
बाबुआमा काव्यांशः – ८
केके हुन्छन् नराम्रा रिपु हितगुणका? जान्न सक्ने बनाए । राम्रा छानेर बढ्ने कुशल कृतकला साधनाले चिनाए ॥ त्यागी हुन् वृद्ध सारा मनुज पथ निका बाँड्दछन् स्वच्छ पारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥

दीनानाथ पोख्रेल :
अग्लो बन्ने सुबाटो भवगुण हितका टिप्न जान्ने बनाए ।
हाम्रा हुन् प्राप्ति सग्ला विधिपथ पदका ज्ञान बाँड्दै रमाए॥
सत्यात्मा पुत्रपुत्री तनमनधनले वृद्धका हुन् पुजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥३६॥
गर्दै सत्कर्म सङ्ला तनमनधनले सौख्य ऊर्जा उमारे ।
छोराछोरी रमाऊन् विधिसडक हिँडून् ज्ञानले पूर्ण पारे ॥
आत्मा खोलेर हाँसून् मनन मन गरोस् चक्र हो यो बिचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥३७॥
धर्ती आकाश साझा अवनिभर घुमूँ भेद गर्दैन हेरूँ ।
हुन् वृद्धावृद्ध त्यस्तै हितमय गुणका प्रेमले नित्य बेरूँ ॥
सङ्लो बग्नेछ पानी शिरकस नरहोस् चेत हेरोस् बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥३८॥
भोग्दा वार्धक्यअग्लो हितमय छ भनी वृद्धले नित्य गाऊन् ।
दुख्ने दुर्वाच्य छैनन् परिजन सबका भावनाभित्र छाऊन् ॥
बोलूँ सत्वाक्य सङ्ला छलरहित चुनूँ चेत आँखा उघारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥३९॥
केके हुन्छन् नराम्रा रिपु हितगुणका? जान्न सक्ने बनाए ।
राम्रा छानेर बढ्ने कुशल कृतकला साधनाले चिनाए ॥
त्यागी हुन् वृद्ध सारा मनुज पथ निका बाँड्दछन् स्वच्छ पारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥४०॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest