देवीप्रसाद मिश्रबुढ्यौली काव्य (शृङ्खला- १३)
बड्दै छन् भावनामा कलुष जहरका आँकुरा फैलिएर जाने देखिन्छ हेर्दा प्रचलित अघिको सभ्यता मैलिएर !

जेठा बा यसो भन्छन्
लाग्थ्यो यो सभ्यताको गहन मुदुस हो राष्ट्र नेपाल हाम्रो
मान्थ्यो हाम्रै धराको अनुसरण कला विश्वले नित्य राम्रो
हाम्रा संस्कार झुल्ने गहन परिधिमा पस्न थाल्दै छ बाढी
आस्था भागे हराएसरह छ भवको लोक संस्कार छाडी !!
(६२)
बाबाको शब्द भाग्यो दिनपल अहिले सभ्य आमा हराए
काकी या सानिमा हुन् असल पसलमा आज आन्टी बनाए
काका हाम्रा कता छन् विरह छ दिलमा शब्दमा नै हरायो
बिर्स्यो राम्रो जिबाको अनुपम पगरी चित्त मेरो डरायो !!
(६३)
बढ्दै आए अनौठा चलन अथकका पूर्व संस्कार भागे
भन्दै राम्रो जमाना ऋषिवचन गुमे सत्यमा दाग लागे
कल्ले ल्यायो र आयो परपर भवको नीति संस्कार घारो
कस्तो हो प्रेम साट्ने दिवस नयनमा लाज लाग्ने पसारो !!
(६४)
राम्रो हो प्रेम गाथा चलन सकलमा थाम्न सक्दा सिरानी
मात्रै जोडा र तोडा वनबगर तथा पार्कमा छन् निसानी
छायाँ देखिन्छ माया जनमन सबमा नित्यता स्वार्थ माथि
काया फेर्छन् बडार्छन् युगल रहरिला मित्र आफन्त साथी !
(६५)
जालो फालेर कालो असल फल लिने बढ्न थाले बजार
फस्छन् झुट्टा कलामा कतिपय बचरा जीवनी अन्धकार
बड्दै छन् भावनामा कलुष जहरका आँकुरा फैलिएर
जाने देखिन्छ हेर्दा प्रचलित अघिको सभ्यता मैलिएर !!
(६५)
(क्रमश)
०००
२०७९/११/१
हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































