सञ्जय साह मित्रआफैलाई निवेदन
आखिरमा हाकिम हुने मेरो इच्छा पूरा हुने भयो । हातमा हाकिम भएको पत्र लिएर मनभरि गजक्क परेर आफ्नो नयाँ अफिसको लागि कुदें ।

अफिसमा कर्मचारी साथीहरूको गुटबन्दीमा पर्नुभन्दा त एक्लै भएको कार्यालयमा बस्नु बेस । एउटा मिटिङमा यही डायलग भनेको थिएँ आफ्नो हाकिमको दुर्दशा देखेर ।
कहिलेकाहीँ अरुलाई चितायो, आफूलाई पर्छ भनेझैँ भयो मलाई । मेरो सरुवाको इमेल आयो अचानक मेरो हाकिमको टेबुलमा । इमेल त कार्यालयको इमेलमा आएका थियो तर कार्यालय भन्नु नै हाकिम हुने जुग भएकोले यसो भनेको हुँ ।
मेरो सरुवा भएको अफिसमा हाजिर हुन मलाई किन हतार र खुसी दुवै थियो भने मलाई त्यस कार्यालयको हाकिमको रुपमा सरुवा पदस्थापन गरिएको थियो । मेरो हाकिमले सरुवाको चिठी मेरो हातमा थमाउँदा भनेका थिए : बधाई छ हाकिम साहब ।
मैले त हाकिम साहबको बोलीमा अलिकति ईष्र्या हो कि जस्तो अनुभव गरेको थिएँ । अन्डरको कर्मचारी एकै चोटि हाकिम भएर बराबर भएपछि ईष्र्या लाग्नु स्वाभाविक हो । मलाई रमाना दिँदा पनि उनले भनेका थिए : धेरै खुसी लागेको छ । फेरि भेट हुन पाओस् ।
हाकिमले भनेको धेरै शब्दले मलाई निकै थोरै अर्थ दिएको जस्तो लागेको थियो र कहिल्यै भेट हुन नपाओस् भन्ने भाव पनि लुकेको जस्तो बुझेको थिएँ ।
आखिरमा हाकिम हुने मेरो इच्छा पूरा हुने भयो । हातमा हाकिम भएको पत्र लिएर मनभरि गजक्क परेर आफ्नो नयाँ अफिसको लागि कुदें । अफिसमा त दुई दिनमै पुगें किनभने मलाई हाकिम भइटोपल्नु थियो । अफिसको हाकिम हुनु सबै कर्मचारीको भाग्यमा कहाँ लेखिएको हुन्छ र ? मलाई त भाग्य नै पल्टेको जस्तो भएको थियो ।
हतारमा अफिस पुगेर एउटा परिचरलाई भनी हाजिर भइहालें । दुर्भाग्य भनूँ कि सौभाग्य अफिसमा उही एक परिचर थिए । सोधें त उनी भन्छन् : हामी दुई जना मिलेर नै यो अफिस सञ्चालन गर्नुपर्छ । सुख पनि हाम्रै र दुःख पनि हाम्रै ।
केही दिनसम्म बडो आनन्दले हाकिम भएर काम गरें । यसैमा एक दिन परिचरलाई घरमा काम पर्यो । हुन त परिचरको घर धेरै टाढा थिएन तर घरमा नभएर बाहिर जानुपर्ने काम भएकोले उसले विदा लियो । परिचरले विदा लिँदा कार्यालय प्रमुख पनि आफैँ र निमित्त परिचर पनि आफै बनेर काम गर्नु परेको थियो ।
हुन त उसले भनेको थियो : हजुर हाकिम साप, यदि यहाँको इच्छा हुन्छ भने म आफ्नी पत्नीलाई यसो बिहान अफिस खोलेर बढारकुढार गरिदिन र बेलुका अफिस बन्द गरिदिन भनिदिन्छु तर एउटा हाकिमले मेरी दुलहीमाथि आँखा गडाएको थियो, उसको मैले आँखा नै फुटाएर बिदाइ गर्नु परेको थियो । केही दिन म आफै निमित्त हाकिम बनेको थिएँ ।
उसले जाने बेलामा एउटा निवेदन लेखेको थियो : श्रीमान् प्रमुखज्यू, विषय, निमित्त परिचर सम्बन्धमा । म केही दिन अनुपस्थित हुने भएको र कार्यालयमा अरु कोही कर्मचारी नभएकोले म काममा नफर्कुन्जेलसम्म निमित्त परिचरको कामकाज सम्हाल्नु हुन अनुरोध छ ।
हतारमा निवेदन दिएर गएकोले मैले त्यसलाई फुर्सदमा पढेर हाँसे । पढेर मलाई अलिकति हाँसो उठ्यो । दुई जना कर्मचारी भएको कार्यालयमा म सुपरटप कर्मचारी थिएँ भने परिचर नभएको अवस्थामा सबैभन्दा तलको कर्मचारी पनि हुँ ।
चार दिनपछि साप्ताहान्तको विदा भयो । नयाँ हप्ताको पहिलो दिन ऊ अलिक पहिले नै आएर कार्यालय खुल्नुभन्दा पहिलेको सबै काम राम्रोसित सम्पन्न गरिसकेको थियो । म कार्यालय पुग्दा अर्कैको कार्यालयमा आइपुगेको जस्तो लाग्यो ।
केही दिनपछि मैले पनि छुटी लिनुपर्ने समय आयो । घरको धेरै याद आइरहेको थियो । अरु कुनै काम नै थिएन । अलिकति भएको कमाइ घरमा थन्क्याउनु थियो । धेरै कर्मचारी भएको कार्यालयमा लिखित निवेदन नदिई मौखिक नै छुटी लिन पाउने सुविधा हुन्छ तर दुई जना मात्र कर्मचारी भएको कार्यालयमा भने यो सुविधाको अभाव हुन्छ । चाहिए जति छुटी नपाइने हुन्छ ।
जे होस्, मलाई घर नगई नहुने भइसक्यो अर्थात् मैले छुटी नलिई नहुने भइसक्यो । छुटी लिनको लागि वा स्वीकृत गर्नको लागि अरु कोही पनि थिएनन् । मैले आफ्नो छुटी आफैले स्वीकृत गर्नु पथ्र्यो । यसको अर्थ यो पनि हो कि मैले आफैलाई आफूले नै निवेदन पनि लेख्नु पथ्र्यो । आफूले आफूलाई कसरी निवेदन लेख्ने होला ? भन्ने सोचले पनि खेलायो मलाई । मैले केही खेस्रा गरें । आफैले आफैलाई लेखेका निवेदनहरुको खेस्रा नै यहाँ पस्कन चाहन्छु । जुन उपयुक्त होला, त्यसमा रायसुझाव दिनुहोला । यही आशा राखेको छु ।
श्रीमान् मज्यू,
मालदार कार्यालय,
… … … ।
यो अलिक नसुहाउला कि ? म भनेर कसैलाई मपाईँत्व भयो भने झन् बेकार हुन्छ । जसले पढे पनि म भइहाल्छ । अनि हरेक मले आफूलाई निमित्त प्रमुख ठान्यो भने आफत । सुझाव दिनुहोला है ? अर्को चाहिँ यस्तो प्रस्ताव गर्न मन लागेको छ ः
श्रीमान् आफूज्यू,
मालदार कार्यालय,
मालदार भवन, मालपुर ।
विषय : निमित्त कार्यालय प्रमुख सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा म काम विशेषले घर जानुपर्ने भएकोले आफूलाई निमित्तको जिम्मेवारी सम्हाल्न त्यत्ति बेलासम्मको लागि आग्रह गर्दछु जति बेलासम्म म कार्यालयमा फर्केर आउँदिन ।
यति लेख्दा नलेख्दै मेरो दिमागले अर्को आइडिया निकालेको छ । मेरै नाउँमा मैले नै निवेदन लेख्नु पर्दा कानुनी झमेलामा पो पर्ने हो कि ? अनि परिचरलाई नै किन केही दिनको लागि कार्यालय प्रमुखको जिम्मेवारी नदिने ? अनि यो खेस्रा तयार पारेको छु :
श्रीमान् परिचरज्यू,
मालदार कार्यालय
… … … ।
माथिको बेहोरा सबै राखेर निवेदन तयार पारेर आफ्नो सही धस्काई सकेपछि परिचरलाई दिन उसको डिउटीस्थलमा पुग्छु । त्यहाँ परिचरकी दुलहीलाई देख्छु । कहिलेकाहीँ कार्यालयमा कामको बोझ थपिँदा श्रीमान् र श्रीमती दुवै जनाले सहयोग गरेको देखेको छु । मुख्य परिचर चाहिँ कार्यालयमा अहिले छैन । कता गएको हो ? सोधेको पनि छैन वा भनेको पनि छैन । यस्सो खोजेको जस्तो गर्छु तर नदेखेपछि परिचरकी पत्नीकै नाममा नै निवेदनको खेस्रा तयार पार्छु :
श्रीमान् पत्नी/दुलहीज्यू,
अथवा
श्रीमान् श्रीमतीज्यू,
परिचर,
मालदार कार्यालय ।
तत्काल फेरि बुद्धिको बिर्को खुल्छ । श्रीमतीलाई पनि श्रीमान् भनेर सम्बोधन गर्ने ? फेरि परिचरकी पत्नी भनेको अर्काकी पत्नी जो हुन् । उनलाई मैले पत्नीज्यू, श्रीमतीज्यू वा दुलहीज्यू भनेर सम्बोधन गर्दा अवगाल आइलाग्ला कि ? नैतिकताले पनि दिँदैन कि ?
जाबो एउटा निवेदन नै लेख्न नसक्ने कार्यालय प्रमुख पो हुँ कि ? मलाई मनमनै यस्तो लाग्न पनि नलागेको होइन ? अनि यस्तो भाव मनमा जागेपछि जे त पर्ला भनेर अर्कै तरिकाले निवेदन लेख्ने प्रयास गरें :
सम्बोधन – त्यो जो यससँग सम्बन्ध राख्दछ,
मालदार कार्यालय
मालपुर ।
अब सम्बोधनको टन्टा साफ । बेहोरामा पनि यसै गरी मिलाउने प्रयास गरें ।
म आज कार्यालयबाट काम विशेषले घर जाँदैछु । घरबाट नफर्किउन्जेलसम्मको लागि तिमीलाई कार्यबाहक कार्यालय प्रमुखको जिम्मेवारी दिएको छु । राम्रोसित काम नगरे फर्केपछि कारबाही गर्नेछु ।
यसरी निवेदनको भाषा अलिक कडा भयो कि ? सुझाव दिनुहोला । मैले के सुइँको पाएको छु भने एकचोटि यही परिचरले एकजना हाकिमलाई छुटीबाट फर्केपछि हाजिर नै गराएको थिएन रे । परिचरकै गाउँ हो । सबै उसकै मान्छे । उसले हाकिमलाई कारबाही गरेपछि हाकिम चाहिँ झोलाझम्टा बोकेर फर्किनुको विकल्प हुँदैन रे ।
परिचरको डरले कार्यालय छोडेर भागेको पनि अर्थ नलाग्ने र फर्केपछि आफ्नै पदमा विराजमान हुन पाउने गरी माथिका निवेदनमध्ये कुनै काम लाग्ने हुन सक्लान् नि ?
एउटा निवेदन लेख्नलाई कति गारो छ भन्ने कुरो मैले आफूले आफूलाई निवेदन लेख्नुपर्दा थाहा पाएको छु । तपाईँ पनि आफूले आफूलाई निवेदन लेख्ने कुनै तरिका थाहा पाउनु भएको छ कि ?
रौतहट
Subscribe
Login
0 Comments
Oldest







































