डा. मुकेशकुमार चालिसेपाका मान्छेका कुरा सुनौँ !
अब वर्तमानका कर्ताधर्ता र पहुँच भएकाले सोच्न परेन र ? के आधुनिक र अग्रगामी भनिएको नेपाली समाजमा त्यत्ति गर्न साँच्चै ढिला भएन र ?
डा. मुकेशकुमार चालिसे
हिजोआज संसारभरि पाका मान्छेका कुरा हुन थालेका छन् । केहि दशक अघिसम्म पुस्ताहरूका बिचको सामाजिक, राजनीतिक र सञ्चारको स्थितिमा भएको आकाश–जमिनको अन्तरले दुईपुस्ता बिचमा ठूलो भिन्नता देखिन थालेथ्यो । यस्तो सम्बन्धमा तेस्रो पुस्ता अर्थात् हजुरबा–हजुरआमाहरू र नातिनातिना बिच त एकअर्काको कुरै नसुन्ने वातावरण भएथ्यो । पश्चिमाको उल्क्याईँमा नेपालमा पनि ‘जेनरेसन ग्याप’ कथित पढालेखा भनाउँदाको थेगो नै बनेको थियो । तर स्थिति दुई तीन पछिल्ला दशकमा फेरियो । आधुनिकताको गफ गर्दा, नियम–कानूनका प्रसङ्ग ल्याउँदा, सामाजिक छु भनी देखाउँदा, कसैको ईसाराअनुसार गर्दा, कमाउनकै लागि र परम्परागत संस्कारअनुसार मनले मानेर पाका मान्छेका बारेमा कामकुरा हुनुलाई प्रगति नै भएको मान्नुपर्छ । त्यसैले आजकाल पाका मानिसहरूलाई ‘म्याद गुज्रिएका, बूढाखाडा’ होइन ‘मानिला पाका मानिस, ज्येष्ठ नागरिक’ भन्ने सम्बोधन वाक्यांश बोलीचाली र सञ्चारमा सुनिन देखिन थालेका छन् ।
अचेलका पाका मान्छे पचास वर्ष अघिका जस्ता ‘पिँढीसाँढे’ पनि छैनन् । शिक्षा, स्वास्थ्य, चेतनामा उन्नत छन र विश्वव्यापी घटनाका जानकार छन् । वास्तवमा अनुभव र भोगाईका भण्डार मात्र होइनन् शिक्षा र ज्ञानका हिसाबले उत्तम समूहमा अहिलेका पाका मान्छे पर्दछन् । उनीहरूले ‘निरङ्कुश जहाँनियाँ’ मात्र होइन ‘एकदलीय, बहुदलीय, संसदीय, संघीय’ जस्ता नानारङका व्यवस्थाको आगत, स्रोत, आँत र जिलिगाँठी अनुभूत गरेका छन् । तिनका उन्मत्त उठान उर्लेको भोगेका छन् र सत्वरहित भएर थला बसेको पनि नेपालमै बेहोरेका छन् । विश्वका विभिन्न थरीका व्यवस्था बारेमा भ्रमण गरेर र अध्ययन गरेर थाहा पाइसकेका छन् ।
त्यसैले आजका पाका मान्छे आफूले गरेको ‘साष्टाङ्ग दण्डवत’ सगर्व सम्झन्छन् भने नातिनातिना पुस्तालाई ‘गुड मर्निङ्ग, गुड नाइट’ भन्न नि जान्दछन् । अहिलेका पाका मानिसहरू हिजोका जस्ता काशीवास जाँदा पुण्य पाइने विश्वमा पनि छैनन् र पारिवारिक पिल्साईमा हरिभजन गाउँदै मन्दिरको शरणमा हिंड्ने पनि छैनन् । आफ्नो जीवनको उत्तरार्द्धमा आर्थिक र सामाजिक हिसाबले कसरी सुखमय बनाउने भनी जान्दछन् र त्यहिअनुसार सक्रिय छन् ।
नेपालको जनसङ्ख्याको दश प्रतिशत बढी रहेका पाका मान्छेलाई गुण र सक्षमताका आधारमा उचित सम्मानसहित ज्ञानको प्रचारप्रसारमा लगाउनु समाजको कर्तव्य हुनु पर्दछ । यसको व्यवस्थापनमा वार्षिक एकोदिष्ठ श्राद्ध गरेझैँ वर्षमा एक दिन ‘ज्येष्ठ नागरिक दिवस’ मनाएर हुँदैन । परिणाममुखी काम गर्न स्थानीय वडास्तरदेखि पालिका, जिल्ला, प्रदेश र सिङ्गो राष्ट्र नै वार्षिक कार्यक्रमसहित योजनावद्ध हिसाबले लाग्नु पर्दछ । वयस्क मताधिकार सङ्ख्यामा बिस प्रतिशत माथि रहेका पाका मान्छे लाखौँको तहमा छन र चाँडै करोडौँ हुनेछन् । उहाँहरूलाई हरेक क्षेत्र र तहका संरचनाको चुनिने वा मनोनित हुने अङ्गमा बिस प्रतिशत नै प्रतिनिधित्व गराउनु पर्छ । तबमात्र पाका मान्छेको भावनाको ठिक प्रतिनिधित्व भई ज्येष्ठ नागरिकका हकअधिकार सुरक्षित हुनसक्छ र उहाँहरूको पारिवारिक तथा सामाजिक सम्मान हुन्छ । साथै योग्यता र क्षमताअनुसार पाका मान्छेको सेवा सबै स्तरमा प्रयोग गरेर उहाँहरूको सचेत उपयोग समाजमा भएर ज्ञानको हस्तान्तरण र पुस्तान्तरण भई देश समृद्ध बन्न सक्छ ।
सहभागिताः
पाका मान्छेलाई उनीहरूको ६० वर्ष पुग्नु केही समयअघि लगत बनाई आर्ज्याको ज्ञान र अनुभवको आधारमा पाका मानिस भएका मितिदेखि विविध काममा सेवा लिन सकिन्छ । केहीभाग शारीरिक असक्षमता भए पनि सक्षम भागबाट यस समाजमा प्रशस्त काम लिनुदिनु गर्नु पाका मानिसलाई हौसला र समाजोपयोगी अझै भएको प्रत्याभूति गराउनु हो । त्यसरी हरेक मानिसका जीवन सक्रिय र समाज क्रियाशील भइरहन्छ । यसो गर्नु नै देशको सम्मृद्धिको सूचक पनि हो ।
हरेक व्यक्तिको बालककाल पछिको जीवनमा अध्ययन, अध्ययनपछि योग्यताअनुसार विविध कामको सेवा, आयआर्जन र निश्चित अवधिमा सेवानिवृत्त हिजोआजको सामान्य परिघटना हो । कतिपय मानिसहरूमा यो क्रम अर्को हिसाबले घरकाज वा परम्परागत पारिवारिक व्यवसाय र क्रियाकलाप पनि हुन सक्छ । सक्षम धेरै मानिसको सक्रिय जीवनका कर्महरूकै मन्द र खण्डखण्ड निरन्तरता पनि हुनसक्छ । जो जसरी सक्रिय रहिरहन सक्छन् त्यसैमा टेकोपुँडो गर्नु सम्बन्धित परिवार, स्थानीय निकाय तथा राष्ट्रकै कर्तव्ययुक्त गहन जिम्मेवारी भित्र पर्दछ । त्यसो गर्ने सामाजिक स्थिति भएको देशनै साँच्चो अर्थमा विकशित र सम्मृद्ध कहलाउँछ र हुन्छ ।
१. सेवानिवृत्त सबै पाका मानिसहरूको लगत सम्बन्धित निकायले स्थायी र अस्थाई ठेगाना सहित सम्पर्कसूत्र सम्बन्धित वडा र स्थानीय विकास वा गृह मन्त्रालयमा पठाउनु पर्दछ । स्थानीय तहमानै हरेक कार्ययोजना र विकासे कामका सरसल्लाहमा पाका मानिसहरूको सहभागिता हुनु पर्दछ । सबै पाका मान्छेको प्रतिनिधित्व हुनेगरी त्यस्ता कार्ययोजना सम्पन्न गर्ने समूहमा कम्तिमा बिस प्रतिशत गणपूरक सङ्ख्या पाका मानिसको हुनुपर्दछ । हरेक वडामा भनिएको ‘वडा तहको ज्येष्ठ नागरिक मञ्च’बाट त्यो प्रतिनिधित्व आपूर्ति गर्न सजिलै सकिन्छ । हाल बसोबास गरेको स्थानमा अमुक व्यक्तिको योग्यता र अनुभवअनुसार केकस्तो काममा उपयोग गनुपर्दछ भनी योजनाहरू बनाउन वडाले थाल्नुपर्दछ ।
हरेक पालिकामा अचेल स्थानीय मौलिक जात्रा, चाडपर्व, पर्यटकीय स्थल, गौरवका स्थान र व्यक्तित्वबारे ऐच्छिक अध्ययनका पाठ्यपुस्तक प्राथमिक कक्षामा राखिने चलन बढ्दै गएको छ । कतिपय पालिकामा विद्यालय एक होइन धेरै सङ्ख्यामा स्थापना भइसकेका छन् । तिनीहरूलाई त्यस्तो पठनपाठनमा चाहिने त्यस्ता पाठ्यसामग्रीका लागि पाका मान्छे अब उपयुक्त र भरपर्दो स्रोत हुनसक्छन् । हाम्रो आफ्नो क्षेत्रको सबलपक्ष उजागर गर्ने यो उचित र स्तुत्य क्रियाकलाप होइन र ? वर्तमान समयका बालबालिकालाई देशदेशावरका कुरा र विविध पाठ्यसामग्री जति आवश्यक छ त्यति नै आफ्नोपनको जानकारी दिनु र यथेष्ठ गौरव गर्न सिकाउनु आवश्यक छैन र ? पहिला नेपालमा नै कुन ठाउँको के प्रसिद्ध भनि पढिन्थ्यो र जानकारी पाइन्थ्यो । त्यो के गलत थियो र ? त्यस्तो पाठ्यपुस्तकले तत्कालिन अवस्थामा घरनजीक पढ्ने शिशुले पनि नेपालभरिको कुनकुन ठाउँका के राम्रा, के स्वादिला र के असल भनि थाहा पाएको हुन्थ्यो । त्यस्तै आफ्नै वरपर जिल्ला वा देशकै नामुद मान्छे रहेकोमा गर्व र उत्साहसमेत थपिन्छ नि नयाँ पुस्तालाई होइन र ?
अब बनिरहेका पाठ्यपुस्तकमा स्थानीयस्तरका गौरवपूर्ण चिजबिज र व्यक्तित्व उल्लेखित पाठ्यसामग्रीले बालबालिकामा मनग्य ज्ञान बढछ । स्थानीय स्तरमा नभएर माथिल्लो कक्षामा जिल्ला वा प्रदेशको धेरै ठाउँबाट जम्मा भएका विद्यालयमा पढ्न जाँदा कति फाइदा पुग्ला ? अझ विश्वविद्यालयमा अध्ययन गर्दा वा आयआर्जन गर्न सेवामा लाग्दा विविध ठाउँका मान्छेसँग भेट हुँदा स्थानिय कुराको कति साटफेर होला ? यसले अतिरिक्त शुल्क र परिश्रम बिना समस्त नेपाल चिन्न त्यस स्तरको व्यक्तिलाई कति सहज भएको हुन्छ ? के ज्ञानको प्रचारप्रसार गर्नु सरकार र जनप्रतिनिधि भन्नेको कर्तव्य होइन र ? के जनता कम्तीमा समग्र आफ्नो देशको विशेषता थाहा पाउने अधिकार राख्दैनन् र ? पुर्खाबाट सम्प्रेषित ज्ञान र आफ्नो अनुभवको छ दशक पुरा गरेका पाका मान्छे यस पुनित कार्यलाई सम्पादन र पूर्ण गर्न सक्षम उमेर समूह हो । त्यसैले पाका मान्छेलाई सक्दो स्थानीय तहदेखिनै सबै क्रियाकलापमा सहभागी गराउँदै टोल, वडा, क्षेत्र सुसूचित गराऔँ र जिल्ला, प्रदेश हुँदै राष्ट्रलाई नै ज्ञान र विशेषताले समुन्नत बनाऔँ । के यो कार्य जनपक्षीय भन्ने कुनै समूह, दल वा सरकारले नकार्न मिल्छ ?
२. सेवानिवृत्त वा घरकाजका पाका मान्छे साधारणदेखि विविध विधाका ज्ञानका अनुभवी र पारखी हुन् । सामान्य खेति प्रणाली, व्यवसायदेखि भाषाशास्त्र, मानवशास्त्र, समाजशास्त्र र विज्ञानका विविध हाँगाका जानकार हुन्छन् । ज्ञान, अनुभव र ईच्छा अनुकूल उहाँहरूलाई स्थानीय तहदेखि नै सरिक गराउन के ले छेक्ला र ? घरमै बसेर वा सामाजिक सेवामा समय व्यतित गर्ने अवस्थामा रहेका पाका मान्छेलाई सम्मानपूर्वक आफ्नो क्षेत्रको मानवीय र सामाजिक विकासमा आवश्यक्ता महसुस गरी आग्रह गरिए पक्कै अग्रसर हुनुहुन्छ । उहाँहरूले सहर्षताकासाथ दधिची ऋषिले हाड घोटन दिएर तत्कालीन सङ्कट टारेझैँ हाम्रो समाजको उन्नयनमा अकल्पनीय योगदान पुर्याउन सक्नुहुन्छ । हिजोआज रोगव्याधको नियन्त्रण र पोषणयुक्त खानपानका कारण पाका मान्छेलाई त्यो उमेरमा लाग्ने कतिपय रोग नलागेको र लागेपनि उचित औषधोपचारले सक्रिय हुनसक्ने हुनुहुन्छ । यसैले उहाँहरूलाई काममा व्यस्तराखे समाजका लागि अझै काम लाग्ने छु भन्ने हौसला हुनेछ र स्वस्थ्य रहनसमेत मद्दत पुग्नेछ भने समाजले उचित लाभ लिन पनि पाउने छ ।
३. वडा तहमा स्थापना गरिने भनिएको ‘ज्येष्ठ नागरिक मञ्च’ लाई सक्रिय तुल्याउँ, भनिएको वजेट रकम तुरुन्त विनियोजन गर्न लगाई गठन भएका ठाउँमा मञ्चलाई सक्रिय गराऔँ । गठन गर्न बाँकी ठाउँमा वडाकै पहलमा उपयुक्त समय र दिनमा पाका मान्छेको लगतअनुसार उहाँहरूकै सहमतीमा भेला बोलाई सङ्गठित गर्न ढिला नगरौँ । के के काम अघि बढाउने भन्ने मस्यौदा तयार गर्न उहाँहरूलाई नै लगाऔँ । तत्कालीन खाँचो, आवश्यक सल्लाहको क्षेत्र पहिचान गरौँ र पाका मान्छेकै लागि वडा तहमा आवश्यक पर्ने स्वास्थ्य, खेलकुद, मनोरञ्जन, दैनिक सहयोग आदि क्रियाकलापबारे छलफल गरी निर्णय कार्यान्वयन गरौँ ।
पाका मान्छेका लागि सुरक्षित पदमार्ग, उपयुक्त सवारीसाधन, किनमेल केन्द्र, उपचार केन्द्र, जमघट स्थान, सेवा निकाय, आदि त तुरुन्त गरिहाल्न सकिन्छ । अझ विशेष सुविधा, प्राथमिकता र छुटको व्यवस्थागरेमा घरमा टाक्सिएर, रोगाएर र हिँडडुल नगरी अह्राईमात्र रही गनगन गरेर बस्ने पाका मान्छे कैयौँको सङ्ख्यामा बाहिर देखिने छन् । यसबाट पाका मान्छेको भेटघाट बढ्ने छ र सामान्य कुरामा एकआपसको अनुभव आदानप्रदानले उहाँहरूमा जीवन जीउने उर्जा थपिने छ । स्वास्थ्य समस्यामा न्यूनता आउनेछ र समाजका लागि अझै धेरै योगदान पुग्ने छ । हाम्रो परिवार र समाज सुखमय, उत्पादनशील र जागरुक हुनेछ ।
४. स्थानीय निकायहरू पालिका र वडा तहमा गरिने धेरै क्रियाकलापले राष्ट्रिय समस्या हल गर्न र आवश्यक्ता पूर्ति गर्न सघाउने छ । वडाले पाका मानिसको मञ्च बनाउने मात्र होईन आफ्नै परिसरमा मासिक कार्यक्रम पनि सुरुवात गर्न सक्छ । मौसम र हावापानीअनुसार पाका मानिस लक्षित फलदायी कोठे र खुल्ला कार्यक्रम आयोजना गर्न सकिन्छ । विभिन्न पर्व, दिवस र अन्तर्राष्ट्रिय उत्सवमा छलफल, गोष्ठी र प्राज्ञिक क्रियाकलाप पाका मानिसबाट पाका मानिसकै लागि गरे झन उत्पादनशील हुनजान्छ । भइरहेकै स्रोत प्रयोग गरेर श्रव्यदृश्य सामग्री अवलोकन तथा निर्माण गर्न प्रोत्साहनका साथै मनोरञ्जनका लागि अरू देशका पाका मानिस मैत्री कार्यक्रम देखाउन सकिन्छ । देशभित्रकै पाका मानिसका असल काम, उपलब्धी र चिनारी प्रस्तुत गरेर आफ्ना क्षेत्रका पाका मान्छेलाई प्रोत्साहित गर्न सकिन्छ । उहाँहरूलाई त्यस्ता अवसरले आफ्नो मताधिकारको सहि जनप्रतिनिधि छनौट भएकोमा मानसिक शान्ति हुन्छ भने ज्ञानकै दायरा पनि बढ्ने छ ।
५. पाका मान्छेको योग्यता, अनुभव र सिपको आधारमा सुरुमा केबल सस्वर कथावाचन जस्तो गरेर हरेक स्तरका विद्यालयमा एक पाका मान्छेको कक्षा हप्तामा एक दिन सक्नेजति समयको राखिदिए हुन्छ । त्यस्तै धेरै सक्रिय हुनसक्ने सेवानिवृत्तलाई सम्बन्धित विशेष प्रकारका विद्यालयमा आगन्तुक प्राध्यापकको रूपमा कक्षा दिन सकिन्छ । उपल्ला प्राज्ञिक स्तरका पाका मान्छेलाई पालिका वा जिल्लास्तरका कार्यक्रममा समावेश गर्नुपर्छ भने राष्ट्रियस्तरका प्राज्ञ र विज्ञलाई आफ्नो क्षेत्रबाट केन्द्रीय स्तरको काममा खटाउनु पर्छ । यसरी स्थानिय लगत अद्यावधिक गर्दै स्थानीयदेखि राष्ट्रिय स्तरसम्म पाका मान्छेको बलिष्ट सञ्जालले देश निर्माण र उन्नतिको मार्गमा सहयोग पुर्याउने तारतम्य मिलाउन सकिन्छ । सामान्य घरकाजमा गुम्सिन बाध्य र पाउनेले अनुत्पादक निवृृत्तिभरणको दानमा रुमल्लिने पाका मान्छेलाई उत्पादनशील र सक्रियताको जीवन जीउने अवसर प्रदान गर्न अब ढिला भइसक्यो ।
६. पाका मान्छेले काम पाउने भएर बिस्तारै आयआर्जन उन्मुख हुन्छन् । निवृत्तिभरण पाउनेमात्र होइन नपाउने पनि आफ्नो त्यो उमेरमा मान, सम्मानकासाथ ज्ञानको ईज्जत भएकोमा खुसी हुनेछन् । त्यसपछि सरकारले आफ्नो दलको भोट बैँक बनाउन खोजेजस्तो गरेर प्रतिवर्ष के के न गुन लगाएझैँ वृद्धभत्ताको पहेँला अक्षतारूपी पुन्की स्वईच्छाले नलिन अघि सर्ने छन् । काम गर्न थप नसक्ने र अतिआवश्यक पहिचान गरेर वडा तहमा नै त्यस्तालाई बचत रकमबाट योजनावद्ध हिसाबले थप रकम दिन अनुकूल हुनेछ । यसले कमाई नभएका र आर्थिक अवस्था न्यून भएका पाका मान्छे र उहाँहरूको परिवारलाई राहत हुनेछ । केबल वडा तहमा सिर्जनात्मक पहल र अगुवाई गर्ने प्रतिनिधि र कर्मचारी हुनुपर्छ, सबै काम सजिलै पार लाग्छ ।
अन्त्यमा,
अनुत्पादक वृद्धाश्रममा बसेर काल पर्खने पाका मान्छेहरूलाई सक्रिय बनाई समाजका अभिन्न र समादरणीय अङ्ग बनाउने कि निस्क्रिय प्राणी ? घरकाजमै रहे पनि पारिवारिक समस्या र अनमेल परिस्थितिका कारण मानसिक चिन्ताग्रस्त बनाई झगडा र कलहको बिऊको रूपमा अर्घेल्याईँ सहन बाध्य पार्ने कि स्वच्छन्द ज्ञान प्रचारक बनाई हँसमुखी बनाउने ? सक्रियताले थोरबहुत शारीरिक व्यायाम भएर निरोगी र बाँकी जीवन उपयोगी बनाउने कि सँधै एकै थलोमा डल्ल्याई परिवार र समाजको बोझ बनाउने ? ज्ञान र सिपको पुस्तान्तरण गराई समाज र देशको उन्नति र स्तरीय सम्मृद्धितिर लाने कि ‘बूढाबूढी मरे कुरा सर्यो वा सिप ज्ञान हरायो’ भनि सुस्केरा हाल्ने ? आजभन्दा यति सय वर्ष अघिदेखि गरिएको राम्रो काम भनि पछि आउने पुस्ताले सम्झिएर सबल पक्षलाई आउँदो पुस्तामा हस्तान्तरण गर्ने कि एकादेशमा यस्तो हुन्थ्यो रे भनि कथा हाल्ने ? अब वर्तमानका कर्ताधर्ता र पहुँच भएकाले सोच्न परेन र ? के आधुनिक र अग्रगामी भनिएको नेपाली समाजमा त्यत्ति गर्न साँच्चै ढिला भएन र ? अब जहाँ जे सकिन्छ, थालिहालौँ, अबेर भयो तर म्याद गुज्रिसकेको छैन, हामी नेपालीले यत्ति काम गर्न त सक्छौँ है ।
०००
मानिला मान्छेका धामा (२०७९)
Subscribe
Login
0 Comments
Oldest



































