माैन आवाजकमरेडहरूको खोजी
उनीहरूले- पराजित जीवन र/स्खलित भरोसालाई पनि सरापेनन् ! उनीहरूले- केवल कमरेडहरूलाई मात्रै सरापे !

उनीहरूले-
भगवानलाई सरापेनन्
कमरेडहरूलाई सरापे !
उनीहरूले-
आफ्नो भाग्यलाई सरापेनन्
कमरेडहरूलाई सरापे !
झुप्रोमा चुहिने बर्खा
र/कठोर गर्मीलाई सरापेनन्
उनीहरूले कमरेडहरूलाई सरापे !
उनीहरू-
मजदूरी गर्नेहरू !
उनीहरू-
माटोमा पसिना बगाउनेहरू !
उनीहरू-
कठिन जीवन बाँच्नेहरू !
उनीहरूले-
अँध्यारोलाई सरापेनन्
कमरेडहरूलाई सरापे !
उनीहरूले काँधमा बोकेका मालिकहरूलाई
दुःखलाई
अभाव र/पीडालाई सरापेनन्
कमरेडहरूलाई सरापे !
नियतिको बर्बर प्रहारलाई
जर्जर आत्माद्वारा स्वीकारे
कहिले रोए
कहिले चिच्याए
तर/समयलाई सरापेनन् ।
उनीहरूले-
आँसुलाई सरापेनन्
कमरेडहरूलाई सरापे !
उनीहरू-
उजाड बस्तीका बासिन्दाहरू !
उनीहरू-
नीरस यात्राका पदयात्रीहरू !
उनीहरू-
अनन्त प्रहारका साक्षीहरू !
उनीहरूले-
डरलाग्दो भीरलाई सरापेनन्
यातनालाई सरापेनन्
उराठलाग्दो बाटोलाई
अन्त्यहीन यात्रालाई सरापेनन्
कमरेडहरूलाई सरापे !
सपनाको मृत्यु जस्तो अरु केही हुँदैन
उनीहरूले-
मृत सपनालाई पनि सरापेनन् !
दुख्नु जस्तो कठिन
टुक्रिनु जस्तो अवसाद अरु केही हुँदैन
उनीहरूले –
विषाद र/अवसादलाई पनि सरापेनन् !
उनीहरूले आफ्नो अर्थहीन अस्तित्वलाई पनि सरापेनन्
उनीहरूले-
पराजित जीवन र/स्खलित भरोसालाई पनि सरापेनन् !
उनीहरूले-
केवल कमरेडहरूलाई मात्रै सरापे !
उनीहरूले-
केवल कमरेडहरूको वाचा र/प्रतिबद्धताहरूलाई मात्रै सरापे !
उनीहरूलाई विश्वास थियो-
एकदिन कमरेडहरू फर्कनेछन्- यो राष्ट्रमा ,
फरफराउने छ – स्वाधिनताको नयाँ झण्डा !
उनीहरूले-
रक्तिम इतिहासलाई सरापेनन् ।
उनीहरूले-
कमरेडहरूको खोजीमा बिताएका कुनैपनि क्षणहरूलाई सरापेनन् ।
जब-
उनीहरूलाई थाहा भयो
कमरेडहरू त भइसकेछन् ईमान बेच्ने दलाल !
-उनीहरूले आफैले आफैलाई सरापे !
Subscribe
Login
0 Comments
Oldest









































