खगेन्द्र दाहालआमाको अवसान
आफन्त मित्रले सोध्दा जवाफ दिनु के अब ? नातिनीले मुमा खोज्दा जवाफ दिनु के अब ? बाबालाई छँदै छैनन् आमा म कसरी भनूँ ? जल्लाई भन्दथें आमा लास हुन् कसरी भनूँ ?

खगेन्द्र दाहाल :
वेधशाला बन्यो ज्यान ताने डाक्टरले खुन
तानेकाले बढी रक्त आमा थालिन् झनै रून
कमजोर भयो ज्यान शक्ति हराउँदै गयो
खाना खान नपाएर कमी पोषणको भयो ।
१
पेट दुख्ने दिसा लाग्ने क्रम बाक्लो हुँदै गयो
पाचनको प्रणालीमा समस्या बेसरी भयो
सुताइ भो सुताइले भयो घाउ शरीरमा ज्यान
फर्काउँदा दुख्थ्यो दलिन्थ्यो रक्त वस्त्रमा ।
२
बढ्यो सुगरको मात्रा बढ्यो हृदय धड्कन
फोक्साको छिद्रले पार्यो समस्या छिनका छिन
दिनहुँ थपिए रोग गलायो भित्र बेसरी
दन्कियो अग्निको ज्वालो जलायो देह दन्दनी ।
३
कालो बादलले ढाक्यो अँध्यारो धरती भयो
आशाको दीप बल्दैथ्यो निभ्ला कि त्रास बल्झियो
अक्सिजन भयो धेरै निस्केन सास बाहिर
हिक्क हिक्क भयो औधी केही लागेन आखिर ।
४
गरे डाक्टरले लाखौं यत्न आमा बचाउन
हारे डाक्टर नै उल्टै पुगे लाचार उभ्भिन
भने विज्ञानले हान्यो हाम्रो प्रयत्न फेल भो
मार्नु अकालमै मान्छे दैवको जालझेल हो ।
५
रातापिरा भए आँखा गलो सुक्यो रुँदारुँदै
आँटियो ढल्न आमाका हातगोडा हुँदाहुँदै
पाइला चाल्न गाह्रो भो भैयो लाचार दुर्बल
आँसुका भेलमा आफैँ बग्ने भैयो पिई जल ।
६
आफन्त मित्रले सोध्दा जवाफ दिनु के अब ?
नातिनीले मुमा खोज्दा जवाफ दिनु के अब ?
बाबालाई छँदै छैनन् आमा म कसरी भनूँ ?
जल्लाई भन्दथें आमा लास हुन् कसरी भनूँ ?
७
०००
भरखरै लाेकार्पित नरमाया (शाेककाव्य २०८१) बाट
Subscribe
Login
0 Comments
Oldest






































