
चाडपर्वमा पाका मान्छेका कुरा !
चाडपर्वको नाममा अत्यधिक खर्च गर्नु, ऋण गरेर भए पनि उडाउनु र शरीरलाई नफाप्ने कुरा सेवन गर्नु परिवारका सबैको लागि कष्टकर कुरा हो ।

नेपालमा विभिन्न चाडपर्वको नाममा बिदा दिएर आआफ्नो हैसियतले मनाउन उक्साइन्छ । अचेल त एकछत्र बहुसङ्ख्यक र एकोहोरो साँस्कृतिक परम्पराको ठाउँमा विभिन्न अल्पसङ्ख्यकलाई समेत आआफ्नो अधिकारको नाममा परम्परागत चाडपर्व धुमधामसँग मनाउन राजनीतिक दलहरूसमेत संलग्नभई उत्प्रेरित गरेको देखिन्छ । समुदाय अनुसार मौलिक सँस्कृति जोगाउनु पहिचान र इतिहासको लागि राम्रै होला तर सर्वजनिक कामकाज नै बन्दगरी अमुक पर्वमा नमनाउने अमुक समुदाय पनि निस्कृय पार्नु कति वैज्ञानिक व्यवस्थापन होला ?
नेपालः
नेपालमा पहिला दशैँ तिहार तथा हिन्दु सँस्कारसँग सम्बन्धित सबै चाडपर्वमा मनाउन मनलागे पनि नलागे पनि बिदा हुन्थ्यो र देखासिखी सकिनसकी मनाएको पाइन्थ्यो । हिजोआज उधौलीउभौली, ल्होसार, बकरिद, माघीलगायत हिमाल पहाड तराईका जनताका सबैजसो पर्व सरकारी बिदा भई मनाइन्छ । अहिले केही समुदायमा नेपाल बाहिरबाट आयातीत बिभिन्न परिबर्तित मान्छेका चाडपर्वको हल्ला पनि आइरहन्छ । हुन त समुदाय अनुसार सँस्कार मान्नु र त्यसलाई मान्न निर्वाह गर्नुपर्ने भूमिका, आर्थिक अवस्थाको चाँजो, मान्नुपर्ने विज्ञानसम्मत धारणा चाहिँ सतहमा त्यति देखिँदैन । ‘भिक्षु रहेसम्म घण्टी बजाऔँ’ भन्ने जस्तै जातीय गौरव, मौलिकता देखाउने मानसिकता र समुहगत धारणाले बढि काम गरेको देखिन्छ । त्यसैले त एक थरीको पर्व अर्को थरीलाई बाधा वा अप्ठ्यारो पर्ने सम्भावनाले नै सबैले टिकाटिप्पणी गर्न थालेका छन् । एकै परिवारमा पनि बिभिन्न उमेरसमुहको ईच्छा र अवस्थालाई बिचार गरेर पर्वहरू मनाउनेभन्दा केही वयस्कहरूको रौसको राजनीति जस्तो भएको छ ।
राम्रो पक्षः
चाडपर्वका केही राम्रा पक्ष पनि छन् । विभिन्न आयआर्जनमा घरबाट टाढाटाढा पुगेका वयस्कहरू सकेको कोसेलीपातसहित आउने हुँदा परिवारका सबै उमेरसमुहको फुरफुर नै माथि पुग्छ । पाका मान्छेहरू आफ्ना सन्तानको प्रगति र उन्नतिमा मख्ख परेका हुन्छन् भने सन्तानले गरेका कामको फेहरिस्तमा सल्लाह दिन पाउँछन् । कैयौँका परिवारमा वर्षौंको प्रतिक्षापछि भेटघाट हुने अवसर हुन्छ । साना ठूला भइसकेका, परिवारमा आफन्त थपिएका, रैथाने उमेरदार पाका हुन थालेका, सबै नौलो, कति रमाइलो ? हैसियत अनुसार नयाँ बस्तु किनमेल भएका, भाग पुर्याउन र रोजाईको व्यवस्थापन, वाफरे, एउटा नयाँ परिस्थितिको वातावरण !
उमेर अनुसार सामान्यतया धेरै हौसिनेमा बालबालिका र किशोरकिशोरी नै पर्छन् भने महिलाहरूको चटारो पनि स्तुत्य हुन्छ । पाका मान्छे विशेष गरेर आवश्यक चिजबिजको जोरजाममा सहयोगी र सबैको खुसीमा आफ्नो आवश्यक्ता समेत बिर्सेर सक्रिय हुन खोज्छन् । उहाँहरूको सक्रियता र कार्यान्वयन भने हरेक पारिवारिक सँस्कारअनुसार नै केन्द्रीत हुन्छ ।
नराम्रो पक्षः
आफूभन्दा माथिल्ला आर्थिक हैसियतका समुहसँग प्रतिस्पर्धा गर्न खोज्नु र परिवारका सदस्यले देखासिकी बढी खर्च गर्न उद्यत हुनु चाडपर्व मनाउने नाममा हुने सामान्य कमसल पक्ष हुन् । बिना कुनै वैज्ञानिक पुष्ट्याइँ परम्परा धान्ने नाममा वर्षको केही दिन चाडपर्व मनाउँदा अत्यधिक खर्चेर वर्षभरी दुख पाउनु, ऋणमा डुब्नु, पारिवारिक कलह र चिन्ताको बिजारोपण हुनु चाहिँ दुखद पक्ष हुन् । कतिपय बेला सकिनसकी लामो समयसम्म अनियमित क्रियाकलाप गरी समय फजुलमा बिताउनु र अबान्छित जोखिमबाट विभिन्न दुर्घटनामा पर्नु नराम्रा घटना हुन् । रमाइलोको नाममा नशासेवन गर्नु, अरुको पैसा जितेर धनी हुने लोभमा जुवातासमा लट्ठिनु, हारजीतको रन्कोमा अबाञ्छित क्रियाकलाप गर्नु, आफूले भनेजस्तै चाहिन्छ भनि झैँझगडा मच्चाउनु राम्रो होइन । चाडपर्व मनाउने रमझममा ससाना केटाकेटी र पाका मानिसको दैनिकी बिगार्नु, खानपिन र औषधोपचारमा अनियमितता हुनु पछिसम्मलाई हैरान हुने पक्ष हुन् ।
हेक्का राखौँः
चाडबाड र मेलापर्वको नाममा परिवारमा सबैभन्दा मारमा पर्ने केटाकेटी र पाका मान्छे नै हुन् । केटाकेटी केहीबेर रमाइलो मान्लान्, हौसिएर विवेकरहित माग गर्लान् र बयस्कहरू आफ्नो अनुकुल सामानको फुर्मायसमा ससाना बालबालिकाको स्वभाव बिगार्न सुरु गर्छन् । त्यतिखेर उनीहरूलाई पन्छाउन गरिएका असम्भव चिजबिज र घुमफिरका बाचाले पछि रुवाउने छ । पारिवारिक हैसियतसँग बेखबर बालबालिकाको चरित्रमा नकारात्मक फड्को आउन सक्नेछ । त्यसले नियमित अध्ययन, सरल खानपान र पारिवारिक अनुशासनमा बिग्रह ल्याउन सक्नेछ । एकछिन भुलाउन त हो नि भनि ख्वाएका बजारिया आकर्षक, चट्किला कुरा, सिकाएका जुवातास, धुमपान र मदिरापान किशोरकिशोरी हुँदासम्म लत बसेर परिवार र समाजकै दुर्नाममा फेरिन सक्छ ।
पाका मान्छे आफ्ना वर्षौंका अनुभवले गलत बाटोमा त जाने छैनन् बरु पारिवारिक अनियमित क्रियाकलापले दैनिकीमा निकै अप्ठ्यारोमा परेको अनुभूत गरेका हुन्छन् । चाडपर्वमा बजारको आकर्षण अरु चिजविजमा रहनेहुँदा पाका मान्छेलाई आवश्यक औषधि तथा दैनिक आवश्यक ताजा खाद्यबस्तु चाहिँदा नपाइन सक्छ । परिवारका जिम्बेवारले बेलैमा किनेर उचित भण्डारण गरेर सुरक्षित राख्नु उपयुक्त हुन्छ । लुगाफाटो सफामात्र मन पराउने पाका मान्छे नयाँ सिलाउन त्यति उत्सुक त हुँदैनन् तर कसैको उपहारलाई नकार्दैनन् । उनीहरूको ध्याउन्ना त आफूले सके परिवारका सबै सुकिलामुकिला भएको देख्नु र रमाएको हेर्नमात्र एकोहोरिएको हुन्छ । परिवारका सबैले बेलाबखत ईच्छा गरेर पनि पुर्याउन नसकिएको कुरा चाडबाडकै निहुँमा भए पनि गरिदिन सके पाथीभात खाएको सन्तोष व्यक्त गर्ने गरेको पाइन्छ । त्यसका लागि पाका मान्छे त्यस्ता चाडपर्व सुरु हुने हप्तौँ अघिदेखि उपाय खोजिरहेका हुन्छन् ।
के गर्ने ?
मानव बिकासको विभिन्न फेरबदलमा बिकसित हुँदैआएका पृथ्वीका हरेक मानव समुदायको भूगोल र हावापानीअनुसार आआफ्नै रितिथिति र सँस्कार हुन्छन् । त्यसमा अहिलेका मानिसले आफ्नै हितमा भएका विज्ञानसम्मत आचरण तथा कामहरूको सत्यतथ्य खोज्नमा ध्यान दिऔँ । असल र व्यवहारिक पक्षको सक्दो जगेर्ना गरौँ, अन्धविश्वास, काल्पनिक, मन गढन्ते क्रियाकलाप र व्यवहारलाई छोड्दै जाऔँ । मानिसको आयु सिमित छ, पाका मान्छेको त झन कम छ, अनावश्यक झमेला हुने गरेर समय बिताएर कसैलाई दुखदिने काम नगरौँ ।
खानपिन र स्वास्थ्यः
प्राय सबै किसिमका चाडपर्वमा घर वा सरकारमा सत्ता पक्षले गरेको फुरफुर र निणर्य नै हैकममा परिणत हुन्छ । अरु त कि लागिमेली गरेर ‘मोज’ गर्ने हुन कि अशक्त भई हुरीमा बढारिने हुन् । धेरैजसो मानव समुदायमा केटाकेटी र पाका मान्छे ‘बल्लबल्ल आएको चाडमा रमाइलोको लागि सहनुपर्छ नि’ भन्ने नाममा निकै मर्कामा परेका देखिन्छन् । आफ्ना घरका पाका मान्छेका सल्लाहमा सुरक्षित खानपान र बन्दोबस्त नै परिवारको हितमा छ भनि हृदयङ्गम सबैले गर्नु राम्रो हुन्छ ।
पाका मान्छेमा उच्च रक्तचाप, मुटुका समस्या, मधुमेह (चिनी रोग), अम्लपित्त आदि रोगव्याध हुनु अनौठो होइन । कसैकसैमा बाथ र मिर्गौलाका समस्या देखिन थालेको हुन्छ भने दम र छातीको समस्या सामान्य बनेको हुन्छ । केहि नभए विभिन्न महामारीको बेला रोग निकोभएको भनिए पनि त्यसको असरले भित्र्याँसमा कताकता असर गरी बिगारी सकेको हुन्छ । उमेर ढल्केका कैयौँ पाका मान्छे कोरोना महामारीको हाहाकारपछि अनेक बहानामा अस्पतालको चक्कर काट्दै पछि के के रोग भन्दै बित्नुभएका कुरालाई हेक्का राख्नु असल सतर्कता हुन्छ । चाडबाडको अनियमितताले आक्रान्त भई एउटा रोग भनेर अस्पताल भर्नाभयो, उमेरैमा अर्को रोगले लैजान्छ ।
‘चाडपर्वका बेला चिजविज पाइन्न’ भनेर बेलैमा धेरै किनमेल गर्ने काम स्वभाविकै हो । धेरै दिनसम्म जोगाउन सकिने आलु, प्याज, मरमसला, रुखासुखा बस्तु त सङ्कलन गर्नु ठिकै होला । ताजा खानुपर्ने, पकाउनुपर्ने र प्रयोग गरिने बस्तुः माछा, मासु, दुध, फलफूल, सागपात र मिठाईहरू धेरै जम्मागरी राख्नु र ‘पैसा परेको किन फाल्नु ?’ भनि आफू र पाहुनापासालाई ख्वाउनु एक किसिमको अपराध नै हो । त्यस्तै अस्वस्थ्यकर खानाका कारण बिषमज्वर (टाईफाईड), झाडापखाला, अपच, आउँ, पेट फुल्ने, अम्लपित्त, खाद्य विषाक्तता (फुड प्वाईजनिङ) आदि त सामन्यतया हुन्छ । साह्रै प्रतिरोधी क्षमता भएका बाहेक यस मारमा पाका मान्छे र केटाकेटी त हरेक चाडपर्व पछि ओछ्यान लागेकै पाइन्छन् ।
मोटामोटी धर्म मान्ने वा चाडपर्वमा रमाउने हरेक मानव समुदायमा केही शाकाहारी भनिने बाहेक सबैको आकर्षण माछा र विभिन्न प्राणीको मासु नै रहेको छ । कति परिवारले सकेमा अमुक पर्वको लागि भनेर केहि महिना अघिदेखि घरमा नै पालेर राखेको देखिन्छ भने कतिपयले परिवार सदस्य धेरै र सक्ने भए पनि ‘बजारकै भर’ गरेका देखिन्छन् । हिजोआज अमुक पर्वमा अमुक जन्तुको सिकार वा अमुक खोलाका माछा मिठा भनि बहुत कम सङ्ख्यामा गाउँघरतिर रमाइलोको लागि अझै मौसमी प्रयाश गरेको पनि देखिन्छ । त्यसमा हौसिएर दुर्घटनामा परेका समाचार पनि सुनिन्छन्, चाहिँदो सुरक्षा गर्न सतर्क हौँ । त्यतिखेर पनि पाका मान्छेका अनुभव र सल्लाहलाई ध्यानपूर्वक लागु गर्न नचुकौँ नत्र पछुतो होला ।
पाका मान्छेलाई रोगबाहेक खाना पचाउन गाहारो हुनु स्वभाबिकै हुन्छ । त्यसैले बढि पाकेको झोलिलो खानु र मासु कम खानु शरीरलाई फाइदाजनक हुन्छ । मोटाएर अछन्द्याइलो शरीर भएका, रगतमा कोलेस्ट्रोल एक सयभन्दा बढि भएका, उच्च रक्तचाप, युरिक एसिड र बाथे शरीर भएकाले त पचास साठी ग्राम प्रतिछाक वा दिनको माछामासु खाँदा उपयोगी होला । नत्र त ‘तागत’ भनेर खाएको मासुले विषको काम गरेर थला पार्न सक्छ भने मिर्गौलाको समस्या बल्झिन सक्छ । रातो मासु र चिल्लो पदार्थ मुटुका बिरामीका लागि त कुफत नै हो, साह्रै मनलागे माछा वा कुखुराको मासु ठिक होला तृष्णा मेट्न । माया गर्ने नाममा ‘वर्षभरी नसके पनि अहिले खानोस्’ भनि केबल मासु कोच्च्याउन खोज्नु पाका मान्छेलाई गरिने कुकर्म नै हुनेछ । ठूला चाडपर्वमा पनि ‘एक फेर त हो’ भनि हौसिएर अपाच्य खानुभन्दा अरुले त्यतिखेर कम खाने र सजिलै बजारमा पाइने हरिया सागपात र फलफूलमा जोड गर्नु पाका मान्छेको हितमा हुन्छ ।
भुटेको, चिल्लो बढि भएको मासु र ‘जातैले पाएको’ भन्दै मदिरा सेवन गर्नुले सामान्य क्रियाकलाप गर्दै रहेकालाई त असर गर्छ भने मिर्गौलाका रोगीलाई त विष थप्नु बराबर हुन्छ । मासु लगायत तागतिला बस्तु नखाने भन्दै तागत लाग्ने तथा स्वादिष्ट पनि भनेर केक, बजारिया चिसो पेय, हर्लिक्स, बोर्नभिटा, आईसक्रिम, जाम, जेली, तेलघिउ चापचिल्लै भएका घरायसी पकवान पनि पाका मान्छेले राल नचुहाउँदा हुन्छ । मधुमेह, मिर्गौला र मुटु रोगले आँखा लगाई सकेकाले त्यस्तो खानपानबाट मन्टो बटार्नु राम्रो हुन्छ, ‘एक फेर त हो वर्षमा, अलिकति चाख्छु, देहले माग्यो वा घरकै हो आफैँले बनाको’ भनि शरीरको आयु घटाउनतिर लाग्नु हुन्न ।
शाकाहारी र मेवा मिष्टान्नमात्र खाने भनेर कति दिन अघिदेखि बनाएका हलुवाईको बासी जिनिस पनि पेटलाग्ने मात्र होइन खाद्य बिषाक्तता गराएर अस्पताल भर्ना गराउने कारक बन्छन् । ताजै भए पनि वर्षमा एक पटक त हो नि भनेर अति चिल्लो भएका खुवा, कुराउनी, तेलका रोटी र मसला धेरै भएका मिष्टान्न पनि सिमित खानु ठिक हुन्छ । पाका मान्छेलाई त्यस्ता पदार्थ अधिक हुँदा गरिष्ट सावित भई अपच, अम्लपित्त, वायु, स्वर बस्ने भई अन्य जीबाणुको संक्रमण मार्फत घाट नै लैजाने बनाउन सक्छ । दैनिक नियमित खाइने स्तरमा सामान्य थोरै फेरबदल पाका मान्छेले सहन सक्लान् तर दैनिकी बिग्रने भए अप्ठ्यारो पर्न सक्छ ।
मधुमेह (चिनीरोग) भएकाले चामलजन्य पकवान, पुलाउ, ढकने, चाम्रे आदिमा लुब्ध नहुँदा राम्रो हुन्छ । जस्तो चाडपर्व भए पनि मकै, कोदो, जौ, दलहनका गेडागुडीका परिकार ख्वाउनु र खानु नै श्रेयस्कर हुन्छ । ‘चाडपर्वमा पनि कहाँ ढिँडो पकाउनु, कहाँ फुस्रा रोटी, चिल्ला तात्तातै छँदाछँदै, नभए भातै खानु नि’ भनि कोच्च्याउनु राम्रो होइन । बरु सकेमा हरिया सागपात, गाजर, कुरिलो, बन्दा, काउली, सेतो मुला, काँक्रो आदिको मात्रा बढाई दिनु स्वस्थ्यकर हुन्छ । सामान्य मसलामा जीरा, मेथी, बेसार, धनियाँ र कम पिरो हुने खोर्सानी हालेको तरकारीले पाका मान्छेको स्वास्थ्य नबिगार्ला । बरु बेलाबेला चाडपर्वमै पनि जोगी तरकारीको फाँडो (सुप), च्याउका परिकार, ठोट्ने, न्युरो, कुरिलो, खोले साग, लट्टे र लुँडे पो सबै तागतिला तत्व र मिश्रण मिसिएकोले स्वादिष्ट र फाइदाजनक होला ।
युरिक एसिड र बाथ रोगका पाका मान्छेले मासुमा लुब्ध भएर अर्को चाडसम्म कुँजिएर सुत्ने काम नगरौँ । रातो मासु बिलकुल नखाऔँ, घरमा बास्ना चलेर मन थाम्न नसके एकदुई टुक्रा चाखेर सादा खानामा जोड गरौँ । मिर्गौलाले दुख दिन थालेपछि प्रोटिनलाई शरीरले पचाउने क्षमता बुझेर मात्र खानपान गरौँ, कतिपयलाई कागतीजस्तो अमृत फल त विष हुन्छ । कसैलाई बोका र भेडाको मासुले दुख दिन्छ, कसैलाई मुसुरोको दालले पनि दुख दिन्छ । चिकित्सकको सल्लाहमा खानपनिका बस्तुअनुसार तालिका बनाउनु र चाडपर्वमा पनि लागु गर्नु पाका मान्छेको दीर्घ जीवनको भरपर्दो तरिका हो ।
शाकाहारी भएको नाममा बाथका रोगीले पालुङ्गो, तामा, गुन्द्रुक, अमिली, काउली, गोलभेँडा नखाऔँ अथवा आफूलाई फाप्नेमात्र शाकाहारी कुरा खाऔँ । पाका मान्छेमा धेरै थरीका बाथमध्ये एउटा न एउटाले अँच्याटेकै हुन्छ । कसैलाई गेडागुडी खाने नाममा राजमा र कालो दालले थला पार्छ, कसैलाई गोलभेँडाको अचारले गोडा सुन्निएर हिँड्न नसक्ने बनाउँछ । शरीर अनुसार खानपीनमा ध्यान पुर्याउनु पाका मान्छेको हितमा हुन्छ भने परिवारलाई पनि थप समस्या नपार्ने सजिलो उपाय हो ।
ठूला चाडबाडको विशेषता भन्दै अत्यधिक चिल्लोपीरो पदार्थको लगातारको सेवनले अल्पकालमा नै कलेजो र मिर्गौलाले दुख पाउँछ र पाका मान्छे थला पर्ने हुनसक्छ । पचाउन नसक्ने चिल्लो आफ्नै घरको घिउतेल भनि खाँदा हर्थुङ्गाबाट चुहिनेगरी र भोलिपल्ट कि कब्जियत कि दीर्घशङ्कामा चर्पीमा बोसो देखिनेगरी नखानु राम्रो हो । घरकै दूधदही भनि अत्यधिक सेवनले पनि विभिन्न समस्या भएका बिरामी ठूला चाडपर्व पछि वा मध्येमा अस्पताल दौडिएका थुप्रै भेटिन्छन् ।
मनोरञ्जनः
आतिसबाजी गरी खुसियाली मनाउने नाममा टोल गाउँ नै थर्कने पटेखा, भूइँचम्फा, रकेट, बम जस्ता अति विशाक्त धुवाँ निकाल्ने पदार्थको प्रयोग पनि पाका मान्छे र केटाकेटीको हितमा हुन्न । कतिपय पाका मान्छे नसा, मुटु, रक्तचापका बिरामी, मस्तिष्क घात र मस्तिष्क स्रावबाट पीडित हुन्छन् । सकेको औषधि गर्दै तङ्ग्रिदै गरेको अवस्थामा त्यस्ता कान दुख्ने आवाज र धुवाँको दुर्गन्धले प्रताडित हुन सक्छन् । धेरै परिवारजन जम्मा हुँदा सकेसम्म कसरी शान्तमय मधुर बातावरण बन्छ भन्नेतिर हर्ताकर्ताको ध्यान गएमा सबै खुसी र स्वस्थ्य हुन्छन् भन्ने बुझनु पर्छ ।
चाडपर्वमा केटाकेटीका खेलौनाको र पाका मान्छे खुसी पार्ने सामानको फुर्मायस हुन सक्छ । राम्रै पैसोको जोहो हुनेले आधुनिक प्रविधिका सामान ल्याइदिने र आकर्षक चिजबिज किनिदिन सक्छन् । होस् गरौँ, सामान सकेसम्म टिकाउ, खप्ने, हातले चलाउन सजिलै सकिने खालका होउन् र पछि त्यसको उपयोग गर्दा थप आर्थिक भार नपरोस् । ब्याटरीले चल्ने, प्लास्टिकबाट बनेको, प्रयोग गर्दा कुनै हानी नोक्सानीको सम्भावना नहोस् । खतराजन्य खेलकुद तथा आतिसबाजीको लहड पनि ससाना बालबालिकामा शारीरिक मानसिक दुर्घटना निम्त्याउने कारक बन्न सक्छन् ।
लुगाफाटोः
चाडपर्वका लुगाफाटो अलिक समय छँदै किनिएमा बजारको प्रतिस्पर्धा, अभाव र महँगीमा नपरिन सकिन्छ । बनिबनाउ भन्दा आफ्नो आवश्यक्ता अनुरुप बनाउन लगाउने लुगाफाटो ईच्छाअनुसार मिलेका र बलिया हुन्छन् । अचेल मोबाइल प्रचलनमा भएको र त्यसले विकिरण फ्याल्छ भन्ने कुरा मान्दा पुरुषको जीउमा माथितिर लगाउने पोसाकमा दाहिनेतिर खल्ती राख्दा मुटुलाई असर नगर्ला ! त्यस्तै महिलामा कुर्ता लाउने छ भने कम्मरतिर र चोलोको तल्लो भागमा खल्ती राख्दा राम्रो होला । नेपालमा प्राय उष्ण मौसम अलि कम र शितोष्ण मौसमको मात्रा बढी हुने हुँदा शरीर पुरा ढाक्ने कपडा सिलाउनु मनासिब हुन्छ । उष्ण मौसममा पनि शरीर ढाकिएको कपडाले किरा फटेङ्ग्रा, लामखुट्टेबाट जोगिन मद्दत पुग्छ भने अत्यधिक आद्रता शरीरबाट जानबाट रोक्छ । नाङ्गो शरीरका भागमा सूर्यको विकिरण लगातार पर्दा र हावाको असरले हानीनोक्सानी हुने भएर त अरब देशका महिला र पुरुषले शरीर पुरा ढाक्ने लुगा लगाउने चलन चलाएका हुन् । हामी रँहदाखाँदाको लुगा प्वाल पारेर वा शरीरका छाती, पेट, हातपाखुरा, तिघ्रा र पिँडुला देखिने बजारिया असोभनिय लुगामा किन राल चुहाउँछौँ हँ ? कुनै अशक्तले कपाल पाल्दैमा वा उन्मत्तले नाङ्गो हिँड्यो भनेर हामीले गर्दा समाजलाई के फाइदा दिन सकिएला ? न शरीरलाई फाइदा हुने मद्दत गर्छ, उल्टो बढि पैसामा सामाजिक उम्नाचो बढाउँछ ।
अन्त्यमा,
चाडपर्ब आफन्त बिच भेटघाट र वर्षभरी कामको दौडधुपमा ईच्छा गरेर नपुगेको खानपानको व्यवस्था गरी रमाइलो गर्नका लागि हो । अचाक्ली फुर्तीफार्ती र अरुले गरे भनेर डाढोले देखासिकी गर्ने समय होइन । बरु कामका समस्याले टाढा भएका आफन्त समय मिलाई भेटघाट गरी सकेको सादा स्वस्थ्यकर खानपानमा आनन्द लिन हो । एक पटकको खानपानले भेटघाटको आनन्द पछिको समय दुखमा नबदलियोस् भनि हेक्का राखौँ । एक दिन वा केही दिनको बेसम्हारले बाँकी जीवनभरी थकथक लाग्ने गल्ती नहोस्, मानिसको जीवन र स्वास्थ्य प्राथमिकतामा राखौँ, चाडपर्वको नाममा रुढिबादी र अप्रमाणित सँस्कारमा घमण्ड नगरौँ ।
पाका मान्छे र अशक्त भएकालाई दीर्घरोग देखिइसकेको भए त नियमित खाइरहेकै सन्तुलित र सुपाच्य खाना नै जस्तोसुकै चाडपर्वमा पनि ख्वाउने र खाने काम गरौँ । चाडपर्वको नाममा अत्यधिक खर्च गर्नु, ऋण गरेर भए पनि उडाउनु र शरीरलाई नफाप्ने कुरा सेवन गर्नु परिवारका सबैको लागि कष्टकर कुरा हो । हैसियत अनुसार खर्चबर्च गरी फारुतिनोमा स्वस्थ्य र शान्तिमय हर्सोल्लासमा पाका मान्छेलाई उचित व्यवस्था गरी मनाउनु ठिक होला । मानिला मान्छेलाई होचीअर्घेली गरी चाडपर्वमा पनि खिसिटिउरीका रटान सुनाई मन रुवाउने काम हुनु अक्षम्य सामाजिक अपराध हो है ।
०००
२०७९ असोज २१
ल.पु. चालिसेडाँडा
लेखकका सान्दर्भिक अन्यः
१. पाका मान्छेका आनन्द कस्तो हुन्छ ? फित्कौली डट कम अनलाईन, २० अगस्त २०२२, भदौ ४, २०७९
२. पाका मान्छेमा बिर्सनु कस्तो हुन्छ ? फ्रेसन्युजनेपाल डट कम अनलाईन, २१ अगस्त २०२२, भदौ ५, २०७९
३. पाका मान्छेको सँस्मरण र बिस्मृतिका कुरा ! फित्कौली डट कम अनलाईन, २ सेप्टेम्बर २०२२, भदौ १७, २०७९
४. पाका मान्छेले सिकाऊँः पिरमा के गर्ने ? फ्रेसन्युजनेपाल डट कम अनलाईन, ३ सेप्टेम्बर २०२२, भदौ १८, २०७९
५. पाका मान्छेलाई निम्ता गर्दा होस् गरौँ ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, १७ सेप्टेम्बर २०२२, असोज १, २०७९
६. अहिले पाका मान्छेका कुरा किन ? फित्कौली डट कम अनलाईन, १९ सेप्टेम्बर २०२२, असोज ३, २०७९
७. शिक्षामा मानिला मान्छेका कुरा किन ? फित्कौली डट कम अनलाईन, ३० सेप्टेम्बर २०२२, असोज १४, २०७९