साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किरिया कर्म र कमाई

त्यसैले त किरियापुत्रीहरू समय अनुसार परिवर्तित हुँदै गणितज्ञ बनेर किरिया कर्ममा नाफा घाटाको जोड घटाउ गर्न रुचाउँछन् ।

Nepal Telecom ad

एघारवटीसम्म भित्र्याउन पाउने जमानामा एउटै बाबुका छोरा एउटै आमाका कोखबाट जन्मिएका धेरै जना दाजुभाइ आआफ्नो घरजम गरेर गुजारा गर्दा रहेछन् । समय सुल्किँदै जाँदा एक दिन रातिको मदिरा र मासु ओभरलोड भएर उमेरले नधान्दा आन्द्राले नमान्दा ठूलो दाजुलाई ब्लडप्रेसरले हानेर जिब्रो टोक्न बाध्य पारेछ । सबै गच्छे अनुसारको रुवाबासी गर्न थाले । ठूलो बज्रापातले रन्थनिएकी भाउजू बिलौना गर्दै रुँदै भन्न थालिन् । अब म एक्लै भएँ मेरो घरमा को बस्छ होला ?
दाजुभाइ मध्ये चण्डाल माइलो भाइले जुरुक्क उठेर भनेछ
म बस्छु भाउजू चिन्ता नलिनु ।
अब मेरो बुढाको श्रीसम्पत्ति कसले खान्छ होला ?
म खान्छु भाउजू चिन्ता नलिनु ।
अब मलाई कस्ले हेर्छ होला ?
म हेर्छु भाउजू चिन्ता नलिनु ।
अब दाजुले खाने थालमा कसले खान्छ होला ?
म खान्छु भाउजू चिन्ता नलिनु ।
दाजुको लुगाफाटो गरगहना कसले लगाउँछ होला ?
म लाउँछु भाउजू चिन्ता नलिनु ।
दाजु सुत्ने खाटमा को सुत्छ होला ?
म सुत्छु भाउजू । चिन्ता नलिनु ।
अब दाजुको किरिया खर्च, छोराछोरीको पढाइ खर्च कसले गर्छ होला ?
अनि माइलाले भनेछ म मात्रै कति बोल्नु भाइहरू हो तिमीहरू पनि बोलन भन्दै अर्कोतिर फर्किएछ ।

साँच्चै बाठा मान्छेहरू नौ थरी नाटक गर्न सिपालु हुन्छन् । मरौ परौबाट पनि हर तरहले हात्ती हत्याइ रहेका हुन्छन् । इज्जत बन्धकी राख्दै उकास्दै गर्छन् । इज्जत जान्छ कि अरूले चाल पाउँछन् कि भन्ने पिरलो हेक्का र चिन्ता पटक्कै नराखी आफ्नो दुनो सोझ्याउन मरिहत्ते गर्छन् ।

आफन्त दाजु भाइमा बाचुन्जेल गर्नुपर्ने काम धेरै हुन्छन् । एकदिन मरेर खोलामा जाने चोला कति लडाभाती गर्नु परेको होला । मिलेर बस्नुपर्छ भन्ने चटक्क बिर्सिएर कटक्क मन खाने गरी मारामार काटाकाटमा रमाउँदै किरिया नै खप्ट्याउलान् झैँ गरेर किरियापुत्रीहरू उफ्रिन्छन् । यस्तै उपद्रो मच्चाउँछन् भनेर नै नुन विहीन खुराक एक छाक मात्र खाएर किरिया कर्म गरिन्छ । पाखुरा सुर्किएर फुर्किएर कोठे बहादुरीलाई राम्रो, इज्जतिलो र समाजका दृष्टिमा सृष्टि नै व्यर्थ लाग्न सक्छ । धन सम्पत्तिलाई मात्रै ठूलो कुरा मान्नु हुँदैन । जसरी तसरी सारो गारो अप्ठ्यारो विवेकसम्मत हिसालबे नै किनारा लगाउन जान्नुपर्छ । सम्पत्ति धेरै थोरै हुँदैमा एकले अर्कालाई हेला होचो थिचोमिचो र धेरै चलाखीपन देखाएर पाण्डव र कौरवले झै सहोदर दाजुभाइमा नै मानमर्दन गर्नु बुद्धिमानी र सभ्य मान्न सकिँदैन । जन्म कर्मदेखि मृत्यु संस्कार पनि काँधमा काँध मिलाएर फत्ते गर्नु साँचो र सत्ते कर्म गर्नु हो ।

हिन्दु बुद्धिस्ष्ट, मुस्लिम, क्रिश्चियन, हरेक धर्मावलम्बीले मरणोपरान्त मृतात्माको शान्तिका लागि गक्ष र लक्ष्य अनुसारको आआफ्नै ढङ्गले किरिया गर्ने चलन छ । कसले कसो गर्छन् भन्दा पनि सत विचारले तत्पात्रलाई यथोचित थान्को लगाउनु ठूलो कुरा हो । जातै पिच्छेका किरिया कर्म गर्न मानव स्वतन्त्र छ । सरकारका तर्फबाट पनि सके सहयोग नसके किरिया कर्म गर्न कुनै रोकतोक छैन न त करकाप नै । मानव समुदायले त्यसैको फाइदा उठाएर आफ्नो बलबुताले खामेसम्म परम्परा, संस्कार, संस्कृतिको संरक्षण, सम्बद्र्धन र रक्षा गर्न नाङ्गै भुतुङ्गै एक धरो लगौटी र कोरामा बेरिएर पनि मृतात्माको उत्तम लोक बैकुण्ठ बास र सुखी आत्माको कामना खातिर मरिमेट्छन् ।

जिउँदो ज्यानलाई यस किसिमको कष्ट पूणर् र तन, मन, धन, सहितको कर्म गराई देखेपछि आफै उर्लिएर आनन्द आउँछ । मरेपछि भुसुक्कै विर्सन्छन् कि, सम्झिँदैनन् कि भन्ने पिरलोबाट जीवित छँदै पार पाइन्छ । मरणोपरान्त गरिने किरिया कर्म विधि फरक फरक भए तापनि अन्तिम उद्देश्य चाहिँ मृतात्माको बैकुण्ठबासमा पनि उत्तम लोक, उत्तम आसन, रासन, शासन र उत्तम गतिको कामना । बैतोर्नी गरुन्. वा गरुढ पुराण भट्याउन, लामा पढाउन वा फूलपाती चढाउँदै मैनबत्ती बालेर प्रार्थना गरुन् आशय र उद्देश्य एउटै हो कि मृतात्माको परलोकको बास उत्तम, सुखी र सहज बन्न सकोस् ।

हरेक जातजातिले मृतात्माको शान्तिको कामना अन्तरात्माले गरेका हुन्छन् । अझ आधुनिकताको राग उराल्दै हार्दिक श्रद्धाञ्जली मुखले दिएर नपुगेर पत्रपत्रिकामा सचित्र अक्षराङ्कन सहित श्रद्धाञ्जलीका ठेली र प्रमाणपत्रहरू पेश गरेर शोक सन्तप्त परिवारजन र आफन्तमा धैर्यधारण गर्ने क्षमता ईश्वरबाट प्राप्त होस् भन्ने कामना गरिन्छ । कसैलाई तेत्तिले मात्र चित्त बुझ्दैन र मिले पुगेसम्म दुई थोपा आसुमा पनि के कन्जुस्याइ गर्ने भन्ने पवित्र मनसायले अन्तरात्मालाई द्रविभूत बनाएर गोहीको आशुलाई उछिन्न खोजिन्छ । यसर्थ जीवित मानव चोलाको लोभलाग्दो पक्ष यही हो । बाचुन्जेल एउटाले अर्काको खुट्टो समाएर उँधै उँधै लतारे, ताने पनि ढुङ्गाले पुर्पुरामा हाने पनि बैगुनी भनेर जाने पनि काटमार सत्तोसराप गरे पनि मरेपछि नुन खाएको कुखुराझै झोक्रेमुन्टो लगाएर निन्याउरो हुनु । साँक्क सुक्क गर्नु मानवीय गुण र बंशाणुगत आचरण हो । जसले हर पुस्तामा निरन्तरता पाउँदै आइरहेको छ र भविष्य पनि यस्तै सत्कर्मले सुनिश्चित गरेको छ ।

मरेपछि उत्तम लोक, अधम लोक, जे जस्तो लोक, सुखशयल वा जे गति र मति प्राप्त गरिन्छ त्यसको पूणर् जस बाँचेर पाखुरी पौरखमा रमाइ रहेका आफन्तजनलाई नै दिनुपर्छ । दिएका पनि छन् र भोलिका दिनमा पनि उदारात्माले निरन्तरता पाइरहने कुरामा कुनै शंका छैन । तथापि भन्नेहरू भनिरहेकै हुन्छन् कर्म अनुसारको फल । जीवित आत्मा यसमा कटिबद्ध छ । बाँचेका आफन्त नाता कुटुम्बले हरकष्ट र आर्थिक भार सहेर पनि मृतात्मालाई यथोचित ढङ्गले थान्को लगाउन कुनै कन्जुस्याई गरेका छन् भन्ने शंकाको एक अंश पनि नरहने गरी किरया कर्म सम्पन्न गर्नु भनेको धन उडाउनु मात्र होइन मृतात्मालाई सत्पथमा थान्को लगाउनु पनि हो । हरेक धर्मावलम्बीका नयाँ पुराना सबै पुस्ताले तन, मन, धन, दिएर पुनर्नात्माका लागि सुखी देहको कामना गर्ने गरेको कुरा सत्य साबित भएकै कुरा हो । तब त मान्छे हर कठिन कष्ट सहेर पनि मानव र ज्यानको आसै मारेर पनि संस्कारलाई मर्न दिँदैनन् ।

यहाँ कर्मभन्दा पनि संस्कार संस्कृति प्यारो छ । सन्तानलाई धन सम्पत्ति अंश नदिए एकछिन वा केही समय रोलान्, कराउँलान्, झगडा गर्लान् तर संस्कार नदिए आजीवन रुन्छन् । समय एक नास हुँदैन । सामाजिक गतिविधिमा पनि अवरोध अन्तर देखापर्छन् । कोही महँगीको मारले र अभावको धारले रेटिएको जिन्दगी बाँचेका हुन्छन् । वर्तमान अवस्थामा छोराछोरीलाई विदेश नपठाउने मान्छे समाजमा दुर्बल साबित हुन्छन् । समय तमासा, अनि फुर्तिफार्ती गर्ने, धाकधक्कु र पक्कुको छ । ठगठाग मीठा मित्थ्या बचनले आफूतिर तानेर निर्मम बजार्नमै बहादुरी ठान्नेहरू धेरै छन् । ठालुपन देखाएर समाजको माया लुट्न धुत्न सकिन्छ । सोझो सत्कर्मभन्दा तामसी नीच कर्मले धनी मानी हुने, मान सम्मानको ओइरो लाग्ने समयले गर्दा सोजासिधालाई बाँच्न, हाँस्न, नाच्न, साँच्न पनि गारो भएपछि माइलाले जस्तै भाउजूलाई चित्त बुझाउन सक्नु पर्दो रहेछ । “आफ्नो टाउको फुटे मितको टाउको बेलै समान” सोच्नेहरूको सदा चन्द्रमा दाहिना भइरहेका हुन्छन् । त्यसैले त किरियापुत्रीहरू समय अनुसार परिवर्तित हुँदै गणितज्ञ बनेर किरिया कर्ममा नाफा घाटाको जोड घटाउ गर्न रुचाउँछन् ।

फूलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x