सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विकृतिको फोटो र तुलहरू

विचरा क्रियापुत्रीहरूको बिजोग देखियो । एक डफ्फा आउँछ उठाउँछ, अर्को आएर त्यसै गर्छ । तिनलाई मानमनितो, खान्तेपिन्ते ।

Nepal Telecom ad

मेरा एक जना अति नै घनिष्ट मित्र (जो दिवङ्गत भइसक्नुभो) ले मलाईं थाहै नदिई “लौ बस्नु बाइकको पछाडि” भनेर मलाई लिएर कतै जानुभो । गन्तव्य कता थियो मलाई केही थाहा थिएन । तर उहाँले भनेपछि नमान्ने मैले कुरै आएन । खुरुखुरु उहाँको बाइकको पछि बसेर उहाँले जता लानु हुन्छ त्यतै गएँ ।

आधा घन्टाको यात्रापछि म पुर्‍याइएँ एक यस्ता घरमा जहाँ ठुलो भिडभाड थियो । ओहो म ता कुनै राजनीतिक चुनावको प्रसारमा कुनै नेताको घरमा पो आएँछु कि ? अथवा कसैलाई सम्मान गरिने कार्यक्रममा पो आएँ कि ? या कुनै साप्ताहिक पुराण लागेको ठाउँमा पो आएँ कि ? मैले त्यहाँको दृश्य देखेपछि परैबाट परिकल्पना गरेँ । अहँ पुरान ता हैन, दिदी बहिनीहरू नाच्नु भाको छैन, नाचगान नै छैन, भजन कीर्तन नै छैन, माइक बजेकै छैन, टोल थर्काउने गरी, सारा भुराभुरीका कानको जाली फुटाउने गरी माइक बजेकै छैन । बुढापाकाको निद्रा हराम गर्ने गरी माइक घन्काएकै छैन । पुरानमा बज्नु पर्ने बाजाहरू बजेका छैनन् । भनेपछि यो पुरान हैन भन्नेमा म स्पष्ट भएँ तथापि राम्रै गरी एक जना पुराणवाचकले पुरान भनिरहनु भएको छ खाटमाथि ओछ्याइएको राडीमा बसेर । यो कस्तो पुरान होला मलाई निकै खुल्दुली भयो । केही स्रोताहरू सुनिरहेका छन् । एकदुई जना देखावटीकै लागि भए पनि ध्यानमग्न जस्ता देखिन्छन् । केही भने पर्सादी लिनमा लागिरहेका छन् । यसै बिचमा घरभित्रबाट स्रोताहरूलाई फलफूल, सर्वत, चिसो पेय र चियाहरूको बन्दोबस्ती पनि भइरहेको छ । स्रोता टनाटन छन् । अचानक मेरा आँखा सिकुवामा राडी ओछ्याएर बसेका सेता लुगा लगाएका दुई जना लोग्ने मान्छेमा परे । यिनलाई देखेपछि थाहा भो यो ता कुनै मरुमराउ भएको घर पो रहेछ । साथीले पनि थाहा नदिएर मलाई केही बेर दुविधामा पारे भनेर मनमनमा अलिक रिस पनि उठ्यो । यहाँ उपस्थित महानुभावहरू ता यस परिवारका लागि समवेदना अर्पण गर्न पो आएका रहेछन् । यो थाहा भएपछि र समवेदना दिन आएको ठाउँ हो भन्ने बुझेपछि केको रिस भनेर म मथ्थर भएँ । अनि पो मेरा आँखा घुमे वरिपरिको वातावरणमा ।

उपस्थित सबै मृतकको नाममा समवेदनाका लागि उपस्थित भएका हुन् भन्नेमा अब सन्देह रहेन । म आफू बडो लुम्सो लुम्रो जस्तो भए पनि बाँकी समवेदनाको कार्यक्रममा उपस्थितहरू निकै तामझामका साथ आएका रहेछन् । मगमग अत्तरको बासना आइरहेको थियो भिडबाट । पुरुषहरू परस्परमा केकेके कानेखुसीको शब्दहरूमा गफगाफमा देखिन्थे सायद पार्टीको चुनावको, देशमा भएको भ्रष्टाचारीको, जम्बो मन्त्री मण्डलको, देशको राजनीति आदिको आकलन हुनु पर्ने हो उनीहरूको गफगाफमा । कोही गलललल हाँस्तै गरेका पनि देखिन्थे, कोही भने शौचालय कता छ भनेर शौच कर्मका लागि सोधपुछ गरिरहेका थिए । उता समवेदनाका लागि उपस्थित हुनु भएका महिला मण्डलीले फेसनको महत्व रामरी बुझेको देखिन्थ्यो । वस्त्रको सानोतिनो प्रदर्शनी नै भनेजस्तो देखिन्थ्यो । त्यति धेरै ता हैन दुई जना नानीहरू भने यो तिघ्रासम्म अगाडितिर धुजैधुजा पारेर च्यातिएका आजभोलिको फेसनमा चलेका प्यान्ट लाएका पनि देखिनु भो । यो प्यान्ट पछाडितिर पनि त्यसरी नै च्यातिएको थियो कि अगाडि मात्र हो हेर्न चाहेर पनि मैले सकिनँ । त्यत्रो सभ्य समाभा हेरिहाल्न अलिक मिलेन पनि । पुरानको सन्दर्भ ता बल्ल पो थाहा भो गरुड पुराण पो रहेछ ।

यसै बिचमा मेरा आँखा घुमे घरका भित्तातिर । त्यहाँ ता नानाथरीका रङ्गी बिरङ्गी महँगा महँगा शैलीका समवेदनाहरू ब्यानरमा, तुलमा, महँगा फ्रेममा सजाइएर झुन्ड्याएका छन् । मलाई ता रत्नपार्कनिरका अग्ला अग्ला होर्डिङ्बोर्डहरूको सम्झना भयो । मृतकका भव्य र ठुलाठुला रङ्गिन चित्रहरू सुसज्जित छन् । चित्रसँग कतै उच्च कविता लेखिएका छन् कतै उच्च प्रशस्तिहरू पनि छन् । फेरि मलाई राजधानीतिरको चुनाबी प्रचार प्रसारमा गरिने चलहपलक जस्तो भान भो । समवेदना जनाउन तयार राखिएको समवेदनाको पुस्तिकामा नाम लेख्न र सही गर्न उपस्थित समवेदनादाताहरूको घम्साघम्सी पर्ला जस्तो देखियो । तै अलिक धैर्य लिए, सबैले आखिर समवेदना न पेस गर्न आएका थिए । लडाइँ नै परिहाल्ला जस्तो बुझिएन । हो गर्मीको समय भएको कारणले पानी, सर्वत, चिसो पेय, फलफूलहरूमा भने भनेसम्मको बन्दोबस्ती भएर पनि अलिकति हारालुछ परेजस्तो भो । तर त्यसमा पनि निकै समझदारी देखियो । आखिर समवेदना प्रकट गर्न न आएका थिए यी अतिथिहरू । सभामा धेरैका मोबाइलहरू बजिरहे । केही साथीहरू त्यही बिचमा पनि नेट चलाएर च्याटिङ धन्दामा व्यस्त देखिन्थे । सभाको फोटो लिने समवेदनाको क्षेत्रका पत्रकाहरू पनि मनग्गे थिए जस्तो देखियो । म भने विहङ्गावलोकन गरिरहेको थिएँ ।

केही छिनपछि पण्डितजीले गरुड पुराण सकेर यता समवेदनाको पुराण वाचन गर्ने अवसर दिनु भाको हुँदा तयार परियो । टिमलिडरले सबैको ध्यानाकर्षण गर्नु भए तापनि मोबाइहरू भने ध्यानाकर्षणमा परेनछन् । यो कुनातिर कसैको गोजीबाट मोबाइल बज्छ, उ कुनाबाट बज्छ । तैपनि यस्तै बिचमा हाम्रो टिमलिडरले समवेदना पढ्न थाल्नुभो । मैले समवेदनाको भाका सुनेँ र समवेदनाको मूल्यवान् चाँदीको फ्रेम लगाएर ल्याइएको समवेदनाको डिजाइन पनि हेरेँ । ओहो, बडो कलात्मक, सजिसजाउ गरिएका, कसैको भन्दा कम नलाग्ने, भित्रको पेट बोली पनि उस्तै आकर्षक, बडो गम्भीर शब्दहरूले भरिएको माथितिर मृतकको सुन्दर र सानदार चित्रले सजाइएको । टलललल टल्केको र अति नै आकर्षक रहेछ । आहा क्याबात छ हाम्रो समवेदनापत्र । कसको भन्दा कम छ र !

उहाँले आफ्नो कर्मकाण्डीय परम्परालाई बडो सजिलै सक्नु भो । समवेदनाको प्रवचनमा राम्रो वक्ता हुनुहुँदो रहेछ भन्ने भान भो । पत्रम् पुष्पम् धुपम् दीपम् पनि सक्नु भो र ल्याइएको भव्य समवेदनाको रजतपत्र लगेर सबैको भन्दा माथितिर झुन्डाउनु भो र यो कार्य सक्नुभो । कुनै मन्त्रीले भव्य समारोहमा ठुलो व्यानर उघारेर कार्यक्रममो शुभारम्भ गरेको बेला जसरी फोटो पत्रकारहरू फोटो खिच्न तँछाड् मछाड् गर्छन् यहाँ पनि यो प्रमाणपत्र माथि भित्तामा टाँस्ता त्यही झलक भो । सो कार्यक्रम सकेर अलि ओर आएर यसो हेर्नु भो त्यसलाई । सायद अरूको भन्दा गतिलो भो भएन भनेर चेक गर्नु भा होला भन्ने मलाई लाग्यो । अनि मौनधारणका लागि सिङ्गो सभालाई ह्वीप जारी गर्नु भो । मौनधारण सुरु भो । तर मोबाइल भने मौन रहने हैनन् । यसै बिच पनि निकै ओटा मोबाइलले मौनधारण गरेनन् । खासखुसको भाषामा मौनअवधिपछि सुनियो यो सत्रौँ पटकको मौन धारण रहेछ आजको । सुुरुदेखिकै र अन्तसम्मको हो भने तिनसय पैँसठ्ठी भन्दा माथि मौनधारणको कार्यक्रम जाने रहेछ भन्ने बोध भो मलाई । विचरा क्रियापुत्रीहरूको बिजोग देखियो । एक डफ्फा आउँछ उठाउँछ, अर्को आएर त्यसै गर्छ । तिनलाई मानमनितो, खान्तेपिन्ते । आसनग्रहण आदिले हैरानी भएको देखेँ मैले । हाम्रो डफ्फाले पनि त्यही गरेको छ । मलाई भने बिचराहरूलाई यसरी बारबार उठाउनु भनेको सजाय दिएजस्तो भान भइरह्यो । भर्खर विकास भएको परम्परा यस्तै छ । खैर जेसुकै होस् । म मात्र यसबाट अपवाद कसरी हुन सकुँला र ? मर्ने ता मरिगो जीवितलाई यो सास्ती दिनु भनेको दण्डका माथि अझ दण्ड दिनु जस्तो लाग्यो मलाई । तैपनि म चूपचाप रहेँ ।

यसै बिच क्रियापुत्री पनि उठेर प्रत्युत्तरका रुपमा भाषण दिन थाल्नु भो । उहाँलाई यसो गर्नु बाध्यता रहेछ । धन्यवादज्ञापन गर्नु भो र अन्तमा पिताजीको शुद्धीशान्तिमा प्रसाद ग्रहणका लागि सबैलाई निम्ता दिनु भो । अन्तमा उहाँले हाम्रो त्यो सभामा बडो मार्मिक कुरा राख्नु भो— “हजुरहरूले टक्र्याउनु भएका यी ब्यानरहरू हामीले के गर्नु हो ? घरैभरि टाँगेर सधैँ राख्ने कि यिनलाई के गर्ने चलन छ हामीलाई सुझाब दिनु भए हुने थियो ।” क्रियापुत्रीले नम्रताका साथ सोधेका कुरामा कसैले पनि सटिक उत्तर दिएको देखिएन । अनि पो बाहिर भित्तामा टाँग्न नअटाएका समवेदनाका प्रमाणपत्रहरू घरभित्र बोरामा खाँदेर राखिएको कुरा पनि उहाँले सुनाउनु भो ।

यसै बिच सभाका एक जनाले अलिक अप्रिय लाग्ने बचन बोलेको सबैले सुने । उहाँ एक्लै भन्दै हुनुहुन्थ्यो— “अब यो तडकभडकलाई समाजबाट कम गर्ने हो भने मृतकले नै मर्नु पूर्व यो समवेदनाका नाममा गरिने ऐयासी र तडकभडकका देखावटी मेरा नाममा नगर्नू भनेर सबैलाई सचेत अवस्थामै पहिले नै भन्नुपर्छ नत्र भने झन् झन् यसमा विकृति आउँछ, तिजमा, दसैँमा र अरू अरू चाडहरूमा आएको विकृतिजस्तो ! तीन महिनाअघिदेखि नै तिज मनाउन थालेझैँ भोलि मान्छे नमरी समवेदनाका धन्दा पनि हुन नसक्लान् भन्न सकिन्न ।” उहाँको यस तथ्यपरक वचनमा भने कसैले पनि वास्ता गरेको बुझिएन ।

यो अलिक अस्तिको कुरा हो । क्रिया सकिएपछि घर खाली गर्नका लागि उहाँले यी समवेदनाका तुल र प्रमाणपत्रहरू जलाउनु भो भन्ने कुरा सुनियो । बडो दुविधा लाग्ने कुरा भयो । के यी सबै सजाएर जीवनभरि राख्नु पथ्र्यो कि कसो गर्नु पथ्र्यो समवेदनाका रजतपत्रहरू बुझाउन जानेहरूले नै उत्तर दिए हुने थियो ।

भद्रपुर, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे