बुढ्यौली काव्य (शृङ्खला- ४०)
ओछ्याएर पराल टन्न डसना जस्तै छ बस्नेस्थल गर्थे बात ठिटा बुढासित मिठा कस्तो मजाको पल तुक्का जोड घटाउ कथ्य कविता गोडेर राम्रोसित । भिड्थे ती घरगाउँले युवक झन् जन्ती ठिटाकासित ॥
देवीप्रसाद मिश्र :
हाम्रो पुरानो स्थिति
थाम्दै सत्य परम्परा परिधिमा सङ्लो बनाई मन ।
जान्थे जो दुलही लिने विषयमा पाका युवा सज्जन ॥
धोती चट्ट कसी खुला चउरमा बस्थे इमानी बनी
आशा मात्र छ एक गाड्न सकियोस् सम्पूर्णले कन्दनी ॥२२३॥
भोर्लाको टपरी समादर गरी बस्ने सबै लाममा ॥
तातो दाल र भात आउँछ उता आतिथ्य सम्मानमा ।
फर्सीको अति चोपिलो तिहुन झन् सग्ला फुरौला अनि
जन्ती स्वर्ग पुगे समान मनमा खान्थे मिठो क्या भनी ॥२२४॥
बस्थे खान उता अलग्ग जति छन् दर्जीहरू सक्कल ।
ल्याओ दाल यता छिटो अब भनी गर्थे ठुलो खल्बल ॥
आऊन् है घिउका दुना अझ यता हे बाहुनी बर्जु हो ।
भन्थे एक छ भागमा मन खुसी छैनन् फुरौला अहो ॥२२५॥
जेठा बा अझ भन्दथे नजिकका केटाहरू साथमा ।
खाओ टन्न थपेर भात अहिले भोकाउला रातमा ॥
दिन्थे फेरि ठिटा जवाफ गतिलो के बात गर्छौ बुढा।
खाजाको परिबन्ध गर्न नसके हान्छौँ उठाई खुँडा ॥२२६॥
भन्थे झट्ट बुढा म गर्दछु कुरा खाजा मिलोस् रातमा ।
तिम्रा माग अवश्य राख्छु नमिले दङ्गा नहोस् साथमा ॥
यस्तै बात गरी भरी अब भुँडी गाड्दै सबै कन्धनी ।
लाग्थे मण्डपतर्फ छन् ठसमसी बस्थे इमानी बनी ॥२२७॥
ओछ्याएर पराल टन्न डसना जस्तै छ बस्नेस्थल
गर्थे बात ठिटा बुढासित मिठा कस्तो मजाको पल
तुक्का जोड घटाउ कथ्य कविता गोडेर राम्रोसित ।
भिड्थे ती घरगाउँले युवक झन् जन्ती ठिटाकासित ॥२२८॥
यस्तो उत्सुकले बसी मन कसी खाने सफा संस्कृति ।
पुस्ता अन्तरमा सबै समयले भिन्नै बनायो स्थिति ॥
हाम्रा पूर्व परम्परा सब गए फर्केर के आउलान् ।
छाँटाको अब दाल शुद्ध घिउको चोखो कहाँ पाउलान् ॥२२९॥
क्रमशः
०००
२०८०/२/८