जाडोमा पाका मान्छेलाई समस्या !

जाडो महिनामा राम्ररी बिचार नपुर्‍याए केटाकेटी, पाका मान्छे र दीर्घरोगीलाई निकै अप्ठ्यारो पर्न सक्छ । केटाकेटीलाई सबैले हेक्का राख्छन् तर पाका मान्छेलाई उमेर गएको भनेर अलि वास्ता कम गर्ने गरिन्छ ।

वर्षभरिमा विभिन्न मौसमअनुसार हरेक प्राणीले सचेत रहनुपर्दछ अन्यथा रोगब्याध बढ्ने र जीवननै कष्टकर बन्न सक्छ । त्यसैले त हरेक जीवहरूले गर्मी, वर्षा, शरद, शिसिर र बसन्तमा फरकफरक क्रियाकलाप गरिरहेका देखिन्छन् । मानिसले पनि गर्मीजाडो बिचार गरेर लुगाफाटो, खानपिन र सरिरको हेरबिचार त्यहीअनुसार गर्नेगरेका हुन्छन् । अरु मौसममा भन्दा पनि पाका मान्छेले जाडोमा अझ बढी आफ्नो स्वस्थ्यको हेरबिचार पुर्‍याउनु आवश्यक हुन्छ । सामान्य तलमाथि पर्दा पनि शारीरिक कष्ट र दीर्घरोगले च्याप्ने भएर दैनिक जीवननै थाम्न नसक्ने बोझ बन्न सक्छ । त्यस्तो अवस्था भएमा पाका मान्छे आफैँमात्र होइन हेरबिचार गर्ने आफन्त र परिवारजनलाई थप भार पर्नगई कलहको मेसो बन्न सक्छ ।

जाडो महिनामा पाका मान्छेलाई भइरहेका रोगको प्रभाव बढन सक्ने हुनसक्छ । सामान्यतया दैनिक पानी पिउनुपर्ने मात्रा घटन सक्छ र शरीरको भित्री सन्तुलन र पिसाबको समस्या बढन सक्छ । हिँडडुलको कमीले शरीरका अङ्गप्रत्यङ्ग कम चलेका हुन्छन्, मांसपेशी र जोर्नीलाई व्यायाम नपुग्ने भएर रक्त सञ्चालन र फोक्सोको सक्रियतामा कमी हुनथाल्छ । उचित कसरत भएमा खाना रुच्ने र पाचन प्रणाली दुरुस्त हुनसक्छ नत्र जाडो मानेर एकै ठाउँमा डल्लिने स्वभाव भएमा घरी कब्जियत घरी पखाला लाग्ने हुनसक्छ ।

जाडोमा विशेषः
चिसो प्रभावः चिसोको कारणले शरीरका विभिन्न भाग दुख्नु सामान्य हो, त्यस्तो दुखाई चिसो शरीरभित्र पसेर आन्तरिक वायु निर्माण भएर अन्तरअङ्ग तथा प्रणाली बिच चलखेल हुँदा झन कष्टकर बन्दछ । पाचन प्रणालीमा उत्पन्न भएको वायु त अपानवायु र डकारको रुपमा सजिलै निस्कन सक्छ तर अपच भएमा झाडाबान्ताको रुपलिन सक्छ । जाडोमा घरीघरी शौचालय धाउनु र सफा गर्न चिसो पानी प्रयोग गर्नु अनि निद्रा कचमचिनु आफैँमा कष्टकर हुन्छ । त्यस्तै शरीरभित्र छाती र पाचनप्रणाली बाहिर उत्पन्न भएका वायुको मात्रा गानुगोलाझैँ सरेर साह्रै कष्टकर अवस्था बेलाबेला पार्दछ । कतिपय बेला छातीमा उत्पन्न हुने वायु तलमाथि वा करङतिर चलखेल हुँदा हृदयाघात हुनलागेझैँ दुख्ने भएर अत्याउँदछन् ।

बाथ र हाडजोर्नीः उमेर पाको भइसक्दा धेरै पाका मान्छेमा हाड कमजोर हुने र जोर्नी दुख्ने सामान्यतया हुन्छ भने कतिपयमा त विभिन्न किसिमका बाथमध्ये एउटा न एउटा भएकै हुन्छ । चिसो मौसममा बाथका बिरामीलाई जोर्नी दुख्ने, जीउ बाउँडिने र उठबस र उकालोओरालो गर्न निकै कष्ट हुने गर्छ । पहिलेदेखिका हाडजोर्नी र बाथका समस्या चिसोकासाथै व्यायामको कमीले जाडोमा बढन सक्छन् । निकैबेरको चलखेलले सुरुमा कष्टभए पनि जोर्नीहरूमा लचकता र कसरत भएर उष्णता आएर आराम पनि हुन्छ । त्यसैले हिँडडुल नियमित गर्नु र शरीरको कसरत दैनिक गर्नुले सहजता बढदै जान्छ ।

सुन्निनु र दुखाईः वास्तवमा शरीर सुन्निनु र दुख्नु भनेको शारीरिक समस्याको समाधान गर्न दिइएको पूर्वसङ्केत हो । शरीरका विभिन्न भागमा रोगब्याध सुरु हुँदा अथवा बाहिरी अस्वस्थ्यकर बस्तु प्रवेश गरेपछि शरीरले देखाउने प्रतिक्रियास्वरुप त्यसो हुनेगर्छ । अबाञ्छित बस्तुलाई शरीरमा फैलन नदिन शरीरले उत्पन्न गरेको माखेसाङ्लो हो सुन्निनु भनेको र दुखाई भनेको त्यसोगर्दा सम्बन्धित अङ्गले देखाएको प्रतिरोधको प्रतिक्रिया हो । त्यसैले यसो हुनु हामी पाका मान्छेलाई शरीरमा कहाँ कता के हुँदैछ र कस्तो रोगले दुखदिन खोज्दैछ भनेर रोगव्याधबारेमा जानकारी दिइएको हो भनि सम्झिनु पर्दछ । हो, निकै अप्ठ्यारो भई धेरै दिन रहेमा शरीरमा देखिएको सुन्निने र दुख्नेले बिकराल समस्या निम्त्याउन सक्छ । किनकि शारीरिक र भित्री जैविक प्रक्रियामा लामो प्रतिरोधको नियमितताले शरीरका अङ्गहरू र बाहिरी चलखेलमा बिपरित प्रभाव पर्नजान्छ । त्यही सामान्य सुन्निने र दुख्ने प्रक्रिया कुनै पाका मान्छेका लागि असाध्य रोगमा परिवर्तन भई दैनिक औषधि सेवनमा जानसक्छ ।

विज्ञानले प्रमाणित गरेको छ कि कहिलेकहीँ शरीरमा कतै सुन्निनु र दुख्नु फाइदैको कुरो भए पनि बेलाबेला एकै किसिमको एकै ठाउँमा वा सरीसरी सुन्निएर दुखाई भइरहनु चाहिँ सुशुप्त ज्यानमारा रोग लागेको भन्न सकिन्छ । किन कि सामान्य खालको तर नियमित सुन्निएर दुख भइरहँदा त्यसले मुटु, फोक्सो र भित्र्याँसमा असाध्य रोग थपिन मद्दत पुग्दछ भने अबुर्द रोग (क्यान्सर), दोश्रो खाले मधुमेह (डाइबेटीज २) र अरु समस्याहरू देखापर्न सक्छ । संसारमा हरेक क्षण मृत्यू भएका पाँच जनामा तिन जना कुनै न कुनै भाग सुन्निएर दुखाइ हुँदै अरु जटिल रोगसँग गाँसिएको तथ्य हार्बाड मेडिकल स्कूलको आँकडाले प्रष्ट्याएको छ ।

धन्य, विज्ञान र अनुसन्धानबाट त्यस्ता सामान्य देखिने समस्याबाट जटिल हुने प्रक्रियामा अनेक तरिकाबाट टाढै रहने उपाय पनि पत्ता लगाएको छ र धेरैले उमेर बढाएका छन् । हालसालै प्रकाशित ‘सुन्निने बिरुद्ध लडाइँ’ भन्ने विज्ञहरूको विशेष स्वास्थ्य रिपोर्टमा हार्वाडले नियमित सुन्निएर हुनसक्ने थप रोगव्याध र आफूलाई बचाउने चिकित्सकीय र जीवनशैली बारेमा बिभिन्न उपायहरू अघि सारेको छ । असाध्य नियमित सुन्निएर अबुर्द रोग, मुटुरोग, मधुमेह, बिर्सने रोग, स्मृति हराउने र अरु खतरनाक रोगहरू उन्मुख मान्छेहरूका लागि चाँडोभन्दा चाँडो बिभिन्न उपायहरू अबलम्बन गरी आफ्नो जीवन कष्टबाट बचाउन भनिएको छ ।

सम्भावनाः
बारम्बार शरीरका भागहरू सुन्निनु र दुखाई कायम रहनुमा बिभिन्न कारण हुनसक्छ । एउटा प्रमुख सम्भावित कारणमा- अप्ठ्यारो पार्ने कुनै बस्तु तपाइँको शरीरभित्र रहिरहेको छ र शरीरले त्यसलाई हटाउन सकिरहेको छैन । त्यस्ता कुरामा- संक्रामक रोगका किटाणु, कुप्रभाव पार्ने पदार्थ अथवा रासायनिक बिषालु बस्तु हुनसक्छन् । शरीरको प्रतिरोधी प्रणालीले सकेसम्म त बाह्य त्यस्ता सबै कुरालाई हराइदिन सक्छ तर कहिलेकहीँ भित्रिइसकेका किटाणुले मानिसको प्रतिरोधी क्षमता बिरुद्ध सक्रिय भई तन्तुहरूतिर लुकेर बेलाबेला शरीरको बिभिन्न भागमा छापामार तरिकाले आक्रमण गरेर सुन्याउने र एक्कासी दुखाई सुरु गरिदिन्छन् ।

अर्को सम्भावित कारणमा हाम्रो शरीरको प्रतिरोधी प्रणाली नै ‘खतरा अनुभूति’ अवस्थामा गएको हुनसक्छ । यस्तो अवस्थामा वास्तविक संक्रमण र खतरा नभए पनि शरीरले खतरा महसुस गरिरहेको जस्तै बिभिन्न प्रतिरोधी लक्षणहरू देखाइरहन्छ । स्वतस्फूर्त ईच्छाधिन प्रतिरोधी क्षमताको सम्बेदनशिलताको कारण शरीरका स्वस्थ्य कोष र तन्तुहरूलाई प्रतिरोधी प्रणालीले उत्तेजित पार्न थाल्दछन् । त्यसैको प्रतिक्रियास्वरुप हाडजोर्नी, पेटआन्द्रा र अरु अङ्गहरूका तन्तुहरू खतराको आभास भएझैँ विभिन्न प्रतिरोधी काम सुरु गर्छन् र दुख्ने अनि बाउँडिन थाल्छन् । लगातार सुन्निने र बाउँडिने प्रक्रिया भएर शरीरमा त्यस भागका कोष तथा तन्तुहरू मर्मतसम्भार हुनुसाटो झन बढि नोक्सान हुँदै जान्छन् ।

आधुनिकता भनिने अस्वस्थ्यकर जीवनशैली र व्यवहार पनि लगातारको दुखाई र शरीर सुन्निने कारण हुनसक्छ । धुमपान गर्ने, शारीरिक श्रम कम गर्ने, प्राय बसिरहने बानी, अति प्रशोधित र उच्चस्तरका भनिने कार्बोहाईड्रेट बढि भएका तयारी खाना खाने बानीले पनि शरीरमा बिभिन्न अङ्ग नियमित सुन्निने र दुख्ने हुनसक्छ । लगातारको त्यस्तो स्वास्थ्य अवस्थाले मुटु रोग, हृदयघात, रगतको नसा अवरोध, मधुमेह, अबुर्दरोग, मिर्गौलाको समस्या आदि निम्त्याउन सक्छ । लगातारको कम्मर दुखाई, खुट्टा सुन्निनु, छाती करङमा घोच्नु, आन्द्रा बाउँडिनु, सुल भएजस्तो हुनु, आदि विभिन्न अङ्गले प्रतिरोध गर्न गरेका प्रारम्भिक प्रतिक्रिया हुन र नियमित भएमा सम्बन्धित अङ्गमा नोक्सानी हुने धेरै सम्भावना हुन्छ ।

लक्षण र पहिचानः
नियमितरुपमा शरीरका कुनै भागमा सुन्निने र दुखाई रहेमा सँधै देखेभोगेकाले एक्कासी असाध्य भएको जस्तो प्रष्ट नभएको हुनसक्छ । के भयो भनि छुट्ट्याउन नसक्नुमा त्यस्तो दुखाई धारिलो बस्तुले काटेको जस्तो चसक्क नहुने, कडा बस्तुमा जीउ ठोक्किँदा जस्तो तुरुन्तै नसुन्निने, घस्रेको वा बाफले पोलेको जस्तो निलडाम वा रातो नदेखिने भएर हो । त्यसबाहेक भएको मान्छे समस्याप्रति त्यसैले सतर्क भई रोकथामका उपाय गर्न पट्टि नलागेको देखिन्छ । तर यस प्रक्रियाको निरन्तरताले नै असाध्य रोगहरूतिर बिरामीलाई बिस्तारै घिसारिरहेको हुन्छ । यस प्रकारको नियमित रोग शरीरको कुनै एक भाग वा अङ्गमा मात्र हुनसक्छ भने शरीरभरी छरिएर रहेको पनि हुनसक्छ । यस अवस्थामा बिरामी र चिकित्सकले समस्या खास एक अङ्गमा भएको भनी खुट्ट्याउन गाहारो पनि हुनसक्छ । नियमित समस्या हुनथालेका केही लक्षण र पहिचानका उपाय निम्नलिखित हुनसक्छन् ।

– चाँडै थकाई लाग्ने, – काम गर्ने जाँगर नलाग्ने, – शरीर शक्तिहिन भएझै लाग्ने, – उन्माद तथा चिन्ता बढ्ने,
– मांसपेसीहरू दुख्ने, बाउँडिने र जोर्नी दुख्ने, करकर खाने, – कब्जियत र पखाला घरिघरी एकपछि अर्को भइरहने,
– आन्द्राभुँडी बटारिने, गोला घुमेझैँ लाग्ने, – शरिरको तौल तलमाथि हुने, – रुचिअरुचि भइरहने, – टाउको दुख्ने घुमाउने,
– मस्तिष्क सून्य भएझैँ, किंकर्तव्यविमूढ स्थितिमा रहने, आदि लक्षणहरू भइरहन्छन् ।

रोकथामका उपायहरूः
सुन्निने बिरुद्धको लडाइँ भनिने रिपोर्टमा नियन्त्रणका लागि गरिने भनिएका विभिन्न चरणहरू पुरा गर्दा पनि तपाइँको नियमित सुन्निने र दुखाई घटनगई असाध्य रोगबाट बच्न सकिन्छ ।

चरण १ उचित खानपान गरौँः खानाबाट हुने सुन्निने प्रभावलाई खान हुने कुरा खाएर रोकौँ । कतिपय जीब्रोमा टक्क लाग्ने र स्वादिला लाग्ने खानाले रोग निम्त्याउन मद्दत गर्छ । कतिपय बेला हावापानी अनुकुल बिहान, दिउँसो र साँझ खान हुने वा नहुने खानेकुरा भनिन्छ । राम्रो अनुभवले निकालिएको निचोड बाहेक जातिगत वा समुहगत आधारमा संस्कार अनुसार भनिएका कैयौँ कुरा विज्ञानमा आधारित छैनन् । परम्परागत आधारमा हिमालका छेउछाउ बसेका समुहले तराई झर्दा पनि उस्तै खानपिन नगरेको राम्रो भने हामीले पुस्तौँदेखि खाएको भनि जिद्दी नगरेको ठिक हुन्छ । त्यस्तै समतल भागमा पुस्तौँ गुजारेकाले पहाड वा हिमाल जाँदा वा बसाइँ सर्दा ठाउँअनुसार गरेको राम्रो, खानपिन पनि त्यस्तै सुहाउने गर्नु ठिक हुन्छ ।

खानामा मूख्य ख्याल गर्नु पर्ने त त्यसमा रहेको प्रोटिन, कार्बोहाईड्रेट, चिल्लो पदार्थ, पोषण तत्व (भिटामीन), पानी र रेसादार बस्तुको मात्रा हो । ती अति आवश्यक अवयवको उचित सन्तुलनसहित शरीरको आवश्यक्ता र उमेरअनुसार खानामा आपूर्ति हुनुपर्दछ, हो अति आवश्यक पदार्थ भनेर आफूलाई नफाप्ने र रोग बल्झाउने खानेकुरा खानबाट चाहिँ बच्नैपर्छ । मिठो लाग्यो वा जीब्रोलाई स्वादिलो र ट्वाक्क भनेर खाना खाने होइन, शरीरको आवश्यकता पुरा गर्न हो भन्ने बिर्सनुहुन्न । खानाको यही बेठिक धारणाले शरीरलाई चाहिने पौष्टिक तत्वहरूको अभावमा बिग्रेका कोष र तन्तुहरू समयमा निर्माण नभएर आवश्यक्ता पुरा नहुँदा सुन्निने र दुख्नेभएको हुनसक्छ ।

रोगको पहिचान भएकाहरूले चिकित्सकको सल्लाहमा रोगलाई नबल्झाउने खानेकुरा खाने नै बानी बसाल्नु पर्दछ । खानेकुराले सोझै असर गर्ने बाथ, युरिक एसिड, मिर्गौला, मधुमेह र एलर्जीका बिरामी वा हुनसक्ने व्यक्तिले तागतिलो भनेर खाने होइन आफूलाई उल्टो असर गर्दैन भन्ने बस्तुमात्र सेवन गर्नु उमेर लम्ब्याउनु हो ।

सकेसम्म सादा अप्रदुषित पानी उमेरदार मानिसलाई दैनिक दुईतिन लिटर पिउने गर्नु राम्रो हुन्छ । जाडोमा उमालेर सेलाएको मनतातो पानीले पाचनप्रणालीमा समेत अनुकुल परिस्थिति बनाइदिन्छ । शरीरको अवस्था र रोगको प्रभाव हेरेर चिकित्सकले पानीको दैनिक आपूर्ति मात्रामा थपघट गर्न भन्नसक्छन् । शरीरको अवस्था र जीउलाई फाप्ने हेरेर फरकफरक फलफूलका रस पिउन पनि सकिन्छ । मिठो लाग्छ वा बानी छ भन्दै क्याफिनको मात्रा बढि हुने, पेटमा पाचनप्रणाली बिगार्ने, अनौठा बायु सिर्जना गर्ने, रगतमा चिनी र नुन रोग हुने किसिमले बढाइदिने अथवा नशालाग्ने झोल पदार्थ नपिउनु राम्रो हो ।

चरण २ दैनिक घुमफिरः छिटो स्वास-प्रस्वाससहितको हिँडाइले रक्त सञ्चालनको गति नियमित पारौँ । शरीरले सक्दैन भनि ओच्छ्यान दब्बिने गरी बसिरहने चाकलमाडे बानी घटाऔँ । दैनिक स्वासप्रस्वास बढने गरी लम्केर हलुका आरामदायी हिँडाई कायम राखौँ र फोक्सोका सबै कुनामा सुद्ध हावा पुर्‍याउन कोशिस गर्नु आवश्यक हुन्छ । त्यसरी हिँड्दा रक्त सञ्चालन पनि राम्ररी हुन गई सुद्ध अक्सिजनयुक्त रगत शरीरभरी गएर नसा र मुटु अबरुद्ध हुनबाट समेत जोगाउँदछ । त्यस्ता सामान्य हिँडाईले पसिना अलिअलि आएको झन स्वस्थ्यकर हुनजान्छ । गाहारो हुनेगरी, रिङ्गटालाग्ने गरी, पछारिने गरी पाको उमेरमा हिँडन भने हुँदैन । सकेसम्म पाका मान्छेले त एकजना साथी लिएर हिँडेको राम्रो र आवश्यक पर्नसक्ने पानी र हलुका खाजा बोक्नु पनि राम्रो हुन्छ । शरीरमा नुनको कमी र मधुमेहका लक्षण भएकाले शरीर सुहाउँदो खानेकुरा लिई हिँड्नु आवश्यक हुन्छ ।

चरण ३ शरीरको तौल व्यवस्थित गरौँः प्राय उमेर बढ्दै जाँदा विभिन्न सुविधा र सहयोग पाउने तर शारीरिक श्रम कम गर्ने व्यक्तिमा अरु नभए पनि पेट ह्वात्त बढेर ‘धनीको कुरुपता’ बिकसित भएको हुन्छ । त्यसो हुँदा कम्मरमुनि सुकेको र पेटमा बोसो लागेर कसैले त आफ्नै जुत्तासमेत नदेख्ने हुन्छन् । त्यस्तो अछन्द्याइलो पेट घटाउनु धेरै रोगहरूबाट छुटकारा पाउनु पनि हो । सजिलो तरिका भनेको खानपानमा बिचार गर्नु हो, उमेर बढ्ने र शारीरिक श्रम कम गर्न थालेपछि ‘बुढ्यौली मासु जेखाए पनि घटदैन’ भनि निचमार्ने होइन, बरु सतर्क हुने हो । चिनीजन्य चिजबिज खाँदै नखाने वा कम खाने, बोसोजन्य मासु, चापाचिल्लै भएका रोटी र मिठाईहरू अतिकम वा नखाँदै राम्रो, खानुपर्ने त नियमित मात्रामा प्रोटीनयुक्त खानेकुरा हुन् । त्यसले शरीरलाई चाहिने उर्जा र कोषलाई स्वस्थ्य राख्न सहयोग गरिरहोस्, अनि रेसादार सागपात, चोकरयुक्त पिठोको रोटी र फलफूलमा जोड गर्नु राम्रो हुन्छ । रोग प्रतिरोधी शक्ति बढाउन विभिन्न थरिका भिटामिन पाइने सकेसम्म मौसमी खाद्य पदार्थ नपकाई वा पकाएर खानुले फाइदा हुन्छ । उमेर बढ्दै गएपछि खानाको मात्रा बढाउने होइन पौष्टिक खानाको सन्तुलन मिलाउने हो । त्यसपछि सकेको शारीरिक श्रम गर्ने, केही नगरे आरामी दिने व्यायाम नियमित गर्ने र एकडेढ घण्टा द्रुतगतिको शरीरका सबै भाग हल्लने हिँडाई गर्नु तौल घटाउने उपाय हुन् । नियमित परिश्रमले तौल धेरै नघटे पनि शरीर तन्दुरुस्त भइ छरितो बन्न थाल्छ र स्फूर्ति बढ्दछ अनि रोगबाट बच्न सकिन्छ ।

चरण ४ मस्त निदाउने गरी सुत्नुहोस्ः हरेक मान्छेलाई विभिन्न क्रियाकलापपछि पुनर्ताजगी हुन प्राकृतिकरुपले आरामको आवश्यक्ता हुन्छ । सामान्य आराम मात्रले केही उर्जा प्राप्त भई थकाई मेटिए पनि शारीरिक पूणर्ताजगी हुँदैन । त्यसैले सबैजसो स्तनधारी जीवहरू चौबिस घण्टाभित्र आआफ्नो अनुकुलतामा शरीरको आकार र आवश्यक्ताअनुरुप बाहिरी क्रियाकलाप रोकेर सुत्ने काम गर्दछन् । हामीले चिनेका केही प्राणीको सुताई हेर्नोस् त : घोडा २ घण्टा, हात्ती ३ घण्टा भन्दा बढी, गाई ४ घण्टा, जीराफ ४/५ घण्टा, मानिस ७/८ घण्टा, खरायो ८/९ घण्टा, चिम्पाञ्जी ९/१० घण्टा, रातो फ्याउरो ९/१० घण्टा, कुकुर १० घण्टा, बाघ १५/१६ घण्टा, घरमुसा, बिरालो १२/१३ घण्टा, सिंह १३/१४ घण्टा, चिपमङ्क (अमेरिकी सानो लोखर्के) १५ घण्टा, चितुवा १८ घण्टा र सानो खैरो चमेरो १९/२० घण्टा सुतेको रेकर्ड पाइन्छ ।

सुत्दा थकाई मर्नेमात्र होइन कैयौँ शारीरिक भित्री प्रक्रिया पनि पुनर्ताजगी हुने र सँधै सक्रिय भएर हामीलाई बचाउने मुटु, फोक्सो र आन्तरिक प्रणालीले पनि आराम पाउँछन् । हामी सक्रिय हुँदाभन्दा निदाउँदा कम गतिमा मुटु र फोक्सो चल्दछन् र धेरैजसो अङ्गहरू सक्रृय नभएकाले शरीरले यथेष्ट शक्ति जम्मा भई खर्चभएको उर्जा पुर्ताल गर्न मद्दत पुग्दछ । त्यसैले त मस्त सुतेर उठ्दा मानसिक र शारीरिक ताजगी महसुस हुन्छ भने निद्रा कचमचिँदा उठेपछि पनि जीउ भारी भइरहन्छ । त्यसैले स्वास्थ्य बनाउन मस्त निदाउनका लागि सुत्नुअघि चिन्ता नगर्नु, मनमा कुरा नखेलाउनु भनिन्छ नि । बेलाबखत गडबडिएको निद्राले शरीर दुख्ने र जाडोमा त सुन्निने पनि हुन्छ, फेरि लामा रात हुने जाडो महिनामा निद्रा कचमचिए त घरीघरी शौचालय जाने समस्याले हैरान हुन्छ । जानीजानी निद्रा नबिगारौँ, मस्त सुतेर स्वस्थ्य रहने प्रयास गरौँ ।

चरण ५ धुमपान त्यागौँः सूर्तिजन्य पदार्थमा दुईदर्जन बढी बिषालु हानिकारक पदार्थ पाइन्छन भनिन्छ । चुरोट, बिँडी, तमाखु, कक्कड, गाँजा आदि धुवाँ आउने अम्बलले सेवन गर्नेलाई मात्र होइन वरपर रहेकालाई समेत असर गरिरहेको हुन्छ । धुवाँ आउने धुमपानले सेवनकर्ताको स्वासप्रस्वास प्रणालीमा मात्र होइन त्यसको असर रक्तप्रणालीमा पनि परिरहेको हुन्छ साथै पाचनप्रणालीमा समेत गरेको हुन्छ । यसको अतिरिक्त बेफाइदा आर्थिकलगायत अरु पनि थुप्रै छन् । सुर्ति चुस्ने, ओठको भित्र गिजामा राख्नेको गिजा, जीब्रो र घाँटीमा समस्या सुरु हुन सक्छ भने पाचनप्रणालीमा सोझै असर गरिरहेको हुन्छ ।

धुमपानले दम, धम्की र अन्य रोगहरू बाहेक जीउमा बिषाक्त पदार्थ भित्रिएर टाउको दुख्ने, वाकवाक लाग्ने मात्र होइन सुन्निने र गाँठागुँठी आउने समेत देखिएको छ । हाम्रो शरीरमा विभिन्न जोर्नी र अङ्गमा बिषाक्त पदार्थ अल्झाइदिने बढ्न नदिने र शरीरबाहिर निकाल्ने ग्रन्थी र ठाउँलाई निस्कृय बनाउने, अझ रोगी बनाइदिनमा धुमपानले सघाउँछ । कयौँ अति अम्मलीका जीउभरी गाँठागुँठी र मासुका डल्ले लाम्टा भेटिएको कुरा अचेल सामान्य सुनिन्छ भने दाँत बिगेको सबैले देखेकै हो ।

चरण ६ मद्यपान नियन्त्रण गरौँः मद्यपानको मुख्य आकर्षणको भाग भनेको त्यसमा रहेको अति प्रशोधित अल्कोहलको मात्रा नै हो । विदेशीले विभिन्न नाम र प्रकारका भने पनि हाम्रो सामान्य भाषामा वाफ जम्मा गरी तयार गरिएको रक्सी भनिने पेयमा भएको अल्कोहलको मात्राले नै सबै गुन-अबगुन गरेको हुन्छ । आधुनिक बन्ने नाममा सेवन गर्ने बानी परेर वा विभिन्न अप्ठ्यारोमा मन भुलाउन भनि कुलतमा परी सेवन गर्ने बढेपछि बिषाक्त पदार्थ मिसिएको रक्सी बजारमा आई धेरैको जीवन नै बेमाख भएको छ । दुखेको सुन्निएकोमा बाहिरबाहिर दल्दा र कहिलेकाहीँको पाचनप्रणाली र कुफतमा थोरै मात्रामा पिउनाले औषधिको काम गरे पनि नियमित र अधिक रक्सी पिउनाले मानिसमा अनेकौँ रोग निम्त्याएको देखिन्छ ।

शरीरमा उत्पन्न भएका बिकार र किटाणु बल्झाएर हामीलाई स्वस्थ्य राख्ने कलेजो रक्सी सेवनले काम गर्न छाडी चाँडै हामीलाई मृत्यु नजिक पुर्‍याउन सहायक भएको हेक्का रहोस् । रक्सी सेवनका दुर्गुणबारेका धेरै कथाव्यथा भन्न सकिन्छ, अहिलेलाई यति भनौँ रक्सीले शरीरका आन्तरिक प्रक्रियामा नकारात्मक प्रभाव पारेर जाडोमा रमाइलोको लागि भने पनि शरीर र अङ्गहरूमा उल्टापाल्टा प्रभाव पारेको बिचार गरौँ । हाम्रो जैविक प्रणालीनै हाम्रो मस्तिष्कको अधिनमा सकारात्मक जवाफदेही हुन नसक्ने अवस्थामा पुर्‍याउने रक्सी र त्यसमा भएको पदार्थलाई कसरी गुनिलो पेय भन्नु ?

चरण ७ नियमित तनावलाई जितौँः चाहिँदो चिन्ता र चिन्तनले त निकास ल्याउला तर आफू गर्न नसक्ने र अरुले सहयोग गरी दिने आश गर्न नसकिने चिन्ताले तपाइँ आफैँलाई सिध्याउँछ । त्यस्तै आफूले पुरा गर्न परिस्थितिले नसकिने र विभिन्न हैसियत नभएकाले अरुको देखेर ईष्र्या र डाहले चिन्तित हुनु पनि खराब नै हुन्छ । ‘चिताले मरेको मान्छेलाई डढाउँछ, चिन्ताले जीउँदोलाई डढाउँछ’ भन्ने उखान नेपालमा त्यसै चलेको होइन । चिन्ताले मानसिक रोगमात्र होइन अरु शारीरिक रोगहरू समेत निम्त्याउँदछ ।

असम्भाव्य चिन्ता बढी गरेरै छाला र मांसपेशीमा गाँढागुँठी देखा पर्छन् भने टाउकाको कपालभित्र देखापर्ने ससाना बिमिरा र गाँठा मस्तिष्कको प्रतिक्रियासँग सम्बन्धित छ । फोहोर वा ढिलो नुहाएरमात्र हुने होईन धेरै चिन्तीत मान्छेमा देखापरेको पाइन्छ र मनोचर्म (साईको सोमाटिक) भनिने रोग चिन्ताकै कारणबाट भएको चिकित्सकहरूको भनाई छ । अति चिन्तित रहने भएमा निको नहुने बाथ, मुटु फोक्सोका रोगहरू, विष्मृति, उन्माद, मुटु र पाचनप्रणालीको औडाहा भएकोभयै हुन्छ । चिन्ताले शरीरमा अरु कारणले देखापरेका गाँठागुँठी बढाउने र नयाँ रोगको स्वरुपमा आउने सम्भावना बढि हुन्छ भने रोगव्याध कम हुने जाडो महिनामा यसले थप समस्या पार्छ ।

अन्त्यमा
नेपालमा जाडो महिनामा पाका मान्छेलाई ‘बलियाबाङ्गा बाघलाई, बुढाखाडा माघलाई’ भनि छनक हानिन्छ । वास्तवमा जाडो महिनामा राम्ररी बिचार नपुर्‍याए केटाकेटी, पाका मान्छे र दीर्घरोगीलाई निकै अप्ठ्यारो पर्न सक्छ । केटाकेटीलाई सबैले हेक्का राख्छन् तर पाका मान्छेलाई उमेर गएको भनेर अलि वास्ता कम गर्ने गरिन्छ । अभिभावक, अनुभवका भण्डार र अभरमा बाटो देखाई परिवारलाई समस्याबाट पार तार्ने पाका मान्छेप्रति सहानुभूतिपूर्वक आदर र स्नेह राखौँ ।

०००

चालिसेडाँडा, लिलतपुर

२०७९ मङ्सिर १३

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
मानिला मानिसमा घुँडा र कम्मर समस्या !

मानिला मानिसमा घुँडा र...

डा. मुकेशकुमार चालिसे
जाडोमा पाका मान्छेलाई समस्या !

जाडोमा पाका मान्छेलाई समस्या...

डा. मुकेशकुमार चालिसे
मानिला मान्छे खुसी हुने तरिका !

मानिला मान्छे खुसी हुने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेलाई यत्ति भए पुग्छ !

पाका मान्छेलाई यत्ति भए...

डा. मुकेशकुमार चालिसे
पाका मान्छे, दुर्व्यवहार र चुनाव !

पाका मान्छे, दुर्व्यवहार र...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेलाई निम्ता गर्दा होस् गरौँ !

पाका मान्छेलाई निम्ता गर्दा...

डा. मुकेशकुमार चालिसे
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

गङ्गाप्रसाद अधिकारी
मानिला मानिसमा घुँडा र कम्मर समस्या !

मानिला मानिसमा घुँडा र...

डा. मुकेशकुमार चालिसे
जाडोमा पाका मान्छेलाई समस्या !

जाडोमा पाका मान्छेलाई समस्या...

डा. मुकेशकुमार चालिसे
घाँडो बूढो

घाँडो बूढो

राजेन्द्र कार्की
मानिला मान्छे खुसी हुने तरिका !

मानिला मान्छे खुसी हुने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेलाई यत्ति भए पुग्छ !

पाका मान्छेलाई यत्ति भए...

डा. मुकेशकुमार चालिसे