साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय प्राज्ञ !

सेवा आयोग बारम्बार अनुत्तीर्ण हुँदाको मिठो अनुभवले सिङ्गै, सग्लै डाग्दरगिरी नै हात पार्नु भएका गुरुहरू अर्काको थेसिसमा आफ्नाे पी.एच.डी. ठोक्नेजस्ता चमत्कार पनि देखाउँदै आउनु भएकै हो ।

Nepal Telecom ad

हुन त “स्वाद भान्छापिच्छेको, कुरा मान्छेपिच्छेका” भन्ने बेचल्तीको आहानले सयपचास पुस्ताकै बाहान उतारी सकेछ । तर त्यसो भन्दैमा प्रज्ञा क्षेत्रजस्तो पवित्र धामलाई जजसले जेजे मन लाग्छ तथानाम भन्दै र बदनाम गर्दै जाने हो भने त भला विद्वन्त मान्छेले के सोच्लान् ? मानभाउ गरेर पूजा कोठामा सजाउनु पर्ने देवतूल्य पात्रलााई कठालो समातेर झाँगलझुँगल पार्दै लबटा देखाउँदै गर्दा विचरो सरस्वतीको धरालो कति टाक्सिएला ! त्यसैले अहिले देखिएका होचीअर्घेली र दुलाछिद्राहरू बेलैमा टालटुल नगरेको खण्डमा न त भन्नेको बोली रोकिएला, न त के भनौं के नभनौं लागिरहने चकचके खुराफाती मिडियाको गतिपति नै थामिएला, न त वदनामीको लहराले तान्दैजाने पहराको पहिरो रोकिएला । बरु उल्टै लोकपरलोक सुन्दर छवि छरिएको नेपाल देशको अनुहार मात्रै डामिएला ।

वास्तवमा कसैले हिजोआज नेपालको प्रज्ञाक्षेत्र भातपानीमा परेको छ भन्छ भने त्यसलाई सोरै आना भूmटो मानेर नकार्न सकिन्छ । बरु त्यस्ता मुखालेलाई आफैंजस्तो भैहालेस् भनेर उल्टै सराप दिँदा केही ठाँगेले भेट्दैन । जो भन्छ त्यही मूले खराव हो बरु ! किन त भन्दा देशभित्र, बाहिर अध्ययन अध्यापन गरिआएका तालीम सेमिनार कार्यशालामा परीक्षा दिँदै, लिँदै खारिएका र ज्ञानभण्डारभित्र पसेर भ्याउनु भ्याएका, अध्ययन, अनुभव अवलोकन आदि गौरव गभ्भीरताका गरिमाले विभूषित प्राज्ञहरूलाई थेसिस चोरजस्ता नानाभाँती दूराचारका बात लगाउँदै कुलाचारी पापाचारीलाईभन्दा सात खण्ड तल झारेर नाँटीकुटी गर्ने गराउने काम नकाम हो भन्ने त उसै सिद्ध छ नि ! तर छिद्र खोजी हिँड्ने छुचुन्द्रा मुसाको बोलीलाई बारबन्धन पनि त छैन होला ? आफूजस्तै सदाचारी र स्वच्छ छविका नेताहरूले भागवण्डा गरेर उपल्ला कुर्सीमाथि चडाएका प्राज्ञहरू नेताभन्दा के कम हुनुहुन्थ्यो त ? नेताका पनि गुरु भनेपछि कम हुन पनि त मिलेन ! भविष्यको नवागन्तुक पिँडीलाई स्वच्छ छवि र ज्ञान विज्ञानको शिक्षा दिएर ग्रहतारामाथि चढाउनु पर्ने गरिमाशाली गुरुले कितापचोरी,थेसिसचकारी कुर्सीव्यभिचार अनि आर्थिक दूराचार जस्ता नकाम गर्नतिर जान झन मिल्दैमिल्दैन नि ! लुकीछिपी भए के जानी । नत्र हाकाहाकी त किमार्थ उहाँहरूले त्यो गर्नु भएकै छैन पनि ! त्यसैले ठोकुवासाथ भन्नु पर्छ, गुरुगौरवको पदीय गरिमालाई ख्यालै नगरी वनकालीको साँडे थरका गोरुले कोरली बाच्छी लखेटेको पारा झिक्नुलाई यत्ति बेर चैं गनगनतन्त्रमाथि पश्चगमन व्याधिको पूर्वाभ्यास हुँदै गरेको भन्नु ठीक पर्ला कि ?

उहिलेका पूर्वेली वेदव्यास शुक्राचार्यजस्तै ग्रीसेली गुरुहरू पनि शरद्कालीन नदीहरूजस्तै सङ्ला थिए रे । तिनै निर्मल सलिलाहरूमा माछा भएर पौडी खेल्दै चेलाहरूले ज्ञानविज्ञानका र्‍याफ्टिङ र बञ्जीजम्पजस्ता मेलाहरू भर्थे रे । रोमन गुरुहरू बर्मेली रुबीजस्तै टलक्क टल्किने र आकाशभन्दा अग्ला हुन्थे रे । त्यसैले ग्रह ताराहरूको गतिपतिको हिसावकिताब घरै बसीबसी जानकारीमा लिन्थे रे । यता हिमाली भूखण्डमा उदाएका बाल्मीकि विश्वामित्र, वेदव्यासका पालादेखि चल्दै आएको कुलपतिको सनातन परम्परा पनि कम प्रेरणादायी छैन । गार्गी मैत्रेयी बज्यैहरूदेखि याज्ञवल्क्य लगायतका कुलपति बाजेहरूले बसालेको शास्त्रार्थ र अनुसन्धानको परम्परा हजारौं वर्षदेखि चलिआएको थियो । यस्तै अरुअरु थुप्रै गुरुमहिमा र चर्तिकलाको बखान छाँटेर पुराना पोथीपात्रामा राङराङका कुरा लेखिएका पनि छँदैछन । प्रतिभा, अभ्यास, ज्ञान र सदाचारका सम्वाहक ती अतीतका गुरुहरूले श्रुतिस्मृति र ज्ञानविज्ञानको लामो परंपरा सन्तानको नाउँमा विर्ताबन्दोबस्तीसाथ छोडी गएका छन् । अहिले आएर “बाउको नली छोराको मुरली” भनेजस्तै गरी आफ्नै बाजे बज्यैलाई समेत ठाडै उछिन्ने उम्रिदैका तीनपाते नेपाली गुरुहरू त झन अतीव सदाचारी लगनशील र आदरणीय हुनुहुन्छ । उहाँहरू जेजस्ता कामकाज गर्नुु हुन्छ ती सवै सत्काममात्र हुन्छन् । खतबातका कुरा त एक छिन लाग्ने फेरि साटसुट्ट छाडिजाने नक्कली तीनपानेमात्र रहेछ भन्ने ठहराउनु गैरसंवैधानिक मात्र होइन पर्तीगमनकै धङधङी या बालतोड खटिरो राँक्किएको संझनु पर्छ ।

यता अलि दिन अघिदेखि नेपाली छापा र टीभी नाउँका भाँडाहरू प्रज्ञाक्षेत्रमाथि अरिँगाले पाराले जाइलागेर एकाएक किन धताएका हुन् ? काँचो वायु आङमा चडेर हो कि ! त्यत्रा पदाधिकारी गुरुजनमाथि यातायात नापी मालपोतकाका अगाडि उभिने दलालकै तालले अवैध अनुचित मालपानी गोज्याएको भनेर सुन्दै मुटु झस्किने बात लगाउनु अँध्यारो झाडीभित्रको कालीजलाई भरुवा बन्दूक सोझ्याउनु जस्तै होइन र ? ज्ञानविज्ञानका विशारद गुरुमाथि अश्लील भिडियो देखाउँदै छात्रामाथि अनुचित हर्कत गरेको बातकसूर लाग्नु कुनै कोणबाट पनि स्वीकार्य छैन । प्लटिङ्गका कारोबारीले खोलामा घडेरी र हावामा महल खडा गरे आश्चर्य मान्नु पर्दैन । युगै हवाईयात्राको न जो छ ? भाडा तिरेर अन्तरीक्षयात्रा गर्ने मेसोसमेत चलिसक्यो । त्यसै कारुण पनि गुरु बर्गले त्यो अर्थात हाटहुट लाटलुटे ताल किमार्थ झिक्नु हुन्न । बरु देशको उच्च शिक्षादेखि जनसंंख्या बृद्धि नियन्त्रणको लागि आवश्यक निरोधकारी साधनको जगेर्ना गर्नेसम्मको सूक्ष्म दृष्टि पुर्‍याउनु बेश हुन्छ । यस्ता सुकामलाई भने विश्वविद्यालयका वरबन्दोबस्तीमा थपिएको नयाँ आयाम या त क्रमभङ्गता भन्न पनि हिच्किचाउनु पर्दैन । बच्चैदेखि मान्छेको आनीवानी सपार्ने काम गर्दैआएका म्याम, सरहरूकै विकिसत स्वरुप न हुन् जेठा पाज्ञ पनि ! उत्तरोत्तर ज्ञानको बाली सप्रिँदै र विकसित हुँदै आएपछि गुरुहरू स्वयं नै स्थितप्रज्ञ बन्नु हुन्छ । तर त्यो चरणमा पुग्नुअघि सांसारिक भोगवासना,रागद्वेष लोभ, लाभ, बिलाप आदि समविषमा क्रिया र भावहरूको पनि पर्याप्त अनुभव हुनु जरुरी पर्न आउँछ ।

वेदान्त दर्शनले नै पहिले असत्य र अनित्य वस्तु केलाएर निराकरण गर्दै गएपछि अभिन्तरमा सत्य र नित्य वस्तु स्वतः थाहा लाग्छ भनेको छ । याने सत्य ब्रह्मको पहिचान गर्नको लागि अनित्य अर्थसञ्चय र असत्य भोग वासनाको पनि अनुभव हुनुपर्छ रे । शायद यसै फर्मुला अँगालेर नै कुलपतिदेखि डीन रेक्टरसम्म जातजातका गुरुहरू अर्थलाभ र भोगवासनापथ पार गर्दै प्रज्ञापथमा चल्ने मेसो मिलाउँदै हुनुहुन्छ । सेवा आयोग बारम्बार अनुत्तीर्ण हुँदाको मिठो अनुभवले सिङ्गै, सग्लै डाग्दरगिरी नै हात पार्नु भएका गुरुहरू अर्काको थेसिसमा आफ्नाे पी.एच.डी. ठोक्नेजस्ता चमत्कार पनि देखाउँदै आउनु भएकै हो । त्यसैले सवै नेपाली छात्रछात्राले एकै मुखले भनौं -प्रज्ञापथका अगुवा यात्री पूर्वपश्चिम जताततैका विश्वविद्यालयका बडेमानका पदाधिकारी गुरुहरूको जय होस्, जय जय होस् !

काठमाडौं
९८४१६४७१८९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x