मौन अवधिको नमस्कार !
जो भेटे पनि मुसुक्क हाँसेर नमस्कार गर्ने विचरा सोझा र गाेज्याङ्ग्रा तीर्थ दाइको सधैँको बानी थियो यो । मौन अवधिमा उनको यही बानीले दिनु सास्ती दियो कठै !
भाउजू बिहानै कङ्कला स्वरले रुँदै आइन् । लौ न बाबु दाइलाई पुलिसले लग्यो भन्दै टोलै थर्काइन् । किन लगेको भाउजू भनेर सोध्दा भाउजूले कारण बताउनै सकिनन् झन् ठूलो स्वरले रोइन् मात्रै ।
एक दुई जना युवा हतारिँदै प्रहरी चौकीतिर लागे । दाइलाई धन्न चौकी भित्रै पुर्याउन भ्याएको रहेनछ । ठाउँ ठाउँमा भरिएको झोला बोकेर कतिपय व्यक्तिहरू घरभित्र खुसुक्क मौनातपूर्वक छिर्दै रित्तो झोला लिएर फर्केको देखिन्थ्यो ।
एक भोटको रु. ४ हजारसम्म दिइएको गाइँगुइँ पनि सुनिँदै थियो । तिनले के गरेको भन्ने प्रहरीले जान्ने कुरै भएन ।
युवाहरूले हवल्दारलाई मूलगेटमै भेटे र त्यो गोज्याङ्ग्रो दाइलाई किन ल्याउनुभयो भनेर सोधे ।
हवल्दार साब अघि सर्दै जबाफ दिए— हेर्नुहोस् हजुर यो मौन अवधिमा उहाँले चुनाव प्रचार गर्नुभयो । युवाहरूले अचम्म मानेर दाइतिर हेरे । राम्ररी बोल्न पनि नजान्ने सोझा दाइ, कुन पार्टीले के गर्छ, कुन नेता कस्तो भन्नेतिर चासो नै नभएका कसरी चुनाव प्रचार गरे होलान् ? अचम्म लाग्यो ।
युवाहरु अचम्म मानेको देखेर हवल्दार साबले स्पष्ट पारे— के गरौँ हजुर, नियम पालन त गर्नै पर्यो । उहाँले बाटामा भेटेका सबै मानिसलाई नमस्कार गर्दै हुनुहुन्थ्यो । हामीलाई पनि नमस्कार गरिहाल्नुभयो । यो त भोट माग्ने नेताकै तरिका भएन र ?
जो भेटे पनि मुसुक्क हाँसेर नमस्कार गर्ने विचरा सोझा र गाेज्याङ्ग्रा तीर्थ दाइको सधैँको बानी थियो यो । मौन अवधिमा उनको यही बानीले पनि दिनु सास्ती दियो कठै !
कपन, काठमाडौं