कविराज घिमिरेदिएर जन्म मातृले
अहा ! छ धन्य मातृको विशिष्ट योग्य जीवन हुँदैन सृष्टि लोकमा यिनीबिना उँचो जन गरेर मातृ भक्तिले बनी सदैव सेवक पखाल्नुपर्छ भार यो बनौँ सबै सचेतक ।।

कविराज घिमिरे :
न रात हुन्छ रातझैँ बिहान मध्य साँझ झन्
बिनामिठासका भई खडा हुँडल्न मात्र छन्
व्यथा खपेर गर्भको मडारिएर दर्दले
अचानु भुल्छ दुःख के भुलेर बस्छ कर्दले ।। १
छ बारबार वाक्कको भिडन्त फ्याँक्न भोजन
गयो मुहार न्यास्रिँदै दिँदै दिँदैन शोभन
कवाज खेल्छ पेटमा नसम्झ यो न चौर हो
सुखान्तनिम्ति दर्दको थियो प्रगाढ भार यो ।। २
व्यथा प्रसूतिको कडा न बाँच्नु मर्नुको निधो
छ धारमाथि जिन्दगी विचेतिएर ब्युझियो
छ छ्याल्लब्याल्ल रक्तको अशान्तसाथ पोखरी
दिएर जन्म मातृले गरिन् अनन्त चाकरी ।। ३
सुताउने उठाउने खुवाउने चुठाउने
फुलाउने झुलाउने नुहाउने चुसाउने
अनेक ख्याल गदर्छिन् सदैव बाल देहमा
समस्त गर्छ को अरू ? मुमा सिबाय गेहमा ।। ४
यसै छ सेकतापले महत्त्व झन् शरीरको
भनिन्छ स्वर्गझैँ हुने अशेष प्रेम काखको
झनै छ दुग्धको ठुलो महत्त्व राख्छ गौरव
दिमाग तेजिलो बनी हुनेछ बाल सौरभ ।। ५
अहा ! छ धन्य मातृको विशिष्ट योग्य जीवन
हुँदैन सृष्टि लोकमा यिनीबिना उँचो जन
गरेर मातृ भक्तिले बनी सदैव सेवक
पखाल्नुपर्छ भार यो बनौँ सबै सचेतक ।। ६
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































