषय बन्दछ अनि क्रमशः त्यसका अन्य प्रयोजनहरू सिद्ध हुँदै जान्छन् – उपदेश, धनलाभ, यश आदि आदि… । यसरी कविताको पहिलो प्रयोजन आनन्द (स्वान्तः सुख) हो भने आफ्नो अनुभूतिलाई जस्ताको तस्तै पाठकश्रोताका मनमा उतार्न कवि कतिको समर्थ छ ? भन्ने कुराले अर्थात् कविको अभिव्यक्ति क्षमताले त्यसलाई निर्धारण गर्छ ।

अब कवि कोमलप्रसाद पोखरेल (१९९९) का कविताबारे केही चर्चा गरौं । स्वान्तः सुख यहाँ पनि कविको पहिलो प्रयोजन हुँदै हो । त्यो कति सार्थक छ वा निरर्थक छ कविमनकै कुरा भयो । कविता रचना भएपछि त्यसका बाँकी प्रयोजनहरूका आधारमा कविता कतिको सार्थक छ भन्ने कुरा निर्धारण हुन्छ । यस हिसावबाट म फर्केर आएँ… सङ्ग्रहका कविता हेर्दा कवि कोमलप्रसाद पोखरेल मूलतः हास्यव्यङ्ग्य कवि हुनुहुन्छ । त्यसैले उहाँका कविताले मनोरञ्जन र घोचपेचका माध्यमबाट सुधारको आका‌ङ्क्षा राखेको देखिन्छ । हास्यव्यङ्ग्यले विसङ्गतिलाई इत्रिंदै, जिस्किँदै, ठट्टा रमाइलो गर्दै उछित्तो काढ्छ, लाजमर्दो पार्छ र त्यसलाई भगाउँछ अनि सङ्गतिको स्थापना गर्छ । अतः हास्यव्यङ्ग्यको प्रयोजन वा उद्देश्य सुधारको चेतना हो ।

हास्य कोमल भाव हो । यसले सुम्सुम्याउँछ, कुत्कुत्याउँछ र आनन्द/मनोरञ्जन दिन्छ । यसका विपरीत व्यङ्ग्य कठोर भाव हो । यसले मर्ममा निर्मम ढङ्गले प्रहार गर्छ। यसरी विपरीत भावहरूको सामञ्जस्यले व्यङ्ग्यलाई मर्मवेधी बनाउँछ र हास्यलाई सोद्देश्य तुल्याउँछ । कवि कोमलका कवितामा कतै कतै हास्य अलि बढी प्रबल हो कि ? झै लागे पनि एकआध प्रसङ्गलाई बिर्सिदिंदा हास्य र व्यङ्ग्य सन्तुलित भएर एकअर्कासँग हातेमालो गरेर प्रस्तुत भएको पाइन्छ । यो कुरा तलका पङ्क्तिहरूमा हेर्दा स्पष्ट हुन्छ :
सधैं भोटमा ओठले गर्छु काम
नजित्ने भए नोटले गर्छु काम
म झैं धूर्त नेता कतै भेटिएन
जवानी गयो बैंस जाँदै गएन (पृ २७)

सोधे नारदले महाकवि यहाँ को को कहाँ छन् कति !
आएको हुँ म टिप्न नाम सबको लानेछु भेटेजति
अर्को को छ र ! छैन यो सरदमा जित्ने मलाई कवि,
मेरै नाम महाकवि प्रमुखमा लेख्नोस्, छ मेरै छवि (पृ ६२)

यस सङ्ग्रहका कवितामा “यसो गर, उसो गर” भन्ने अर्ती पाइन्न तर यहाँका मर्मवेधी व्यङ्ग्यवाणले समाजका होचीअर्धेलीलाई, विसङ्गति विकृतिलाई छियाछिया बनाइदिन्छ र समाजमा त्यस्ता असङ्गत कुराहरू गर्नेलाई लाजमर्दो पारिदिएर त्यस्ता काम गर्नबाट रोक्छ र समाजबाट त्यसलाई निमिट्यान्न पारेर स्वस्य समाजको सृजना गर्ने सन्देश दिन्छ ।

कवि कोमलका कवितामा आध्यात्मिक चेत, राष्ट्रियता, स्वजाति र स्वसंस्कृतिप्रतिको लगाव भेटिन्छ अनि बेहोर्नुपरेका प्रियजनहरूको वियोग र व्यथाहरूबाट सृजित शोकको अभिव्यक्ति पनि पाइन्छ । सायद यस्तै पीडा व्यथालाई भुल्न पनि उहाँ कवितामा मनग्गे जिस्किनुहुन्छ, ठट्टा गर्नुहुन्छ र आफूलाई र पाठकलाई समेत रमाइलोमा अल्मल्याउनुहुन्छ ।

‘नारद, माघेमेला र आधुनिक ड्रेस’ शीर्षकको कविता पढ्दा थाहा पाइन्छ उहाँको हँसाउने र हँसाउँदा हँसाउँदै विसङ्गतिको उछित्तो गर्ने पाइन । नारदजीको नेपालका माघेमेलामा देखाइएको दुर्दशाका माध्यमबाट आधुनिक भनाउँदाहरूको दोहोलो कसरी काढिएको छ भन्ने कुरा यहाँ पढ्न पाइन्छ । केही पङ्क्ति हेरौं :
अपूर्व वक्षमा देखे आँखीझ्याल दुवैतिर
बाफरे बाफरे भन्दै लडे झन्डै त्यहीँनिर ।
त्यहाँ नारदले योग, ज्ञान, ध्यान सबै कुरा
चटक्क विर्सिए हेरी तिनै युवतीका लुगा … (पृ.३५)

यहाँका कवितामा रसभावका दृष्टिले हास्य, करुण आदि रस र वात्सल्य, भक्ति आदि भावको अभिव्यक्ति भएको पाइन्छ भने हास्यको सबैभन्दा नजिकको साथी शृङ्गारको अभिव्यक्ति पनि वेजोड रूपमा आएको भेटिन्छ । एउटा नमुना हेरौं :
कसैले बुढा वा भने चित्त दुख्छ
विनाकाम बाजे भने कम्प चल्छ
धरोधर्म बूढो छु भन्यै भएन,
जवानी गयो बैंस जाँदै गएन (पृ २८)

जम्मा ३८ वटा कवितालाई २७ र ११ मा भाग लगाएर दुई भाग पारिएको छ । यसो गर्नुको अर्थ पनि छ। त्यो के हो भने पहिलो खण्ड अर्थात् २७ कवितामा सामाजिक, राजनीतिक, वैयक्तिक स्वभावजन्य कमीकमजोरी विषय बनेका छन् भने पछिल्लो खण्ड अर्थात् ११ कवितामा भने भक्ति, वैराग्य, राष्ट्रियता, प्रकृति, स्थानविशेषको चित्रणका साथै बाल्यजीवन, जरा र मृत्यु आदि जीवनका शाश्वत् पक्षको प्रस्तुति छ । यहाँ हास्यव्यङ्ग्य भन्दा पनि जीवनसत्य प्रकट भएको छ । यतातिरका कवितामा प्रियजनको वियोगको व्यथा छ, यति लामो जीवन बाँचेर पनि केही गर्न नसकेको गुनासो छ ।

दुई खण्डका कवितामा ठ्याक्कै विपरीत सम्बन्ध छ । अघिल्ला खण्डमा भौतिक पक्षको प्रबलता छ पछिल्ला खण्डमा आध्यात्मिक पक्ष प्रबल छ । अघिल्लो खण्डमा बैंस छ, भोगाइ छ, तात्कालिक जीवनहेराइ छ पछिल्लो खण्डमा बुढ्द्याइँ र बुढ्याईंजन्य भाव छन् । जीवनदर्शन छ । परत्रतर्फको चासो छ र जीवनको मूल्याङ्कन छ । यसरी हेर्दा पहिलो खण्डका कविता जवानीका, सक्रिय जीवनका, होपापापीका हुन् भने पछिल्लो खण्डका बुढ्याइँ र तज्जन्य भावनाका कविता हुन् । शवले ज्यूँदो मान्छेलाई दिएको प्रवचनको एउटा टुक्रो हेरौं :
तिमी रातमा उठ्तछौ तर्सिएर
सिरी सम्पतीको कुरा सम्झिएर
म आनन्दमा नै सदा व्यस्त हुन्छु
मिठो मस्त निद्रा निदाइरहन्छु (पृ ८६)

वियोगजन्य पीडा र जीवनको निरर्थकताको नमुना यो पद्म : थिइन् साथमा श्रीमती एक खम्बा
बचेका थिए चार सन्तान जम्मा
मलाई पर्यो वज्र धर्मा गुमाएँ
हरे अन्त्यमा शून्यमा नै बिलाएँ (पू १०१)

सधै छन्दमै कविता लेख्न रुचाउने कवि पोखरेल आफ्ना भावनालाई छन्दमा कुँदेर प्रस्तुत गर्न सिपालु हुनुहुन्छ । केही कविताहरूमा देवकोटा, लेखनाथ लगायतका कविताको प्यारोडीकरण पनि भएको छ । यस्ता कवितामा दुर्बुद्धि विनोद, दृष्टि मैले गुमाएँ, कठै अन्त्यमा शून्यमा नै बिलाएँ, यो जानकारी छ कि छैन लौ भन जस्ता कवितामा मूल कविको भावलाई सरक्क झिकेर आफ्ना कुरा भरिएका छन् । असी छिचोलेर एकासी टेक्नुभएका कवि पोखरेल शारीरिक अवस्था अलि कमजोर देखिए पनि कवित्व अझै जवानै देखिन्छ । नयाँ नयाँ रचना आउँदै छन् । शरीर थाक्दै गए पनि सृजनाकर्ममा सक्रियता उस्तै छ । सुस्वास्थ्य र सृजनामा निरन्तरताको कामना ।

०००
२०७८।९।१७ मा कनकाई क्याम्पस, सुरुङ्गामा भएको विमोचन कार्यक्रममा प्रस्तुत प्रमुख अतिथिको मन्तव्य

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
एडिक्ट

एडिक्ट

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

डा. गंगाप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x