साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाडौं कञ्चनजङ्घाको भरिया भएछ

‘बाहिरको विस्ने, गाउँको आटो पिस्ने’ भने झैँ बाहिर बाहिर काठमाडौंको कत्रो नाम र शान छ । घर खेत गरेर काठमाडौँ गयो ‘धन भरी धामीलाई व्यथा हामीलाई’ भयो फर्क्याे ।

Nepal Telecom ad

भूपेन्द्र सुवेदी :

मुखले खाने, आँखाले देख्ने र कानले सुन्ने स्वाभाविक कुरा भए पनि ठूलाबडाले उपभोग गरेको दुःखी दाखीले सपनामा पनि खाए, देखे, सुनेको हुँदैन । कोही घोडा चढ्यो भन्दैमा आफू धुरी चढ्न नहुने ‘साथमा छैन भोगटेको पात, जहाँ जहाँ हुक्का चिलिम तहीं तहीं हात’ गरेर भएन । मर्का परेको कुरा के भने कसैलाई बेलायत अमेरिका पानी पँधेरो बराबर छ, भने आफूलाई आफ्नै देशको राजधानी काठमाडौं यो तीन बीस हिउँद फटालुन्जेलसम्म देख्ने मौका मिलेन । उडेर जानु पखेटा छैन, गुडेर जानु रू. एकको नोट नाङ्लोभन्दा पनि ठूलो देखिन्छ । यो जमानामा पैदलको कुरा गर्दा १८, १९ दिनको बाटो मान्छेले पागल भन्लान् भन्ने डर । आफ्नो रहर यसो परिवारमा सुनायो ’गाँठी नगुँठी जरजरी उठी’ भन्ने जवाफ पाइने । ‘मनको बह कतै नकह’ भएर दिन बिताउनु सिवाय अरु केही चारा रहेन ।

कहिलेकाहीँ पत्रपत्रिका, रेडियो इतिहास आदि हेर्दा सुन्दा मञ्जुश्रीले डाँडो काटी पानी बगाएर बसोबास योग्य बनाएको काठमाडौं, सगरमाथाको राजधानी काठमाडौं, मन्दिरै मन्दिरको शहर काठमाडौं, पशुपतिको शिवपुरी काठमाडौं, भानुभक्त आचार्यको अलकापुरी काठमाडौं, देवकोटाको सुन्दर शान्त विशालको मुटु काठमाडौं, पृथ्वीनारायण शाहले गोरखाको बदला राजधानीका निमित्त छानेको काठमाडौं, राजा मन्त्री र उच्च ओहदाका मानिसहरूको निवास काठमाडौं, पर्यटकहरूको केन्द्र काठमाडौं, दुई दुईवटा विश्वविद्यालय र तिनलाई सञ्चालन गर्ने बुद्धिजीवीहरूको बसोबास काठमाडौं, बाग्मती र विष्णुमतीको पवित्र सङ्गम काठमाडौं, प्राचीन, मध्यकालीन र अर्वाचीन कलाकेन्द्र काठमाडौं, अन्तरराष्ट्रिय बिमानघाटको काठमाडौं, स्वयम्भूको काठमाडौं, अग्लो ठाउँमा बनेको बिशाल उपत्यकाको काठमाडौं, राजनीतिको अखाडा काठमाडौं, महानगरीको काठमाडौं, अधिराज्य भरिमा जहाँकहीँका पनि ठूलो जागिर वा पद पाउँदासाथ घर हाल्न चाहने काठमाडौं, मानो यो पृथ्वीको स्वर्ग हो भन्ने धारणा मनमा जमेको थियो । तर के गर्नु ‘आकाशको फल आँखा तरी मर’ बराबर भएको थियो ।

बेलावखतले विष पनि औषधि हुँदोरहेछ । एकपटक ठूलै बिरामी परेको त बेहोशमै काठमाडौं पुर्‍याएछन् । उपत्यकाको प्रवेश र निकासद्वार मानिने थानकोटको नाम सुनेपछि मेरो होश फक्र्यो । त्यहाँबाट ओरालो भर्दासाथ नाकै फुट्ने गरी के के गनाउन थाल्यो । बसाएको होला, बिरामीका कारण गनाएको अनुभव भएको भनी मनमन लख काटेर अगाडि बढियो । गाडी शहरतिर गुड्दै गयो, नाक दुर्गन्धको महासागरतिर बुड्दै गयो । ‘भनौ भने गाउँको मुख्खे, नभनौ त कुखुराका चल्ला सक्के’ भने झैँ भयो । तैपनि तीन माना भात अटाउने पेटमा हरेक कुरा कोच्दै गएँ ।

राम्रा डाक्टर र अस्पताल खोज्ने क्रममा घुम्दा अरु सामान्य आफूमात्र विशिष्ट भन्ने सबै डाक्टरका मुखमा झुण्डिएको रहेछ । कुन् बेला समय मिल्ला भनी सोद्धा सरकारी अस्पतालमा ४० दिनको अगाडि क्यू रे। नर्सिङ होममा भोलि बिहानै खाली ।

आफू परियो ग्वाँजे । केही नबुझेको कुरो सोद्धा पाखे भन्लान् भन्ने डर । नाकमा भने दुर्गन्धको बाढी नै आइरहेको छ । यसो चारैतिर दृष्टि दिएको त नाक मुखमा रुमाल बाँधेका थुप्रै मानिस देखिए । त्यो शहरी सभ्यताको उच्चतम निशान होला कि भन्ठानेको त मेरी बास्सै ! त्यो त दुर्गन्धबाट बच्न गरिएको उपाय पो रहेछ । बाटोमा अग्ला अग्ला ढेर देखिए । मलाई लाग्यो हामी हिमाली मुलुकका नेपाली, विदेशी पर्यटकहरूलाई आकर्षित गर्न ठाउँ ठाउँमा सगरमाथा, धौलागिरी, गौरीशङ्कर, कञ्चनजङ्घा, माछापुच्छे आदिका नमूना बनाइएका होलान् । तर ती त फोहोरका ढेर पो रहेछन् । पूरै शहर विशाल पाइखाना जस्तो । भित्ता परखाल जताततै गाली गलौजले भरिएको छ । बाटोमा हिँड्दा माथिबाट फूल अबीर वर्षाए झैँ फोहर वर्षिएको छ । नाक मुख थुने पनि अरु इन्द्रीयबाट सबका सब फोहरका शिकार भएका छन् । यन्त्र र बाहनका ध्वनिले कानका जाली नै फुट्ने त्रास । जताततै प्रदूषित । पिउने सम्म पानी पाइँदैन । स्वच्छ पानीको त कुरै छोडौँ । रू. १८ ले एक बोतल नाम मात्रको स्वच्छ पानी किन्नु पर्छ । मपाईंको चर्को बहस बाहेक केही सुनिँदैन । नाता गोताको सम्बन्ध ‘कौवाको मितेरी ठोंडै ठोंड’ जस्तो मात्र छ ।

सामुहिक बसाइमा व्यक्तिगत सोचाइ बाहेक केही सुनिँदैन । मेरो कल्पनाको काठमाडौं यही हो जस्तो लागेन । मेचीदेखि महाकालीसम्मका ठूलाबडाले सकिनसकी घर हाल्न मरिमेट्ने काठमाडौं यही हो त ? कुन्नी ? मय दानवले पाण्डवको राजसूय यज्ञ मण्डप बनाए जस्तै कसैले जादूको छडी लिएर यहाँको स्थिति एकै रातमा सुधारोस् । म अपठित मान्छेले ठूलो ठाउँको गहिरो कुरो के बुभनु ?

‘बाहिरको विस्ने, गाउँको आटो पिस्ने’ भने झैँ बाहिर बाहिर काठमाडौंको कत्रो नाम र शान छ । घर खेत गरेर काठमाडौँ गयो ‘धन भरी धामीलाई व्यथा हामीलाई’ भयो फर्क्याे । मेरो आँखामा पट्टी बाँधिएको, कानमा ठेटी ठोकिएको, मुखमा ताल्चा मारिएको भए, अर्काले डोराएर देख्नु, सुन्नु र बोल्नु बिनाको नै राजधानीको यात्रा गरिन्थ्यो होला । बालककालदेखि नै सुन्दै र सँगाल्दै आएको काठमाडौंको गरिमा त्यतै छोडेर थप रोग लिई घर फर्कें ।

हिजो आज कसैले काठमाडौंको महिमा गाएको सुनें भने लोप्पा खुवाएर मुखमा मोटो लौरो कोच्न मन लाग्छ । तर त्यसो गर्दा तीन कान्ला तल फ्याँकिने डरले मुख सिएर हातमा दही जमाई बस्न विवश भै धार्नीको टाउको हल्लाएर दिन बिताउँदै छु ।

०००
प्युठान
गोरखापत्र (२०६२ भाद्रमा )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जता मल्खु उतै ढल्कु

जता मल्खु उतै ढल्कु

भूपेन्द्र सुवेदी
तोरीलाहुरे

तोरीलाहुरे

भूपेन्द्र सुवेदी
तोरीलाहुरे

तोरीलाहुरे

भूपेन्द्र सुवेदी
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x