साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाटुपाटुको दुवै हातमा लड्डु

कपाल अनुसारको केश मिलाउनु, देश अनुसार भेष बदल्नु, समय अनुसार रंग बदल्नु परिस्थिति अनुसार ढंग बदल्नु, भन्ने हाम्रा बाजेहरूको विचार ग्रहण गर्दै काम गरेमा नै बुद्धिमानी हुने देखिन्छ ।

Nepal Telecom ad

चाटुपाटु भन्नु, चाप्लुस भन्नु, खुसामद भन्नु अथवा चाटुकार भन्नु सबै एउटै ड्याङका आचीमा सप्रिएका मूला झैँ सप्रन सफल चाकरी बादी चुक्लीदारहरू हुन् । चेपारे बेसारे, पिपलपाते, ताबेदार, फस्ल्याङफस्लुङकार, जे जे भने पनि चाटुपाटु नै हुन् ।

‘जो लगाउँछ चुक्ली उही जान्छ फुक्ली’ भन्थे बाजेहरू । तर आजभोलि जताततै चाटुपाटुको चुक्ली चिपिच्याल्लै भएको भेटाइन्छ ।

‘समाउँदाको चिप्लो उचाल्दाको गह्रौँ’ यो चाटुकारको चमचागिरी संसारको सबै ठाउँ र व्यवस्थामा बहाली भैसकेको छ कि क्या हो । जता गए पनि उसकै बोलवाला छ । यो फेरि आजदेखि हो र हजारौँ वर्षदेखि दादागिरी गर्दै आउन सफल भएको पुराणविदहरू बताउँछन् ।

चाटुककै भरमा परापूर्व कालदेखि अहिलेसम्म सत्ताकै सुकुलमा सानकासाथ सयल गरिरहेको पाइन्छ । सुमेरू पर्वत घुमेर आउने कुमारको पुर्पुरोमा पसिना, ‘त्वमेव माता च पिता त्वमेव ….’ भनेर चाकरी गरेको भरमा गणेशको हातमा दक्षिणा, हो कि होइन ? शिवजीले भाङ खाए पनि पार्वतीले त खाएकी थिइनन् होला नि, उनले पनि काम गर्नेलाई बाँसको कोर्को चाकरी गर्नेलाई चामलका धोक्रो गरिहालिन् । तेत्तीसकोटी देउताले त मन पराएको चाटुपाटुलाई तपाईं हामीले मन नपराएर के लछार्छ ? बरू ऊ ठाउँमा पुग्छ र हामीलाई पछार्छ ।

धर्म, राजनीति, कला, साहित्य, प्रेम, अनुराग हरेक क्षेत्रमा चाटुपाटु चिरिच्याट्ट परेर चम्किरहेको पाइन्छ । ‘काम गर्ने हनुमान जस पाउने ढेँडु’ भनेझै पहिला उसैलाई ठाउँ चाहिन्छ । नत्र कामै बन्दैन, दामै झर्दैन, अनि परेन फसाद ? कसरी गराउने काम फत्ते ? राजनीतिमा त चाटुपाटु नाङ्गै नाच्न थालिसकेको छ । ‘नाङ्गा नाचे हजार दाउ, चाकरी गर सकुन्जेल खाऊ, चाकरी नगरे मरिजाऊ, यही हो आजको काउ भाउ ।’ सयौं सास्ती सहने कैयौं कार्यकर्ता झोला बोक्याबोक्यै, मुख मिलाउन माहिर चाटुपाटु फल धोक्या धोक्यै ! यही त भैरहेको छ नि अहिले । झोलेहरूले सत्ताको स्वाद पाउनु त बिरालोकै काट्टो होस्, खोले पनि खान पाएको छैन । चाटुपाटुहरू ढुकुटी सकेर सुकुटी टोक्ने भैससके !

प्रेममा त चाटुपाटुले चुम्बनको काम गर्दछ । चाटुपाटुको चेपारे चोचो मोचोमा चिप्लेर लठारिँदा चिलिमच्वाँट भएका थुप्रै सनसनीपूणर् खवरहरू भँगेरे टाउके अक्षरमा अखबारका पानाहरूमा छपक्कै छापिएको यहाँहरूले पढ्नु भएकै होला । शीर्षक भए पनि पूरा त कसले पढ्ने ? शीर्षक हेर्‍यो त्यसकै भरमा भाषण ठोक्यो । नेता भैहालिन्छ क्यारे । हरेक ठाउँमा चपक्क चप्केर रहने चाटुपाटु मानवेत्तर प्राणीमा पनि पाउन सकिन्छ । श्रीमान् पाडोले पुच्छर ठाडो पारेर श्रीमती पाडोको ढाडमा चिउँडो अड्याएर ‘आइँ आइँ’ गर्नु, श्रीमान् स्वानले श्रीमती स्वानलाई पुच्छर हल्लाउँदै ‘कुइँ कुइँ’ गर्न भाले परेवाले पोथीलाई यामानको गाँड बनाउँदै ‘मकुरघुर घुर’ गरेर पट्टयाउनु, यी सबै चाटुपाटुकै उदाहरणहरू त हुन् नि । चाटुपाटु आफ्नो पक्षमा चाँजो पाँजो मिलाउन यति सिपालु हुन्छ कि त्यसको लागि ऊ घोप्टो नेप्टो चेप्टो जस्तो हुन पनि तयार हुन्छ ।

चाटुपाटुको चर्तिकला चटकेको भन्दा पनि चलाखीपूर्ण हुन्छ ? ऊ ‘माछा भए कुरमा हात सर्प भए पाखामा हात’ गर्दै जता ‘मकै पाक्यो त्यतै बाँदर नाच्यो’ गर्ने कुरामा पनि खल्ली हुन्छ । चाटुपाटु हरेक मानिसहरूसँग मिलेर आफू भन्दा इतर पक्षका मान्छेहरूलाई खाल्टोमा खसाउने योजना बनाइरहेको हुन्छ । पत्थरलाई नौनी बनाएर पगाल्ने, सत्ताको कुर्चीलाई कसेर अँगाल्ने, तिवारी बन्न पनि सक्ने गोतामे बन्न पनि सक्ने, सर्वशक्तिमान हुन्छ । मुसा भएर छिर्ने र हात्ती भएर निस्कने उसको चर्तिकला बुझि नसक्नुको हन्छ ।

त्यसैले यसको विरोध गरेर टाढियो भने तपाईं हाम्रो भविष्य गाडिन पनि सक्छ । कपाल अनुसारको केश मिलाउनु, देश अनुसार भेष बदल्नु, समय अनुसार रंग बदल्नु परिस्थिति अनुसार ढंग बदल्नु, भन्ने हाम्रा बाजेहरूको विचार ग्रहण गर्दै काम गरेमा नै बुद्धिमानी हुने देखिन्छ । हेर्नुस् आन्दोलनमा ननिस्कने विजयोत्सबमा यामानको झण्डा बोक्दै खाँटी आन्दोलनकारी बन्नेहरू बाक्लै छैनन् र ?

त्यसैले आउनोस् तपार्इँ हामी पनि चाटुपाटुले झैँ चिल्लो घसेर चिपिच्याल्लै पारौँ । चाटुकार बनेर चाप्लुसी र चाकरी गरौँ । अनि दुबै हातमा लड्डु हात पारौँ ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियत नफेरिएकाहरू

नियत नफेरिएकाहरू

केशव दुवाडी
लोकतन्त्र पुराण

लोकतन्त्र पुराण

केशव दुवाडी
झोला र झोले !

झोला र झोले !

केशव दुवाडी
नजाउँ कोरिया !!

नजाउँ कोरिया !!

केशव दुवाडी
धन त जसरी पनि कमाउनु पर्छ

धन त जसरी पनि...

केशव दुवाडी
फुर्सद खै ?

फुर्सद खै ?

केशव दुवाडी
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x