रामप्रसाद पन्थीजननी मेरी
आमाको रिन आमाकाे गुन बिर्सूँ म कसरी आमाकाे देन सम्झेर मन धड्किन्छ बेसरी । जननी मेरी देवीकाे रूप नमन गर्दछु आशिक देऊ हे मेरी आमा चरण पर्दछु ।

रामप्रसाद पन्थी :
आमाकाे मुख उज्यालाे भए संसारै उज्यालो
नभएदेखि लाग्दछ हुस्सु ढाक्दछ तुँवालाे ।
गहिराे गरी हेर त सारा नर र नारीले
सृष्टिको भार थामेकाे देख्छाै आमाकाे सारीले ।
काेखमा राखी जन्मायाै आमा काखमा हुर्कायाै
छाेरा र छाेरी सन्तान साना ढाडमा लुर्कायाै ।
दिनकाे भाेक रातकाे निद भुलेर थकाइ
अमृतरूपी दूधको धारा पिलायाै बर्साइ ।
मेला र पात दाउरा घाँस चुला र चाैकामा
राखेर साथ खुवायाै गाँस बेला र माैकामा ।
फाटेकाे साडी उध्रेकाे चाेली लाएर हरमा
आशाकाे दीप बालेर बस्याै जुनकाे भरमा ।
याे देह हाम्राे आमाकाे अंश नभुलाेस् कसैले
आमाकाे मन रूवाए दुःख पाउछ देशैले ।
स्वार्थमा भुली नछाेड आमा आश्रम लगेर
पाइन्न शान्ति शीतल छाया जननी छाेडेर ।
ओैंशी दिन सम्झेर आमा पुग्दैन साथी हाे
सदैव आमा खुसीमा राख मानव जाति हाे ।
आमाको रिन आमाकाे गुन बिर्सूँ म कसरी
आमाकाे देन सम्झेर मन धड्किन्छ बेसरी ।
जननी मेरी देवीकाे रूप नमन गर्दछु
आशिक देऊ हे मेरी आमा चरण पर्दछु ।
०००
रेसुङ्गा न पा २, गुल्मी
२०८२।०१।१४
Subscribe
Login
0 Comments
Oldest







































