शेषराज भट्टराईखोरको खुराक
बाटो बिराएर कुबाटो प्रवेश गरेकाहरू पुनः मूल बाटोमा फर्किएर सत्मार्ग समात्छन् । एक्काइसौँ शताब्दीमा सित्तैमा पाइने सरकारी सुविधा, सरकारी खोरको खुराक, खान नसक्ने मान्छे के मान्छे ?
निस्कन चाहेर पनि निस्कन नमिल्ने अरूकै खटन-पटन र बन्धन भएको आवासकक्षलाई खोर भनिन्छ । मनमुटाव हुँदा एकले अर्कालाई पाखुरा सुर्किदै नाकै अगाडि चोर औलो ठड्याउँदै चेतावनी स्वरूप भन्ने गर्छन् ‘खोरमा जाकिने विचार छ कि क्या हो ।’ अलिक ठेगानमा बस !’ एकद्वार प्रणालीद्वारा निर्मित खोरमा मुख्यतः मानवका अतिरिक्त भेडा, बाख्रा, कुखुरा, कुकुर राख्ने घर, खोर, वा बन्दी गृहलाई झ्यालखाना पनि भन्ने चलन छ ।
स्वविवेकले उट्पट्याङ, विठ्याइँ र बिगार गर्न रुचाउने, अराएको नटेर्ने, नमान्ने, नजान्ने, अज्ञानी, अटेरी, अबुज्जकी उपद्रो मच्चाउन अग्रसर हुने दोपाया, चौपायालाई खोरमा थन्क्याउने पुरानै चलन छ । एक्काइसौँ शताब्दीमा विकसित समाज र सभ्यताको परिचय दिने मनशायले सुधार गृह भन्न थालिएको छ । जेल, झ्यालखाना, सुधार गृह, कारागार जे जस्तो नामले पुकारिए पनि आयोजकको अन्तिम लक्ष्य चाहिँ सडेकालाई सपार्नु र बाङ्गीएकालाई सोझ्याउनु हो ।
बालीनाली सखाप पार्ने पशु चौपायालाई खोर अनिवार्य मानिए तापनि दोपाया मानवका हकमा विठ्याइँ, बिगार वा उपद्रो मच्चाए मात्र अनिवार्य भनिन्छ । उदाहरणका लागि वर्तमान गणतन्त्र नेपालको केन्द्रिय सरकारले भरखरै भ्रष्टाचार, कामचोर, ठगाहा, फटाहा, विकास निर्माणको ठेक्का लिने, पैसा रुच्ने काम नरुच्ने ठेकेदारहरूलाई च्याप्प समात्दै निचोर्दै खोरको बास र खुराक नखुवाइ नछोड्ने अडान लिएका छन्, चेतावनी दिएका छन् । विकास गर्छु भन्दै देशको राज्यकोषको दोहन गरेका छन् । भ्रष्टाचारको शृङ्खला र छाल उर्लिन थालेपछि सहन नसकी गृहमन्त्रीबाट यस प्रकारको अडान छताछुल्ल भएर फिजिएको छ । विकास निर्माणको काममा आलटाल गर्ने, राज्यको सम्पत्तिमा रजाइँ गर्ने तर काम चाहिँ पटक्कै नगर्ने परिपाटीको अन्त्य गर्दै ठग फटाहा अल्छी ठेकेदारहरूलाई ससम्मान खोरको खुराक खुवाएरै छोड्छु भनेर कम्मर कसेका छन् । जुन देशमा अत्याधिक विकृति, विसङ्गति, अन्याय, अत्याचार, भ्रष्टाचार हुन्छ त्यस मुलुकका सारा खोरहरू बदमासले खचिखचाउ हुन्छन् । कतिपय द्रव्य पिचासहरू थरथर काम्दै दुला पनि पसेका छन् भने कोही रोलक्रम अनुसार खोरको खुराक पर्खि बसेका छन् ।
हरेक असल जग्गामा धमिरा लागेको हुन्छ । नेपाल आयल निगममा तेल भण्डारण डिपोका लागि विभिन्न ठाउँमा आवश्यक जमिन खरिद प्रकरणमा व्यापक भ्रष्टाचार भयो ।भ्रष्टाचार गर्दा गर्दा देशै रित्याउँदा पनि नथाक्ने परिपक्का, भरपर्दा भ्रष्टाचारीहरू नेपालमा विराजमान छन् । यस सम्बन्धी मुद्दा अदालतमा जीवितै छ । भ्रष्टाचारीसँग सरकार डराउनु पर्ने स्थितिलाई निमिट्यान्न पार्न यो सरकार लागि परेको छ । हेरौँ ढाँटको निम्तो खाइ पत्याउनु भन्छन् भविष्यको पर्दा उग्रिदै जाला ।
नेपालमा भ्रष्टाचार नहुने अड्डा अदालतै छैनन् । स्कुलमा पढाउने शिक्षकले राम्रोसँग नपढाएर बौद्धिक भ्रष्टाचार गरिराखेका हुन्छन् । अस्पतालमा डाक्टरको पगरी गुथेकाहरूले सुते सुस्ताएका बिरामीलाई समयमा सिटामोल नदिएर बिरामीको घाउ झनै बल्झाइ दिन्छन् र नर्सिङ होममै अल्झाइदिन्छन् । यसो भए पछि गाई सधैँ दुहुन पाइयो । अधिकांश सरकारी निकायका कर्मचारीले पद प्रतिष्ठाको दुरूपयोग गर्दै सेवाग्राहीलाई विभिन्न बाहनामा पेल्ने र खेल्ने काम गरेका हुन्छन् । खानेपानी संस्थानका राष्ट्र सेवक कर्मचारीले निजी पानी कम्पनीसँग घाँटीमा घाँटी जोडेर आन्तरिक आर्थिक कारोबार गर्ने भएर नै हाम्रो धारोको घाँटी सुकेको सुकेकै छ । लामो कालखण्डसम्म लोडसेडिङको कहाली लाग्दो कालरात्री बेहोरेका हामी, विद्युत्कै कर्मचारीले धर्म छोड्दा अन्धकार पचाउन बाध्य भयौँ । खाद्यान्नमा अखाद्य तत्त्व मिसावटको शृङ्खला त्यस्तै कहाली लाग्दो छ ।
कानूनको आँखा छलेर लाज बिनाका नक्चराहरू राष्ट्र सेवाको माहुर दुई हातले चाटिराखेकै छन् । दुर्जनलाई खोर र खोरको खुराक रुचे पचे पनि सज्जन इमानदार र इज्जतदारका हकमा खोर, बोर र पीडा दायक भए पनि बाटो बिराउँदा अनिवार्य बन्न पुग्छ । यस्तो धर्म छोडेर बाटो बिराउने ब्वाँसाहरूलाई खोरको खुराक अविलम्ब अनिवार्य भइसकेको छ ।
खोरका रक्षक, संरक्षक, भक्षक वा अधिपति नियामक निकायले जाक्नु वा राख्न अनिवार्य ठानेकालाई जाके पनि अमन चयनले निदाउन पाउँदैनन् । खोरका पशुतुल्य प्राणी खोरका शोभा गहनालाई समय मिलाएर दाना पानीले नौ महिनाले छोएको महिलालाई झै हृष्टपुष्ट बनाउनुपर्छ । कुपोषणले गाँजेर जिब्रो नटोकोस् भन्ने मनशायले बेलैमा खुराक ठेलिराखेका हुन्छन् । चतुर, चलाख, चण्डाल देशका किर्नाहरू भुसुक्कै मरे भने त्यसको बिउ कुन देशमा खोज्न जाने ? त्यसैले अपराधिक बिउ जोगाउन पनि जिउको रक्षा गर्नु पर्छ । खान पिउनबाट बन्चित गराएर अनिकालले अकाल मृत्यु भयो भने खोर र खोरको खुराकमा विश्वासको संकट पर्छ । विश्वासको संकट पर्यो भने खोरमा कुन चोर आउँछ ? उस्तै परे खाली खोर हुन पनि सक्छ । खोरको शोभा बढाउन पनि खोर खाली राख्नु हुँदैन । खुराकसंकट सिर्जना गरेर मार्नु अप्ठ्यारो पार्नुलाई मानवाधिकार पक्षधरले निको मान्दैनन् । आजीवन खोरमा चौखुर्याए पनि यिनको धुकधुकीको जगेर्ना अनिवार्य नै मानिन्छ ।
घरको खुराक र खोरको खुराकमा तात्त्विक भिन्नता हुने हुनाले प्राणीहरू अनिवार्य अवस्थामा मात्र खोरमा छिर्न रुचाउँछन् । खुल्ला हावामा कावा खाँदै बाँचिराखेको मान्छेलाई सीमित हावामा बाँच्नु पर्दा दुर्भाग्यानुभूति हुने नै भयो । आफ्नै पौरख र बहादुरीको कारण प्रतिकूल परिस्थितिमा खोरको खुराक अनिवार्य बन्न पुग्छ । तोकिएको सीमा स्वीकार्दे डल्लिएर बस्नु, बाँच्नु पर्यो भने सज्जनले निधार खुम्च्याउँदै नराम्रोसँग नाक चेप्राउँछन् ।
नियम कानूनको शिरोपर गर्दा खोर पर्दा जायज र स्वभाविक ठान्नेहरू पनि हाम्रो सेरो फेरोमा छन् । अड्डा अदालतले मान्छेलाई अपमानको तल्लो तटिय धरातलमा पछार्नुपर्यो भने दुनामा खुराक खुवाएर थुनामा कोच्ने गर्छन् । यस्ता यावत गतिविधि शिरोपर गर्दै खोरमा शरण पर्नुलाई लाजसमेत खोर पचेको रुचेको भन्न सकिन्छ । अधिकांश चण्डालहरू खोर र खोरको खुराक सम्झिएर दुर दुर भागे पनि छिटपुट शरण पर्ने पनि गरेका छन् । साढे तेत्तिस किलो सुनकाण्डमा भरखरै एक जना प्रहरी अधिकृत सजायको भागिदार बन्न आफै शरण परेको घटना दाजैका दृष्टिमा ताजै छ । टाप कसेर चोर बाटो चम्पट हुँदा अधिक सजायको भागिदार हुनु भन्दा खोरमा गएर रुने, आँशुले अधर धुने, लम्पसार हुने, शरण पर्नु र सुध्रिएर भविष्यमा बिगार विठ्याइँबाट हात धुनु बाङ्गालाई सोझ्याउनु र सज्जन काम लाग्ने मान्छे बनाउनु नै खोर र खोरको खुराकको लक्ष्य र उद्देश्य हो । यसमा खोरको खुराक खाँदै खुम्चिएर, चाउरिएर, दाउरिएर बुर्कुसी मार्ने महामानवको साथ, सहयोग र प्रतिज्ञाको खाँचो पनि उत्तिकै खट्किन्छ ।
देहमा भगवान्ले बास गरेका छन् भने खोर र खोरको खुराकको मुख देख्नै पर्दैन । सास छउन्जेल खोरको वासमा बाँच्नु पर्यो भने दायाँ बायाँ गर्ने आत्मबल निष्क्रिय हुँदै अपमान बोधले जिउँदो सग्लो मान्छे पनि आधा मरिसकेको हुन्छ । अपमानको आभाष नपाउने पशुहरूलाई खोर के खोरको खुराक के भन्ने भयो भने त्यस्ता सज्जनको लजाउने तन्तु निस्कृय भएछ भनेर जाने हुन्छ । खोरको खुराक र बासले बाङ्गिएको मति सोझिएन भने त्यस्ता विराङ्गनालाई पशुको दाँजो र पाँजो अपरिहार्य हुन्छ ।
सज्जन मान्छेको बासस्थान घर हो । यहाँ जो जस्ता तहका मान्छे पनि सहज रूपले बस्छन् । घरको खुराक जो जस्ताले पनि खान्छन् । बाहिरी बास र बाहिरी खुराकले मान्छेको बन्द अक्कल खुल्छ । बाटो बिराएर कुबाटो प्रवेश गरेकाहरू पुनः मूल बाटोमा फर्किएर सत्मार्ग समात्छन् । एक्काइसौँ शताब्दीमा सित्तैमा पाइने सरकारी सुविधा, सरकारी खोरको खुराक, खान नसक्ने मान्छे के मान्छे ? सन्तान दरसन्तानले देखाउन नसकेको बहादुरी, पौरख देखाएर भए पनि खोरको बास र गाँस आफ्नो बसमा पार्न सक्नु नै समय सुहाउँदो जनशक्ति तयार हुनु हो । सरकारी खोर र खुराकको प्राप्ति र पावन कर्ममा साधारण जनता सुरक्षाकर्मी, विभिन्न पावरका पेशा कर्मी, नेताकर्मी, देशभक्त कर्मचारी, ठेकेदार, शिक्षक जो कोही नेपाली नागरिकहरू धर्म छोडेर भए पनि यसतर्फ विकर्षित नभई आकर्षित हुँदा के बिग्रिन्छ ? देश तपाई हाम्रै हो । विचार गर्नुहोस् है ।
फुलबारी, पोखरा
Subscribe
Login
0 Comments
Oldest







































