सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुढ्यौली खण्डकाव्य पढिसकेपछि

वृद्धभत्ताले केही राहत भए पनि त्यसैले मात्र बुढ्यौली समस्याको पूर्ण समाधान हुन नसक्ने मनसायले सरकारप्रति लक्षित गरेर कविज्यूले काव्यमा उल्लेख गर्नुभएको छ ।

Nepal Telecom ad

देवीप्रसाद मिश्र

असार ११ गते २०१७ सालमा खोटाङ जिल्लामा जन्मनु भएका कविराज घिमिरेज्यू, हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ४ समावेशी हाइटमा बसोबास गर्दै रहनुभएको छ । बुढ्यौली साहित्य समाज भक्तपुरका अध्यक्ष पनि रहनुभएका घिमिरेज्यू छन्द साहित्यका हस्ती हुनुहुन्छ । वहाँको माधुरी खण्डकाव्य केही अगाडि पढिसकेको थिएँ फेरि लगत्तै यो बुढ्यौली खण्डकाव्य पढ्ने अवसर मिल्यो पढिसके पछाडि मलाई लागेका कुरा यहाँ टिप्न खोजेको छु ।

शार्दूलविक्रीडित छन्दमा लिखित कविवर कविराज घिमिरेज्यूको बुढ्यौली खण्डकाव्य आद्योपान्त अध्ययन गर्ने अवसर मिल्यो ! विशेषतः कविज्यूले वृद्धवृद्धालाई नै क्रेन्द्रमा राखेर तयार गर्नुभएको यो पुस्तक केही अगाडि नै बुढ्यौली साहित्य समाज हेटौंडाबाट विमोचन भएर सयौँ पाठकका हातहातमा पुगिसकेको छ । बुढ्यौली खण्डकाव्यमा वृद्धवृद्धले अपनाउनु पर्ने सतर्कतालाई कविज्यूले कविता मार्फत यहाँ प्रस्तुत गर्नुभएको छ भने वृद्धप्रति गरिनु पर्ने सम्मान, आदि विषय छर्लङ्ग पार्नु भएको छ ।

सर्वप्रथम त वृद्धवृद्धा हुँदै गएपछि शारीरिक कमजोरीपनको अनुभूति ता हुने नै गर्छ तर मानसिक तनाव लिएर हीनताबोधतिर लाग्नु हुन्न भनेर कविज्यूले पहिलो श्लोकमा यसरी आफ्नो भनाई राख्नुभएको  छ !-
साठी वर्ष कटेँ खुसी छु अहिले आनन्द मान्दै छु म
चिन्ता छैन ममा प्रसन्न छु अहा ! सन्ताप चिर्दै छु म
आफू स्वस्थ रहेर स्वच्छ सपना साकार पार्दै छु म
खाली छैन दिमाग काव्य रसमा दैनन्दिनी भुल्छु म ॥

आफू तन्दुरुस्त छु भन्दै गर्दा बुढ्यौलीका लक्षणहरू पनि कविज्यूले काव्यमा यता ३६ श्लोकबाट प्रस्तुत गर्नुभएको छ जस्तै अब शरीरको सौन्दर्य घटेर कुरूप हुँदै गएको अनुभव हुने, खानपिनमा रुचि नहुने, आत्माले मागेको चिज राम्ररी चपाएर निल्न नसकिने काँचोकचिलो या तागतिलो वस्तु झन् पाचन शक्ति नै कम हुँदै गएकाले उमेरदारले जस्तो सहजै खाएर पचाउन नसकिने, अझै कतिपय खाना नै विष सरह हुने, त्यसपछि विभिन्न समस्याहरू देखा पर्दै जाने, मनमा तर्कवितर्क खेल्न थाल्ने कानको स्मरण शक्ति कम हुँदै जाने, कसैले बोलेका कुराको उल्टो अर्थ बुझ्न थालिने, वृद्धवृद्धा हुँदै गएपछि यस्ता विभिन्न समस्याले सताउन थाल्छन् र यसका सहज उपायहरू पनि कविज्यूले यो खण्डकाव्यका ४४ सौँ श्लोकमा आफ्नो भनाइ यसरी प्रस्तुत गर्नु भएको छ !-
यस्ता लक्षण टार्नुपर्छ सहजै पाको पना भाग्दछ
हेरौँ है अब के गरेपछि सबै निर्मूल यो बन्दछ
इच्छा मात्र गरे उपाय छ सबै खोजी गरौँ आज नै
होस् दीर्घायु उमेर ढुक्कसँगले बाँच्ने गरौँ स्वस्थभै ॥

शारीरिक अस्वस्था वा छिटो बुढ्याइँ लाग्ने विभिन्न कारणहरूमा एउटा कारण खानपिन पनि हो भने, अब बुढ्यौली लाग्नु भन्दा पहिलेदेखि नै शरीरमा स्वस्थ स्फूर्त रहनका लागि हानिकारक र, फाइदजनक खाद्य विधिमा ध्यान पुर्‍याएर घरायसी सागपात लगायत विशेष फलफूलहरू प्रयोग गर्नुपर्ने कुरा, कविज्यूले यता प्रस्तुत गर्नुभएको छ ! त्यस्तै योगाभ्यास साथै व्यायाम प्राणायमका विषयहरू, पानीको महत्त्व, शरीरमा पानीको मात्रा पूणर् राख्न सके छालाको चाउरीपन हटेर तन्दुरुस्त रहिने, रोगसित लड्न सक्ने क्षमता शुद्ध पानीले दिनसक्छ भन्ने कुरा पनि यो खण्डकाव्यमा दर्शाउनु भएको छ !

जेष्ठहरूले कस्तो स्वभाव निर्धारण गर्दा सहजीकरण प्राप्त हुन्छ घरपरिवार तथा सामाजिक सद्भाव कसरी लिन सकिन्छ भन्ने जानकारी काव्यमा खुलाइएको छ । सिङ्गो जीवन र जगत्मा धूम्रपान, मद्यपान तथा जुवातासले निम्तिनसक्ने बेफाइदाहरू कविज्यूले यहाँ छर्लङ्ग प्रस्तुत गर्नुभएको छ ! जति वृद्धवृद्धा भइयो त्यति संयम् अपनाएर बोल्नुपर्ने कुरा यहाँ राख्नुभएको छ ! आफूले छोराबुहारी नातिनातिनालाई, नित्य प्रेम वा कारुणिक भावले बोलाउनु पर्छ उनीहरूले पनि वृद्धवृद्धाप्रति सद्भाव राख्न सिक्छन् भन्ने कुरा प्रष्ट्याउनु भएको छ !

बुहारी र घरका वृद्धवृद्धा कस्तो हुनुपर्छ भन्ने कुरा पनि कविज्यूले काव्यमा प्रष्ट खुलाउनु भएको छ । सासूले छोरी र बुहारीमा समान व्यवहार राख्ने गर्नुपर्छ, छोरी पनि कसैकी बुहारी हुन्छिन्, यिनीहरूले सासूप्रति गर्नुपर्ने दायित्त्व पनि त्यत्तिकै खुलाउनु भएको छ !

अहिलेका बुहारीहरू घरघरमा साक्षर मात्र नभएर अधिकांश डिग्री हासिल गरेका हुन्छन्, डिग्रीको महत्त्व हुन्छ यो दक्षतालाई कार्यमा उतारेर लागू गर्न पतिमा मात्र नभएर सासूससुरामा पनि उत्तिकै दायित्त्व चाहिन्छ ।
बुहारीले, घरको परिस्थिति चालचलन कस्तो छ, घरका इष्टमित्र कस्ता छन् भन्ने कुरा बुझेर जिम्मेवारीमा प्रस्तुत हुनुपर्ने कुरा पनि यहाँ प्रकट गरिएको छ ! साथै लोग्नेको व्यवहार कस्तो छ, लोग्ने बाहिर जाँदा कस्ता साथीभाइसँग हिँड्दै छ, कुलतमा लागेकाहरूसँगको संगत छन् या सही छन्, यस्ता कुरा पनि नियालेर सही मार्गमा हिँडाउने जिम्मेवारी बुहारी वा श्रीमतीमा हुन्छ भन्ने आशय कविज्यूले कविता मार्फत आफ्नो भाव प्रकट गर्नुभएको छ ! समग्रमा वृद्धवृद्धालाई मात्र नभएर बालबालिका तथा हामी प्रौढ उमेरमा हिँड्दै गरेका जो कोही सम्पूणर्लाई यो बुढ्यौली खण्डकाव्य पढेपछि सहज उपाय निर्माण गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।

काव्यमा धनको महत्त्व पनि वणर्न पनि गरिएको छ र धनमा शिवजीका त्रिनेत्र भन्ने उखानलाई कविज्यूले काव्य मार्फत पुष्टि गर्नुभएको छ ! मनुष्य, प्राणीलाई प्राकृतिक अथवा विभिन्न बोटबिरुवासँग जोडेर यहाँ प्रस्तुत गरिएको छ, तथा मनोरञ्जनात्मक खेलको महत्त्व, वृद्धवृद्धा पनि कुनै न कुनै खेलमा आबद्ध भएर रम्न सक्दा बुढेसकालमा देखा पर्ने तनावहरू स्वतः हटेर जान्छन् भन्ने कुरा झल्काउनु भएको छ !

अतः जेष्ठहरूमा श्रीरामको नाम जप्दै बजार वा मन्दिर तथा गल्ली लगायत चोकचोकमा हिँड्ने समूहको पनि उठान गर्नुभएको छ ! यिनीहरू कति, कोही सहाराविना छन् कति नक्कली भक्त बनेर ठगी धन्दामा लागेका छन् यसको मूल्याङ्कन,सम्बन्धित निकाय वा सरकारले पुष्टि गरेर सामाथ्र्य अनुसार, काम गरेर खानसक्ने वातावरण तय गर्नुपर्छ भन्ने आशय पनि कविले बुढ्यौली खण्डकाव्यमा प्रकट गर्नुभएको छ ।

काव्यमा सन्तान एवं कर्तव्यको वणर्न गरिएको छ । सन्तान समान सोच तथा समान भाग्य लिएर जन्मिएका हुन्नन् तर बुबा आमाको सबैसित प्रेम भाव बराबर रहेको हुन्छ र एकापसमा दाजुभाइमा केही मतभेद भएर वृद्ध बुबा आमाले अपनत्त्व निर्वाह गर्न नसकेर अलग्ग हुनुपर्ने परिस्थिति आउन दिनु हुन्न भन्ने भाव पनि यो बुढ्यौली खण्डकाव्यले व्यक्त गरेको छ ।

काव्यमा श्रृङ्गारको महत्त्व दर्शाउँदै सरसफाइ तथा वृद्धवृद्धमा नेत्र मलिन हुँदै जाने हुँदा चस्मा आदिको आवश्यकता कानमा श्रवण शक्ति कम हुँदै जाने हुँदा विभिन्न यन्त्रहरू छन्- प्रविधिले दिने सहजीकरणका उपायहरू प्रयोग गरेर आनन्द लिन सकिने विषय पनि काव्यमा छर्लङ्ग प्रस्तुत भएको देखिन्छ ।

वृद्धाश्रमको महत्त्वका बारेमा पनि काव्यमा प्रकट गरिएको छ । आश्रमले दिइरहेको सुविधा कस्ता व्यक्तिलाई बढी आवश्यक छ, कस्ता व्यक्तिलाई छैन यी विषयहरू पारदर्शी हुनुपर्छ भन्ने कुरा यहाँ खुलाइएको छ । आश्रममा सरकारी तहबाट वृद्धवृद्धा, असहायले पाउनुपर्ने सुविधा कतिको पाइरहेका छन् छैनन् भने सम्बन्धित निकायले अझै ध्यान दिनुपर्छ भन्ने कुरा यहाँ मजाले खुलाएर कविज्यूले आफ्ना भावना प्रकट गर्नुभएको छ !

त्यस्तै हिंसा वा मौन हिंसाका गतिविधिहरू हाम्रो समाजमा बढिरहेका विषय काव्यमा उठाइएको छ ! विभिन्न स्वार्थका अभिप्रायले मानिसहरू हिंसातर्फ प्रवेश भइरहेका देखिन्छन् । यो चपेटामा परेर कतिपयले शरीर अर्पण नै गर्नुपरेका विषयहरू पनि छन् र यसका लागि दह्रो कानुनी व्यवस्था निर्धारण गरेर हिंसा न्यूनीकरण गर्न सक्नुपर्छ भन्ने भाव प्रकट गरेर सरकारको ध्यानाकर्षण पनि गराउनुभएको देखिन्छ !

वृद्धवृद्धा, विभिन्न व्यवहारिक पीडामा परेर जीवनयापन गरिरहनु परेका कुराको कविले उठान गर्नुभएको छ । सन्तानको भविष्यका निम्ति हरेक दुःखदायी पलहरू पार गर्दै आएर केही सुखको अनुभूति प्राप्त गर्नुपर्ने समयमा कतिपयले सन्तानबाट या विभिन्न कारणबाट सोचेको भन्दा प्रतिकूल अवस्था झेल्नुपरेको छ, तथापि, उँचो मन बनाएर वृद्धवृद्धा समस्यासित प्रतिस्पर्धा गरिरहेका विषयहरू यो बुढ्यौली खण्डकाव्यमा उल्लेख छन् !

बुबा या आमाको महत्त्वको यत्रतत्र वणर्न छ- यसमा । आफ्ना अनुज, सन्ततिहरूलाई सजक गराउँदै कविज्यूले कविता मार्फत यसो भन्नुभएको छ !-
छोरी हो बुझ शक्ति के छ महिमा आमाहरूका कथा
छोरा हो बुझ खास के छ घरमा आमाहरूको व्यथा
मात्रै दुग्ध चुसेर हुन्न यिनको कल्याण गर्ने गरौँ
के गर्दा छ भलो सदैव दिलले सम्भार राम्रो गरौँ ॥२३१॥

अझै वृद्धवृद्धाहरू राज्यले भार ठान्नु नहुने विषयहरू यो खण्डकाव्यमा त्यत्तिकै प्रस्तुत छन् । पाका मानिसका निमित्त छुट्टै अस्पतालको व्यवस्था हुनुपर्ने धारणा उठान गरिएको छ ! वृद्धभत्ताले केही राहत भए पनि त्यसैले मात्र बुढ्यौली समस्याको पूणर् समाधान हुन नसक्ने मनसायले सरकारप्रति लक्षित गरेर कविज्यूले काव्यमा उल्लेख गर्नुभएको छ । बुढ्यौली चाँडो बनाउने घातक रोगहरू तथा वयपन छँदै लागेर वृद्ध हुँदै गएपछि सताउन सक्ने मधुमेह लगायत वंशाणुगत सर्न सक्ने विभिन्न रोगहरूका विषयका बारेमा काव्यमा दर्साइएको छ भने यसका उपाय र विधिहरू पनि साथै उल्लेख छन् !

अन्त्यमा ! वृद्धवृद्धा समाजका मार्गनिर्देशक हुन् । मनोबल घटाएर हार्नु हुन्न भन्ने धारणा राख्दै कविज्यूले काव्यमार्फत आफ्नो भावना यसरी प्रकट गर्नुभएको छ-
कैयौँ चोटि मरेर बाँच्न सिकियो बित्तै गए जीवन
मार्नै पर्छ अझै विषाक्त मनका काला रहेका कण
बाँकी छन् अझ वृद्धले कति कुरा सम्याउने फाँटमा
हार्ने हैन जितेर रम्नुछ यहाँ नेपाल आकाशमा ॥

यसैगरी वृद्धवृद्धा हुँदै गरेका सम्पूर्णले अपनत्त्व गर्नुपर्ने सहजीकरणका विषयहरू साथै वृद्धवृद्धालाई आवश्यक सम्मान हेरचाह सबै विषयहरू यस काव्यमा उल्लेख गर्नुभएको छ । यो खण्डकाव्यले अवश्य पनि समाजलाई वृद्ध भएका जनजीवनका लागि मार्गदर्शन दिन सक्ने छ भन्दै कविज्यूलाई मुरी मुरी धन्यवादका साथै अझ तय गर्दै गर्नुभएको बुढ्यौली महाकाव्य पनि छिटै पढ्ने अवसर मिलोस्, म वहाँप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

०००
ताप्लेजुङ, हाल- काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad