होम सुवेदीआसन ग्रहण
सभापतिले कार्यक्रम सक्न लाग्दालाग्दै माइक अलिकति बिग्रिएकोमा माइक बनाउन एक जना ठिटा पोडियमा आउन खोज्दै थिए यसै विच उनलाई पनि उद्घोषकले आसनग्रहण गराए र आफू बिदा भए । जय होस् आसनग्रहण विधानको ।

दसबिस बटुकहरूको व्रतबन्धमा एकैबाजि भिक हाल्न सजिलो भए पनि यो एकै दिनका अनेकतिर मनाइने र अनेक थरिका कार्यक्रममा हाजिर हुन नसकिने भो । साहित्यमा रस बसेकोले यसो केकेजाति लेखिन्थ्यो पत्रिकाहरूले पनि छापिदिन्थे त्यत्तिकैमा भइएको छ वरिष्ठ साहित्यकार । बरिष्ठ हुनु सजिलो रहेनछ । अझ वरिष्ठ मात्रै भए ता केही थिएन, तर यो वरिष्ठले गर्नुसम्म गरेको छ दसतिरबाट निम्ता आएका छन्छन् । यसले पो पर्यो त खास समस्या । वरिष्ठका लागि कतै विमोचन छन् कतै चर्चापरिचर्चा छन्, कतै समीक्षा छन् । कतै उद्घाटन छन् । यी सबैमा कतै प्रमुख अतिथि, कतै विशेष अतिथि, कतै निणर्ायक कतै के त कतै के । यी सबैको मानभाउ पुर्याउन र निम्ता मान्न जानलाई ता अझ महासमस्या । दिनको एक न एक ठाउँमा कार्यक्रम भएका छन् भएका छन्, कति हो कति । सबैतिरबाट निम्ता आउँछन् । कुनै दिन ता कार्यक्रमहरू पनि एकै समयमा खाप्चे पर्छन् र अझ पर्छ सारो ! कता जानु जानु ! विशेष अतिथि भएपछि अलिकति भासन पनि तुर्क्याउनै पर्यो । यता हाम्रा प्रधानमन्त्रीले भासन गर्नलाई तयार गरेर एउटा गोजीमा राखेको कागत भासन गर्ने बेलामा भुलेर अर्को गोजीतिर रहेको बिजुलीको बिल निकालेर पढ्न थालेका थिए त्यस्तै होला भन्ने त्राहि त्राहि छ ।
निम्ता मान्न नजाऊँ भने पनि साहित्य गरेर ल्याइयो । अघिपछि जे भए पनि यो रिटायर लाइफमा ता व्यस्त हुन पनि अवसर परेको छ । खुसी नै लागेको छ । तर भासनमा हडबडी र गडबडी होला कि भनेर पो परेको छ अप्ठेरो । तै अहिलेसम्म ता उनलाई जस्तो परिगाको छैन र ढुक्कै छु भोलि के होला भोलिको के जान्नु ।
अरुअरु दिन ता एक दुई ओटा मात्रै कार्यक्रम हुन्थे र भ्याइन्थ्यो यसबाजिको यो प्रजातन्त्रको दिन पारेर धेरैतिरबाट कार्यक्रम गरिने भएछन्, हुने पनि भो नि । बल्लबल्ल आएको छ प्रजातन्त्र ! बिहान सात बजे बाग्मतीमा यहाँका सभ्य जनसमुदायले गरेको आच्ची सफा गर्ने कार्यमा जानु छ । अनि त्यहाँको गुहुमुत सोहोर्ने काम सकिसकेपछि (सक्न त के सक्नु यता साफ गर्यो उताबाट आची फाल्छन् उता गर्यो यता फाल्छन्) एक छिनपछि सहिद गेटमा माला खादा चढाउन जाने कार्यक्रम छ । ‘हरिवदनी विमला चन्द्रगिरिधरजी जालान’ को पुरस्कार वितरण कार्यक्रम छ एकेडेमीमा बार बजेदेखि । त्यहाँ ता प्रमुख अतिथि पो ! पुरस्कार ता कसलाई दिने हुन् र कतिको छ थाहा भएन तर बडो भव्य लाग्ने रङ्गीबिरङ्गी कागजमा प्रमुख अतिथिका लाथि निम्तोपत्र छ । अनि राष्ट्रिय सभागृहमा सहिदहरूको सम्झनामा तिनबजेपछि फेरि श्रद्धाञ्जलीका लागि कविगोष्ठी राखेको छ नेपाल बङ्कर दलले । राती सातबजेदेखि ‘मारुनी नाच र झुम्काझल्लरी प्रतिष्ठान’ ले राष्ट्रिय नाचघरमा नाचगानको कार्यक्रम राखेको छ र त्यसको निम्ता छ । धन्न राती सुत्ने बेलामा यिनले कार्यक्रम राखेका छैनन् र सुत्न पाइएको छ । राती पनि कार्यक्रम राखेका भए यो बुढेस कालमा सुत्न पनि दिने थिएनन् । धन्न जवानीको जस्तो राती सुत्नै पर्ने अवस्था अब छैन र मात्र नत्र भए त….. फसादै पर्दो हो । आज जे परोस् परोस् यी सबैका कार्यक्रममा भाग लिने नै विचार गरेको छु र टिफिनमा भात पनि लिएर जाने बिचार गरेको छु कतिखेर मौका पर्छ त्यतिबेला खाने नि । अघिपछि ता घरमै यसो दुई गाँस टिप्ने मौकाचानस मिल्थ्यो यो प्रजातन्त्र दिवसका कार्यक्रमले घरबुढीले पकाएको एक गाँस भात टिप्न पनि नपाइने भो । हामी कविकारहरू त यस्तो छौँ भने झन् प्रजातन्त्रकारहरूलाई कति गारो परेको होला ! आज भने यी सबैले समय मिलाएर नै राखेछन् कार्यक्रम । नत्र खाप्चे पर्थ्र्यो । खाप्चे नपरे पनि आज भने सासै फेर्न पाइएला जस्तो छैन । भासनमा तलबितल पर्नु यस्तै खाप्चे परेर त हो नि ।
बिहानैदेखि कार्यक्रमा धाइफल तोड्न लागियो । यथा समयमा र यथास्थानका कार्यक्रम भ्याउँदै लगियो । निर्धारित समयमा काम नहुनु हाम्रो राष्ट्रिय परिचय भएअनुसार सात बजेका कार्यक्रम आठ बजे, दस बजेको कार्यक्रम बार बजे र तीन बजे राखिएका कार्यक्रम पाँच बजे सुरु हुन्छन् यो सबकोहीलाई थाहा भएकै कुरा हो । कार्यक्रम सकेर भट्टीतिर छिर्न आयोजकलाई हतार पर्ने हुँदा बेलुकीपख राखिएका कार्यक्रमहरूको थालनीमा चाहिँ एकआध घन्टाको समय तलमाथि मात्र हुन्छ ।
सबतिर आसन ग्रहण र उद्घोषकको उद्घोषण पुराण सुनेर आजित हुँदै, लखतरान परेर खान र शौचमा समेत तलबितल परिसक्यो । पहिलो कार्यक्रम सकेर धाइफल तोडेर सहिदगेटमा पुगेको प्रधानमन्त्री आएकै रहेनछन् । घाटे पुरेतले घाट रुँगेझैँ बल्लबल्ल रुँग्दारुँग्दा सवारी भो र भासन गर्नु भो । लौ कविकारज्यू सहिदबारे एउटा कविता सुनाउनु पर्यो भनेर भनेपछि पछि हट्नु पनि भएन र सुनाइयो । कविताको सुरुमै उहिलेदेखिका र अहिले किस्ताबन्दीमा पाँच दस लाखमा किनिएका बेचिएका सबै सहिलाई श्रद्धाञ्जली चढाएर ब्रजनाथ गणका सेनाहरू तैनाथ भएकोले त्यो सभामा कविता सुनाइयो । खडेबाबाहरूले मजाले ताली बजाए । कविता बुझेर ता के बजाउँथे आदेश भएअनुसार बजाएको नि !
यही रीतले दुई घन्टा ढिलो गरी एकेडेमीमा पुगियो ‘हरिवदनी विमला चन्द्रगिरिधरजी जालान’ को पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको पर्खाइमा रहेछन् । मलाई नै पर्खेर बसेकाहरू कोही उँघिरहेका, कोही मोबाइलमा केकेजाति हेरिरहेका, कोही परस्परमा गफमा लीन । म पुग्ने बित्तिकै कार्यक्रम सुरुभो । मूल आसन ग्रहणले आधाघन्टा खायो । सानातिना ता समाप्त हुने बेलामा पनि भइरहन्छन् । हरेक मान्छेलाई उठाउँदै आसनग्रहरण गराइयो । धन्न सभाभवनमा जति कुर्सी थिए त्यति सबैमा मान्छे थिएनन् नत्र सबै कुर्सीमा आसन ग्रहण गरेकालाई उठाउँदै आसन ग्रहण गरिँदो हो त अरु दुई घन्टा लाग्दो हो ।
आसन ग्रहणले हत्तु भइसकियो । सभाहलबाहिरबाट कोही भित्र पस्नै पाउँदैन आसनग्रहण गराइहालिन्छ । राष्ट्रिय गान, सहिद र गिरिधरजी जालानमा माल्यार्पण, स्वागत भासन, स्वागत गान, परिचय कार्यक्रम पुरस्कार विजेताको प्रशस्ति वाचन आदिले अर्को हत्तु भइयो । आसनग्रहण गरेकाहरू फाट्टफुट्ट आसनत्याग गर्न लागेको पनि देखियो । बाठो उद्घोषले बुद्धि पुर्याए— “सबै उपस्थित महानुभावहरूले आफ्ना आफ्ना आसन ग्रहण गरिरहनु होला । भर्खरै खाजा पानीको व्यवस्थासमेत भएकोले सोमा समेत सरिक हुनु हुन अनुरोध छ ।” उनको अनुरोध सुनेर पछिल्लो बेन्चबाट आवाज आयो— “मटन बजीको बेवस्था पनि छ बाज्या ?” त्यस सोधाइको उत्तर उनले नसुनेझैँ गरेर दिएनन् । “आच्या बाज्या कान सुन्डैन कि क्या हो ?” फेरि पनि उक्त आवाज आउँदै थियो । तर यसै बेला सभामा पानी वितरण गर्ने भाइ पसेको र उनलाई आसन ग्रहण गराएकोले खाजा पानीको सन्दर्भ हरायो । तैपनि सभाहलमा कोही बाहिरबाट भित्र पस्यो भने आसन ग्रहण गराइहाल्ने चलनलाई उद्घोषले छाडेका छैनन् ।
एक जना महिला सभाहलमा पसिन् । उनलाई देखेर उद्घोषकले भने— “सभामा भर्खर प्रवेश गर्नु हुने भद्रमहिलालाई आसनग्रहणका लागि अनुरोध छ ।”
“आच्या बाज्या, म कटा आसनगरन गर्छ, ? म टा चिया बाँड्ने पो ट ।” उनले यसो भनेपछि पो उद्घोषक अलिक सतर्क भएको देखियो । बल्लबल्ल पुरस्कार वितरण गरियो, भासन पनि अलिकति चुहाइयो र कसै गरी कार्यक्रमलाई पार लगाइयो । तर सबैतिरका ढिलोले गर्दा बेलुकाको साँस्कृतिक संस्थानको नाचगान हेर्ने अवसर छुट्यो । नाचगानमा के नै पो हुन्छ र ! लामो लामो कपाल पालेका र घँुडा च्यातेका लुगा लगाएकाहरूले झाँक्रीले जस्तो लामो कपाल झट्कार्दै केकेजाति बजाउँछन्, गाउनेको पनि कपाल झट्कार्दै हाब्रो खोलेर आन्द्रो निस्केला जस्तो गरी मञ्चमा धामीले फलाकेझैँ फलाक्छन् । यो सब जानेकै ता हो नि, के जानु होस् त्यो ‘मारुनी नाच र झुम्काझल्लरी प्रतिष्ठान’ गरेको कार्यक्रममा ! यसरी चित्त बुझाइयो । त्यहाँ जान नसकेकोमा खासै पछुतो भएन ।
सभापतिले कार्यक्रम सक्न लाग्दालाग्दै माइक अलिकति बिग्रिएकोमा माइक बनाउन एक जना ठिटा पोडियमा आउन खोज्दै थिए यसै विच उनलाई पनि उद्घोषकले आसनग्रहण गराए र आफू बिदा भए । जय होस् आसनग्रहण विधानको ।
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest








































