शेषराज भट्टराईराम परियोजना
लात चल्नेको लात चल्नु पर्यो । दाह्रा, नङ्ग्रा, जिब्रो, सिङ, पुच्छर, परेला के के चल्छन् चल्नु पर्यो । जसरी हुन्छ भारत गल्नुपर्यो । हाम्रो तालुमा आलु फल्नु पर्यो । जसरी हुन्छ रामको जन्म नेपालकै अयोध्यामा हुनुपर्यो ।
परियोजनाको पहिरो र ओइरो त नेपालमा धेरै छन् । अब त्यही ओइरोको पहिरोमा राम परियोजनालाई पनि समावेश गर्नुपर्छ । रामपरियोजना जस्तै सीता परियोजना, राधा परियोजना, शिव परियोजना, गणेश परियोजना, कृष्ण परियोजना, हनुमान परियोजना, बुद्ध परियोजना, साई बाबा परियोजना, रजनीश परियोजना, ओम शान्ति परियोजना, क्रिश्चियन परियोजना, मुस्लिम परियोजना, लगायत दुनियाँभरिका परियोजनालाई हामीले हाम्रै हितका लागि अँगाल्न सक्छौँ । परियोजनालाई पार लगाउने नलगाउने जाँगर र जोस सत्य तथ्यमा भर पर्छ तर हजारौँ परियोजनाहरू शिवलिङ्गझै हाम्रा अगाडि ठिङ्ग ठडिएका छन् । ती परियोजनालाई व्यवहारमा ढाल्नु, गाल्नु, टाल्नु र पाल्नु पनि हाम्रो कर्तव्य हुन जान्छ । परियोजना पत्ता लगाउनु मात्रै हाम्रो काम होइन । परियोजनाको श्री गणेश अन्त र अनन्तसम्म कायम राख्नु हाम्रो काम कर्तव्य हुन जान्छ । तसर्थ परियोजना कि त सुरु गर्नै हुँदैन सुरु गरिसकेपछि पेशेवर वेश्याको सन्तानझै अलपत्र या खलपत्र हुनु हुँदैन । परियोजना खलपत्र भयो भने ठेकेदारको साख र इज्जत पनि निश्चित रूपले खलपत्र हुन्छ । खलपत्र शब्द असल र सफल जिन्दगीका लागि फापशिद्ध मानिँदैन ।
राम परियोजना भन्नाले भगवान् श्रीराम बुझ्नुपर्छ । भगवान् रामको ख्यातिको विषयलाई लिएर दुनियाँभरिका रामभक्तहरूलाई अगाडि जे जस्ता गल्ती भयो भयो आउँदा दिनमा रामको जन्मथलो, रामको शालनाल गाडेको भूभाग जन्मभूमि र उनले जन्ती लगेर विवाह गर्न सम्भव भएको जनकपुरको जानकी मन्दिर लगायतका राम सम्बन्धी इतिवृत्तान्त र यसबाट हुने लाभ हानिका विषयमा देशले गर्व गर्न लायक उद्योग, इलम या योजना सम्बन्धी परिकल्पनालाई परियोजना भनिन्छ । परियोजनाले पूणर्ता पाउने नपाउने पछिको कुरा हो तर परियोजनाको श्रीगणेश चाहिँ नेपालमा सुरु भइसकेको अवस्था छ । जसलाई शिरोपर गर्न हामी अत्यन्त उत्साहित र उत्सुक छौँ ।
बुद्ध नेपालमा जन्मिएका हुन् त्यसैले लुम्बिनी अञ्चलको कपिलस्तु जिल्लामा किल्ला बारेर बुद्ध सम्बन्धी यावत विषयवस्तुको छिनोफानोका लागि बौद्ध धामको रूपमा विकास भइरहेको छ । यस किसिमको बुद्ध परियोजनामा विश्वका कैयौ भक्तजनहरू बुद्ध जन्मथलोको दर्शन स्पर्श र आत्मा सन्तुष्टिका लागि नेपाल ओइरिने गर्छन् । त्यस्तै रामपरियोजना पनि यो भन्दा ठूलो लगानीमा लोभलाग्दो किसिमले विकास निर्माण र भैराखेको ठोरीको अयोध्यापुरीको जिणर्ोद्धारका साथै त्यस पवित्र भूमिको चरम विकास विस्तारको नमुना पेश गर्ने तरखरमा हामी मुन्टोले टेकेर लागि पर्ने छौँ । यस्ता सक्कली ऐतिहासिक ठूलो परियोजनालाई विश्व सामु प्रस्तुत गरेर तमाम भक्तजनको नेपालभूमि अयोध्या तर्फ ध्यान खिच्ने खैंचिने तरखरमा हामी भर्खर ताउर माउर गर्दै छौ । कायर नेतृत्वको विलम्ब र आलस्यका कारण नहुनु भैगयो । अब चाहिँ दुनियाँले आश्चर्यजनक ढङ्गले जिब्रो टोक्ने गरी दङ् चित् पर्ने गरी अगाडि बढ्नेमा ढुक्क बनौ त ? अवश्य यसमा कुनै शंका छैन । अब जङ्गे जाग्यो जाग्यो । आफ्नो भलाइ र हितमा लाग्यो ।
नेपाल सरकारमा नेतृत्व गर्ने सासकहरूको लुलो लुते धनुले गर्दा रामको जन्मभूमि नेपालकै विरगञ्ज स्थित ठोरी अयोध्यापुरीमा हुँदाहुँदै राम हाम्रा हुन् भन्न नसक्नु शर्मको विषय हो । अब शर्म होइन कर्म गरेर देखाउनकै लागि मेरो आफ्नो तर्फबाट राम परियोजनालाई आम पाठक समक्ष पेश गरेको छु ।
नेपाल सरकारले नेपाली जनतासँग राम परियोजना चरितार्थ पार्नकै लागि अत्यधिक कर उठाउँदै आइरहेको छ । यति धेरै कर रकम नेताको सेवा सुविधा थैलो भरिँदैमा सकिँदैन त्यसैले राम परियोजनामा आंशिक लगानी गर्ने तदारुकता देखाउनु राम प्रेमीका लागि मात्र होइन हाम प्रेमीका लागि पनि औधि खुसीको कुरा हो । जमाना बलवान् र फलवान् बन्दै गएपछि राम परियोजनाले मूर्त रूप लिनु आफैमा गौरवको कुरा हो । यस्तो गौरव गर्न लायक महापरियोजनाबाट हात झिक्नु वीर नेपालीका लागि सुहाउने कुरा होइन । यसका अतिरिक्त हजारौँ परियोजनाबाट हामीले अधिकाधिक लाभ हासिल गरिसकेको हुनाले देशको सुख समृद्धि देख्न भन्न र सुन्न लायक छ । त्यसैले राम परियोजनामा पनि ढिलै होस् छोरै होस्को अवस्थामा छ । यसलाई मूर्त रूप दिन युवा पुस्ता स्वस्फूर्त रूपमा नराम्रोसँग जाग्नुपर्छ चलमलाउनुपर्छ र काममा लाग्नुपर्छ ।
नेपाली भूभाग विरगन्जको ठोरी रामको असली जन्मस्थल अयोध्या भनिन्छ । अझ प्रधानमन्त्रीले नै छाती ठोकेर भनिसकेपछि हामी जति नामी भए पनि कामी बन्न सक्दैनौ । जुन काम प्रधानमन्त्रीबाट फत्ते भइसकेको छ । अब हामी भातेले खाते जनताको काम यस पुण्य भूमिमा विश्वकै भीमकाय रामको पूणर्कदको मूर्ति स्थापित गर्न सक्नुपर्छ । यस अघि भारतले राम जन्मभूमि अयोध्या भारतमा पर्छ भन्दै अन्य परम्पवित्र भक्तजनलाई अपवित्र थाङ्नामा सुताइरहेको थाहा भयो । वर्तमान नेपालका प्रधानमन्त्री केपी ओलीले दौराको तुनु खोल्दै निडर बन्दै सत्य साँचो बकिदिएपछि हामी भातमारा निन्द्राबाट झल्याँस्स बिउँझिएका छौँ । असली अयोध्या नेपालीको आफ्नै आँगनमा अलपत्र रहेछ तर हामी हुस्सु भने घाँटी तन्काइ तन्काइ भारतको नक्कली अयोध्या हेरिरहेका छौँ । हुन पनि उति टाढाको अयोध्याबाट नेपालको जनकपुरमा आएर भोज भतेर खाएर विवाह कर्म सिध्याएर लखर लखर हिँडेरै या घोडचढीबाट फर्किनु सम्भवै हुँदैन । जुन कुरा सम्भव हुँदैन त्यो कुरा कसरी सफल हुन्छ ?
रामका अनन्यभक्त पवनपुत्र हनुमानले एक हातले बोकेर ल्याएको सञ्जीवनी पर्वत पनि नेपाल बाहेक अरू देशमा हुनै सक्दैन । नेपालमा घाँसपात पलाउँछ यार्सागुम्बा बनेर, खोलानाला अमृत जल बनेर कलकल बगिरहेका छन् । हिमाल पहाड, पर्वत देवाधिदेवको बासस्थान शिवालय पर्वत बनिरहेको छ । यहाँ अन्य मुलुकले नदेखेका, नभोगेका अनौठा अनौठा गुप्त गुफाहरू आआफै बनिरहेका छन् । तिनै ऐतिहासिक गुफामा लुकेर माओवादीले दश वर्षे जनयुद्ध गरेका थिए । तिनै गुफामा लुकेर कतिपय नयाँ क्रान्तिकारीहरू जनयुद्ध हाँक्ने तरखरमा छन् । सगरमाथा त झन हामी प्रत्येक नेपालीको माथा यानि की टाउको नै हो । त्यसैले राम परियोजनाले पनि अब हाम्रो हैसियत विश्वसामु छर्लङ्ग हुनेमा कुनै शंका छैन ।
रामराज्य त्यसै भनेका होइनन् । अब नेपालमा पनि रामराज्य जस्तै राम परियोजनाले सत्कर्म, सत्पात्र र सात्त्विक चरित्र निर्माणका लागि तिव्र गति लिँदै जानेछ । यस राम पुण्यभूमिका ऐतिहासिक धार्मिक मार्मिक तीर्थस्थलहरूको जिणर्ोद्धार, गिणर्ोद्वार लगायत सिहार सम्भार हुन्छ । यसो गर्नाले यस पुण्यभूमिका रामभक्तहरूको ह्याकुलो फूलो भनेर जाने हुन्छ । विश्वभरिका रामका अनुयायी भक्तजन उपासकहरू पर्यटकको रूपमा लुँडो परेर नेपाल भित्रिँदा स्वर्गभूमि त छँदै थियो अधिक आम्दानीले स्वणर् भूमि समेत बन्ने निश्चित छ । यस्तो पाइनसक्नुका पावन कुराहरू न यसभन्दा पहिलाका प्रधानमन्त्रीले बोल्न सके न लेखक पत्रकार अन्वेषकले नै आँट गरेर सत्य तथ्य ओकल्न सके ।
मै हु भन्ने जोदाहाले गर्भमा राखे होलान् तर प्रसुती हुन सकेनन् । अबको यथार्थ छर्लङ्ग भएपछि कलम चल्नेको कलम चल्नुपर्छ । थुतुनो चल्नेको थुतुनो चल्नु पर्यो । हात बलिबाहु चल्नेको हात बलिबाहु चल्नुपर्यो । लात चल्नेको लात चल्नु पर्यो । दाह्रा, नङ्ग्रा, जिब्रो, सिङ, पुच्छर, परेला के के चल्छन् चल्नु पर्यो । जसरी हुन्छ भारत गल्नुपर्यो । हाम्रो तालुमा आलु फल्नु पर्यो । जसरी हुन्छ रामको जन्म नेपालकै अयोध्यामा हुनुपर्यो र पो राम परियोजना सफल हुन्छ । भारतले हान्ने राँगाले झै ठूलाठूला आँखा गर्दै गर्जिएर सोध्यो भने लुरुक्क परेर भारतकै भजन गाउने लुते, नसे, धुपौरे भारत लम्पट राम परियोजनाका निम्ति काम छैन । त्यसैले राम परियोजना पूणर्ार्थ, सफलार्थ, हामीले टाउकाले टेकेर हुन्छ कि कलमले लेखेर हुन्छ या हाट्टहुट्ट पाट्टपुट्ट पारेरै भए पनि रामलाई नेपालकै अयोध्यामा प्रादुर्भाव भएको ऐतिहासिक प्रमाण प्रष्टसँग पेश गर्दै दुनियाँसामु आफ्नो औकात औजार पेस गर्न सक्नुपर्छ । तब पो राम परियोजनाले सार्थक उचाइ समात्न सक्छ । अन्यथा हृदयको राजा रामपरियोजना बालुवाको महल बन्न के बेर ।
फूलबारी, पोखरा
Subscribe
Login
0 Comments
Oldest







































