शेषराज भट्टराईभेट्नु
भेट्नुको खोजी जोहो र जगेर्ना हामी ठेट्नाले आआफ्नो ठाउँबाट गरेनौ भने यो जुनी खुनी र बैगुनी बनेर जान्छ । त्यसैले भेट्नु जोगाउँ अभियानका लागि मरिमेट्नु नै अन्तिम उत्तम र असल ठहरिन्छ ।
भेट्नु र भेट्नोको अर्थ एउटै हो तर यहाँ कसैसँग साक्षात्कार हुनु, जम्काभेट हुनु चाहिँ होइन । भेट्नुका विषयमा लेख्ने यो ठेट्नु कस्तो होला भन्ने लाग्ला ठेट्नु पनि भेट्नुसँगकै हुनाले के लेख्नु के नलेख्नु भएर भेट्नुका बारेमा लेख्नु मेट्नु अनि जानेर या नजानेर भेट्नुको भेद खोल्नु ठेट्नुको मूल उद्देश्य रहेको छ ।
भेट्नु हरेक फल वा पातका फेदमा भेट्टाउन सकिन्छ । भेट्नुको परिभाषा यसरी पनि दिन सकिन्छ । “फलफूल, बनस्पतिका पात र खनिज सम्पदा समस्त प्राणीका जात भेट्नाकै भरमा अस्तित्वमा रहेका हुन्छन् । विना भेट्नुका जीव वनस्पति कल्पनै गर्न सकिँदैन” । फल वा पातलाई धानेर बस्ने भेट्नुलाई मेरुदण्ड भने पनि हुन्छ । यो छैन भने जीव वा वनस्पतिको अस्तित्व सङ्कटमा पर्छ । आलु, पिडालु, रुख कटहर, बडहर, काँक्रो, कुबिन्डो, ढुक्कले उभिण्डो भएर फल्नुको कारण नै भेट्नुको भर भएर हो । हरेक फल पात र जीव/प्राणीलाई समेत भेट्नुले धानेको हुन्छ । मान्छे, पशु, अनेक प्राणीहरू जन्मिन्छन् र ती पनि नाभी रूपी भेट्नु र मेरुदण्डको भरले धानिएका हुन्छन् । नवजात शिशुको नाभी जुन जन्मिए पछि काटिन्छ मानवको भेट्नु भनेको त्यही हो । मान्छे पनि एक प्रकारको फल नै हो । मानौ सुन्तला जस्तै फल, सानो छउन्जेल चिल्लो पोटिलो, रस पसेपछि खोजी खोजी रसास्वादन गरिन्छ । पुरानो हुँदै भएपछि केस्राले बोक्रा छोड्छ । चाउरी पर्छ, रस पनि हुँदैन । रस विनाको लाम्टो के चुस्नु । मान्छेले खानै छोड्छन् । स्वार्थ ग्रस्त मान्छेको जुनी पनि त्यस्तै हो । मौरी घुम्यो रसैलाई भने जस्तो रसकै लागि मान्छे भेट्नुको पछि लखतरान भएर लागिरहन्छ ।
भेट्नु लुलो भएपछि फलको अस्तित्व संकटमा पर्छ । फल यथास्थितिमा छँदै खानुपर्छ कि चाहिँ बेच्न बजार जानुपर्छ । फलको स्वाद चाखेकाहरूले ऐंचो पैंचो गरेर पनि सारो गारो अप्ठयरो फुकाएर गर्जो टारेका हुन्छन् । पशु पनि त्यस्तै हुन् । आफूलाई सुहाउँदा सजातीयको ऐचो पैचो गरेर वा बाध्य पारेर सृष्टि जारी राखेका हुन्छन् । त्यसैले त भन्ने गर्छन् । भेडा भेडासँगै बाख्रा बाख्रासँगै । घोडा, हात्ती गैडा, बाघ, भालु, बिरालो, कुकुर हरेक जातिमा सजातीय फल हुन्छ र त्यसको रिट्ठो नबिराई धर्म नछोडी, आफूलाई स्वस्थ राख्ने फलको उपभोग गर्न प्रकृतिबाटै प्रेरणा मिलेको हुन्छ । त्यसै अनुसार प्राणीले एक अर्कालाई भोग गर्दै भेट्नुको माध्यमबाट जीवन चक्र जारी राखेका हुन्छ्न ।
एउटा बडेमानको कटहरको दानालाई भेट्नुले धानेको हुन्छ । प्राणीलाई मुटुले धाने जस्तै फललाई भेट्नुको भरमार भर हुन्छ । ठूला साना सबै प्राणीहरू मुटुकै कारण बाँ र आँ गर्दै बाचिरहेका र नाचिरहेका पनि हुन्छन् । मानव जाति ठाडो भएर सिऊर हल्लाउँदै हिँड्ने, भिड्ने, गिड्ने, जोड्ने मुटुकै कारणले अनेक तमासा देखाउन सक्छन् । विवेकले गर भनेपछि राम्रो नराम्रो जस्तो काम पनि मानवले गर्न सक्छ । भेट्नु छिन्यो वा लुलो छ भने सोचेर, हेरेर मूकदर्शक बन्न सक्छ तर बलसाली काम केही गर्न सक्दैन । एउटै भेट्नाले धानेको फर्सी सयौ किलो फल्न फैलन सक्छ । भेट्नुकै कारण कुबिन्डो उभिन्डो भएर फल्ने गर्छ । भेट्नुका भरले गर्दा नै असङ्ख्य फलफूलहरू फल्ने गर्छन् । भेट्नुका भरले गर्दा नै असङ्ख्य फलफूलहरू तुन्द्रुङ्ग झुण्डिएर फलेका हुन्छन् । जब भेट्नु टुट्छ तब फलफूल, फर्सी, पात सबै सुक्छ । त्यसैले भेट्नु बनस्पतिमा मात्र नभएर हरेक प्राणीमा जीवन चक्र दुरुस्त, तन्दुरुस्त र सृष्टि चक्र जारी राख्न, भेट्नु अनिवार्य र अपरिहार्य मानिन्छ ।
फल, फूल, प्राणीहरू जस्तासुकै हुन् छोटो, लामो, डल्लो, होचो, दुब्लो, पातलो, गोलो, आकार प्रकारलाई भेट्नुले भेदभाव गर्दैन । कद अनुसारको भेट्नुको हद सबैमा हुन्छ । मात्र स्वस्थ र जीवन्त राख्न भेट्नु अनिवार्य र प्रकृतिको निःशुल्क उपहार हो । भेट्नु छैन भने फलफूल, बनस्पति, प्राणीले आयु लम्ब्याउन मरिमेट्नु निरर्थक हुन्छ । यस्तै अप्ठ्यारोमा हामीले भगवान् भरोसा भन्ने गर्छौ ।
पृथ्वी, निबुवा, सुन्तला जस्तै गोलो छ । हामीले देखे जानेका, मानेका ग्रहहरू कुनै कोही कसैको अडेस लागेर धानिएका हुँदैनन् । सृष्टि प्राकृतिक रूपले अगाडि बडिहेको हुन्छ । भगवान्ले सिर्जना गर्ने भेट्नु अनन्त तारा मण्डलको पनि कतै न कतै अवश्य हुन्छ । पृथ्वी भेट्नु रहित हुनै सक्दैन । बरु हामी अन्जान र अनभिज्ञ छांै । दैवलाई कसैले देख्न सक्दैन । सारा सृष्टि ब्रह्माण्डको कतै न कतै भेट्नुहुन्छ । त्यही भएर फलका दाना जस्ता ठूला साना सारा नक्षत्रहरू वायुमण्डलमा तल्र्याङतुर्लुङ झुण्डिरहेका छन्् । भेट्नु भगवान्का अधीनमा हुन्छ । भेट्नुबाट विच्छेद गरेपछि न बनस्पति बाँच्छ न प्राणी । भेट्नु चुडिएपछि फल निस्फल बन्न पुग्छ । शरीरमा तरान र परान छँदै समयमै त्यसको रसास्वादन गरिएन भने सडिएर नष्ट हुन्छ । त्यसैले सारा सृष्टिलाई जतन र जीवन्त राख्न भेट्नु भेट्टाउनुपर्छ । त्यसलाई चुडिन दिनु हुँदैन । भेट्नुको खोजी जोहो र जगेर्ना हामी ठेट्नाले आआफ्नो ठाउँबाट गरेनौ भने यो जुनी खुनी र बैगुनी बनेर जान्छ । त्यसैले भेट्नु जोगाउँ अभियानका लागि मरिमेट्नु नै अन्तिम, उत्तम र असल ठहरिन्छ ।
फूलबारी, पोखरा
Subscribe
Login
0 Comments
Oldest








































