डा. मुकेशकुमार चालिसेहामी जता भए पनि !
समाज विकास अनुसार जीवन पद्धती फेरिएको पनि छ, यसलाई बिचार गरेर आजका युवाले भविष्यको आफ्नो पाको हुने बेलाको लागि स्थिति राम्रो बनाउन छोड्नु हुन्छ र ?
संसारमा सबै सजीव वा निर्जीव बस्तुको आयु हुन्छ । निर्जीवको पनि एउटा हदम्यादसम्म चमक, सफा, राम्रो र अरु कुराले नबिगार्ने हुन्छ, तर समयक्रममा बिस्तारै तेजोबध हुँदै काम नलाग्ने भएर नष्ट हुन्छ । जीवित सबै प्राणीमा आफ्नै प्रकारको जन्म, हुर्काई, वयस्कता, प्रौढता र मृत्यूलाई नै जीवनचक्र भनी उल्लेख गरिन्छ । जन्मपछि व्यवधान नभए खासखास चरण अनुभव गर्दै जीवन अघि बढ्रछ र जैविक प्रक्रिया गर्न नसक्ने भएपछि मृत्यू भएर टुङ्गिन्छ । उमेर बढ्रदै पाको हुँदैजानु उस्को जीवनभरीको प्रक्रिया हो, मानिसमा पनि यस्तै हुन्छ । त्यसैले ज्येष्ठनागरिकको तत्कालको सारीरिक अवस्था, देखिने न्युन उत्पादन क्षमता वा उमेरजन्य कमजोरी नै विशेषता हो भनि अपमानित हुने किसिमले कुरा उठाउनु त्यति शोभनीय होइन । जीवनका विविध अनुभव, सिप, लामो कालखण्डमा गरेका कामको भण्डार थप मानवजातिको उन्नतिका लागि ठूलो सम्पत्ति हुनसक्छ । त्यतातिर ध्यान दिनु समाजका अरु उमेर समुहको नैतिक जिम्बेवारी हो ।
नेपालको सन २०१९को जनसङ्ख्या आँकडा हेर्दा २५ लाख २१ हजार मानिस ६० वर्ष माथिका महिलापुरुष थिए र त्यो कुल जनसङ्ख्याको ८.७ प्रतिशत रहेको थियो । त्यसैवर्ष गरिएको प्रक्षेपणमा सन २०५० सम्म त्यो उमेरसमुहका ६५ लाख ६८ हजार पुग्नेछन् भने कुल जनसङ्ख्याको १८.६ प्रतिशत हुनेछ । यसमा एकल ज्येष्ठनागरिक करिब ४ प्रतिशत देखिन्छ । यसले देखाउँछ हाम्रो नेपाली समाज दिनदिनै ज्येष्ठनागरिक बहुसङ्ख्यक हुने दिशातिर अघि बढ्दैछ । यस परिप्रेक्ष्यमा जिम्बेवार र सरोकारबालाले अब ज्येष्ठनागरिक मैत्री नियम, कानून तथा सामाजिक बरव्यवहार स्थापित गर्दै जानुपर्ने प्राकृतिक बाध्यकारी अवस्था नै आइसकेको छ । अहिलेका नेपाली ज्येष्ठनागरिकहरूको सारीरिक र आर्थिक स्तर आङ्कलन गर्दा सक्षम, कमसक्षम, अशक्त भनि मोटामोटी वर्गीकरण गर्न सकिन्छ । विभिन्न तरिकाले आफ्नो बौध्दिक स्तरलाई पनि त्यही अवस्थाअनुसार उपयोग गर्न सक्ने, कमसक्ने वा नसक्ने भनि छुट्टयाउन सकिन्छ ।
पाका मानिसहरूका यस्तै लगभग आँकडा भारत, पाकिस्तान, बङ्गलादेश, थाइल्याण्ड, कम्पोचिया, भियतनाम, फिलिपाईन्स लगायत देशहरूमा रहेको छ । विकसित भनिएको बेलायतमा आउँदो २० वर्ष भित्रमा चारमध्ये एक जना अर्थात २५ प्रतिशत मानिस ६५ वर्ष नाघेका हुनेछन् । अझ भौतिक विकास बढि भएको भनिने देशहरूमा औषधि विज्ञानको कारण मानिसहरू मर्न नपाइरहेको अवस्था छ । त्यसैले होला एक्काईसौँ शताव्दीलाई ज्येष्ठनागरिकहरूको युग पनि भन्न थालिएको छ । विकशित मुलुकमा हिजोआज स्वेच्छिक मरणको आवाज आन्दोलनको रुपमा उठिरहेछ । यस्ता कुराहरूबाट प्रष्ट हुन्छ अहिले संसारभर हरेक देशमा ज्येष्ठनागरिकहरूको मुद्दा जटिल बन्दै गइरहेको छ । हामी नेपालको सन्दर्भमा गर्नसकिने केही चर्चातिर लागौँ ।
नेपालमा
विभिन्न सामाजिक आवस्यक्ता भनेर तथा औसधिको विकासले गर्दा औसत स्वास्थ्यको कारणले पनि हिजोआज पाका उमेरका मानिसहरूको सङ्ख्या हरेक वर्ष बढिरहेको देखिन्छ । पहिलाको तुलनामा बालमृत्यू दर निकै कम भएको छ । सरुवा रोगले वयस्कहरू अथवा असाध्य भनिएका रोगले ज्येष्ठनागरिक घटेका छैनन् । सन्तान कम पाउने रहर पछिल्ला दशकहरूबाट चलनकै रुपमा चलिसकेको छ । पिण्डपानी गर्ने छोराको आशामा धेरै छोरी हुर्काउने अथवा बहुविवाह गर्ने संस्कारमा पनि परिवर्तन आएको छ ।
सामान्यतया नेपाली समाजमा पाका उमेरभएका मानिसहरू अझै पनि केहिनकेही आयआर्जन गरिरहेका, उमेरजन्य कारणले गरिरहेको कामबाट अवकाश लिएका भए पनि घरगृहस्थीको काम गर्दैरहेका नै देखिन्छन् । आफ्नो योग्यता र सकृयताको कारण प्रत्यक्ष आयआर्जन गरिरहेका पाका मानिसहरूलाई सक्षम नै भन्नुपर्छ । नियमित काम नगर्ने वा नसक्ने, निवृत्तिभरण पाइरहेका वा बचत रकमबाट अप्रत्यक्षरुपमा भए पनि नियमित आयआर्जन भएकालाई कमसक्षम भन्न हुन्छ कि ? पहिला आफ्नो योग्यता र जाँगरले ज्यानफालेर कामगरी परिवारका लागि कमाइ गरेका, उनीहरूको उन्नति गराउँदैमा वा आफ्नै अव्यवहारिक कृयाकलापले बचत गर्न नसकेका वा अति माया देखाई भएको सम्पति परिवारलाई हस्तान्तरण गरिसकेका सारीरिक रुपले कमजोरहरू नै सायद पाको उमेरमा असक्षम समुहमा पर्छन् होला ? हुन त, यी समुहहरूमा विभाजन गरिँदा पारिवारिक वर्गस्रोत, आर्थिक र बौध्दिक स्तर साथै सामाजिक परिवेशको पनि परिवारपिच्छे ठूलै भूमिका रहन्छ नै ।
पाको मानिसले पनि पछिल्ला कालखण्डमा हामी सबैको लागि काम गर्ने ठाउँ, समुदाय र समाजका गतिविधिमा भागलिएर अर्थपूर्ण र उद्येश्यपूर्ण तबरले योगदान गरिरहेका वा गर्न सक्छन् । मानवको दीर्घ जीवन अर्थतन्त्र, समाज र व्यक्तिगत हामी सबैका लागि ठूलो अवसर हो । एकअर्कालाई सहयोग गर्दै र लिँदै नै हाम्रो समाज अघि बढेको हो र अझै हामीलाई त्यस्तै सहिष्णु समाज चाहिन्छ । मूल्य र मान्यताको गिरावटले गर्दा अहिलेका पाका मानिसले आजका युवाहरू जस्तो र जति मात्रामा उन्नति गरेनन् होला तर गुणमा त हिजो नै अब्बल अझै मानिन्छ त् । मात्रात्मक स्थुलतातिर जानु युक्तिसँगत होइन । समाज विकास अनुसार जीवन पद्धती फेरिएको पनि छ, यसलाई बिचार गरेर आजका युवाले भविष्यको आफ्नो पाको हुने बेलाको लागि स्थिति राम्रो बनाउन छोड्नु हुन्छ र ?
पाको हुँदै गएर ज्येष्ठनागरिकमा दरिन जानु व्यक्तिको लागि स्विकार गर्ने केही कुरा हो भने समाजले अनुकुलन गर्ने संस्कार बन्नु पर्दछ । अहिले हामीमध्ये केहीलाई यो समस्या केही होइन भने अरु कैयौँका लागि राम्रो पार्नुपर्ने आवस्यक्ता नै पर्दछ । सामाजिक भेदभाव, गलत प्रवृत्ति, कमजोर सेवासुविधा, र अनमेल अर्थतन्त्रले गर्दा सबैका लागि सजिलो छैन । सक्नेजति स्वस्थ्य र उद्येश्यपूर्ण पाको जीवन बिताउन धेरैले पाएका छैनन् र पाउँदैनन् । नेपालको परिप्रेक्षमा विपरीत व्यवहार बाबुछोरामा प्रायः हुकाई र सङ्गत अनुसार होला भने सासूबुहारीमा वर्गस्रोत र फरक सामाजिक परिवेशबाट आएकाले पनि होला । फेरि महिला र पुरुष पाका मानिसहरूको हाम्रा घरपरिवारमा अलि फरक व्यवहार पनि भएको देखिन्छ । घरभित्रको काममा संलग्न हुनेहुनाले कामको लोभले पनि पाका महिलाको अझै मौखिक भए पनि ठिकै व्यवहार पाउलान् भने त्यस्ता काममा पुरुषहरू कम सकृय रहने भएर अलि बढी असजिलोमा पर्न सक्छन् । जोडी हुँदा वर्गस्रोत, बोलीव्यवहार र संस्कार मिल्नेहुँदा त मन बुझाउने साथी रहन्छ नै, तर एकल हुँदा र अमेल स्वभाव हुँदा त त्यस उमेरमा झन बिषम परिस्थिति बनेको पनि होला ।
पाका मानिसकालागि गरौँ
पाका मानिसको सामर्थ्र्य र हौसला बढाउनका लागि हामीले विभिन्न उमेर समुहका मानिसहरूमा वास्तविकतामा आधारित व्यवहारिक क्रियाकलाप र वार्तालाप अघि बढाउनु पर्छ । जीवित सबै ठूला प्राणीले आआफ्नै किसिमका आवाज निकालेर अथवा अङ्गबाट आफुलाई लागेको प्रतिक्रिया चौबिसै घण्टा देखाइरहेका हुन्छन् । जीवित सबै मानिसहरूले बिहानदेखि राती नसुतेसम्म देखेका, सुनेका, भोगेका घटना र वातावरणबारे आफ्ना प्रतिक्रिया स्वरुप कुराकानी गरिरहेका हुन्छन् । यिनीहरूमा भाषाको विकास भएको छ । निदाउँदा पनि आफ्ना स्नायु र शरिरभित्र उत्पादित विभिन्न रसायनको कारण सारीरिक प्रतिक्रिया देखाइरहेका हुन्छन् । ती प्रतिक्रियालाई सचेत र जिम्बेवारले गम्भीरतापूर्वक हेर्नु र कार्यान्वयन गरिनु पर्छ ।
दैनिक बोलीमा हेक्का
हामीले गम्भीरतापूर्वक आफूले भनेका कुरामा ध्यान त दिँदैनौ तर आत्मसात नगरिकन पनि पाको (उमेरदार) हुँदैगएको जानकारी दिइरहेका हुन्छौँ । मानिसहरूले प्रयोग गरिरहेका परम्परागत बानीव्यहोरा अथवा पाकोउमेर जनाउने प्रवृत्ति देखिएपछि प्रयोग भएका काँचो भाषाले अरु मानिसहरूमा के नकारात्मक प्रभाव पर्छ भन्ने प्रष्ट्याउनु जरुरी हुन्छ । पाका मानिसप्रतिका परम्परागत धारणा अस्विकार गर्ने कथाहरू र अनुभवहरू प्रचारप्रसार गर्नुपर्छ । त्यसोभए मात्र हरेक पाका मानिसहरू भिन्नभिन्न कारणले फरक र विशिष्ट हुन्छन् भनेर पाका मानिसप्रतिका साझा धारणामा परिवर्तन गर्न सकिन्छ । नभए त बजारउन्मुख उपभोक्तावादी सँस्कृतिले गाँज्न थाल्छ र मानिसहरूमा लाज, सरम, दया, माया, अदब जस्ता मानविय गुण हराउँदै जान थाल्छन् ।
वर्तमानको सामाजिक दृश्य नियाल्दा उमेर, परम्परागत अशल मान्यतामा ह्रास, अन्य ठाउँको प्रभाव, जातिगत चर्को समिश्रणले बनाएको मिश्रित सांस्कृतिक आचरण आदिका कारण किशोरहरू तथा भर्खरका वयश्कहरूमा धेरथोर गलत कुराको प्रभाव परेको पाइन्छ । यसको सामान्य उदाहरण उमेर अनुसार भाषा प्रयोग र शिष्टतामा झल्कन्छ ।
हालका युवा वा बुढ्यौली उमेरसमुह अघिका वयश्कहरूले पाको हुने कुरालाई ‘सबैलाई हुने हो’ अथवा ‘परिपक्व भएको उमेर’ भनि मान्नुपर्छ । पाका मानिसहरूले पनि उमेरजन्य कारणले आउने सारीरिक अवस्था वा रोगजन्य समस्यालाई जीवित प्राणीमा हुने प्राकृतिक चक्र हो भनि आफैँ स्विकार गर्ने हो । शैक्षिक, सामाजिक र लैङ्गिक बिरोधाभाषपूर्ण समाजमा परम्परागत भनाईको पीडासँग प्रतिरोध गर्न धेरै भन्दा धेरै पाका मानिसहरू सकृय हुनुपर्छ । परस्पर मानवीय चेत नराखी व्यक्तिवादमा रमाएका पुस्तालाई उनीहरूले नै बढि प्रयोग गर्ने सामाजिक सञ्जाल र सञ्चारका साधनलाई सकारात्मक सन्देशकासाथ भोगाई प्रष्ट पार्न व्यापकरुपले उपयोगमा प्रोत्साहित गर्न पाका मानिस नै सकृतापूर्वक लाग्नुपर्छ । फरक उमेर समुहका बीचमा पाका मानिसका नीजि अनुभव सामाजिक सञ्जालमार्फत प्रचारित गरिएमा एउटा प्रभावकारी बाटो निर्माण हुनसक्छ । बुँदागत यस्ताकुरा प्रचार गर्दा राम्रो होला कि ?
उमेर, घामपानी र मिहेनतले छाला चाउरीपरेका हुन अर्थात उमेरजन्य परिवर्तन अवश्यंभावी छ, त्यस्तो हुनु स्वभाविक र उमेरजन्य सौन्दर्य हो ।
पाको हुनु आफैंमा गर्वको कुरा हो । काँचो हुनु त्यति राम्रो होइन अर्थात उमेरको गर्व र
उमेर अनुसार सकारात्मक तथा अरुलाई पनि काम लाग्ने बिचार, अनुभव, चित्र र सिनेमाहरू आदानप्रदान गर्ने । पाका मानिसका परिपक्व, कम जोखिमयुक्त र व्यवहार प्रमाणित कुरा हुन्छन् ।
सञ्चारले गर्दा हुन्छ
सञ्चार क्षेत्र पनि परम्परागत धारणाबाट ग्रसित हुनसक्छन् । पाका उमेरदारका कुरा लेख्दा, छाप्दा र प्रचार गर्दा चलिआएका भन्दा बढि सकारात्मक चित्र, समाचार र उदाहरणहरू राखेर आफ्ना कुरा सम्प्रेषण गर्न प्रोत्साहित गर्न सकिन्छ । अन्यत्र नभए सम्पादकलाई चिठी स्तम्भमा सकारात्मक सोचाईका लेख पठाउन आग्रह गर्नु पनि राम्रो र थालनीको सरल उपाय हुनेछ । आफ्नो क्षेत्रका चुनिएका साँसद वा जनप्रतिनिधिलाई पाका मानिसका कुरालाई राजनीतिक बुँदाका रुपमा छलफलमा समावेस गर्न अनुरोध गर्न सकिन्छ । उनीहरू आफ्नो क्षेत्रको भ्रमणमा आउँदा हुने सभासमारोहमा पाका मानिसका विषयमा तत्काल गर्नुपर्ने काम बुँदागत रुपमा उठाउन सकिन्छ ।
अहिलेसम्म सञ्चार क्षेत्रका छापा र बिद्दुतीय माध्यमबाट पाका मानिस बारेमा कमजोर, म्याद गुज्रेका, उमेरले नै खतरामा परेका प्राणीका रुपमा प्रसार भइरहेको छ । व्यापार व्यवशायमा पनि विज्ञापन गर्दा आफ्नो उत्पादनले पाका मानिसमा हुने प्रभावलाई पत्याउनै नसकिने अति सकारात्मक वा अति नकारात्मक भनिएको पाइन्छ । यस्ता कुरामा धेरै पाका मानिसहरू बेखबर पनि हुन्छन् । सामान्यतया पाका मानिसहरूबारे राम्रै कुरा लेखिएको भने पनि शब्दचयन र व्यवहार चाहिँ नकारात्मक, निराशापूर्ण तथा संरक्षण गर्नुपर्ने वर्गको रुपमा दयाभाव देखाई प्रचारमा ल्याइएको देखिन्छ । ती सामग्रीमा पाका मानिस बारेमा सन्तुलित र यथार्थपरक कुराहरूको नितान्त अभाव पाइन्छ । त्यस्ता संस्थाहरूका कामबारे देख्नासाथ भद्रगुनासो गरिहालौँ र सुधार्न मदत गरौँ । पाका मानिसहरूले गरेका उदाहरणीय कामलाई प्रचारको मूलबस्तु बनाएमा सकारात्मक सन्देश जान्छ ।
पाको उमेरबारे तथ्यहरू
परम्परागत व्यवहार र गलत धारणा बिरुध्द तथ्यहरू प्रयोग गर्न बेलायतीहरूको अनुभव तपशीलको छः
१. आउँदो बीस वर्षभित्रै हरेक चारजनामा एक जना मानिस ६५ वर्ष नाघेका हुँदैछन् ।
२. वयश्क उमेरसमुहका मानिसहरू बीच आर्थिक असमानता व्यापक हुन्छ । केही पाका मानिसहरू किशाेर र वयश्क उमेर समुहका भन्दा माथिल्लो श्रेणीका धनी पनि हुन सक्छन् । बेलायतमा पनि करिब दुई करोड ६५ लाख उमेरभन्दा माथिका पाका मानिसहरू निरपेक्ष गरिबीमा नै जीवित छन् भने यस समुहमा एक करोडभन्दा बढी त अति गरिबीमा जीउन बाध्य छन् ।
३. पछिल्लो कालखण्डमा हामी धेरैजसो आत्मनिर्भर जीवन व्यतित गरिरहेका हुन्छौँ । हेरचाह गरिने आश्रममा रहेका पाका मानिसको आँकडा हेर्दा वास्तवमा करिब ९० प्रतिशत ६५ वर्ष नाघेकाहरू मूलप्रवाहमा नै हुन्छौँ, बृद्धाश्रम वा अनाथालयमा होइन सामान्य घरमा नै बस्छन् ।
४. कामदारहरूको आँकडा हेर्ने हो भने एकतिहाई मानिस ५० वर्ष माथिका नै हुन्छन् । यो उमेर समुहका धेरै मानिसले निशुल्क आफ्ना मान्छेलाई हेरचाह गरिरहेका हुन्छन् र अवकासपछि पनि स्वयमसेवक भएर आफ्नो समुदायमा मद्दत गरिरहेका हुन्छन् ।
५. पाका कामदार र मजदुर नै बेलायतको सामाजिक सेवा अक्षुण राख्ने मेरुदण्ड हुन् । सकृय मजदुरहरूमा पचास वर्ष उमेर नाघेका करिब ३ करोड ४० लाख र सत्तरी वर्ष नाघेका त करिब १ लाख ३० हजार छन् ।
६. पाका उमेरसमुहमा अनौपचारिक रुपमा नियमित स्वयमसेवा गरिरहेका त अति सामान्य नै छ । औपचारिक र अनौपचारिक स्वयमसेवा गर्ने उच्चतम उमेरसमुहमा ६५ देखि ७४ वर्ष समुह नै पर्दछ ।
७. जीवनको उत्तरार्धमा नै जीवनको सन्तुष्ठी उच्चतम हुन्छ र पाको हुनुमा ७० वर्ष माथिका मानिसहरूमा अरु उमेरसमुहका मानिसहरूमा भन्दा बढी नै सकारात्मक धारणा पाइन्छ ।
८. पैँसट्ठी वर्षमाथि भएका भन्दा तीनगुना बढि एक्लोपना किसोर उमेरसमुहका (१६ देखि २४ वर्षका) मानिसले अनुभव गरेको भेटिएको छ ।
९. सञ्चार जगतले अन्तर्राष्ट्रिय द्वन्द्वबारेमा जेसुकै भनेतापनि, ८० प्रतिशत मानिस विश्वास गर्छन् कि उमेरदार पाका मानिससँग अनुभवको ढुकुटी छ र उनीहरू समाजलाई सही दिशानिर्देश गर्ने क्षमता राख्दछन् ।
१०. धेरैजसो विज्ञापनहरू चालिस वर्ष मुनिकाको लागि भनिए पनि आधाभन्दा बढी उत्पादन पचास वर्ष माथिकाले नै खपत गरेको पाइन्छ । भ्रमण, पर्यटन, खाना, लुगाफाटो, घरायसी सामान र खाद्यसामग्री आदि कुरामा उनीहरू नै स्तरीय रोजाइले अति खर्च गर्नेमा पर्दछन् ।
यसपल्टको बिसाउनी
ज्येष्ठनागरिकहरूले जुनजुन काम गर्न सक्छन् वा अङ्ग चलाउन सक्छन् त्यसमा गर्व गर्दै सकृय रहने हो । नसक्ने काम वा अङ्ग बारे मैले सकिन वा मेरो चल्दैन भनि ललरी गाउने पाका मानिसहरूको न उमेर बाँकि छ, न रोईलो सुनेर कसैले कठै भन्छन् । बरु, त्यसोगर्दा थप हेपिने वा दुःख पाउने बढि सम्भावना रहन्छ । सारीरिक सक्षमता भए धपेडी नपर्नेगरी निरन्तर काममा लागौँ । समय पनि काटिन्छ, सन्तुष्ठी पनि हुन्छ अनि भनाई पनि व्यहोर्नु नपर्ला । यदि कम सक्षम भए शरीरको जुन भाग तन्दरुस्त वा काम गर्न अझै सक्छ त्यसको भरपुर प्रयोग गरौँ । लेख लेख्न सक्नेले मन्दगतिमा भए पनि जनउपयोगी लेख लेखौँ, शिप हुनेले आफ्नो शिप प्रयोग गरौँ । बसेरमात्र काम गर्न सक्नेले बसिबसी गर्ने काम रोजौँ, हिँड्न सक्नेले हिँडेर गरिने काम रोजौँ । जीउ नचल्ने तर बोल्न सक्नेले अनुभव सुनाऔँ र अरु नभए बालबालिकाहरूलाई आफ्नो सकारात्मक कार्यको कथा सुनाऔँ । तपाइँ हाम्रो जे योग्यता वा शिप वा ज्ञान छ, त्यसलाई नियमित अल्पकालिन भए पनि सकेको अघि बढाउने, निरन्तरता दिने र बहुजन उपयोगतिर लाग्नु नै श्रेयस्कर हुन्छ ।
कम उमेर समुहकाले देखेर तथा सुनेर जान्नुपर्नेमा नभोगी नचेत्ने उरन्ठ्याउलो र काँचो विचार त्याग्नुपर्छ । आफू पनि भोलि पाको हुँदैगएर ज्येष्ठनागरिकको श्रेणीमा पुगिन्छ भनि विवेकपूर्ण हेक्का राख्नुपर्छ । रुप, यौवन, कमाई, बल, तुजुक, घमण्ड, सकृयता, चलखेल आदि जीवनका आधा उमेरमा गर्ने कामकुरा हुन् । सय वर्ष आयु मान्दा करिब आधा जीवन त हामी सबै ज्येष्ठनागरिक हुँदैछौँ भनि बुझ्नु पर्छ । आधा उमेर त आजका युवायुवतीको कपाल फुलेको वा खुइलिएको, छाला चाउरिएको, केहि रोगले समाते वा नसमाते पनि, भने जति खान, हिँड्न र काम गर्न नसक्ने भएर बिताउनु आफैं पर्नेछ । उन्मादहरू केही कालखण्डका पाहुना हुन भनि बेलैमा बुझेर पाका उमेरकाप्रति आवस्यक मान, आदर गरेर उनीहरूका युगिन ज्ञान, अनुभव र भनाइलाई पुस्तान्तरण गर्ने प्रयाश गर्नुपर्दछ । नत्र त त्यस्तो क्षणिक आवेगमा बहकिने युवायुवतीलाई प्रहार गरिएको पाका मानिसकाे एक लोकगीतको झटारो ‘तिम्राजस्तो बैँश हाम्लाई पनि आथ्यो, के बिधि चम्केकी ?’ सुन्नुपर्ला वा लोकोक्तिको एक केस्रा ‘लाटो खान्छ एक बल्ड्याङ्ग, बाठो खान्छ तिन बल्ड्याङ्ग’ आफ्नो उमेर पुगेपछि अड्केला । समयमा नै होस् गरौँ ।
लेखकका यस्तै सामग्री:
१. मेरा अहिलेका साथीहरू, फ्रेसन्युज डट कम अनलाईन, २०२१ नेभेम्बर २७
२. हामीले गर्ने कामहरू, फित्कौली डट कम अनलाईन, २०२१ दिसम्बर २८
३. हामीले किन यस्तो भोग्छौँ ?, फित्कौली डट कम अनलाईन, २०२२ जनुवरी ११
ल.पु. चालिसेडाँडा
Subscribe
Login
0 Comments
Oldest



































