कृष्ण प्रधानऔँला दिँदा डुँडुलो निल्ने !!!
जुल्फे - जस्तोसुकै एग्रिमेण्ट गरे पनि त्यो बाँदरको पुच्छर लौरो न हतियारजस्तो हुने यो ठाउँमा फ्री चामलको जाँड बनाउँदा गोर्खाहरूको जात नजानुपर्ने । क्युपटन बडा - जात ता किन जान्थ्यो र !

कृष्ण प्रधान :
पात्रहरू – साइँलीदि, मरिचफूल, कमलछी, धुरपाती, गमसफुल, कुशनारायण, मिनास, पञ्चमती, आइतराज, धनलछी, रणमाया, हस्ते, पञ्चबहादुर, जिरनफुल, धनसरी, जसमाया, सञ्चरानी, माइतरानी, तेजहाङ, सुनकुमार, च्याप्टे, टुकबीर, छोम्ले, होमच्, सिट्टे, जुल्फे, रिटठे, फिष्टे, तस्वीरे, टुकुने, छलिमाया, पञ्चमाया, रसफुल, चुर्सी, गम्भीरमाया, न्याउरी, सूर्यमति, जुन्किरी, टिकमाया, च्याउँकी, पल्टने बडा, काकी ।
दृश्य विवरण – मदिरा पसल । दिउँसो ।
कुखुराको मासुको पसलमा पसले (स्याण्डु) खबरकागत पढ़्न व्यस्त देखिन्छ । मोटे न मोट भुँडे कर्मचारी (भुन्तुक) कुखुरा भुत्ल्याएको देखिन्छ । पसले मालिकको फोनको रिङटोन बज्छ ।
स्थान – राशिन दोकान, समय दिउँसो ।
(कमानबाट आधा बेला छुट्टी मागेर महिनावरी राशिन थाप्न हुद्दामा रहेकाहरूमध्ये सबैभन्दा जेठी र अनुभवी साइँलीदिको नेतृत्वमा मरिचफुल, कमलछी, धुरपाती, गमसफुल, कुशनारायण, मिनास, पञ्चमती, आइतराज, धनलछी, रणमाया, हस्ते, पञ्चबहादुर, जिरनफुल, धनसरी, जसमाया, सञ्चरानी, माइतरानी, तेजहाङ, सुनकुमार, च्याप्टे, टुकबीर, छोम्ले, होमच्, सिट्टे, जुल्फे, रिटठे, फिष्टे, तस्वीरे, टुकुने, छलिमाया, पञ्चमाया, रसफुल, चुर्सी, गम्भीरमाया, न्याउरी, सूर्यमति, जुन्किरी, टिकमाया, च्याउँकीहरू कमानको बाटोमा दिल्लगी गर्दै बाह्र गोलाइ एम आर सप अघि आइपुग्छन् । सोसियल डिस्टेन्सको ख्यालै नराखी कोही पानी पिउन थाल्छन् अनि कोही सुर्ती माड्न थाल्छन् भने कोही आ-आफ्नो मोबाइल खेलाउन थाल्छन् ) ।
साइलिदि – (भीरमध्यैबाट जुरुक्कै उठेर बघिनीजस्तो गर्जिँदै) हेर…हे…के साह्रो अटेरी हौ । एई तरुणी-तन्नेरी हो…तिमेरू मान्छेका भाँडो हो के को ठाँडो हो हँ ! हन तिमेरू किन एकै ठाउँ गुजुल्टिएर बेसका हँ…पिशाचहरू । सोशल चिन्ताङ यही हो ?
जुल्फे – (गल्ती सुधार्दै) साइल्दि सोसोयल डिस्टेन्स हौ ।
साइँलीदि – (झिँझेट मान्दै) को’नि है । जा उता । तिमेरू जेसुकै भन् म ता सोशल चिन्ताङ नै भन्ने हो । (सबै फरक फरक बस्न थाल्छन्) तेजहाङ, विपाते र सुनकुमार तिमीहरू सबै भएर सबैको राशिन कार्ड बटुली जाबो काउण्टरमा बुझाइदेओ ।
सिट्टे – (साइँलीदिलाई घोच्दै) सोसियल चिन्ताङको पनि याद राख है साथी हो ।
साइँलीदि – (रनक्क रन्किएर) एई सिट्टे ! तैँले मलाई घोचेका ? (कानपुरे बुट देखाउँदै) अहिले एई कानपुरे बुटले भुँडीमा दिएर भित्रको जुकालाई तीन ठुन्का पारिदिन्छु र पो ता (सिट्टे लाजमर्दो भएर कुनातिर लाग्छ) । मलाई धेर नचला है केटा हो !
तेजहाङ – लु लु सबैको राशिन कार्ड हामीलाई देवो । (सबैले आ-आफ्नो राशिन कार्ड तीन भाइका हातमा सुम्पन्छन्) ।
सुनकुमार – आमामा… यो गमसफुलको राशिन कार्डको गति हेर ।
विपाते – आफू ता हप्तैपिच्छे पार्लर गएर कम्ति राम्री भएर आउँछे । एउटा राशिन कार्ड पनि स्याहार्ने नसकेकी हेर ।
गममफुल – (प्याच्चै बोल्दै) को’नि को’नि । म पार्लर गाकी तिमीहरूलाई आँखा लागेको कि म राम्री भएकी देखी नसहेको ?
आइतराज – त्यसो नभन न गमस् बैनी । यो कमानभरि तिमीभन्दा राम्री ता को छ र ? तिम्रो रुप देखेर हामीलाई गर्व लाग्छ ।
हस्ते – (गीतको लयमा) के राम्रो जोबन हेरिरहुँ भन्छ नि आँखाले, आँखैमा बिलाउने को हो गमसफुलको रूप बनाउऩे ?
तेजहाङ – गमस् बैनीको सबै ठिक छ कि तर (राशिन कार्ड देखाउँदै) यो चैँ भएन है ।
गमसफुल – को’नि को’नि ! राशिन कार्डलाई पनि पार्लर लानु कि क्या हो ?
पञ्चबहादुर – (झोला देखाउँदै विस्तारो) गमन् बैनी जाँड लेको छु खाने ?
साइँलीदि – भयो भयो । ख्यालख्याल गर्दा गर्दै ऐले यिनीहरू झगड़ा पर्छन् । पञ्चे तँ जाँड खुवाउनु आको कि राशिन लिन आको ? के साह्रो चलाका यिनेर गमसेलाई । ऐले लाजैमर्दो गरी के के भन्देली अन्त चाख्लाऊ । भयो चूप गमस् तँ पनि धेर नबोल् रुप्पीजस्तो । (सबै मौन) ।
गमसफुल – (लाडे पल्टिँदै) हेर्नू न साइँली बडी । यिनारले मलाई जिस्काइ बस्छन् ।
साइँलीदि – केटाहरूको जातै हो जिस्काउने । चूपो लागि बस् न भैगो ता । खै उहिले मलाई तँलाईभन्दा धेर जिस्काउने । टेँढ पूच्छर लाउँदिनँ थिएँ ।
तेजहाङ – उहिले ता हाम्री साइँलीदिले पनि कमान फाँडेकी हो नि हई ।
साइँलीदि – अन्त के ता ! कतै जाँदा एम्बुलेन्स लिएर हिँड्थे क्या ! (सबै गललल हाँस्छन्)
गमसफुल – (छक्क परेर) एम्बुलेन्स ! किन नि ?
साइँलीदि – मेरो रुप देखेर बेहोस हुनेहरूलाई टिप्दै एम्बुलेन्समा हाल्नुलाई नि ।
कुशनारायण – अहिले पनि के कम्ति र हाम्री साइल्दि ।
साइँलीदि – (कड्केर छोप्न जान्छे) नकरा एईक कुशे । आगोमा घिउ हाल्ने काम नगर् । ऐले तेरा….
दृश्य परिवर्तन….
निकै तल डाँडा गाउँमा पल्टने बडाको चिया दोकानभित्र सबै पस्छन् ।
पल्टने बडा – हाम्री राम्री गमसफुल बैनी रहिछ ।
गमसफुल – तपाईंले मलाई मात्रै देख्नु भो ? जिरनफुल… धनसरी, जसमाया, सञ्चरानीलाई चैँ देख्नुभएन ?
पल्टने बडा – यो पल्टनेको आँखा कहिल्यै फेल खान्छ ? गम्रस् मैयाँको यिनीहरूसित तुलना कहाँ हुन्छ ? यी तरुणीहरू तारा हुन् भने गमस् भनेकी जून ।
हस्ते – लाखौँ ताराहरूको उज्याली एउटै जुनको उज्यालोले फिका पार्छ होइन र क्यापटेन बडा ?
पल्टने बडा – एब्सुलेटली राईट ।
गमसफुल – (गिजाउँदै) हस्ते सिमेण्टको बस्ते । (साइँलीदिको मोबिलको रिङटोन बज्छ । मोबाइल लिएर बाहिर निस्कन्छे । अरु चियापानी खान थाल्छन् ।
दृश्य परिवर्तन
साइँलीदि – हल्लो । ए काकी बोल्नुभाकी ! ढोगेँ काकी । लकडाउनमा पनि काममा ता नागा बस्ने चान्स छैन । तपाई बजारेहरूलाई पो ढुक्कै । मर्निङ वक् सकेपछि दिनभरि घरभित्र बस्यो टिभी हेर्यो । हाम्रोतिर कामैकाम । वस्तु भाव पालेपछि अहिलेघरि फारस झोडीतिर नगै भएन । साथी भाइको साथ लाग्नैपर्छ नत्र चितुवा भालू बँदेलहरूको छाक हुन्छ । हाते कोशेलीको लागि फेरि यसो अलि अलि चियापति नबनाइ भएन ।
काकी – (बिचैमा कुरा नसकी) त्यहाँ सोसियल डिस्टेन्स छ के ता ? त्यैमाथि डरलाग्दो हुरीबतास पनि चल्छ भन्दैछ । यताउति नगरी घरभित्र जोगिएर बस है भनेर फोन गरेकी नि । साइँलीदि आ… मर्नु नै छ बने मरिदिउँला नि । हामीले हाम्रो पहाडमा कस्ता कस्ता हुरी बतासको सामना गऱ्यौं भने यो नाथे हापेनलाई कहाँ टेरिन्छ हौ । हामी ता पुरै प्रिपेड छौँ । त्यो आइला कि माइँलालाई ता टेरेनौँ । लाथु यो कोरोना र हापेनलाई एकै चोटि उठीवास लाउँछौँ नि काका !
काकी – (भुतुक्का हाँस्दै) हापेन होइन अमफान हौ साइँली… अमफान ।
साइँलीदि – कस्तो आतङ्कवादीजस्तो नाम हई ? (फोन काटिन्छ । तर्सने गरी हल्लो गरिबस्छे) ।
(दृश्य परिवर्तन)
होम्बे – आज ता खाता पनि फ्री होइन पल्टने बडा ?
गमसफुल – आमामामा….. यो होम्बे दा को साह्रो हई । सबै कुरो तिमीलाई चैँ फ्री कहाँबाट हुन्छ हौ ।
पल्टने बडा – मर्ने बेलामा यसले कात्रो पनि फ्री खोजिहिँड्छ ।
गमसफुल – फ्री पाको राशिन बेचेको पैसा निकाल न ।
होम्बे – कहाँ बेचेँ हौ ।
पल्टने बडा – के गरिस् त्यत्रो आँटा चामल…
होम्बे – आधा सुङ्गुर बाख्रा कुखुरालाई चारो अनि आधा अलुवाको चैँ भाती जाँड…
म्याउँची – त्यै ता तर मर्चा पो नपाएर कस्तो पीर परिराको छ । मर्चाको पचास रुपियाँ माग्छ अन्त….
पल्टने बडा – (बिचैमा गकुरा काटेर) त्यति दाममाता किन्नै पर्छ नि । भन्नु उसो होइन कि यो लकडाउनले ता धेरैलाई फायदा गरेको छ । राशिनपानी, सब्जी फ्री । मासु भन्नु वल्लो डाँडा, पल्लो डाँडा प्रशस्तै काटिहाल्छ । प्रत्येकको घरमा भातीजाँड वालछ्याल । अरु के चाहियो ?
जुल्फे – जाँडले तमाम् गोर्खेहरूका शरीरको भित्री भाग पूरै सेनिटाइज हुँदैछ । अरु के चाहियो गोर्खेलाई ? खाएर रन्थनिएपछि शोक न सुर्ता भोक न भकारी ।
पल्टने बडा – हन सरकारले हामीलाई निःशुल्क अलुवा चामल भात खानु फ्री दिएको कि जाँड बनाउनु देको हँ !
च्याउँकी – सरकारले किन यसरी निःशुल्क राशिन देको होला हई ?
जुल्फे – त्यो चैँ सरकारलाई नै सोध । तर यो फ्री चैँ सरकारले कुन दिन काँचै निकाल्छ नि ।
पल्टने बडा – च्याउँकीको कुरा ठिकै हो । लकडाउनमा कोही पनि भोकले नमरुन् भनेर दिएको । विचरा सरकारलाई हामी सम्झिनुपर्छ ।
जुल्फे – (व्यङ्ग्य हाँस्दै) सरकारलाई सम्झिनु ? त्यो पनि दिन रात ? अरुलाई ता को’नि क्यापटेन बडा टु बी भेरी फ्रयाङ्कली कि मलाई चैँ जाँड खाएर रनक्क हुँदा मात्र सरकार र मेरो प्यारो गोर्खाल्याण्डको याद आउँछ । अरु बेला चैँ गमसफुलको मात्रै याद आइरहन्छ । गमसफुल देखेपछि के को बोर्ड, के को गोर्खाल्याण्ड । (सबै गललल हाँस्छन् । गमसफुलआँखा तर्छे) ।
पल्टने बडा – राशिन पानी सञ्चय गरिराख्नुपर्छ । नत्र पछि धोका होला है साथी भाइ हो… धोका होला ।
छोम्ले – अजिङ्गरको आहार दैवले पुर्याउँछ । यो लकडाउनमा तेल नून बाहेक केही किन्नु पर्दैन अन्त ।
जुल्फे – तैँले ठिकै भनिस् छोम्ले तर मर्चा डबल दाममा किन्नु परेको कुरा सरकारलाई थाहा छ ?
गमसफुल – सरकारले जाँड खाए पो थाहा होस् । मर्चा पनि फ्री दिनुपर्ने ?
जुल्फे – अफकोर्श ! हात्ती छिर्यो पूच्छर अड्क्यो किन गर्ने ?
पल्टने बडा – हन फ्री चामल चैँ सरकारले तिमारलाई जाँड खानु देको कि भात खानु देको ?
जुल्फे – सरकारले हामीलाई भातै खानु भनेर एग्रिमेण्ट गरेको छ ?
गमसफुल – बाई चान्स गरेको भा ?
जुल्फे – जस्तोसुकै एग्रिमेण्ट गरे पनि त्यो बाँदरको पुच्छर लौरो न हतियारजस्तो हुने यो ठाउँमा फ्री चामलको जाँड बनाउँदा गोर्खाहरूको जात नजानुपर्ने ।
क्युपटन बडा – जात ता किन जान्थ्यो र ! खानु देको चामल जाँड बनाको कथङ्कल सरकारले थाहा पायो भने हामी सबैलाई जाँड बोर्डमा गाभ्छ नि मोराहरूले ।
छोम्ले – जस्तोसुकै बोर्ड बनाए पनि हामी पहाड़ेहरूलाई कानो गोरुलाई औँसी न पूर्णे। क्यापटन बडा एनी हाउ यो मर्चा चैँ फ्री गराऊ ।
गमसफुल – (जुल्फेको मुख लोपार्दै) ईस दिन्छ होला मर्चा फ्री । हामीलाई ता मर्चा जाँड बनाउने काम लाग्छ । तल मधेसकालाई चैँ मर्चाको के काम ?
छोम्ले – हामी पहाडेलाई जाँड बनाउनु तल मधेसकालाई माँड बनाउनु ।
गमसफुल – अम्मुई ! ? औँला दिँदा डुड़ुलो निल्ने !!!
०००
सिलिगुडी, भारत
Subscribe
Login
0 Comments
Oldest








































