नन्दलाल आचार्यबलात्कारी राजनीति
उसले जवाफमा भनेको थियो; ’म बाँच्नका लागि खान्छु तर तँ खानका लागि बाँच्छस् । म आफ्नो जाति उकास्न राजनीति गर्छु । तँ आफ्नो अस्तित्व बलात्कार गर्न राजनीति गर्छस् ।

’दाजु हैनस् तँ । मेरो भाइ होस् भाइ । त्यो पनि झड्केलो भाइ । बिग्रेको भाइ । म भने सप्रन नसकेको दाजु परेँ ।’
कपिले छाती ठूलो बनाउँदै भनेको कुराले मेरो अन्तस्करणलाई नराम्ररी घोच्यो । म रन्थनिएँ । एक टक लगाएर हेरेँ । स्वरूपमा म र ऊ उस्ताउस्तै थियौँ ।
उसको पछाडि दृश्य पुच्छर झुन्डिएको थियो । मेरो पछाडि अदृश्य बेमानी लत्रेको थियो । म गाँस, बास र कपासको लागि जीवनभर नै मरिमेट्थेँ । ऊ भने वर्तमान नै खान्थ्यो । आफ्नै शरीरको भुत्ले छाला लाउँथ्यो । त्यही ओड्थ्यो र ओछ्याउँथ्यो । रुखका हाँगाहाँगामा सुत्थ्यो ।
ऊ पनि प्रेम गर्थ्यो । ऊ पनि सहयोग गर्थ्यो । ऊ पनि विद्रोह गर्थ्यो । उसको हरेक काम गराइमा शिष्टता थियो । मेरा हरकार्यकलापमा अशिष्टता दर्सिन्थ्यो । म आफूलाई सर्वश्रेष्ठ ठान्थेँ । अरूलाई झिनामसिना र सर्वनिकृष्ट मान्थेँ ।
’भाइ, तँलाई बुद्धिले खायो । मलाई कुबुद्धिले वनवासमै राख्यो । तँ मलाई गन्दैनस् तर म भने तँलाई मान्दछु ।’ ऊ बोल्दै जान्थ्यो । म सुन्दै जान्थेँ । दोहोरो बोलूँ भने म आफ्नै इज्जत सडकमा छरिएला भन्ठान्थेँ ।
’म तेरो बुद्धि मलाई सर्ला कि भनी कोरोनाबाट भन्दा बढता सजग हुन्छु । तँ पनि मेरो बुद्धि तँमा आउला कि भनी हर्दम सचेत हुन्छस् ।’ ऊ सत्य बक्तै गर्थ्यो । म नसुनेझैँ गर्थेँ तर कान अझ चनाखो पारेर सुनिरहन्थेँ ।
’उसो भए तँजस्तै म किन प्राकृतिक बन्न सकिनँ ?’ यस पटक अनायासै मैले मुख खोलेँछु । उसले दिएको जवाफले मेरो मुखमा ताला लागेको अझै खुल्न सकेको छैन ।
उसले जवाफमा भनेको थियो; ’म बाँच्नका लागि खान्छु तर तँ खानका लागि बाँच्छस् । म आफ्नो जाति उकास्न राजनीति गर्छु । तँ आफ्नो अस्तित्व बलात्कार गर्न राजनीति गर्छस् । त्यसैले तँ अप्राकृतिक होस् । म प्राकृतिक हुँ ।’
२०७८।९।२८
सिद्धार्थटोल, उदयपुर
Subscribe
Login
0 Comments
Oldest








































