विष्णुहरि पाैडेलजीवन-सहचरी
सारङ्गी म त, मूर्छना भरिदिने, हुन् यी कला वाचिका । मेरो शक्ति र साधना बनिदिईन्, श्रीकृष्णकी राधिका । डुब्दा भाव तरङ्गमा लहरिँदै,लान्छिन् कता जान्दिन । गाढा पीति छ छोडपत्र गरिदे, भन्लान् कसै मान्दिन ।

विष्णुहरि पौडेल :
छोडेँ जागिर खान पेन्सन दिए, फिर्ता गरेँ जागिर ।
आउन्नन् अब भेट्न, टेर्छ कसले, फुक्लो ढिकी, तेबर ।
डेरामा पनि मान छैन गृहिणी, झर्केर सर्छिन् पर ।
स्थायी प्रेम टुटेन साथ कविता दिन्छिन् गरी आदर ।१।
मैले शैशव कालदेखि कविता-लाई रुचाएँ अति ।
जो आईन् घरमा बनेर दुलही, दोस्री रहिन् श्रीमती ।
थाम्छिन् हात डुलाउँछिन् प्रकृतिको, उद्यानमा सुस्तरी ।
मेरा केश फुले तथापि कविता, अम्लान छिन् सुन्दरी ।२।
हुन्छिन् तिल्मिल अन्तरङ्ग सँगिनी, देखेर अर्धाङ्गिनी ।
एकान्त-स्थलमा रहेँ यदि भनेँ, हुन्छिन् खुशी रागिनी ।
कैले प्रेम बिछोडका मन छुने, आलाप वर्षाउँछिन् ।
खोज्छिन् आँचलमा लुकाउन दिँदै, मुस्कान लोलाउँछिन् ।३।
मीठो स्वाद चखाउँछिन् रस-बरी, पस्की सुधा नौथरी ।
नाच्छिन् पिङ्गल वृत्तमा छमछमी, ताता र थैथै गरी ।
पोख्छिन् भाव अनेक शिल्प सुषमा, पस्की कला गौरव ।
पार्छिन् विह्वल कृष्णसार मृग भै, खोज्दैछु झैँ सौरभ ।४।
दिव्यानन्द दिलाउँछिन् हृदयकी, रानी बनी दिन्दिन ।
चुत्था मांसल देह लाग्छ युवती, राम्री कुनै गन्दिन ।
निद्रामा सपना बिहान विपना ,मेरी जुनेली परी ।
लैलाकी मजनू समान कविता, लाग्छिन् सँधै सुन्दरी ।५।
सारङ्गी म त, मूर्छना भरिदिने, हुन् यी कला वाचिका ।
मेरो शक्ति र साधना बनिदिईन्, श्रीकृष्णकी राधिका ।
डुब्दा भाव तरङ्गमा लहरिँदै,लान्छिन् कता जान्दिन ।
गाढा प्रीति छ छोडपत्र गरिदे, भन्लान् कसै मान्दिन ।६।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































