भूपेन्द्र सुवेदीजता मल्खु उतै ढल्कु
सुनारेको सय चोट लोहारेको एक चोट भनी ठूलै ठाउँ हेरेको त उर्लेको मल्खु खहरेमा परिणत भै त्यसैमा बगेर सबै चौपट । यो भोग्दा लाग्यो 'जता मल्खु उता ढल्कु' भनिए पनि त्यो ढल्काइले जीवन नै चौपट पार्दो रहेछ ।

भूपेन्द्र सुवेदी :
सके आफ्नै हुति नभए ससुरालीको स्तुति त्यो पनि नभए पूर्खाबाट सिला खोजेको भक्ति गाएर निजत्वको वर्चस्विता देखाउनेका पछि हा हा मा दगुर्नु हिजो आजका विशेषता भएका छन् । नैतिकतालाई नफर्कने गरी चर्न पठाएर ‘बिना धन क्यै नभन’ भन्ने भावनालाई सबैले आत्मसात् गरेका छन् । इज्जत, मान, सम्मान, ध्यान, प्रतिष्ठा, पौरख, प्रतिभा, ज्ञान, धर्म, कर्म, न्याय, निसाफ आदि सवै धनमा अडेका छन् । कुनैबेला पानी हिंडेको ठाउँ चिसो हुने हुँदा चुही छिरी कुनै मौका पारेर फेरि त्यहाँ शीतल हुन सक्ने सम्भावना देखी त्यसमै र्याल चुहाएर पछि पछि लाग्नु ‘जता मल्खु उतै ढल्कु हो, यसले संसार नै आकर्षित गरेको छ ।
‘धन देख्दा महादेवको तेश्रो आँखो खुल्छ भन्ने उखान यसै कारण बनाइएको हो । यसैले गर्दा ‘छन् गेडी सबै टेढी, छैनन् गेडी सबै टेढी’ सबैमा लागु भएको छ । व्यक्तिगत लेखा जोखा गरेर कसैलाई केही भन्दा दाँत झारिमागेर थोते भएको र पुर्पुरो सेकि मागेर खत्वाट भएको पीडा अझै ताजा भएको हुँदा ‘सर्प पनि मरोस् लट्ठी पनि नभाँचियोस्’ भन्ने सिद्धान्त अपनाई पाँडे भाकामा पेटका कीरा मार्दैछ ।
लायक कहलिएको मूल नायक अमुक गाउँको व्यक्ति पनि अमुक नै हो । ‘जता मल्खु उतै ढल्कु गर्ने आसेपासे, गासे भुसभासे सवै हुन् । हुन त नायक टुप्पाबाटै पलाएको हो । तर अबको जमाना पलाउनुसँग मात्र सम्बंधित हुँदा टुप्पो वा फेंदसँग कुनै सरोकार राख्दैन । आफूलाई सधै आदरार्थी बहुवचन हामी प्रयोग गर्ने ती व्यक्ति दामीका कारण नामी पनि थिए । पैसा भए ऐसा हुन्छ भन्ने उनलाई राम्ररी थाहा भएको हुँदा त्यसको सदुपयोग गरी गाउँ छिमेक सबै असामी र परम भक्त पनि बनाएका थिए ।
उनका असामी मध्ये धेरै जसो निरक्षर भट्टाचार्य थिए । एक जना उनका असामी साहुको ठेकी, कोसेली, व्याज, स्याज, वेठ आदिले ज्यादै हैरान परी जसो तसो गरी नगद नारायण जम्मा गरेर धेरै गाउँले साक्षीका रोहबरमा साहुलाई पैसा बुझाई के कागज हो तमसुकको नाममा फिर्ता पनि लिए । असामीका दृष्टिमा खेल खतम भयो । साहुका दृष्टिमा फेरि नयाँ खेल शुरु भयो । अर्को दिन उसलाई बोलाएर “मेरा पैसा तिरिनस् । पछि मेरा सन्तानले तलाई अप्ठेरो पार्न सक्छन् । अब मैले पैसा तिर्न बाँकी छैन भन्ने यो कागजमा ल्याप्चे लगा भनी” भनी ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ भने जस्तै एउटा खाली कागजमा ल्याप्चे लगाउन लगाई पट्याएर थन्क्याए । पूर्व असामी निरक्षर हुँदा ‘जसो जसो बाहुन बाजे उसै उसै स्वाहा’ भने झै ल्याप्चे लगाई प्रसन्न मुद्रामा घर फक्यों । साहुको पनि पहिलो अध्याय समाप्त भयो ।
‘मुखमा राम राम बगलीमा छुरा’ भएको साहको त्यो कागज तमसुक रहेछ । ऐनका म्याद भित्र नालेस पर्यो । नखाएको विष लागेको हुँदा प्रतिवादी दिंदा पैसा बुझाउने बेला उपस्थित भएका देखीजान्ने सबैलाई उसले साक्षी राख्यो । तर सबै साक्षी साहुकै पक्षघर भै बके । न्यायकर्ता गुलियोमा भुले । फलतः शुरु अड्डादेखि सबैमा ‘सोही हुकुक सुन’ भने जस्तै पहिलेकै सदर हुँदैगयो । नबोल्ने देवता बाहेक उसको पक्षमा कुनै भएन । काँचो रुख आगोले भष्म गर्यो । उडुस एउटालाई मार्दा ‘पच्चीस’ भन्छ भन्ने गरिन्छ । निमुखा गरीब एक पटक साहुको फेला पर्यो भने त्यसबाट पुस्तौं पुस्ता उम्कन सक्दैन । अनेक बहाना बनेर निरक्षर गरीव ऋणमा जन्मन्छ, ऋणमा हुर्कन्छ र मर्दा सन्तान दर सन्तानलाई ऋण छोडेर नै मर्छ । समाजमा दया, धर्म, त्याग, नैतिकता, न्याय आदि पुराण बाँच्दा पण्डितका व्याख्या गर्ने विषय मात्र भएका छन् । मल्खुतिर नढल्कनेको बीउसम्म पनि पाइँदैन ।
‘जस्ले जित्छ उही मेरो भाले’ भनी कहिले पशुतर्फ र कहिले पक्षीतर्फ लाग्ने चमेरो आखिर ‘वल्लो घाट न पल्लो तिर’ भएर दिनभर लुकी बस्ने गरी रातिमात्र देखा पर्ने गरेको सबैलाई थाहा छ । तर पनि ‘रात रहे अग्राख पलाउँछ’ भनी बलेको आगो ताप्ने तर वाल्न प्रयत्न नगर्ने पूर्वापर विसुवा स्वार्थीको नै साम्राज्य चलेको छ । हुन पनि सामाजिक प्रतिष्ठा धनले किन्न सकिने हुँदा मान्छे ‘ताक परे तिवारी नत्र गोतामे’को वाटो समात्ने गर्छन् । पैसाले इच्छित वस्तु किन्न सकिन्छ भन्ने थाहा नपाएका स-साना वाल वालिकालाई समेत पाँच दश रुपयाका नोट खेलाउन दियो भने त्यो
फिर्ता लिन खोस्नै पर्ने हुन्छ । धनले धन ताने पनि थोरैले धेरैलाई तान्न सक्दैन । धेरैले थोरैलाई मात्र तान्छ । हाम्रा कवि शिरोमणि लेखनाथ पौडयालले ‘लक्ष्मी पूजा’ नाटकमा देखाइएका पात्र चौपटचन र चट्टकाजी पहिलेका सेवक र सेवितको नाता पछि गएर उल्टो भएको प्रसङ्गले धनको पोल राम्रोसङ्ग खोलेको छ। अर्कोतर्फ ‘ज्युदो पितृलाई पुछि न पात मरेको पितृलाई दाल र भात’ उखानले अभिधार्थमा शारीरिक आकर्षण देखाए पनि व्यञ्जनार्थले ‘ज्यूँदा जुगले’ धनतर्फ नै संकेत गरेको देखा पर्छ ।
नाता गोता कुल कुटुम्बमा कुनै धनी छ भने ऊ सबैको हाइ हाइ हुन्छ । तर त्यही पछि गरीब हुँदै गएमा त्यसतर्फ फर्केर हेर्ने पनि कोही हुँदैन । ‘गोरु बेचेको साहिनो’ पनि धनले नै नजिक बनाएको पाइन्छ । धनको यस्तो महत्व देखेको र कवि शिरोमणि कै ‘धन महिमा’ कविताका अन्तिम दुई पङ्क्ति ‘धनै छ सर्वोत्तम सार जे छ, सबै धनै भित्र लुकी रहेछ’ पढेको हुँदा धन कमाउने निश्चय गरेर बाटो खोज्न थाल्दा सबभन्दा सजिलो वाटो खन्ता लिएर राति गाउँ शहरका घर चाहार्ने लाग्यो । त्यसो गर्दा केही समय रकम हात पनि लाग्यो । त्यसमा कलाकारिता पनि बढ्दै गयो ।
सुनारेको सय चोट लोहारेको एक चोट भनी ठूलै ठाउँ हेरेको त उर्लेको मल्खु खहरेमा परिणत भै त्यसैमा बगेर सबै चौपट । यो भोग्दा लाग्यो ‘जता मल्खु उता ढल्कु’ भनिए पनि त्यो ढल्काइले जीवन नै चौपट पार्दो रहेछ । सैनाको देखेर रहरले मरी कुबाटो समातेर त्यस्तै हुन खोज्नु भन्दा ‘एनी हाउ काम चलाउ’ नै उत्तम लाग्यो । त्यसैले अब कहिले पनि मल्खुतिर नढल्किने सोच बनाएको छु । कसैले ‘आम्लानि द्राक्षा फलानि’ भने भनोस् । सुन्नु सबैको गर्नु आफ्नै राम्रो ।
०००
बिना भुटनकाे च्वाइँ (२०६३)
Subscribe
Login
0 Comments
Oldest








































