भूपेन्द्र सुवेदीतोरीलाहुरे
त्यसैले हास्यव्यङ्ग्य लेख्ने रहरमा कलम समातेर त लेख नै घरको न घाटको भए छ । त्यसो हुँदा यो लेख र लेखकलाई तोरीलाहुरे उपाधि दिनु कसो होला ?

‘धाकभन्दा धक्कु ठूला हिँड्न थाल्यो खुट्टै लुला’ भएका मतिहारा निकम्मा, व्यभिचारी, नामर्द, पानीमरुवा, पाखण्डी मान्छेलाई उसको काम अनुसारको उपाधि दिन सबैका मुखमा झुण्डिएको साझा शब्द हो ‘तोरीलाहुरे ।’ उपाधि पाउनेकै अगाडि भन्दा भने टाउको फुट्ने, दाँत भाँचिने पाहाझैँ पछारिनु पर्ने, अर्ध चन्द्रकार लाग्ने, ढाड सेकिने जस्ता थुप्रै चुनौतीको सामना गर्नुपर्ने हुँदा परोक्षमा मौका छोपी दिइन्छ । दिएको उपाधि भने ‘एक कान दुई कान र्मैदान’ भएर व्यापक बन्छ । यो उपाधि पाउन विद्यालय, विश्वविद्यालय धाउनु नपर्ने, खर्चको पनि चिन्ता नहुने हुँदा धेरै सजिलो छ । लामो इतिहास बोकेको यो उपाधि कसैलाई सङ्केत गरेर दिन डर भएकाले यहाँ पाँडेभाकामा मात्र चर्चा गरिँदैछ । कुनै साँढे तेर्सेमा ‘चोरका खुट्टा काट भन्दा चोर आफँै तर्सेर खुट्टा झिकी सावित भएझैँ त्यसलाई तोरीलाहुरे भन्न कुनै आइतबार पर्खनुपर्ने छैन ।
लाहोर वर्तमान बङ्गलादेशमा पर्ने कुनै ठाउँ विशेषको नाम हो । शुरुमा त्यहाँ गई फर्कनेलाई लाहोरे भनियो होला । लाहोरेबाट लाहुरे अपभ्रंश भएको हुनुपर्छ । अब भने बाहिर जहाँ गई आए पनि त्यसलाई लाहुरे भन्ने गर्छन् । त्यसका अगाडि थपिएको नामिक विशेषण तोरीमा थुप्रै व्यङ्ग्य मिसिएको छ । तोरीका साना दाना र लर्किने पनि हुँदा मकैलाहुरे, धानलाहुरे जस्ता अरु विशेषण नजोडेर तोरी जोडिएको हुनुपर्छ । यसलाई ठाउँ विशेषको आधारमा अलगअलग तरिकाले अथ्र्याइए पनि सार मिल्दोजुल्दो भेटिन्छ ।
घर-आँगनमा सुकाइराखेको तोरी चोरी गाडीभारा गराएर लाहुर गै कमाइधमाइ शून्य, फर्केर आउँदा शान रवाफ गगनचुम्बी गर्नेलाई भनिन्छ त कतै तोरी छरेर लाहुर गई त्यही तोरी नछिन्दै फिर्ता भए पनि धाक र रवाफ भाषाभङ्गिमामा विदेशी प्रभाव देखाउनेलाई भनिन्छ । अझ कतै लाहुरबाट फिर्ता भएपछि केही दिनको तडकभडकपछि फेरि ठण्डाराम भएको व्यक्ति अथवा जिउडाल र रवाफमा खाइलाग्दो तर व्यवहारमा विश्वास गर्न नसकिने, काम कुराको ठेगाना नभएको, पैसा छउञ्जेल चामल, दाल, लत्ताकपडा जस्ता दैनिक उपभोग्य सामान किन्न बिर्सेर तोरी बेसाउने खालको बुद्धि भएको अव्यवहारिक र घमण्डी भन्ने अर्थमा तोरीलाहुरे भन्ने गरेको पाइन्छ ।
तथ्याङ्कको नाममा मिथ्याङ्क हात लाग्ने हुँदा अरु ज्ञानगुणका कुरामा जुल्फीमा गुलियो नपसे पनि तोरीलाहुरेको मर्मसँग त सबै नेपाली परिचित छन् । त्यति मात्र होइन ‘भन्न हुन्न मन रहन्न’ भनेझैँ कर्तव्य विमुखलाई तोरीलाहुरे भनिने हुँदा यसबाट चोखो नेपाली पाउन मुस्किलै पर्छ । ‘भ्वाङभन्दा स्वाङ ठूलो’ गर्ने प्रचलन भएकाले बाहिर गई होटेलमा डेक्ची ड्राइभर, कर्चुली कमाण्डर, ल्पेट मास्टर जस्ता धस कम्पनीका जागिर खाएर घर आउँदा सीमापार आएर एउटा टिनको बाकस किनेर त्यसमा नुन भए पनि भरी एउटा भरियालाई बोकायो भने यसले आफूलाई लाइन छोकडो मात्र होइन विश्वविजय गरेर फर्केझैँ ठान्छ । त्यस्तो तोरीलाहुरे बाटाका भट्टी पसल नबिराई जाँड, रक्सी, छ्याङ धोकेर आफू र आफ्नो अवस्था नै बिर्सन्छ । मौका परे आइपुग्ने भाडासमेत नभई बीचबाटै फर्कन्छ । जनतन आइपुगे नक्कलीपन देखाउँदै तीन चार महिनामा नै मातृभाषा पूरै बिर्सेझैँ छे महिना, छे साल, निनानन्ब्बे, मेहरा, मुन्नी जस्ता हिन्दी शब्द प्रयोग गर्ने, आफ्नै बारी चहार्ने कुलोलाई ‘धारी कुलो किधर पडता है’ भन्ने जस्ता स्वाङ रच्छन् । साथमा फुटेको कौडी नभए पनि अरुलाई झुक्काउन चिल्लर (खुद्रा) छैन साटेर दिउँला भनी सापट लिएर व्यथा पुग्यो भने सुईंकुच्चा ठोक्छन् ।
शुरुमा अमिधा अर्थ लिएर निर्माण भएको तोरीलाहुरे शब्द खारिँदै गएर अर्थविस्तार गरी लक्षणा हुँदै व्यञ्जनासम्म पुगेको छ । अब तोरीलाहुरे बन्न एक रात घर नछोडी बसे पनि सजिलै गरी सकिने भएको छ ।, अझ साँच्चै भन्दा यो राष्ट्रिय उपाधि जस्तै भएको छ । मान्छेको स्वभाव अनुसार पाइने र ‘अर्काको आङमा जुम्रो देख्ने आफ्नो आङको भैँसी पनि नदेख्ने’ भएकाले यो उपाधिबाट अछुतो हुन गाह्रै छ । यस अर्थमा सबै तोरीलाहुरे भए पनि भन्न नहुने । त्यसैले तैँ चुप मै चुप भएको छ ।
तोरीलाहुरेको स्रोत खोज्दा आफैँमाथि फर्कन्छ । यो कसैको स्वविवेकबाट निसृत भावना होइन । पुस्ता दरपुस्ता चल्दै आएर विशेषता थप्दै यो अवस्थामा पुगेको हो । आफूलाई चाहिनेको जरो पनि नछोड्ने, नचाहिनेको पात पनि नछुने हाम्रो प्रवृत्ति भएकाले तोरीलाहुरेको उपाधि कसैले लिन नचाही दिन मात्र खोजेको देखिन्छ । एकले अर्कोलाई गोप्य रूपमा दिएको स्पष्ट पार्दै जाने हो भने कुनै बाँकी बँच्दैन । ‘डबल डाबल निकै छ, घिच्रा भरी मयल छ’ भन्ने अर्थमा यसको प्रयोग गरिने हुँदा यो त नेपालीको पेवा नै हो ।
‘रातभरी रुँग्यो, तल्लाघरकी बूढी ज्यूँदै’ भनेझैँ आफ्नो त कुरै उठेन छ । ‘सबै भयो, हात्ती छिर्ने दुलो रह्यो ।’ त्यसैले हास्यव्यङ्ग्य लेख्ने रहरमा कलम समातेर त लेख नै घरको न घाटको भए छ । त्यसो हुँदा यो लेख र लेखकलाई तोरीलाहुरे उपाधि दिनु कसो होला ?
प्युठान
Subscribe
Login
0 Comments
Oldest








































