साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खबरदार ! तपाईं बुढो हैन उमेरले परिपक्व हो

संसारका तानाशाह, बादसाहहरूले ज्ञानी, धनीहरू मध्ये कसले के लिएर गए ? भौतिक वस्तुको सञ्चय र भौतिक मुकाम जीवधारीहरूको कृत्रिम विषय हो । क्षणिक हो । यसलाई अहिलेसम्म कसैले स्थायी विषय बनाएका छैनन् ।

Nepal Telecom ad

“जीवनलाई आलस्यमा बिताउनु भनेको आत्महत्या गर्नु हो ।” शुकरात
बुढो त्यो व्यक्ति हो जसले उमेरमा भएको वृद्धिसँगै आफूलाई सक्रिय राख्ने शारीरिक क्षमता गुमाउछ । बुढो उमेरले मात्रै हुने कि उमेरसँगै शारीरिक क्षमता गुम्नाले ? शारीरिक क्षमतामा हुने ह्रासले बुढ्यौली र उमेरमा हुने बढोत्तरीले परिपक्वता भन्ने विषयमा लेखाजोखा नहुँदा सजिलोको लागि हामीले उमेरलाई नै बुढ्यौली भन्ने गरेका छौं । सामान्य शारीरिक क्षमतामा ह्रास आउने लक्षणमा टेकेर म बुढो भएँ भन्दा समाजमा लज्जाबोध नहुने मानसिकता पनि सक्रिय हुने प्रयत्न गर्न निरुत्साहित गर्ने कारणहरू हुन् । मानिसले जीवनशैली, खानपिन, कार्यशैली, मनोविज्ञानले व्यक्तिलाई सक्रिय रहन शारीरिक रुपमा सक्षम बनाउछ भन्ने विषयमा समाजमा छलफल, अन्तरक्रियाको महत्त्वपूणर् भूमिका हुन्छ तर त्यो संयन्त्र क्रियाशील नहुनु नै उमेरलाई बुढ्यौलीको आधार मान्ने प्रचलन लोकप्रिय भएको छ ।

जीवनमा क्रियाशीलता समयको सम्मान हो । आलस्य समयको दुरुपयोग र अपमान हो । समयलाई दुरुपयोग गर्नेहरू न सुखी हुन्छन् न खुसी, न निरोगी नै । संसारको प्रमुख समस्या नै समयको दुरुपयोग हो । जुन जुन देशका नागरिकहरूले समयलाई सदुपयोग गरेका छन् ती देशहरूले प्रगति गरेका छन् । उनीहरू सुखी मात्रै छैनन् खुशी पनि छन् । समयको दुरुपयोग वा आलस्य मानसिक र शारीरिक रोगको कारण हो भने क्रियाशीलता त्यसको एकमात्र निदान हो ।

उमेरले ऊ सत्तरी पुगेको छ तर पूर्ववत् सक्रिय रहन शारीरिक रुपमा सक्षम छ भने उसलाई कसरी बुढो भन्ने ? परिपक्व भन्न सकिन्छ । शारीरिक क्षमता नगुमाउनेहरूलाई पनि उमेरले परिपक्व हुने अवस्थालाई बुढोको संज्ञा दिनु भनेको सबैले उमेरगत रुपमा कमजोर हुन बाध्य बनाउने मनोविज्ञान विकसित गर्नु हो ।

उमेरले परिपक्व हुँदैगर्दा धेरै मानिसहरू म बुढो भएँ जस्ता निराशाको अभिव्यक्ति बिना हिच्किचाहट दिन्छन् । यो हाम्रो नेपाली समाजको आम प्रचलन नै भन्नुपर्छ । निराशाले शरीरमा सक्रिय हर्मोनहरूलाई निष्क्रिय वा अकर्मण्य बनाउँछ । यसको परिणाम के हुन्छ भने शरीरका ऊर्जा उत्सर्जन गर्ने तन्तुहरू र विचारहरूलाई पनि क्रियाहीन मात्रै हैन जीणर् बनाउँछ । हामीले निराशालाई वृद्धि गर्ने कि निराशालाई दमन गरेर आशाको बीजारोपण गर्ने ? यो प्रत्येक वयस्क नागरिकहरूको हातमा छ । समय र परिस्थितिलाई वयस्कहरूले पनि बुझेनन् भने युवा र तरुणहरूले बुझेनन् भनेर वयस्कहरूले भन्ने ठाउँ पनि रहँदैन ।

हामी वयस्कहरूको आचरणले, व्यवहारले, सोचले र दृष्टिकोणले समाजमा विशेष महत्व राख्छ । हाम्रा शारीरिक कमजोरीसँगै विकसित विचारको र सोचको परिपक्वताले हामीलाई शक्ति पनि दिन्छ भन्ने विषयलाई हामीले नजरअन्दाज गर्नुहुन्न । हामी बसेको ठाउँबाट म, हामी उठ्न सक्दिन भन्ने मनोविज्ञान विकसित गर्‍यौं भने हामी उठ्न सक्दैनौं । तसर्थ यो बुढेसकालको शारीरिक कमजोरीको कारण उमेर मात्र नभएर मानसिकता पनि हो । म बुढो भएँ भनेर निराश हुनु भन्दा म वयस्क भएको छु भन्ने सन्तोष र आनन्दको अनुभूतिले शरीरलाई छुट्टै सशक्तीकरण गर्छ । अहिले फोनबाट हुने वार्तालापमा धेरै विद्वान वयस्क मित्रहरू बृद्धावस्थालाई अभिशापको रुपमा व्याख्या र विश्लेषण गरेर निराशाको खेतीमा व्यस्त देखिन्छन् । यस्ता उमेर समुहका व्यक्तिहरूले गर्ने वार्तालापबाट शरीरमा नकारात्मक ऊर्जा उत्सर्जन गर्ने काम आफैमा हानिकारक हुन्छ । हामी वयस्कहरूले आपसी वार्तालापको क्रममा शरीर र विचारलाई निरुत्साहित गर्ने विषयवस्तुबाट नितान्त पर रहनुपर्छ ।

उत्साह, जाँगर र कार्यक्षमताको स्रोत शरीर मात्रै हैन मानसिकता र विचार साथै वातावरण पनि हो । क्रियाशील वातावरणमा रहनेहरूको विचार र निष्क्रिय रहनेहरूको साथ संगतमा रहनेहरूको विचार र शरीर दुबैमा अन्तर देखिन्छ । एउटा वयस्कले अर्को वयस्कको विचार र ऊर्जालाई उत्सर्जन गर्ने काम गर्दा यसले समाजमा वयस्कहरू क्रियाशील मात्रै हुँदैनन् निरोगी र दीर्घजीवी समेत हुन्छन् भन्ने विषयलाई सबैले हेक्का गर्नुपर्छ । समाजमा वयस्कहरूको क्रियाशीलताको सकारात्मक प्रभाव युवा र तरुणहरूमा प्रत्यक्ष पर्छ । वयस्कहरुको क्रियाशीलताले युवाहरूमा पनि निष्क्रियताको अंश घटाउन र लगनशील हुन जबर्जस्त दबाब सिर्जना गर्छ । यसरी वयस्कहरूको अप्रत्यक्ष दबाबको प्रभाव समग्र अर्थतन्त्र र मानव जीवनमा सकारात्मक पर्ने विषयमा पनि जेष्ठ नागरिकहरुले हेक्का राख्नुपर्छ ।

हामी अधिकांश जेष्ठ नागरिकहरूले समाजमा निराशाको खेती गर्ने मनोविज्ञानलाई पुलकित गरेका छौं । शक्तिको स्रोत शारीरिक मात्रै हैन यो मानसिक पनि हो । तसर्थ मानसिक शक्तिको अनुकुल र प्रतिकूल प्रभावको सिकार समाज भएको विषयमा पनि विशेष ख्याल गर्नुपर्छ । हामी धेरै जेष्ठ नागरिकहरू टेलिफोन वार्तादेखि आपसी भेटघाटमा समेत नकारात्मक विषयवस्तुमा केन्द्रीकृत हुने मनोविज्ञानले हाम्रा शारीरिक ग्रन्थीहरू नै निराशा मैत्री बनेका छन् । भेटघाटको अवसरमा सबै सकारात्मक विषयवस्तुमा केन्द्रित हुँदा त्यसको प्रभाव समाजमा सकारात्मक चिन्तन गर्ने भावनाको विकास हुन्छ । तर हाम्रा कुराकानीका विषयवस्तुहरू प्रायः नकारात्मक हुने हुँदा सकारात्मक मनोग्रन्थीहरू नै कमजोर बनेका छन् । यसको प्रत्यक्ष प्रभाव युवाहरूमा पनि पर्ने हुनाले जेष्ठ नागरिकहरूको दुष्प्रभावको सिकार युवाहरू पनि भएका छन् ।

जेष्ठ नागरिकहरूले आफू पनि थप निराश बन्ने र युवाहरूलाई पनि निराश हुन उत्प्रेरित हुने कामहरूमा सतर्क हुनुपर्ने विषयले समाजमा छुट्टै अर्थ राख्छ । वातावरणको प्रभावलाई ख्याल नगरीकन हामीले मनचाहे व्यबहार गर्न हुन्न भन्ने विषय प्रतिको सचेतता पनि महत्त्वपूणर् विषय हो । युवाहरूलाई रचनात्मक र उद्यमशील बनाउन समेत वयस्कको क्रियाकलाप र व्यबहार धेरै जिम्मेवार हुन्छ भन्ने विषयलाई पनि वयस्कहरूले ध्यान दिनुपर्छ । उमेरसँग केही रोग र केही कमजोरीहरू विकसित हुने अवस्थालाई सहज र स्वाभाविक घटनाका रुपमा लिनुपर्छ । उमेरको परिपक्वतासँगै एउटा अभिन्न मित्र हाम्रो साथमा हुन्छ । त्यो हो ऐया ! ऐया ! यस्तो साथी हो जसले हामीलाई जीवित राख्छ । जसका कारणले हामीले जीवित हुने अवसर पाउँछौं । त्यो ऐयाप्रति घृणा भन्दा सम्मान गर्न सक्नुपर्छ ।

एकछिन कल्पना गरौं त हाम्रो शरीरबाट ऐयाले विदा लियो भने के हुन्छ ? यसपछि शरीर र जीवनको अस्तित्व समाप्त हुन्छ । शरीरको अस्तित्वलाई बचाउने साथी नै ऐया भएकोले त्यसप्रति पनि हामी नकारात्मक हुनुहुँदैन । हाम्रो व्यबहार, आचरण, खानपिन, जीवनशैली र चिन्तनशैलीले समाजमा कस्तो प्रभाव राख्छ भन्ने विषयमा विचार नै नगरीकन खासगरी बयस्कहरूले समग्र समाजलाई निराश बनाउने नकारात्मक विषयवस्तु केन्द्रित वार्तालापको बानी व्यवहारलाई सुधार्नु पर्छ । नेपालको मात्रै हैन यसले विश्व अर्थतन्त्रलाई नै प्रभाव पारेको छ । मेरा काम व्यवहारले अरुलाई कति सकारात्मक र नकारात्मक प्रभाव पर्छ भन्ने विषयवस्तुलाई बेवास्ता गर्ने कामले समग्र समाजको क्रियाशीलतालाई प्रभाव पार्छ ।

हामी निराशाको सामान्य सञ्चय अनजानमा नै प्रारम्भ गर्दा सो त समयक्रममा निराशाको महासागर बन्न सक्छ । त्यस्तै आशा प्रति सकारात्मक भावको विकास गर्दै जाँदा ऊ क्रियाशील हुँदै जान्छ । क्रियाशीलताको यात्राले उसले आफूलाई बैभवशाली र सकारात्मक बनाउने प्रयत्नहरूमा निखार ल्याउँदै जान्छ ।

जे जे सञ्चय गरेका छौं त्यो, जे जे कमाएका छौं र रमाएका छौं, त्यो क्षणिक हो । नबिर्स ती सबै छोड्नै पर्छ । वर्तमान र वर्तमानमा गरेको उपभोग मात्रै तिम्रो हो । अरु साँचिएका भौतिक वस्तुहरू बुझ तिम्रा हैनन् । खै कसले सञ्चित सम्पत्ति लग्यो ? संसारका तानाशाह, बादसाहहरूले ज्ञानी, धनीहरू मध्ये कसले के लिएर गए ? भौतिक वस्तुको सञ्चय र भौतिक मुकाम जीवधारीहरूको कृत्रिम विषय हो । क्षणिक हो । यसलाई अहिलेसम्म कसैले स्थायी विषय बनाएका छैनन् भन्ने चेतना मुख्य विषय हो । यस्ता विषयहरूलाई युवा पुस्तामा हस्तान्तरण गर्ने जिम्मेवारी पनि जेष्ठ नागरिकहरूको हो । भौतिक सम्पत्ति स्थायी विषय हैनन् । संसार असार छ तर पनि सुन्दर छ । यसको सुन्दरतालाई बुझ्न र स्पर्श गर्न सक्नुपर्छ । खराब र असल व्यक्ति आफै हैन । त्यो समय हो । त्यो सोच हो । त्यो दृष्टिकोण, जीवनशैली, कार्यशैली र चरित्रशैली पनि हो । युवाहरूलाई यसको गहिराई भित्र बिचरण गर्ने कलाको हस्तान्तरण गर्ने दायित्व पनि जेष्ठ नागरिकको हो ।

जेष्ठ नागरिक हुनु भनेको जिम्मेवार शून्य हुनु हो कि थप जिम्मेवार हुनु हो ? यसबारे किन जेष्ठ नागरिक र समाज बीच खुलेर छलफल,अन्तरक्रिया ,मन्थन,चिन्तन र गन्थन किन हुदैन? हामी गन्थन आफैमा केन्द्रित भएर गर्ने कि आफूलाई समाजको हिस्सा मानेर गर्ने ? के यस्ता विषयमा जेष्ठ नागरिकले पनि आफैले आफैलाई समीक्षा र मूल्याङ्कनको कठघरामा उभ्याउन पर्दैन ? उमेरले परिपक्व हुनु भनेको व्यवहारले, ज्ञानले, सोचले दृष्टिकोणले परिपक्व हुनु हो भन्ने कुरालाई जेष्ठ नागरिकले बिर्सनु हुन्न । जेष्ठ नागरिकहरुले अधिकारमा मात्रै आँखा लगाउने र ध्यान दिने कि कर्तव्य र जिम्मेवारी प्रति पनि होस र चेतनाजन्य काम गर्ने ? यस्ता विषयहरुलाई विषयवस्तु बनाएर मसिनो छलफल र निष्कर्षमा हामी किन पुग्दैनौं ? सबै मानिस समस्याग्रस्त हुन्छ । समस्यालाई बोझका रुपमा हैन अवसरका रुपमा बुझ्न युवाहरूलाई शिक्षित, दीक्षित र प्रशिक्षित गर्ने जिम्मेवारीबाट के जेष्ठ नागरिकले उन्मुक्ति पाउन सक्छन् ?

माफ गर्न, आदर गर्न समाजले किन औपचारिक केन्द्रहरूको सशक्त व्यवस्था गर्न सकेको छैन । माफ गर्ने र आदर गर्ने हाम्रो अनौपचारिक शिक्षा र प्रशिक्षणहरू असफल प्रायः भएको विषयमा यसबारे पुनर्विचार गर्ने र सच्याउने विषयमा खै किन जेष्ठ नागरिकहरू जिम्मेवार बन्न सकेको ? उमेरबाट भएको परिपक्वतालाई व्यवहारबाट प्रमाणित गर्ने र प्रमाणिकरण गर्ने दायित्वलाई निर्वहन जेष्ठ नागरिकले पनि गर्नुपर्ने कि नपर्ने ? माफ र आदर गर्न खर्च छैन । तर पनि मानिस ती विषयहरूको जीवन्त र नियमित प्रयोग जीवनमा किन गर्दैन ? अहिले हाम्रो अगाडि छरपस्ट देखिने राजनैतिक, आर्थिक र सामाजिक समस्यादेखि विविध आचरणगत समस्याहरूको उत्पत्ति माफ र आदरको खडेरी हो । किन ती लगानी शून्य विषयलाई पनि हामीले उपयोग गर्न सकेनौं ?

हाम्रो गरिबी वास्तवमा आर्थिक गरिबी भन्दा पनि मानसिक गरिबी अझ खतरनाक विषय हो । मानसिक गरिबीकै प्रभाव पनि हो हाम्रो आर्थिक गरिबी । समाजका जिम्मेवार जेष्ठ नागरिकहरूले युवाहरूमा यो चेतनाको बीजारोपण गर्न किन सकेनन् ? किन चाहेनन् ? किन असफल भए ? यो कोणबाट समाजलाई पुनर्संरचना गर्ने काम पनि त फेरि जेष्ठ नागरिकको हैन र ?

जिन्दगीलाई गम्भीर भएर चियाउनुस त यो तपाईंले जीवनमा अक्कलझुक्कल गर्ने पार्कको यात्रा जस्तै हो । मानिस पार्कभित्र हतारहतार प्रवेश गर्छ । सुस्ताउछ, आनन्दानुभूति गर्छ र केही समयपछि बिना पश्चाताप आफ्नो गन्तव्यतिर लाग्छ । जिन्दगीको यात्रालाई पनि पार्कको यात्राको रुपमा ग्रहण गर्ने चेतना किन हाम्रो शिक्षाले दिन सकेन ? किन समाजले यसलाई अनौपचारिक शिक्षाको अङ्ग बनाउन सकेन ? यो असफलताको दोषी को ? के यो दोषलाई जेष्ठ नागरिकहरूले युवाहरुको थाप्लोमा हाल्न मिल्छ ? त्यसैले पश्चाताप गर्ने विषयलाई नकारात्मक रुपमा सधैं ग्रहण गर्न हुन्न । पश्चाताप गर्नु अन्तरआत्माको शुद्धीकरण हो । त्यसैले जेष्ठ नागरिकहरूले शुद्धीकरण अभियानलाई सशक्त गर्ने कि नगर्ने ? जीवनमा हस्तान्तरण गर्ने विषयहरू आचरण, क्षमा, माफ, आदर, अनुशासन, सत्यप्रतिको निष्ठा, नैतिकता, मानवता, आशक्ति शून्यता, धनप्रतिको अन्ध मोह परित्याग गर्ने आचरण र कलाहरू मुख्य हुन् । यी आदेश दिने, शिक्षा दिने, भाषण दिने विषयहरू हैनन् । व्यबहारमा अनुभूति एकअर्कालाई गर्ने र गराउने विषयहरू हुन् । के यसप्रति हामी जेष्ठ नागरिकहरूको ध्यान र मन केन्द्रीकृत गर्ने शक्ति र क्षमताको विकास र विस्तारमा हामीले सफलता हासिल गरेको अनुभूति समाजले गरेको छ ?

हामीले तर्कले आफूलाई पानी माथिको ओभानो देखाउने प्रयत्न भन्दा व्यवहारले यसलाई छरपस्ट पार्न सक्नुपर्छ । के यसबारे जेष्ठ नागरिकहरूले सचेतना पूर्वक व्यवहार गरेको अनुभूति समाजमा छ ? यस्ता प्रश्नहरू अब सधैं अनुत्तरित र अपारदर्शी बन्न र बनाउन हुन्न भन्ने कुरामा खुला बहस र छलफल, अन्तरक्रिया हुनुपर्ने हो । यो कहिले र कसले गर्ने ? यस्ता उमेरले परिपक्वता प्राप्त गरेको प्रमाणहरूलाई प्रमाणीकरण गर्ने चुनौती र जिम्मेवारीलाई पूरा गर्न हामी जेष्ठ नागरिकहरू बीच पनि छुट्टै बहस हुने वातावरण बन्न नितान्त जरुरी छ । त्यसको प्रबन्धनको जिम्मेवारी युवाहरूले पूरा गर्ने तत्परता आजको चाहना र आवश्यकता दुबै हो । के युवाहरू यसबारे सोच्ने दृष्टिकोण बनाउन आवश्यक ठान्दछन् ?
ृयसबारे सहमति, असहमति, थप सुझाव र यो विषयलाई समाजले कसरी प्राथमिकतामा राख्ने, युवा, जेष्ठ नागरिक र सरकारको कर्तव्यका बारे थप धारणा र सुझावको अपेक्षा गरिन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x