साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जति जोगी आए पनि कानै चिरेका

आखिर जतिजना फेरिए पनि कुरो जेका ते भएछ । न कसैले गतिलो कमण्डलु नै पाएछन् , न गेरुवा कपडा ! अरु स-साना झुप्रामा बस्ने जोगीहरु त हेरेको हेर्‍यै !

Nepal Telecom ad

नपत्याए साँच्चै जस्तो र पत्याए झुटो जस्तो कुरा हो यो । अब सपना कसले कस्तो देख्छ त्यो देख्नेमै भर पर्ने कुरा हो । मैले पनि अनौठो सपना देखेँ । म मरेँछु । आफू मरेको सपना देखियो भने आयु बढ्छ भन्नुहुन्थ्यो बाले ! कतै मेरो आयु पनि बढेर कछुवाको जस्तै हुने त हैन भनेर दङ्ग परेँ ब्युझेपछि । एकछिन त रातीको सपनाले तर्साइदियो पनि । मनोवैज्ञानिकहरू मनमा गुम्सिएर रहेका कुण्ठाहरूलाई वा अतृप्त इच्छा र चाहनालाई मानिसको अवचेतन मनले राखिराखेको हुन्छ र त्यसैलाई सपनामा देखिन्छ भन्ने गर्छन् । अब म बाको कुरा पत्याउँ कि मनोवैज्ञानिकहरूको? बाको कुरा नै सही हो भने त राम्रै भो; धेरै बाँचिने भो;बाँचे देख्न पाइन्छ, भन्ने कथनलाई व्यवहारमा उतार्न पाइने भो । ती मनोवादीहरूको कुरा सही हो भने त खत्तम मात्र हैन महाखत्तम हुने भो; त्रास नै त्रास मनमा भरिने भो; अल्पायुमै मरिने भो !!

थुक्दै चाट्दै गर्न पनि घिन नमान्ने हाम्रा मनप्रतिनिधिहरूले मनपरी गर्न थालेको त बिरालाहरूलाई पनि थाहा छ । भन्दा मात्र जनप्रतिनिधि भएपछि मनप्रतिनिधि भन्नुको विकल्प नै के रह्यो र? हजारौँ मान्छेको सिकार खेलेर पुगेन जस्तो छ । बल्लतल्ल देशले द्वन्द्वबाट पार पायो भनेर ढुक्क हुन लागेको बेला कुन्नि कहिले हो, उनका बाबुको तुम्मा भिर्न पुगेछन् भातमाराहरू ! त्यतिका वर्ष त्यत्रा जनताहरूको रगत चुसेर पनि नपुगेको भिखारीहरूलाई !! आफ्नै देशभित्रको एनसेल हो कि एनस्याल के हो त्यसको कर उठाउन नसक्ने भतुवाहरूले सेतो हात्तीले ङिच्च दाँत देखाउँदैमा एमसिसि भन्ने डलरको थैलो समाउन त लाज पनि लाग्नु पर्ने हो । यी मगन्तेहरूलाई चीनले पनि दिन्छु भनेकै रहेछ आखिर? उसैकहाँ झोली थाप्न जानुपर्ने? यही एमसिसि नामको कमण्डलुले गर्दा आज फेरी देश द्वन्द्वतिर धकेलिन लागेको डरलाग्दो अवस्था छ ।

आफ्नै धुनिखुनी र कुटेखेलो गरेर भैरव बाजेको टाकनटुकन भुँडी टाल्नुपर्ने जनतालाई के थाहा एमसिसि भनेको के हो सिसिएमसि भनेको के हो ? बिचराहरू दश नङ्ग्रा खियाएर दुई छाक खान पनि सक्दैनन् । उता डलरको खेती गर्न पल्केका हाँडीघोप्टेहरू एमसिसिको समर्थन र विरोधमा डुक्रँदै छन् । एकाथरी बौद्धिक स्वाँठहरूको जमातले विरोधमा मोर्चा बनाउने र अर्काथरी बज्रस्वाँठहरूले समर्थनमा अखडा जमाउने गर्दा सन्त्रास थपिँदै छ । देशले विकासको गति लेला; अब त केही होला; आशा गर्यो , जस्ताको तस्तै ! भोट दिने जनतालाई के दोष ! कुन नाममा भोट मागेर कसले के गर्छन् भन्ने सिधासादा जनतालाई थाहा हुने भए पो । ‘जनताको भोटको दुरुपयोग गर्ने बोकाहरूलाई मतदान गरेर के भो ? अब त मतदान हैन मुतदान दिने हो !’ भनेर कराउँदै थियो तल्लारे माइलो ।

अस्ति मात्र त हो, आरुपाटे कान्छो मेरो घर आएको । आरु बेचेर पैसा जम्मा पारी छोरालाई अमेरिका पठाउन सफल भएकाले गाउँलेले उसलाई आरुपाटे नामाकरण गरेका थिए । आफूले पाँच कक्षा पनि पास गर्न सकेन । कुरा भने देश खाएर शेष पल्टेकाले भन्दा कम गर्दैन । अहिलेको यो खिचलोलाई सङ्केत गरेर मसित भनेको थियो – ‘अब नेपालको आयु बढीमा बिस वर्ष हो । त्यसपछि सबै अमेरिकाले लैजान्छ । कहाँ के छ भन्ने सबै आन्द्राभुँडी छामेर बसेको छ । त्यसै के छोडुस् ।‘ उसको यो भनाइ सुनेर हो कि यो गाईजात्रा देखेर हो मैले हिजो राती खतरै सपना देखेँछु क्या बुझ्नु भो ! तिनै मनोवैज्ञानिकहरूले भन्ने गरेको जस्तो ।

पुनर्जन्ममा त हामी विश्वस्त भैसकेका क्यारे ! मेरो पनि कतिऔँ पुनर्जन्म थियो त्यो थाहा भएन, तर धेरै पूर्वजन्मको चाहनाअनुरुप म अमेरिकामा जन्मेको रहेँछु । यस जुनिमा डि भि पनि भरिएन, दाम लगानी गरेर भिसा लिने काम पनि गरिएन । अमेरिका जाने ठूलो इच्छा पनि मारेर बसियो त्यसैले त्यो सपना देखिएको हुनु पर्छ । आजभन्दा झण्डै  तीनसय वर्ष पछिको घटना होला शायद त्यो । त्यहाँ पनि हाम्रो देशमा झैँ लोककथा भन्ने चलन रहेछ । कथा त अङ्ग्रेजी भाषामै भनिएको थियो क्यारे ! तर गुगल भन्दा पनि अझ विकसित उपरगुगलको आविस्कारसमेत भैसकेकाले होला म अमेरिकी भए पनि पुरानो नेपाली भाषामा ट्रान्सलेट गरिहालेँ मैले !!

त्यतिखेर अमेरिका पनि पचास राज्यबाट स्तरोन्नति भई सत्रोटा राज्यमा विकसित भएर एउटा मजबुत देश बनिसकेको थियो ।  अरु देशहरू  टुक्रिँदै गैरहेका थिए भने अमेरिका गाभिँदै गइरहेको थियो । टेक्सार्जिनिय राज्यको आकासे महलको पुछारतलामा बसी चन्द्रमाबाट पृथ्वीमा हेरे झैँ सहरका झिलिमिलि हेर्दै केटाकेटीहरुलाई बटुलेर एक जना बुढाले त्यस्तै फकटेल भन्दै रहेछ — उहिले उहिलेको कुरा हो । एशिया महादेशमा एउटा नेपाल भन्ने देश थियो रे । त्यो देशका वासिन्दा साह्रै गरीब थिए । यतिसम्म कि उनीहरुलाई भिख नमागी खानै पुग्दैनथ्यो । विश्वकै दोस्रो गरीब देशका रुपमा नाम कमाएको थियो । अशान्ति र भाँडभैलो भए पनि देश कायम रहेकोमा त्यहाँका सबै जोगीहरु मख्ख थिए । शितल निवास भन्ने कुटीमा सबभन्दा मानिएको जोगी बस्ने गर्थ्यो । बालुवाटार भन्ने  ठाउँको विशेष कुटीमा  जोगीहरूको कारिन्दा ठुलो जोगी बस्दोरहेछ । त्यहाँका जोगीहरु धेरैजसो हाम्रो देशमा पनि भीख माग्न आउँथे । बेलायत, जापान ,भारत लगायतका थुप्रै मुलुकमा भीख मागेर आफ्ना देशमा बस्ने अन्य जोगीहरुलाई पालनपोषण गर्दारहेछन् । सबै जोगी मरे मेरै तुम्मा भरे भने जस्तै यसरी विदेश विदेश चहारेर मागेको भिख पनि सबैलाई नबाँडी आफै कुम्ल्याउने पनि गर्दारहेछन् ।

बालुवाटारको कुटीमा छिर्नका लागि धेरैको समर्थन चाहिने हुनाले त्यहाँ पुग्नका लागि अनेक आश्वासन बाँड्दा रहेछन् । “ म त्यहाँ गएँ भने  यो भिखारी देशका सबै भीखमङ्गाहरुलाई एकेकओटा कमण्डलु उपलब्ध गराउनेछु । प्रत्येकले  गेरुवावस्त्र निशुल्क पाउनुहुनेछ । लगौंटी त तपाईंहरुले पाउनुभएकै छ, मलाई पठाउनुभयो भने अबदेखि कछाडको व्यवस्था गर्नेछु । अहिलेका स्याउलाले छाएका कुटीहरूमा जस्ता पाताले छाउने व्यवस्था पनि गर्ने छु । भीख माग्न सजिलोहोस् भनेर विश्वका थुप्रै मुलुकको भ्रमण गरी हाम्रो देशबाट जो आए पनि सजिलै भिक्षा उपलब्ध गराउनुहोला भनी वार्ता गर्नेछु ,ढुक्क हुनुहोस् अब तपाईंहरुलाई भीख माग्न गाह्रो पर्नेछैन …. ! साउदी, कतार, कोरिया जस्ता देशका गल्ली गल्लीमा सजिलै झोली भिरेर हिँड्न पाउने व्यवस्था पनि गर्न चुक्ने छैन ।” जस्ता भाषण छाँटेर  बालुवाटारको सजिसजाउ कुटीमा बस्न जाँदारहेछन् । यसरी जाने नियम प-पाँच वर्षमा भए पनि तँछाड मछाड गरेर जाने क्रम सुरु भएछ । हुँदाहुँदा एक वर्षभित्र दुईजनासम्म पनि फेरिन थालेछन् । आखिर जतिजना फेरिए पनि कुरो जेका ते भएछ । न कसैले गतिलो कमण्डलु नै पाएछन् , न गेरुवा कपडा ! अरु स-साना झुप्रामा बस्ने जोगीहरु त हेरेको हेर्‍यै !

यस्तै क्रम चलिरहेका बेला हाम्रो देशमा भिख माग्न आएको बालुवाटारे जोगीप्रति दया लागेर हाम्रा राष्ट्रपतिज्यूले छपन्न अरबब डलरले भरिएको झोली दिने घोषणा गर्नुभएछ । यो कुरा बालुवाटारे जोगीले आफ्नो देशमा गएर कशैलाई पनि भनेनछ । खुसुखुसु आफ्ना नजिककाहरूलाई डलरको सुविधा बाँड्दै गरेको थाहा पाएर अरु सहायक जोगीहरूले हङ्गामा गर्न थालेछन् । अनि त थुप्रै बहुमत ल्याएर कुटीमा जमेको जोगीलाई पनि अरु भारेभुरे जोगीहरू मिलेर हुत्याई मत ल्याउन नसकेको जोगीलाई कुटीमा छिराएछन् । सजिसजाउ कुटीमा जसले जे जे गरे पनि देशका कुना काप्चामा बस्ने फुस्रा जोगीहरूले केही बोल्न सक्दा रहेनछन् । खरानी घसेर एकतारे बजाउँदै भिक्षा माग्नेबाहेक राम्रो शिक्षा लिने काम त्यहाँ हुने गर्दोरहेनछ । अध्ययन अनुस्नधानमा भन्दा चोरी चकारी, हत्या हिंसा, झैझगडा, खुराफात र गाँजा चरेसको सेवनमा नै समय बिताउँदारहेछन्। पशुपतिनाथ भन्ने देउतालाई खुबै मान्ने भएकाले त्यो मन्दिर वरिपरी जोगीहरू लगौटी पनि नलगाई नाङ्गै हिँडेको पनि देखिने गर्थ्यो रे !

यो गएर गर्ला छैन ऊ गएर गर्ला छैन । आफूहरूले आश्वासनमा पाउने गरेको कछाड र कमण्डलुहरू पनि नपाएपछि अरु गाउँ गाउँमा बस्ने निन्याउरा जोगीहरूलाई पनि जङ चल्न थालेछ । नारायणहिटीको जोगीलाई मन्ट्याएर भएन, अब वालुवाटारे फुस्राहरुलाई पनि घोक्रेठ्याक लाउनु पर्‍यो । जति जोगी आए पनि कानै चिरेका ! अब कान नचिरेको जोगी आएछ भने बस्न दिने नत्र नदिने भनेर ठुल्ठुला तुम्मा भिरेका कनफट्टा जोगीहरुका कुटी घेर्न थालेछन् । यसपछि त सारा जोगीको भागाभाग चलेछ । काटाकाट र मारामार चल्न थालेपछि हाम्रो देशका आर्मीलाई पनि सम्हाल्न पठाइएछ तर जुध्न छोडेनछन् । कोही हाम्रो देशमा छिरेछन् , कोही कता कोही कता !!  त्यो देश नै तहसनहस भएर अलपत्र परेछ ।  हेर नानी हो , अहिले नेपाल भन्ने देशको नाम निशाना पनि छैन । अहिले चीनमा पर्छ नि विश्वकै सर्वोच्च शिखर सगरमाथा ? हो, त्यो त्यतिखेर त्यही नेपाल नामकै देशमा पर्थ्यो । कथा सकियो !

भन्नेलाई फुलको माला, सुन्नेलाई सुनको माला ।

बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
नुनको बाङ्गो

नुनको बाङ्गो

काशीनाथ मिश्रित
जो होचो उसका मुखमा घोचो

जो होचो उसका मुखमा...

काशीनाथ मिश्रित
भाइ फुटे गँवार लुटे

भाइ फुटे गँवार लुटे

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x