साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धोन्मुख-मानसिकता

वृद्धोन्मुख मानिसका विषयमा यहाँ चर्चा गरिएका कुरा साङ्केतिक मात्र हुन् । समाजका अन्तरकुन्तरमा बसेका यिनका मानसिकताका विषयमा खोतल्दै जाने हो बृहदाकारको ग्रन्थ नै तयार हुन्छ ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

कुरो सामान्य भएर पनि त्यत्तिकै गहन छ । सबैको चासोको विषय नभएर पनि हुनुपर्ने छ सबैको चासोको विषय । यहाँ त्यही कुराको उठान गर्न खोजिएको छ जुन कुरो गहन भएर पनि सबैको चासोको विषय बन्न सकिरहेको छैन । त्यस्तो विषय हो – वृद्धोन्मुख मानिसको मानसिकता र तिनको चाहना परिपूर्तिको । यसमा सबैको चासो हुनुपर्छ । यहाँ चर्चा गर्न लागिएको जस्तो वृद्धोन्मुख मानवीय मानसिकता पनि अति कम विकसित, अल्पविकसित वा विकासशील राष्ट्रको मात्र हुनसक्छ, विकसित वा बढी विकसितको होइन । विकसित मुलुकका मानिसको सोच र बानी व्यवहार हामीले नजिकबाट नियाल्न र अनुभव गर्न पाएका छैनौँ । विद्यमान परिस्थिति हेर्दा सम्भवतः स्वमुलुकमा अझै घटीमा एक शताब्दीअघि हामीले त्यस्तो परमुलुकी सुचित्रको परिकल्पना गर्नु वा अपेक्षा गर्नु सोह्रै आना मूर्खता हुनेछ । कसैले हामीलाई मूर्ख साबित गर्न सक्षम भएछन् भने त्यसलाई सहर्ष स्वीकार गर्न हामी तयार हुनुपर्छ, त्यो आफ्नो ठाउँमा छ ।

धनी, गरिब, मोटो, दुब्लो, फोहोरी, सुग्घरी जस्तोसुकै अवस्थाको मानिस होस्, जब उमेर ढल्दै जान्छ ऊ हरहिसाबले गल्दै जान्छ । शारीरिक स्वस्थता भए पनि मानसिकता र भौतिक अवस्थितिमा उसको गलाइ सुरु हुन्छ । यस्तो गलाइ कसैमा प्रस्ट रूपमा देखिन्छ, कसैमा देखिन्न फरक त्यत्ति मात्र हो । मृत्यु जुनसुकै उमेरका मानिसको पनि हुन्छ । कम उमेरका मानिसमा मृत्युको भय हुन्न, अकस्मात् ऊ ढल्छ । तर वृद्धोन्मुख मानिस आफ्नो उमेर सम्झिँदै जान्छ । मृत्युको भयलाई काखी च्याप्न थाल्छ । फलतः अब कुनै पनि बेला मलाई कालले दागा धर्छ भन्ने मानसिकतामा ऊ पुग्छ । हरहमेसा यस्तो भयले गाँजिन्छ ऊ ।

यसरी मृत्युको भयले उसलाई गाँज्न थालेपछि अर्थात् वृद्धोन्मुख अवस्थामा पुगेपछि कतिपय मानिसमा प्रस्ट रूपमा पश्चातापका बाछिटा देखिन थाल्छन् । मृत्यु सन्त्रासको बादल उसमा मडारिन थाल्छ । अनि, यसो पनि गर्न सकिनँ, उसो पनि गर्न सकिनँ भनेर भुङ्ग्रिन थाल्छ । नजिकका आफन्त वा हितैषी ठानिएकासँग डुग्रिन थाल्छ । यस्तो आचरणले खानपान र शारीरिक स्वस्थतामा ह्रास ल्याउन थाल्छ । अरुसँग तर्किन र घर परिवार वा अन्य आफन्तसँग झर्किन थाल्छ । यस्तो आनीबानीको स्वमूल्याङ्कन ऊ स्वयंले गर्न सकिरहेको हुँदैन, अरूले भने राम्रैसँग चाल पाइरहेका हुन्छन् ।

वृद्धोन्मुख मानिस प्रायः अरूसँग डराउँछन् । शङ्कामा मडारिन्छन् । कसैले सानो मात्र वेवास्ता गरे भने पनि ऊ त्यसलाई स्वविश्लेषणको मुद्दा बनाउँछ । किन मलाई यसले यसो गर्‍यो, किन उसले मलाई उसो गर्‍यो जस्ता तर्कना उसमा मडारिन थाल्छ । विगतमा आफूलाई सम्मान गर्ने व्यक्तिले उसलाई देखेको नदेख्यै गरी बाटो काट्यो भने ऊ हुनसम्म चित्त दुःखाउँछ । ए, मैले यस्तो गरेर यस्तो बनाएको मान्छे अहिले यस्तो भयो भनेर मनमा कुरा खेलाउन सक्छ/थाल्छ । मौका परे यो कुरा अरूमा पनि सम्पे्रषण गर्छ । दायाँबायाँका यस्तै प्रकृतिसँग मिल्ने सकारात्मक तथा नकारात्मक उपमाहरू ओकल्न थाल्छ ।

यस्तो वृद्धोन्मुख वा वृद्धावस्थामा सानो सम्बोधन मात्रले पनि त्यस्ता वृद्धवृद्धाहरू साह्रै खुसी हुन्छन् भन्ने कुरा अरूले चाल पाउनुपर्छ र सोही अनुसार व्यवहार गरिदिनुपर्छ । उनीहरूको मन कुँड्याउनु भनेको आपूmमा अभिमानको राप बढेको चाल नपाउनु र वृद्धवृद्धाहरूलाई अनावश्यक चिन्तामा धकेल्नु हो भन्ने बुझ्नुपर्छ । वृद्धोन्मुख वा वृद्धवृद्धाहरू जो कोही पनि सामाजिक प्राणी र समाजले गरेको आफूप्रतिको सम्बोधन वा खोजखबरले हर्षित हुन्छन् । यो उनीहरूको परिस्थितिजन्य स्वभाव हो, त्यसभन्दा बढी अरू केही हैन । त्यसैले विना कुनै आर्थिक लगानीमा अरूलाई खुसी पार्न सकिन्छ भने त्यस्तो व्यवहारबाट आफूलाई किन टाढा राख्ने ? यो कुरा युवा वा प्रौढावस्थाका मानिसले समयमै बुझिदिनुपर्छ ।

समाज नियाल्ने क्रममा एउटा यस्तो मानिस पनि मैले भेटेको थिएँ जो आफूलाई विश्वास नभए पनि वृद्ध बाआमाको इच्छा परिपूर्तिका लागि त्यो काम गरिदिन्थे । एक पटक उनले घरमा रुद्रि/नारायण पूजा गर्ने कुरा गरे । मलाई अचम्म लाग्यो । जातीय हिसाबले तपाईं उच्च कुलीन वंशको मानिस भएर पनि यस्ता कुरामा पटक्कै विश्वास गर्नु हुन्थेन तर अहिले पूजा गर्ने कुरा गर्नुहुन्छ ! भन्ने जिज्ञासा राख्दा उनले भनेका थिए – बाआमाले पूजा गर्ने इच्छा गर्नुभयो त्यही भएर । बुढाबुढीको धेरै ठुलो अपेक्षा हुँदैन । यस्ता सानातिना कुराले उनको मन प्रशन्न हुन्छ भने त्यस्तो काम जो कोहीले पनि गरिदिनुपर्छ । उनका मनमा शान्ति हुन्छ । त्यस्ता कुरामा बुढापाकासँग सैद्धान्तिक बहस गरिरहने होइन, चाहेको कुरा सकेसम्म पुर्‍याइदिने हो । यस्ता कुरामा आफ्नो लिँडेढिपी तेस्र्याएर भाँजो हाल्नुहुन्न । यस्ता सकारात्मक कुराले परिवार तथा समाजमा सकारात्मक ऊर्जा दिन्छ । त्यसैले वृद्धोन्मुख वा वृद्धवृद्धा जो कोहीका मनलाई दुखाउने काम जो कोहीले गर्नुहुँदैन । ए स्टिच इन टाइम सेभ्स नाइन (A stich in time saves nine) भन्ने कुरा हामीले पढेकै हो नि । उनका यी कुरा मलाई साह्रै घत लागे । वृद्धवृद्धामैत्री सोच राख्ने यस्ता मानिसलाई सबैले सलाम गर्नुपर्छ ।

वृद्धवृद्धाको जीवन भनेको आफ्नो र समाजको विगतको पुनरावलोकन गर्ने जीवन हो । आफ्नै जीवनलाई नजिकबाट सिंहावलोकन गर्ने क्षण हो । चाहे त्यो राम्रो होस्, चाहे नराम्रो । राम्रो भए सन्तोष मान्ला नराम्रो भए पछुताउ गर्ला, त्यत्ति न हो । यही क्रममा उनीहरू आफ्ना विगत कोट्ट्याइरहन्छन् । सुनाइरहन्छन । अझ कसैले त्यसमा चासो राखेर केही सोधिदिए उनीहरूलाई ढुङ्गा खोज्दा देउता मिलेजस्तो भान हुन्छ त्यतिखेर । अनि चम्की चम्की आँखा चिम्लेर आफ्ना कुरालाई निरन्तरता दिन्छन् । आफ्ना पौरखको आफैँ प्रशंसा गरिरहन्छन् । फरक यत्ति हो ठुलाको ठुलै कुरा होला सानाको सानै कुरा । तर, मानसिकता सबैको उस्तै हो ।

चाहे लेखक हुन् चाहे कृषक । चाहे मजदुर हुन् चाहे मालिक । चाहे कामदार हुन् चाहे बेरोजगार । चाहे व्यापारी हुन् चाहे पुजारी हुन् । चाहे राजा हुन् चाहे रङ्क हुन् । चाहे मन्त्री हुन् चाहे मतदाता हुन् । ती सबैको हविगत आफ्नै मात्र प्रशंसा गर्ने हो, अरुका काम देखेको नदेख्यै गर्ने हो । अरूका पिठ्युँमा जुम्रा लुकेको देख्ने तिनले आफ्ना पिठ्युँमा भैँसी नाचेको देख्दैनन् । त्यस्तो अवस्था वृद्धोन्मुख वा वृद्धवृद्धामा भन्दा अरुमा बढी देखिन्छ । तर यस्तो मानकिताका मानिस वृद्ध अवस्थामा पुग्दा पनि आफ्नो बानीलाई सुधार्ने भन्दा अझै तिखार्नेतिर बढी लागेको देखिन्छ ।

यस आलेखको उद्देश्य वृद्धोन्मुख वा वृद्धवृद्धाका मानसिकताका विषयमा केन्द्रित गरिएकाले ती आम मानिसका मानसिकता यहाँ केलाइरहनु आवश्यक परेन । वृद्धवृद्धाकै कुरा गर्दा सानो अस्वस्थतामा पनि ती आत्तिन्छन् । यसो हुने हो कि उसो हुने हो भनेर चिन्तित हुन्छन् । पटक पटक ऐनामा अनुहार नियालिरहन्छन् । नाडी छामिरहन्छन् । अझ अलिक बढी उमेरका पाका मानिस बेलाबेलामा आफ्ना हत्केलाको पृष्ठभागका छाला तानेर आफ्नो स्वास्थ्यस्थितिको भविष्यवाणी गरिरहेका हुन्छन् । यी यसरी छाला छाउरी परे, ऊ उसरी छाला यस्ता भए भनेर चिन्ता व्यक्त गरिरहन्छन् । पहिला यति खान्थेँ अहिले यति मात्र, स्वाट्टै आहारा घट्यो भन्दै चिन्ता गरिरहन्छन् । घरभित्रका कसैले गरेको काममा चित्त बुझाइ हुँदैन उनको । वृद्धवृद्धालाई मात्र भन्ने होइन, भोलि गएर हाम्रो अवस्था पनि त्यस्तै हुने हो । यो मानवीय गुण नै हो । परिस्थितिजन्य प्रदर्शन हो ।

वृद्धोन्मुख मानिसका विषयमा यहाँ चर्चा गरिएका कुरा साङ्केतिक मात्र हुन् । समाजका अन्तरकुन्तरमा बसेका यिनका मानसिकताका विषयमा खोतल्दै जाने हो बृहदाकारको ग्रन्थ नै तयार हुन्छ । त्यसैले यतिखेर वृद्धोन्मुख मानिसका मानसिकताका विषयमा यहाँ त्यतिविधि बढी खोतलीरहनु परेन । यहाँ त वृद्धोन्मुख वा वृद्धवृद्धाको मानसिकता बढीभन्दा बढी खोतल्नुभन्दा पनि उनीहरूका चाहनालाई सकारात्मक सन्देश प्रवाह हुने किसिमबाट कसरी परिपूर्ति गर्ने भन्ने विषय बढी महत्वपूर्ण हो । त्यस्तो कर्तव्य भएका घर परिवार वा समाजका सरोकारवाला व्यक्तिले यस्ता कुरामा हरहमेसा ख्याल गर्नैपर्छ । यस्तो ख्याल गराइ आज उनका लागि गरेको जस्तो भए पनि भोलि त्यो आफ्नै लागि हुन्छ । वृद्धवृद्धाका पक्षमा यतिखेर हामीले गरेका यस्ता सकारात्मक कामको सिको भोलिका पुस्ताले पनि नजिकबाट नियालिरहेका हुन्छन् । यस किसिमको नियालाइ भोलिका दिनमा आफ्नै हितमा प्रयोग हुन्छ । यसमा अनेक किसिमका शङ्का उपशङ्का पालिरहनु आवश्यक छैन । बेलैमा सबैलाई चेतना भया ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x