साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आसन ग्रहण

सभापतिले कार्यक्रम सक्न लाग्दालाग्दै माइक अलिकति बिग्रिएकोमा माइक बनाउन एक जना ठिटा पोडियमा आउन खोज्दै थिए यसै विच उनलाई पनि उद्घोषकले आसनग्रहण गराए र आफू बिदा भए । जय होस् आसनग्रहण विधानको ।

Nepal Telecom ad

दसबिस बटुकहरूको व्रतबन्धमा एकैबाजि भिक हाल्न सजिलो भए पनि यो एकै दिनका अनेकतिर मनाइने र अनेक थरिका कार्यक्रममा हाजिर हुन नसकिने भो । साहित्यमा रस बसेकोले यसो केकेजाति लेखिन्थ्यो पत्रिकाहरूले पनि छापिदिन्थे त्यत्तिकैमा भइएको छ वरिष्ठ साहित्यकार । बरिष्ठ हुनु सजिलो रहेनछ । अझ वरिष्ठ मात्रै भए ता केही थिएन, तर यो वरिष्ठले गर्नुसम्म गरेको छ दसतिरबाट निम्ता आएका छन्छन् । यसले पो पर्‍यो त खास समस्या । वरिष्ठका लागि कतै विमोचन छन् कतै चर्चापरिचर्चा छन्, कतै समीक्षा छन् । कतै उद्घाटन छन् । यी सबैमा कतै प्रमुख अतिथि, कतै विशेष अतिथि, कतै निणर्ायक कतै के त कतै के । यी सबैको मानभाउ पुर्‍याउन र निम्ता मान्न जानलाई ता अझ महासमस्या । दिनको एक न एक ठाउँमा कार्यक्रम भएका छन् भएका छन्, कति हो कति । सबैतिरबाट निम्ता आउँछन् । कुनै दिन ता कार्यक्रमहरू पनि एकै समयमा खाप्चे पर्छन् र अझ पर्छ सारो ! कता जानु जानु ! विशेष अतिथि भएपछि अलिकति भासन पनि तुर्क्याउनै पर्‍यो । यता हाम्रा प्रधानमन्त्रीले भासन गर्नलाई तयार गरेर एउटा गोजीमा राखेको कागत भासन गर्ने बेलामा भुलेर अर्को गोजीतिर रहेको बिजुलीको बिल निकालेर पढ्न थालेका थिए त्यस्तै होला भन्ने त्राहि त्राहि छ ।

निम्ता मान्न नजाऊँ भने पनि साहित्य गरेर ल्याइयो । अघिपछि जे भए पनि यो रिटायर लाइफमा ता व्यस्त हुन पनि अवसर परेको छ । खुसी नै लागेको छ । तर भासनमा हडबडी र गडबडी होला कि भनेर पो परेको छ अप्ठेरो । तै अहिलेसम्म ता उनलाई जस्तो परिगाको छैन र ढुक्कै छु भोलि के होला भोलिको के जान्नु ।

अरुअरु दिन ता एक दुई ओटा मात्रै कार्यक्रम हुन्थे र भ्याइन्थ्यो यसबाजिको यो प्रजातन्त्रको दिन पारेर धेरैतिरबाट कार्यक्रम गरिने भएछन्, हुने पनि भो नि । बल्लबल्ल आएको छ प्रजातन्त्र ! बिहान सात बजे बाग्मतीमा यहाँका सभ्य जनसमुदायले गरेको आच्ची सफा गर्ने कार्यमा जानु छ । अनि त्यहाँको गुहुमुत सोहोर्ने काम सकिसकेपछि (सक्न त के सक्नु यता साफ गर्‍यो उताबाट आची फाल्छन् उता गर्‍यो यता फाल्छन्) एक छिनपछि सहिद गेटमा माला खादा चढाउन जाने कार्यक्रम छ । ‘हरिवदनी विमला चन्द्रगिरिधरजी जालान’ को पुरस्कार वितरण कार्यक्रम छ एकेडेमीमा बार बजेदेखि । त्यहाँ ता प्रमुख अतिथि पो ! पुरस्कार ता कसलाई दिने हुन् र कतिको छ थाहा भएन तर बडो भव्य लाग्ने रङ्गीबिरङ्गी कागजमा प्रमुख अतिथिका लाथि निम्तोपत्र छ । अनि राष्ट्रिय सभागृहमा सहिदहरूको सम्झनामा तिनबजेपछि फेरि श्रद्धाञ्जलीका लागि कविगोष्ठी राखेको छ नेपाल बङ्कर दलले । राती सातबजेदेखि ‘मारुनी नाच र झुम्काझल्लरी प्रतिष्ठान’ ले राष्ट्रिय नाचघरमा नाचगानको कार्यक्रम राखेको छ र त्यसको निम्ता छ । धन्न राती सुत्ने बेलामा यिनले कार्यक्रम राखेका छैनन् र सुत्न पाइएको छ । राती पनि कार्यक्रम राखेका भए यो बुढेस कालमा सुत्न पनि दिने थिएनन् । धन्न जवानीको जस्तो राती सुत्नै पर्ने अवस्था अब छैन र मात्र नत्र भए त….. फसादै पर्दो हो । आज जे परोस् परोस् यी सबैका कार्यक्रममा भाग लिने नै विचार गरेको छु र टिफिनमा भात पनि लिएर जाने बिचार गरेको छु कतिखेर मौका पर्छ त्यतिबेला खाने नि । अघिपछि ता घरमै यसो दुई गाँस टिप्ने मौकाचानस मिल्थ्यो यो प्रजातन्त्र दिवसका कार्यक्रमले घरबुढीले पकाएको एक गाँस भात टिप्न पनि नपाइने भो । हामी कविकारहरू त यस्तो छौँ भने झन् प्रजातन्त्रकारहरूलाई कति गारो परेको होला ! आज भने यी सबैले समय मिलाएर नै राखेछन् कार्यक्रम । नत्र खाप्चे पर्थ्र्यो । खाप्चे नपरे पनि आज भने सासै फेर्न पाइएला जस्तो छैन । भासनमा तलबितल पर्नु यस्तै खाप्चे परेर त हो नि ।

बिहानैदेखि कार्यक्रमा धाइफल तोड्न लागियो । यथा समयमा र यथास्थानका कार्यक्रम भ्याउँदै लगियो । निर्धारित समयमा काम नहुनु हाम्रो राष्ट्रिय परिचय भएअनुसार सात बजेका कार्यक्रम आठ बजे, दस बजेको कार्यक्रम बार बजे र तीन बजे राखिएका कार्यक्रम पाँच बजे सुरु हुन्छन् यो सबकोहीलाई थाहा भएकै कुरा हो । कार्यक्रम सकेर भट्टीतिर छिर्न आयोजकलाई हतार पर्ने हुँदा बेलुकीपख राखिएका कार्यक्रमहरूको थालनीमा चाहिँ एकआध घन्टाको समय तलमाथि मात्र हुन्छ ।

सबतिर आसन ग्रहण र उद्घोषकको उद्घोषण पुराण सुनेर आजित हुँदै, लखतरान परेर खान र शौचमा समेत तलबितल परिसक्यो । पहिलो कार्यक्रम सकेर धाइफल तोडेर सहिदगेटमा पुगेको प्रधानमन्त्री आएकै रहेनछन् । घाटे पुरेतले घाट रुँगेझैँ बल्लबल्ल रुँग्दारुँग्दा सवारी भो र भासन गर्नु भो । लौ कविकारज्यू सहिदबारे एउटा कविता सुनाउनु पर्‍यो भनेर भनेपछि पछि हट्नु पनि भएन र सुनाइयो । कविताको सुरुमै उहिलेदेखिका र अहिले किस्ताबन्दीमा पाँच दस लाखमा किनिएका बेचिएका सबै सहिलाई श्रद्धाञ्जली चढाएर ब्रजनाथ गणका सेनाहरू तैनाथ भएकोले त्यो सभामा कविता सुनाइयो । खडेबाबाहरूले मजाले ताली बजाए । कविता बुझेर ता के बजाउँथे आदेश भएअनुसार बजाएको नि !

यही रीतले दुई घन्टा ढिलो गरी एकेडेमीमा पुगियो ‘हरिवदनी विमला चन्द्रगिरिधरजी जालान’ को पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको पर्खाइमा रहेछन् । मलाई नै पर्खेर बसेकाहरू कोही उँघिरहेका, कोही मोबाइलमा केकेजाति हेरिरहेका, कोही परस्परमा गफमा लीन । म पुग्ने बित्तिकै कार्यक्रम सुरुभो । मूल आसन ग्रहणले आधाघन्टा खायो । सानातिना ता समाप्त हुने बेलामा पनि भइरहन्छन् । हरेक मान्छेलाई उठाउँदै आसनग्रहरण गराइयो । धन्न सभाभवनमा जति कुर्सी थिए त्यति सबैमा मान्छे थिएनन् नत्र सबै कुर्सीमा आसन ग्रहण गरेकालाई उठाउँदै आसन ग्रहण गरिँदो हो त अरु दुई घन्टा लाग्दो हो ।

आसन ग्रहणले हत्तु भइसकियो । सभाहलबाहिरबाट कोही भित्र पस्नै पाउँदैन आसनग्रहण गराइहालिन्छ । राष्ट्रिय गान, सहिद र गिरिधरजी जालानमा माल्यार्पण, स्वागत भासन, स्वागत गान, परिचय कार्यक्रम पुरस्कार विजेताको प्रशस्ति वाचन आदिले अर्को हत्तु भइयो । आसनग्रहण गरेकाहरू फाट्टफुट्ट आसनत्याग गर्न लागेको पनि देखियो । बाठो उद्घोषले बुद्धि पुर्‍याए— “सबै उपस्थित महानुभावहरूले आफ्ना आफ्ना आसन ग्रहण गरिरहनु होला । भर्खरै खाजा पानीको व्यवस्थासमेत भएकोले सोमा समेत सरिक हुनु हुन अनुरोध छ ।” उनको अनुरोध सुनेर पछिल्लो बेन्चबाट आवाज आयो— “मटन बजीको बेवस्था पनि छ बाज्या ?” त्यस सोधाइको उत्तर उनले नसुनेझैँ गरेर दिएनन् । “आच्या बाज्या कान सुन्डैन कि क्या हो ?” फेरि पनि उक्त आवाज आउँदै थियो । तर यसै बेला सभामा पानी वितरण गर्ने भाइ पसेको र उनलाई आसन ग्रहण गराएकोले खाजा पानीको सन्दर्भ हरायो । तैपनि सभाहलमा कोही बाहिरबाट भित्र पस्यो भने आसन ग्रहण गराइहाल्ने चलनलाई उद्घोषले छाडेका छैनन् ।

एक जना महिला सभाहलमा पसिन् । उनलाई देखेर उद्घोषकले भने— “सभामा भर्खर प्रवेश गर्नु हुने भद्रमहिलालाई आसनग्रहणका लागि अनुरोध छ ।”

“आच्या बाज्या, म कटा आसनगरन गर्छ, ? म टा चिया बाँड्ने पो ट ।” उनले यसो भनेपछि पो उद्घोषक अलिक सतर्क भएको देखियो । बल्लबल्ल पुरस्कार वितरण गरियो, भासन पनि अलिकति चुहाइयो र कसै गरी कार्यक्रमलाई पार लगाइयो । तर सबैतिरका ढिलोले गर्दा बेलुकाको साँस्कृतिक संस्थानको नाचगान हेर्ने अवसर छुट्यो । नाचगानमा के नै पो हुन्छ र ! लामो लामो कपाल पालेका र घँुडा च्यातेका लुगा लगाएकाहरूले झाँक्रीले जस्तो लामो कपाल झट्कार्दै केकेजाति बजाउँछन्, गाउनेको पनि कपाल झट्कार्दै हाब्रो खोलेर आन्द्रो निस्केला जस्तो गरी मञ्चमा धामीले फलाकेझैँ फलाक्छन् । यो सब जानेकै ता हो नि, के जानु होस् त्यो ‘मारुनी नाच र झुम्काझल्लरी प्रतिष्ठान’ गरेको कार्यक्रममा ! यसरी चित्त बुझाइयो । त्यहाँ जान नसकेकोमा खासै पछुतो भएन ।

सभापतिले कार्यक्रम सक्न लाग्दालाग्दै माइक अलिकति बिग्रिएकोमा माइक बनाउन एक जना ठिटा पोडियमा आउन खोज्दै थिए यसै विच उनलाई पनि उद्घोषकले आसनग्रहण गराए र आफू बिदा भए । जय होस् आसनग्रहण विधानको ।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x