फित्काैली डटकमहास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलसँग फित्कौलीवार्ता
पुरस्कारबारेमा मेराे धारणा के छ भनेर साेधियाे । मलाई लाग्छ पुरस्कार भनेको त दाताले खसी पार्न हान्ने झटारो पो हो : नरेन्द्रराज पौडेल

‘मैले कमिजसुरुवाल लगाएको नयाँ सडक’ शीर्षक निबन्ध मार्फत हास्यव्यङ्ग्य लेखन आरम्भ गर्नुभएका नरेन्द्रराज पौडेल यति लामो कालखण्ड बिताएर पनि अझै सक्रिय हुनुहुन्छ । उहाँको उल्लिखित निबन्ध २०२६ सालको गोरखापत्रमा प्रकाशित भएको थियो । भैरव अर्याल र केशवराज पिँडालीका हास्यव्यङ्ग्य रचनाबाट प्रभावित हुँदै यता लहसिएको बताउने पौडेलमा तीक्ष्ण चेतनाकासाथ कलम चलाइरहनु भएको छ । लामो समय प्रशसनिक सेवामा संलग्न रहेर सेवानिवृत पौडेलका ‘घरभित्रको गाईजात्रा’, ‘बिहेको निम्ता’, ‘मंकीस्टेट याने वनरराज्य’, ‘प्रमुख अतिथि हुनुको आतङ्क’, ‘छुटेको छाता’, ‘विमोचनको बिगबिगी’ जस्ता हास्यव्यङ्ग्य कृति प्रकाशित छन् । यो हप्ता प्रस्तुत छ सिद्धहस्त हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलसँग गरिएको फित्कौली वार्ता ।
दिनचर्या कसरी बित्दै छ हँ ?
।। राम्रैसँग भन्नुपर्छ । कहिले करेसाबारीको उपचार र सागसब्जीसँग खेलबाड गर्दै बित्छ, कहिले लखर्ट्याक पाराले चारपाँच घडी पैदलमार्च गर्दैमा बित्छ, किन त भन्दा लुखुरे बाहुनचरीको सिकुटे ज्यानभित्र ह्यामानको बङ्गूरमार्का अर्धङ्गी सुगरे मोरो लाप्पा खेल्न पसेर यो क्रिया नियमित अन्तरक्रिया बन्न गएको कुरा पनि नढाँटी बताइदिउँँ । निजनिवास वानेश्वरबट भण्डारखाल, वनकाली, पशुपतिदेखि स्वकीय टोलछिमेकका गल्ली फूटपाथ नाप्नेसम्मका प्राथमिक काम पूरा गरेपछि कति कतिबेर ल्यापटप र कितापका पन्ना उधिनेर बित्छ । मनलाग्दा कलमकपीसँग मायापिरती साटासाट गर्दैमा बित्छ । त्यतातिर मन नलाग्दा देशविदेशका आफन्तजन र मित्रहरूसँग आइफोनमा हाइहेलो गर्दैमा बित्छ । कहिले साहित्यिक कार्यक्रमहरूमा कतै अतिथि बनेर सोफा दल्दैमल्दै त कहिले बेथितिसँग पसारिएका सिटमाथि पधारिएर पछाडिबाट पटापट ताली पड्काउँदै ज्यालास्वरूप जलपान चरेर घर फर्किनुमा बित्छ । यी र यस्तै अनगिन्ती छन् दिनचर्याका भार थेग्ने भरियाहरू । जम्माजम्मीमा चैं दिनचर्या राम्रै बितेको भन्नुपर्छ, किन त भन्दा फिलहाल खासै फलिफाप नभए पनि त्यतिसारो अफाप या खराव कुरा भएकै छैन भन्न पाउनु पनि अहोभाग्य हो भन्ने लाग्छ । अरु त जे जे हुनुपर्ने हो, त्यो भइराखेकै छ ।
नरेन्द्रराज पौडेलको विचारमा हास्यव्यङ्ग्य के हो ?
।। हास्य भनेको हँसाउने कुरा, व्यङ्ग्य भनेको उडाउने कुरा । यी दुवै कुराको राम्रो समन्य र सन्तुलन हुनुपर्छ, भएनभने हास्यव्यङ्ग्य बन्दैन । हँसाउने नाउमा छिल्लिएका कुरा गर्दा कतिपय उमेर र लैंगिक समुदायमा खराब छाप बस्न सक्छ । व्यङ्ग्यको नाममा जो जसलाई पनि जथाभवी होच्याउने थच्याउने लछार्ने पछार्ने गर्दा पनि साहित्यको राम्रो शन्देश दिन सकिन्न । कतै कुनै जटिल विषयमा मीहिन तालले मजूरको प्वाँखले खेलाएर काउकुती लगाउदै झस्काउने सामथ्र्य नै बढी सार्थक गनिन्छ व्यङ्ग्यशास्त्रमा । सभ्य समाजले असभ्य साहित्य पचाउन सक्दैन भन्ने हेक्का राख्नु सबै व्यङ्ग्यकारलाई क श्रेणीको ठेक्का लागेको कुरा हो । यसबारे आफूले जानेको ठाडो भाकाले भन्ने कुरा पनि यत्ति हो ।
हास्यव्यङ्ग्य लेखनमा कसरी प्रवेश गर्नु भयो ?
।। यसरी उसरी भनेर प्रवेश गरेको गराएको कुरा बताउन त अलि गारै छ । किसोर कालमा वनपाखा र वेशीमा गोठालो जाँदा गफठट्टा गर्ने जिस्किने इत्रिने गरिन्थ्यो । आफूभन्दा जेठो उमेरका दाजुहरूले भन्ने अलि त्यस्तै उस्तै छाडा र काउकुती लगाउने कुराहरू हामी फुच्चे केटा उखपातै चासो राखेर मुख मिठ्याउँदै ध्यानपूर्वक सुन्ने गर्दथ्यौं र पछि उस्तैउस्ता केटौले साथीबीच तिनै कथा र कुराहरू हुने गर्दथे । तिनै केही छाडा र केही गाडा याने गम्भीर कुराहरू पछिसम्म दिमागमा छाप बसेर अछापे लेख बन्न थालेको कुरा भनिरहनु नपर्ला । राजधानी कान्तिपुर आएर पढाइको मेलो चल्दै जाँदा हास्यव्यङ्ग्यका धेरै फुटकर रचना र थोरै पुस्तकहरूसँग पनि परिचय र मित्रता बढ्दै गयो । दिमागकोे पुरानो छाप कितापका नयाँयाँ भाव बिम्बको मिसमास हुँदै गर्दा आफैभित्र पो एउटा सानोतिनो व्यङ्ग्यकार जन्मि सकेछ । यस्ता क्रियाप्रतिक्रियाहरू नै पछि लेखनको मूलजराकोरूपमा दह्रो आधार बन्न पुगे ।
स्कुले जीवनमा पनि हास्यव्यङ्ग्य कविता निबन्ध लेख्नुभएको थियो कि ?
।। स्कूलमा त कवितामात्रै लेखियो भन्दा हुन्छ । निबन्ध त दुईचार सोझ्यै निबन्धमात्र लेखियो, व्यङ्ग्य चैं जानिएन होला । तर सोभ्mयै भनिने निबन्ध पनि गतिलो काँटीका थिएनन् र नै अल्पायुमै ती धूलोपीठो भएर बेपत्ता बने । हास्यव्यङ्ग्यतिर चैं महाविद्यालय गएपछिमात्रै लाग्या हो ।
तपाइँको पहिलो प्रकाशित हास्य वा व्यङ्ग्य रचना कुन हो, केमा कहिले छापियो ?
।। ‘मैले कमिजसुरुवाल लगाएको नयाँ सडक’ २०२६ सालको गोरखापत्रमा प्रकाशित । मिति चैं ठ्याक्कै हेक्का रहेन । फुक्काफाल जिन्दगीको निरन्तर बग्ने भेलमा आक्कलझुक्कल संझिने त्यो आफू पहिलो सन्तानलाई फेला नपारी छोड्नेछैन भन्ने चैं लागेकै छ । पुराना गोरखापत्र खोज्न रष्ट्रिय अभिलेखालय जाउँला भनेको पनि पाँचसात वर्ष त भैभ्याएछ पो । आफैं पुरातत्व विभागमा जागीरे छँदाको बेला चैं नखोज्ने, अब के खोज्छौ बबुरा ? ठाकठुक परेकै पाराले भित्री मनलाई बाहिरी मनले जिस्क्याउँछ कहिलेकहिँ ।
एउटा प्रशासनिक व्यक्तित्व हास्यव्यङ्ग्यमा रमाउने परिस्थिति कसरी निर्माण भयो ?
।। सानैदेखि लागेको बानी एउटा कुरा भयो । सामाजिक अव्यवस्था र आफूभित्रका अनेकौं कमीकम्जोरी र अक्षमता तथा रागविराग याने प्रवृत्ति, निवृत्तिका विविध वृत्तिहरू अनि मनमा गुँडुल्किएर बसेका अनेकौं अभव कुण्ठा र आँखा अगाडिका विकृतिहरूलाई उधिन्न र झटारो हान्न पनि हास्यव्यङ्ग्य बलियो भरपर्दो साधन लाग्छ मलाई । मनका व्यथा कुण्ठा हुँडलोहरू टुँडिखेलमा भाषण गरेर पोख्न पो सबैले कहाँ पाउँछन् र ?
सरकारी जागिर र हास्यव्यङ्ग्य लेखन कुनमा बढी मजा ?
।। कुर्सीमा बस्दा जागीरमा मजा । लेख्न बस्दा लेखनमा मजा । कहिले कहिँ ठूलो ओहदाका गलत मान्छेले अपठ्यारो पार्दा जागीर घाँडो भएजस्तै लेखनकार्यमा पनि स्फुरणको अभाव भैदिए झन ठूलो नमजा । यस्तै रैछ मजा र नमजाको कुरो पनि तर झण्डै बीस वर्षसम्म जिल्लाको प्रमुख प्रशासकको पद हाँकेर फर्मान जारी गर्दै डण्डा चलाउँदै र बन्दूक पड्काउँदै कुर्सीमाथि बस्दाको क्षणलाई नमजाको मैलो बर्को ओडाइदिनु त कृतघ्नताकै पल्लो छेउ नै होला नि, हैन र ? नमजा लागे किन बसिस् त त्यस्तो खतरायुक्त औजस्या पदमा त्यत्रो दिन ? बड घुर्की लगाएर फुर्किदो रैछ ! भन्ने खरो कुरा पनि त मलुवा राग लिएर आइदेला नि ? आकलझुकल झोजझमेला, दौडधूप, समविषम परिस्थिति त आइ नै रहन्छ नि जागीरे जीवनमा, कसैको प्यादा न बनी सधै ठाडो शिर उच्च मनोवल लिएर साडे तीन दशक निजामती सेवामा र अझ बीस वर्ष जिल्लाको प्रमुख प्रशासक भएर बिताउँदाका प्रत्येक क्षण अतीतको विस्मृत संसारको पुनःस्मृति जगाएर अहिले पनि मेरो मन मथिङ्गललाई झाँगलझुँगल पारिरहेका छन् । बेला बेला उतै दौडिनथाल्छ मन बरालिएर कहिलेकहिँ त ।
जागिरबाट अवकास भएपछि लेखनमा बढी समय दिन अवसर पाएको हो ?
।। अवसर त मिलेकै हो नि तर धार्जे गरेर घरमै बसिदिनु अनि लेखिदिनु पर्यो नि । लेख्ने भन्दा अरु अरु कामका बाहना खोजेर बरालिनेतिर बढी लागेपछि के गर्नु ? कहिले बारीमा कामको कहिले बाटामा जामको कहिले ताली पड्काउन कुद्या छ बेकामको । अनि फोसाँ पाएको फोस्रो अवसरले चिल्ला रचना कहिले जन्माउने ? तर लेख्न त छोड्या छैन है उमेर र सुगरे पाजीले थङथिलो बनाएर अल्छीपन बढ्यामात्रै हो ।
तपाइँका धेरै रचना गैरहास्यव्यङ्ग्य पनि छन् । लेख्न सजिलो हास्यव्यङ्ग्य कि गैरहास्यव्यङ्ग्य ?
।। आफ्नै अन्तस्प्रेरणाले घचघच्याएपछि जे लेख्यो त्यही सजिलो लाग्छ मलाई त । अथवा जे जतिबेर सजिलो लाग्छ त्यतिबेर त्यही लेख्छु म । आप्mनै मर्जीको मान्छे भएकाले कतै कसैको अर्जी सुनिरहन मन लाग्दैन, जरूरी पनि देख्दिन । असजिलो लागीलागी किन लेख्ने हँ ? आफ्नै पौरख र बाबुबाजेको बन्दोबस्तीमा अडेको मान्छेलाई केको सुर्ता, केको ताप, हैन र ?
तपाइँको हास्यव्यङ्ग्य लेखनलाई डोर्याउने मुख्य धरातल चाहिँ कुन हो ?
।। आफैंले भोगेको देखेको लथालिङ्ग समाज, भताभुङ्ग राजनीति र भविष्यको डरलाग्दो चित्र । बल्यकालदेखि अहिलेसम्म भोग्दै आएको मेरो आफ्नै पेशा आचरण, परम्परा र ग्रामीण पछौटे समाज पनि मेरो लेखनको खास धरातल हो । खासगरी प्रशासनको कुर्सीबाट माथिका दर्बार घर्बारका शासक साधु सन्त जमिन्दार मुखियाजी र तिनले शासन गरेका थुप्रै जनताका जीवनका भोगाइ र तिनका सङ्गति बिसङ्गगतिलाई नगीचबाट चिन्ने जान्ने पर्गेल्ने अवसर मिल्यो तर पदीय व्यस्तताले गर्दा ती क्षण ती अनुभूतिहरूलाई सारै कम मात्र लेखनमा समेट्न सकियो र अनुभूतिको त्यही मैदानबाट उठेर मैले आप्mनो निम्छरो अल्छी कलम चलाउँदै आएको हुँ ।
घरपविारमा ठाकठुक पर्दा पनि व्यङ्ग्य वार्ता हुने गरेको छ कि ?
।। घरपरिवारमा त्यति ठाकठुक त पर्दैन तर आप्mनै सोझा सीधा परिवारलाई विषय बनाएर लेख्न चाहिँ भैरव बाबा र पिँडाली सरबाट सिकेको हुँ मैले । धेरै समयसम्म बन्दूकसँग खेलबाड गर्ने जागीरमा लागेकोले मसँग ठाकठुक गर्न त भो, हच्किन्छन् सबै परिवारजन । छुच्चो बोली झर्न बेरै मान्दैन त मुखबाट ? यतिबेर आएर नातिनातिना चैं मसँग खेलाँची गर्न र जिस्किन मन गर्ने अलि हेपाहा भएर निस्किएका छन्, मैले जिस्क्याउँदाको लाक पाएर होला भन्ने संझिएर मजा मान्दै आएको छु । चित्त नबुझाएर पो के गर्नु ? अव बुता बर्कत पनि घट्दै छ । उमेरले बुढ्याउँदा जागीरबाट खुर्मुरिएर पेन्सनधारी बाबा बनेको पनि साँडे एक दशक पो भयो त ।
नेपाली हास्यव्यङ्ग्य लेखनको अबको बजार कस्तो देख्नु हुन्छ ?
।। लेखन त काम चलाऊरूपमा अहिले पनि चालू नै छ । तर स्तरीयता भने एकादेशको दुर्लभ फल बन्न थालेको हो कि ? बजारतिर नजर लगाउँन भने अलि भ्याएको छैन । कोरोनाले दग्धिएको देही लिएर भर्खर थिरै थिरै गर्न लागेको मधौरु बजार र पाठक दुबैको होस हराएको अनि खल्ती साफ भएको बेला छ । अलि बौरिएर आफै पौडिन सक्ने भएपछि त्यताको चियोचर्चो गर्नुपर्ला । अलि परको बजार त पक्कै हरिलो भरिलो रसिलो भएर फक्रिनेछ । अनि प्रकाशक पक्रिएर छपाउने काम गर्नुपर्ला । हास्यव्यङ्ग्का दुइटा किताप नयाँ कलेवर लिएर तयार छन् । बजार नसप्रिए त लेखनमाथि बाल्तोडकै तोड पर्ने भैगयो नि । हैन र ?
हामीकहाँ प्रदान गरिँदै आएका पुरस्कारबारे तपाइँको धारणा ?
।। पुरस्कार पुरस्कार नै हुन् र ती पुरस्कारै रहन्छन्, चाहे हामीकहाँ या पराइकहाँ हुन् तर हामीकाहाँ धेरै पुरस्कार छन् । दिने दाता धेरै र प्राप्तिकर्ता पनि झन् धेरै छन् । पुरस्कार भएर नै प्रदान गरिन्छन् र प्रदान गरिने भएर नै ती ज्याला बुहुनी सापटी दक्षिणा न भएर पुरस्कारमा गनिन्छन्, मनसून सक्रिय भएकै छेक पारेर भन्सूनसहित या बेगर पनि सित्तै सस्तै हातलागी हुने यी मोटा खोटा र ढब्बू, मसिना, नक्कली, सक्कली नानानौथरी रागेपाटे उपहारहरू कहिलेकहिँ दाताले खसी पार्न हान्ने झटारो या प्रहारका रूपमा पनि गनिन्छन् । कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि । तर आपूmले भने सधै सकारात्मक सोच लिँदै सवैतिर सवै कुरा राम्रो नै देखिराखेको ।
तपाइँको हास्यव्यङ्ग्य कृति कुन कुन हो ? नयाँ कृति निस्कँदै छ कि ?
।। निस्किँदै छन् त नयाँ कृति पनि । आपूmलाई जीवन्त ठान्ने लेखकको नयाँ नयाँ कृति निस्किएन भने त्यो बाँझो लेखक भइहाल्यो नि । निस्किकेका कृति चै १. घरभित्रको गाईजात्रा, २. बिहेको निम्ता, ३. मंकीस्टेट याने वनरराज्य, ४. प्रमुख अतिथि हुनुको आतङ्क, ५. छुटेको छाता, ६. विमोचनको बिगबिगी हुन् । भ्यागुताको श्वेतपत्र भन्ने नयाँ कृति प्रकाशोन्मुख छ । तयार कृतिकाअतिरिक्त गोरखापत्र कान्तिपुर, अन्नपूणर् पोष्ट, हिमालय टाइम्स, नागरिक, नयाँ पत्रिका, सौर्य र अन्य साहित्यिक पत्रिकामा प्रकाशित करिव २०० वटा व्यंग्य रचनाहरू क्रमशः पुस्तकको रूपमा प्रकाशित गर्दै जाने योजना छ । हेर्दैजाउँ के भन्छ भविष्यले ।
तपाइँ हास्यव्यङ्ग्य रचना नै किन लेख्नु हुन्छ ?
।। मजा लागेर । अगि भनी हाँले नि । केही हँसाउने र केही उडाउने कारोबारमा हास्यव्यङ्ग्य सजिलो विधा हो । टुँडीखेलमा गएर सबैले भाषण गर्न नमिलेपछि मनको बह वेदना र उख्लिएका दुईचार कुरा पोख्न पनि त हास्यव्यङ्ग्य रचना नै चाहियो नि । हुन त अरुखाले कथा कविता संस्मरण कविताआदि विधामा पनि लेख्छु, ती पनि मजा लागेर नै हो । असजिलो लागेपार किन लेख्ने हँ ? कसको बाबुको के खाइदिएको छ र ? कविता, कथा निबन्ध संस्मरण, बालउपन्यास, नियात्रा र समालोचना गरी २१ वटा पुस्तक प्रकाशित छन् मेरा । नयाँ तीनवटा कृति प्रकाशनको तयारीमा छन् । सबै कृति मजा लागेरै लेखेको हो । प्रज्ञा प्रतिष्ठान, साझा, रत्नपुस्तक, कथालय, डिकुरा आदि प्रकाशनहरूले पनि मजा लागरै त छापे हुनन् मेरा किताप । हैन र ?
फित्कौलीले यो चाहिँ कुरो सोधि दिए हुन्थ्यो भन्ने लागेको कुनै प्रसङ्ग ?
।। यत्तिले त तालुबाट पतपती धुँवा निस्किन थालीसक्यो, अरु बढी के सोध्नु अनि । तर एउटा सत्य कुरा चैं खै भनौं कि न भनौं ? टेलिश्रृंखलाहरूले हास्यव्यङ्ग्कारका रचना हुबहु नक्कल गरेर हैरान बनाएका छन् त्यो कुरा पाठकमा लग्यो भने उल्टै लेखक चैं चोर भन्न बेर मान्दैनन् । ‘घडेरी’, ‘बिचरा विरामी बबुरो’, ‘साधुरामको घडेरी’, ‘फायल ह्याङ्ग’, ‘बिहेको निम्ता’ जस्ता पहिल्यै कितापमा प्रकाशित मेरा व्यङ्ग्यरचना हुबहू अनुकरण गरेर टेलिश्रृंखलामा प्रसारित भएका छन् । फित्कौलीले यी कुरामा चासो राखेर दुईचार बाहान चर्चा उपचर्चाका कुरा फत्काइदिए मेरो खुशियालीको कमल फक्रिने थियो । मिल्छ मिल्दैन तर सत्यापनको धेरथोर छुल्याइँ गरिदिँदा के फरक पर्ला त ?
०००
प्रस्तुति :: फित्कौली डट्कम
Subscribe
Login
0 Comments
Oldest











































