नरनाथ लुइँटेलसहमति अर्थात सेटिङको खेल
सहमतिमा खन्ड्याङमन्ड्याङ पैदा हुनु भनेको असहमति हो, अर्थात सेटिङमा खलल पर्नु हाे । अनि सेटिङ भत्किएर सिर्जना भएकाे असहमतिले गर्नु नगर्नु गर्छ ।

असहमतिको अब गुन्जाइस फिटिक्कै छैन । लौ है बाबाठाकुरे हो ! कोही पनि असहमतिको नाममा आफ्नो ज्यान, जागिर तथा पद प्रतिष्ठाबाट च्यूत हुने जोखिम नउठाउनु होस् । असहमति जाहेर गर्नु भनेको अत्यन्त खतरा र चुनौतीको काम हो भनेर नबुझ्ने लठुवाहरूले नराम्रोसँग गोता खानुपर्छ । यस मामलामा धेरै बडेबडे लठुवाहरूले खानुसम्म गोता खाइरहेका छन् । तपाईंलाई पनि गोता खान मन लाग्यो भने इमिडियट् अर्थात् अहिले नै असहमतिको एउटा ससानो राग छोडिदिनोस् त ! तपाईंलाई खान मन लागेभन्दा बढी गोता तपाईंको साम्ने प्रस्तुत हुन थाल्नेछ । कुनैकुनै बेला त असहमतिको ‘अ’ ले मात्रै पनि गर्नु नगर्नु उत्पात मच्चाउँदै आएको छ । हामी सबैलाई थाह भएकै कुरा हो ‘अ’ ले धेरै ठाउँमा धेरै कुरा बिगारेको छ । सहमतिमै ‘अ’ थुपुक्क बसिदिनासाथ फनक्कै उल्टो अर्थ दिएर सबका सब सहमतिवाजहरूलाई मजा चखाउन थालिहाल्छ । असहमति जाहेर गरे बापत गोता खाएर तोबातोबा हुनेमध्येको एक लठुवा म स्वयम् पनि हुँ । असहमतिका कारण हाल मैले भोगिरहेको गोतापूर्ण हरिबिजोग अहिले तपाईंलाई सुनाउने हो भने हास्यरस होइन करूणरस निस्पत्ति हुने छ । त्यसकारण भैगो त्यता नजाउँ ।
म मन्द बुद्धिको लठेब्रालाई करीब साठी वर्षको उमेर पार गरिसकेपछि मात्र बुद्धि बङ्गारो पलाए झैं बल्लबल्ल पलाएको बुद्धिले खबरदारी गर्दै भनिरहेको छ- बुढा, जिन्दगीलाई उँभो लगाउने हो भने सहमतिमा झुक्किएर पनि कहिल्यै ‘अ’ लाग्न नदे । असहमति त तत्काल अँध्यारो हो, अनित्य हो, अफाप हो, अबुझ हो, साँच्चै भन्ने हो भने त जिन्दगीको अवसान हो । यस्तो अवसानको पछि लागेर पनि कोही उँभो लाग्छ नाथे ? राम्ररी बुझ, सहमति जिन्दगीको ज्योति हो, गलामा लगाएर हेर त हीरामोति हो, कहिलै खालि हुनु नपर्ने गोजेरो हो र सानसँग हुइँकिने पजेरो हो । अब कहाँ कालो अँधेरो, कहाँ त्यसैत्यसै चम्किने पजेरो । म बुद्धुको बुद्धि बङ्गारो यति ढिलो किन पलाएको होला ? अलिछिटो बुद्धिको बङ्गारो पलाउने मेरा समकालीनहरूको फूर्तिफार्ती र ताईंफाईं हेरिसाध्य नै छैन । टट्टनटाट लखटट्टुबाट रातारात अरबति कसरी बन्न सकेका होलान् भनेर म मेरो दिमागलाई सास्ती दिदोँ थिएँ आखिर कुरो त सहमतिको पो रहेछ । सहमतिकाे अर्काे अर्थ सेटिङ पनि हाे भनेर नबुझ्ने स्वाँठकाे यहाँ चर्चै नगराैँ ।
तपाईंले कुरो बुझ्नु भयो कि भएन कुन्नि ! लेना र देना आपसी सहमतिमा सम्पन्न भयो भने त्यो कहिलै भ्रष्टाचार प्रमाणित हुँदैन । ठेक्कापट्टा होस् या निकासी पैठारीको प्रसङ्गमा होस् आपसी सहमतिमा कमिशन कुम्ल्याइयो भने त्यो भ्रष्टाचार मानिँदैन । सम्झनोस् सहमतिमा तपाईंले कसैको सातवटै ज्यान लिनुहोस्, तपाईंको सात खतलाई पनि सजिलै माफि-मिनाह मिल्छ । यो सहमतिको खेल हो । यसको स्वरूप पनि बडो अनौठाको पो छ त भन्या ! राजधानीको फुटपाथमा बिना अवरोध पाकिरहेको जेरी जस्तो उसले उसलाई समातेको छ अनि उसले उसलाई । फेरि फर्काएर हेर्यो, कसले कसलाई समातको छ पत्तै पाइन्न । सहमति वा सेटिङमा तस्करले टिकट पाउँछ, चुनाव जित्छ र सरकारको महत्वपूर्ण मन्त्री बन्छ । सहमतिमा अलिकति खिया लाग्यो कि त्यो तस्करको तस्करमै फ्यात्त खस्छ । सहमतिमा तीन तहमाथि उचालेर अघोषित प्रमोशन गरी सेवा सुविधा र गुलियो मेवा खुवाइन्छ तर सहमतिमा थोरैतिन खन्ड्याङमन्ड्याङ पर्यो कि बिचरा फिर्ता भएको बैरङ चिठी ! सहमतिमा खन्ड्याङमन्ड्याङ पैदा हुनु भनेको असहमति हो, अर्थात सेटिङमा खलल पर्नु हाे । अनि सेटिङ भत्किएर सिर्जना भएकाे असहमतिले गर्नु नगर्नु गर्छ भन्ने कुरा माथि नै बताइसकियो ।
यो सहमतिको मौसम हो । तपाइँ जहाँ हेर्नुस् सहमति नै सहमति देख्न पाउनु हुन्छ अर्थात सेटिङ नै सेटिङ । यो देशमा सरकार सहमतिमा चलिरहेका छन् कि सेटिङमा ? त्यो सहमतिको जरो पार्टीभित्र मात्रै सीमित होस् या पार्टी बाहिर । राष्ट्रभित्रै होस् या राष्ट्रको सीमा नाघेर अन्तर्राष्ट्रसम्म पुगेको होस् । सरकार चलाउने कुरा केटाकेटी खेले जस्तो त होइन नि ? राष्ट्रिय सहमतिले मात्रै नथेग्न सक्छ । अनि अन्तर्राष्ट्रिय सहमति अन्तर्गत छिमेकी मित्रराष्ट्रसँग हुने सहमति निकै महत्वको र मूल्यको हुनैपर्छ । सहमति भनेको लेना र देना बीचको उच्चतम् समन्वय हो भनेर यहाँ भनिरहनु पर्दैन । त्यसकारण सरकार चलाउन सिर्फ सहमति प्राप्तिका लागि देशका धेरै अमूल्य अमूल्य कुरा प्रदान गर्नै पर्दछ । आदान प्रदान नभै सहमति हुँदैन भन्ने कुरा बक नफुट्ने लाटोलाई पनि थाह छ । यो पनि अर्थ्याइरहनु पर्ने कुरै होइन । अँ त, सरकार चलाउन सहमति चाहिन्छ, पार्टीहरू सहमतिमा चलिरहेका छन् । अड्डा अदालत, विभाग निकाय सबका सब सहमतिमा भनूँ सेटिङमा चलिरहेका छन् । अड्डा अदालत र सरकारी निकायहरू सुचारू रूपले चलिहेका छन् भन्नुको अर्थ त्यहाँ घूस, कमिशन, भ्रष्टाचार, अनियमितता बेरोकटोक सहमतिमा चलिरहेका छन् ।
संस्थानको कुरा खै त भन्नु होला, भए जति सबै संस्थानहरूलाई सबैको साझा सहमतिमा यथाशीघ्र निजीकरण गरिंदैछ भने मैले असहमति जनाउने कुरै भएन । नेपालका राष्ट्रिय बैङ्कहरू धमाधम टाट पल्टिँदै छन्, यसो किन भयो भनी चिन्ता गर्ने विषय नै यो होइन । धमाधम मर्जर हुँदैछन् भनूँ नयाँ ढङ्गले सेटिङ हुँदैछन् । पुरानोभन्दा नयाँ धेरै राम्रो हुन्छ । दुई तीन वर्षअघि मात्र खुलेका बैङ्कहरू करोडौं नाफामा गैसके, हाम्रा सय वर्ष बिताइसकेका पुराना बैङ्कहरू टाट पल्टिदै जानुमा पनि सहमतिको खेल निर्णायक रहेको छ भन्ने आशङ्का नाजायज हुनै सक्दैन । तपाईं नै भन्नोस् त, बैङ्कमा नोटको सट्टा सहमतिको चाङ छिरेपछि यत्रतत्र भ्वाङ नपरेर के पर्छ त ! कतै भ्वाङ परोस् या कसैले यस्तो त कहाँ हुन्थ्यो भन्दै स्वाङ पारोस्, सहमतिको खेल विलकुल झेल बिना निरन्तर चलिरहेको छ ।
सहमतिको बारेमा यति विघ्न चियोचर्चो गरिसकेपछि यो राष्ट्रलाई अत्यन्त प्रभाव पार्ने एउटा असरदार सहमति अर्थात सेटिङकाे अर्को प्रसङ्ग नताने यो सहमति प्रसङ्ग एकदमै अधुरो र अप्रासङ्गिक हुने छ भन्ने कुरामा कुनै शङ्का छैन । त्यो कुन र कसको बीच भएको सहमति हो भनी तपाईंहरूले अनुमान लगाइसक्नु भयो होला । हो, तपाईंको अनुमान ठीक ठाउँमा परेको छ । एकजना भूतपूर्व प्रधानमन्त्री र एकजना वर्तमान प्रधानमन्त्रीको बीचमा निकै चर्को असहमति गुज्रिएपछि अहिले भर्खरै सहमति कायम हुने हुने स्थिति सिर्जना हुँदैछ । यो सहमतिबाट राष्ट्रले साहै् ठूलो राहत प्राप्त गर्रने भयाे । एउटै राष्ट्रिय दलका दुई राष्ट्रिय नेताहरू बीचको असहमतिलाई लामो समयसम्म कायम राख्नु हुँदैनथ्यो पनि ।
छोटै अवधिको यो असहमतिले निकै गम्भीर असरहरू पार्न थालिसकेको थियो । त्यसको असर यसपटकको बर्खामा आएको बाढी पहिरोले पुर्याएको असरभन्दा दुई दोब्बर बढी हुनेवाला थियो । साँच्चै भन्ने हो भने त्यो मेलम्चीकाे बाढीले राजधानीको जनजीवनलाई पारेको असरभन्दा बढी नै असर पुर्याउन थालेको थियो । त्यहाँ त जाबो एउटा बजार न पुरेकाे थियो तर यहाँ त सरकार सञ्चालनदेखि पार्टी सञ्चालनसम्म, पार्टीको इन्टरनेट सञ्चालनदेखि सरकारको क्याविनेट सञ्चालनसम्मका यावत् र अनगिन्ती बाटाहरू बन्द हुन थालिसकेका थिए । हुनुहुनामी जे भए पनि बाटो खुल्ने भयाे अर्थात् सहमति हाेला हाेला जस्ताे हुँदै छ । राष्ट्रिय पार्टीका दुई ठूला नेताहरू बीच उत्पन्न असहमतिका कारण यो राष्ट्रले झेल्नुपर्ने एउटा भयङ्कर ठूलो सङ्कटबाट हामीले मुक्ति पाउने भएका छाैं । यो चानचुने कुरै होइन । कोशी र कर्णालीमा आउने भेलभन्दा यो सहमतिको खेल शक्तिशाली छ ।
सहमतिको खेल अर्कोथात सेटिङकाे शक्तिशाली बर्कतबारे वणर्न गर्ने क्रममा मेरो धीत मरेकै थिएन तर लेख अतिसय लामो भए टाउको पट्टिबाट या पाउ पट्टिबाट आँखा चिम्लेर सम्पादकले काट्न पाउने सम्पादक र मबीच भएको सहमति सम्झँदै यहीँ बिसाउँनपट्टि लागेँ । आखिर लेख सकुशल पाठकसमक्ष पुर्याउन पनि सम्पादकसँग सहमति वा सेटिङकै दरकार पर्दो रहेछ ।
तपाईं पनि असहमतिको उल्झन झिकेर बिनामेसै जागिर, ज्यान र खाइपाई आएको पद-प्रतिष्ठाबाट च्यूत हुनुपर्ने जोखिमको खतराबाट आफूलाई सधैं मुक्त पार्नुहोस् । सहमति यी सबै जोखिमहरूको एकमात्र भरपर्दो र लाभकारी औषधि हो, बुटी हो ।
कलङ्की, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































