सुरेशकुमार पाण्डेभिख
"उसले पनि मागेर जहान पाल्छ हामीले पनि मागेर आफ्ना सन्तान् पाल्छौँ। फरक यत्ति छ उसले माग्ने भिख हो हामीले माग्ने चन्दा ।"- रमेश खिसिक्क हाँस्दै भन्यो।

सुरेशकुमार पाण्डे :
“भिखारी आउँन मनाही छ” – निरजले आफ्नो पार्टी आफिसको मूल ढोकामै यस्तो इस्तिहार लेखेर झुण्डायो।
“यो के झुण्डाएको दाइ यस्तो ?”- रमेशलाई कत्ति चित्त बुझेन र निदार चाउरी पार्दै सोध्यो।
“किन र भाइ ठिक लागेन ?”- निरजले जान्न खोज्यो।
“राजनैतिक पार्टीको अफिसमा यस्तो लेखेर टाङ्नु उचित हुँदैन मेरो बिचारमा।”- रमेशले आफूलाई लागेको कुरा बतायो।
“भिख माग्नेहरू दिनौँ वृद्धि हुनथाल्यो त्यसैले नियन्त्रण गर्नको लागि हो। तर भाइलाई किन नराम्रो लाग्यो ?”-
“हामीलाई सबै मानिस चाहिन्छ। भोट त भिखारीको पनि हुन्छ। साँचै भन्ने हो भने त्यो भोट पनि जगेडा भोट हो। निर्णायक मत हुनसक्छ। एउटा विषय त यही हो।”- रमेशले प्रष्ट पार्यो।
“ओहो मेरो दिमाख पनि अलि मोटो छ । यो कुरा त सोंचेकै थिएन मैले। अनि आर्को चाहिँ के होला नि भाइ ?”- निरजले गम्भीर हुँदै अर्को प्रश्न सोध्यो।
“त्यो भिखारी भन्नु पनि हाम्रै भाइ हो।”- रमेशले भन्यो।
“हो र ? तर कसरी हाम्रो भाइ ?
“उसले पनि मागेर जहान पाल्छ हामीले पनि मागेर आफ्ना सन्तान् पाल्छौँ। फरक यत्ति छ उसले माग्ने भिख हो हामीले माग्ने चन्दा ।”-
रमेश खिसिक्क हाँस्दै भन्यो।
तर अहिले निरजको अनुहार अँध्यारो थियो।
०००
घोराही १८, दाङ
१०-०१-२०८२
Subscribe
Login
0 Comments
Oldest







































