साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफैलाई निवेदन

आखिरमा हाकिम हुने मेरो इच्छा पूरा हुने भयो । हातमा हाकिम भएको पत्र लिएर मनभरि गजक्क परेर आफ्नो नयाँ अफिसको लागि कुदें ।

Nepal Telecom ad

अफिसमा कर्मचारी साथीहरूको गुटबन्दीमा पर्नुभन्दा त एक्लै भएको कार्यालयमा बस्नु बेस । एउटा मिटिङमा यही डायलग भनेको थिएँ आफ्नो हाकिमको दुर्दशा देखेर ।

कहिलेकाहीँ अरुलाई चितायो, आफूलाई पर्छ भनेझैँ भयो मलाई । मेरो सरुवाको इमेल आयो अचानक मेरो हाकिमको टेबुलमा । इमेल त कार्यालयको इमेलमा आएका थियो तर कार्यालय भन्नु नै हाकिम हुने जुग भएकोले यसो भनेको हुँ ।

मेरो सरुवा भएको अफिसमा हाजिर हुन मलाई किन हतार र खुसी दुवै थियो भने मलाई त्यस कार्यालयको हाकिमको रुपमा सरुवा पदस्थापन गरिएको थियो । मेरो हाकिमले सरुवाको चिठी मेरो हातमा थमाउँदा भनेका थिए : बधाई छ हाकिम साहब ।

मैले त हाकिम साहबको बोलीमा अलिकति ईष्र्या हो कि जस्तो अनुभव गरेको थिएँ । अन्डरको कर्मचारी एकै चोटि हाकिम भएर बराबर भएपछि ईष्र्या लाग्नु स्वाभाविक हो । मलाई रमाना दिँदा पनि उनले भनेका थिए : धेरै खुसी लागेको छ । फेरि भेट हुन पाओस् ।

हाकिमले भनेको धेरै शब्दले मलाई निकै थोरै अर्थ दिएको जस्तो लागेको थियो र कहिल्यै भेट हुन नपाओस् भन्ने भाव पनि लुकेको जस्तो बुझेको थिएँ ।

आखिरमा हाकिम हुने मेरो इच्छा पूरा हुने भयो । हातमा हाकिम भएको पत्र लिएर मनभरि गजक्क परेर आफ्नो नयाँ अफिसको लागि कुदें । अफिसमा त दुई दिनमै पुगें किनभने मलाई हाकिम भइटोपल्नु थियो । अफिसको हाकिम हुनु सबै कर्मचारीको भाग्यमा कहाँ लेखिएको हुन्छ र ? मलाई त भाग्य नै पल्टेको जस्तो भएको थियो ।

हतारमा अफिस पुगेर एउटा परिचरलाई भनी हाजिर भइहालें । दुर्भाग्य भनूँ कि सौभाग्य अफिसमा उही एक परिचर थिए । सोधें त उनी भन्छन् : हामी दुई जना मिलेर नै यो अफिस सञ्चालन गर्नुपर्छ । सुख पनि हाम्रै र दुःख पनि हाम्रै ।

केही दिनसम्म बडो आनन्दले हाकिम भएर काम गरें । यसैमा एक दिन परिचरलाई घरमा काम पर्‍यो । हुन त परिचरको घर धेरै टाढा थिएन तर घरमा नभएर बाहिर जानुपर्ने काम भएकोले उसले विदा लियो । परिचरले विदा लिँदा कार्यालय प्रमुख पनि आफैँ र निमित्त परिचर पनि आफै बनेर काम गर्नु परेको थियो ।

हुन त उसले भनेको थियो : हजुर हाकिम साप, यदि यहाँको इच्छा हुन्छ भने म आफ्नी पत्नीलाई यसो बिहान अफिस खोलेर बढारकुढार गरिदिन र बेलुका अफिस बन्द गरिदिन भनिदिन्छु तर एउटा हाकिमले मेरी दुलहीमाथि आँखा गडाएको थियो, उसको मैले आँखा नै फुटाएर बिदाइ गर्नु परेको थियो । केही दिन म आफै निमित्त हाकिम बनेको थिएँ ।

उसले जाने बेलामा एउटा निवेदन लेखेको थियो : श्रीमान् प्रमुखज्यू, विषय, निमित्त परिचर सम्बन्धमा । म केही दिन अनुपस्थित हुने भएको र कार्यालयमा अरु कोही कर्मचारी नभएकोले म काममा नफर्कुन्जेलसम्म निमित्त परिचरको कामकाज सम्हाल्नु हुन अनुरोध छ ।

हतारमा निवेदन दिएर गएकोले मैले त्यसलाई फुर्सदमा पढेर हाँसे । पढेर मलाई अलिकति हाँसो उठ्यो । दुई जना कर्मचारी भएको कार्यालयमा म सुपरटप कर्मचारी थिएँ भने परिचर नभएको अवस्थामा सबैभन्दा तलको कर्मचारी पनि हुँ ।

चार दिनपछि साप्ताहान्तको विदा भयो । नयाँ हप्ताको पहिलो दिन ऊ अलिक पहिले नै आएर कार्यालय खुल्नुभन्दा पहिलेको सबै काम राम्रोसित सम्पन्न गरिसकेको थियो । म कार्यालय पुग्दा अर्कैको कार्यालयमा आइपुगेको जस्तो लाग्यो ।

केही दिनपछि मैले पनि छुटी लिनुपर्ने समय आयो । घरको धेरै याद आइरहेको थियो । अरु कुनै काम नै थिएन । अलिकति भएको कमाइ घरमा थन्क्याउनु थियो । धेरै कर्मचारी भएको कार्यालयमा लिखित निवेदन नदिई मौखिक नै छुटी लिन पाउने सुविधा हुन्छ तर दुई जना मात्र कर्मचारी भएको कार्यालयमा भने यो सुविधाको अभाव हुन्छ । चाहिए जति छुटी नपाइने हुन्छ ।

जे होस्, मलाई घर नगई नहुने भइसक्यो अर्थात् मैले छुटी नलिई नहुने भइसक्यो । छुटी लिनको लागि वा स्वीकृत गर्नको लागि अरु कोही पनि थिएनन् । मैले आफ्नो छुटी आफैले स्वीकृत गर्नु पथ्र्यो । यसको अर्थ यो पनि हो कि मैले आफैलाई आफूले नै निवेदन पनि लेख्नु पथ्र्यो । आफूले आफूलाई कसरी निवेदन लेख्ने होला ? भन्ने सोचले पनि खेलायो मलाई । मैले केही खेस्रा गरें । आफैले आफैलाई लेखेका निवेदनहरुको खेस्रा नै यहाँ पस्कन चाहन्छु । जुन उपयुक्त होला, त्यसमा रायसुझाव दिनुहोला । यही आशा राखेको छु ।

श्रीमान् मज्यू,
मालदार कार्यालय,
… … … ।
यो अलिक नसुहाउला कि ? म भनेर कसैलाई मपाईँत्व भयो भने झन् बेकार हुन्छ । जसले पढे पनि म भइहाल्छ । अनि हरेक मले आफूलाई निमित्त प्रमुख ठान्यो भने आफत । सुझाव दिनुहोला है ? अर्को चाहिँ यस्तो प्रस्ताव गर्न मन लागेको छ ः

श्रीमान् आफूज्यू,
मालदार कार्यालय,
मालदार भवन, मालपुर ।
विषय : निमित्त कार्यालय प्रमुख सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा म काम विशेषले घर जानुपर्ने भएकोले आफूलाई निमित्तको जिम्मेवारी सम्हाल्न त्यत्ति बेलासम्मको लागि आग्रह गर्दछु जति बेलासम्म म कार्यालयमा फर्केर आउँदिन ।
यति लेख्दा नलेख्दै मेरो दिमागले अर्को आइडिया निकालेको छ । मेरै नाउँमा मैले नै निवेदन लेख्नु पर्दा कानुनी झमेलामा पो पर्ने हो कि ? अनि परिचरलाई नै किन केही दिनको लागि कार्यालय प्रमुखको जिम्मेवारी नदिने ? अनि यो खेस्रा तयार पारेको छु :

श्रीमान् परिचरज्यू,
मालदार कार्यालय
… … … ।
माथिको बेहोरा सबै राखेर निवेदन तयार पारेर आफ्नो सही धस्काई सकेपछि परिचरलाई दिन उसको डिउटीस्थलमा पुग्छु । त्यहाँ परिचरकी दुलहीलाई देख्छु । कहिलेकाहीँ कार्यालयमा कामको बोझ थपिँदा श्रीमान् र श्रीमती दुवै जनाले सहयोग गरेको देखेको छु । मुख्य परिचर चाहिँ कार्यालयमा अहिले छैन । कता गएको हो ? सोधेको पनि छैन वा भनेको पनि छैन । यस्सो खोजेको जस्तो गर्छु तर नदेखेपछि परिचरकी पत्नीकै नाममा नै निवेदनको खेस्रा तयार पार्छु :

श्रीमान् पत्नी/दुलहीज्यू,
अथवा
श्रीमान् श्रीमतीज्यू,
परिचर,
मालदार कार्यालय ।
तत्काल फेरि बुद्धिको बिर्को खुल्छ । श्रीमतीलाई पनि श्रीमान् भनेर सम्बोधन गर्ने ? फेरि परिचरकी पत्नी भनेको अर्काकी पत्नी जो हुन् । उनलाई मैले पत्नीज्यू, श्रीमतीज्यू वा दुलहीज्यू भनेर सम्बोधन गर्दा अवगाल आइलाग्ला कि ? नैतिकताले पनि दिँदैन कि ?

जाबो एउटा निवेदन नै लेख्न नसक्ने कार्यालय प्रमुख पो हुँ कि ? मलाई मनमनै यस्तो लाग्न पनि नलागेको होइन ? अनि यस्तो भाव मनमा जागेपछि जे त पर्ला भनेर अर्कै तरिकाले निवेदन लेख्ने प्रयास गरें :
सम्बोधन – त्यो जो यससँग सम्बन्ध राख्दछ,

मालदार कार्यालय
मालपुर ।
अब सम्बोधनको टन्टा साफ । बेहोरामा पनि यसै गरी मिलाउने प्रयास गरें ।
म आज कार्यालयबाट काम विशेषले घर जाँदैछु । घरबाट नफर्किउन्जेलसम्मको लागि तिमीलाई कार्यबाहक कार्यालय प्रमुखको जिम्मेवारी दिएको छु । राम्रोसित काम नगरे फर्केपछि कारबाही गर्नेछु ।
यसरी निवेदनको भाषा अलिक कडा भयो कि ? सुझाव दिनुहोला । मैले के सुइँको पाएको छु भने एकचोटि यही परिचरले एकजना हाकिमलाई छुटीबाट फर्केपछि हाजिर नै गराएको थिएन रे । परिचरकै गाउँ हो । सबै उसकै मान्छे । उसले हाकिमलाई कारबाही गरेपछि हाकिम चाहिँ झोलाझम्टा बोकेर फर्किनुको विकल्प हुँदैन रे ।

परिचरको डरले कार्यालय छोडेर भागेको पनि अर्थ नलाग्ने र फर्केपछि आफ्नै पदमा विराजमान हुन पाउने गरी माथिका निवेदनमध्ये कुनै काम लाग्ने हुन सक्लान् नि ?

एउटा निवेदन लेख्नलाई कति गारो छ भन्ने कुरो मैले आफूले आफूलाई निवेदन लेख्नुपर्दा थाहा पाएको छु । तपाईँ पनि आफूले आफूलाई निवेदन लेख्ने कुनै तरिका थाहा पाउनु भएको छ कि ?

रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x