केशव दुवाडीमन्त्रीजीको जुत्ता !
एक छिनपछि सालोलाई पसलेले इसारा गरेर बोलाएर भन्यो “मन्त्रीजीको खुट्टा देब्रे चालीस र दाइने एकचालीस साइजको रहेछ । कुरा बुझ्नु भो ? उहाँलाई नभन्नु ! अबदेखि दुई जोर किन्नु र मिलाउनु !

पञ्चायती कालमा हात्तीछापे भक्कु चप्पल पड्काएर कलेज जाने, फाटेको टोपी र रफ्फु भरेको पत्लुङ लगाउने, साथीहरूले कमिटीमा तिरेको लेबी उठाएर रोजी रोटी चलाउने अनि एउटा क्याम्पसबाट अर्को क्याम्पस आउँदा जाँदा काठमाण्डौको सडकको हिलोले कात्ती दले जस्तो कालो कल्दर भएको सर्टको पछिल्लो भाग हिलाम्य पार्ने एक जना नेता बहुदल आएपछि एउटा जिल्लाको नेता भएर पार्टी संगठनतिर लागे ।
नेता भएर नमस्कार खाँदै हिँडे, “पैसो न सैसो टिकी ट्याँस् ट्याँस ट्याँस” भने झै धेरै चोटी चुनाबमा पछारिए । कहिले आफ्नै पार्टीबाट अन्तरघात, कहिले अर्को पार्टीबाट भक्कुमार लात, कहिले मतदातालाई खुवाउन नसकेर मासुभात, धेरै चोटी हन्डर खाए । उनको नामनै नजित्ने नेता रहेको थियो ।
जिल्लामा बल्ड्याङ् खाएपछि पार्टीको शक्तिशाली नेताको चाकरी गर्न उनी गुटियारको मतियार बन्न राजधानी छिरे । नेताको दैलो दैलो चाहारे, उनीसँगै भक्कु चप्पल पड्काएर हिँड्नेहरूको आलिशान महल ठडिएको देखेर घुटुक्क थुक निल्दै आफूलाई थुक्क भन्दै उल्टो लप्पु ख्वाए ।
खुट्टामा अझै चप्पल नै थियो, नेताजीहरूको महलमा टाँसिएको सिङ्गमरमरमा चिप्लिएर झण्डै टाउको फुटेको धेरै पटक । त्यसपछि उनले त्यो चप्पल पनि गेटबाहिरै फुकाल्न थाले ।
एक पटक उनको गुटका नेताले पत्रकार बोलाएर हाम्रो पार्टीका सच्चा इमान्दार, सादा जीवन उच्च विचार भएको, जबसम्म सबै नेपाली जनताले जुत्ता लगाउने हैसियत बनाउँदैनन् तबसम्म जुत्ता नलगाउने, आफू पनि सर्वहारा जनताकै जीवन जिउने एक आदर्श नेता भनेर चिनाए ।
पत्रकारले उनको चाउरिएको गाला, घेरा फाटेको टोपी, फस्नर आदिमात्रै लाग्ने पत्लुङ, पट्पट् फुटेर चिरिएका कुर्कुच्चा फोकस गरी गरी भिडियो/फोटो खिचे ।
एक छिनपछि नेताको गोप्यकोठामा गए र एक बोत्तल डिउटी फ्री र एउटा खाम बोकेर पत्रकार आचारसंहिता संझदै मिडिया हाउसतिर लागे ।
सबै टीभी, एफएम रेडियो पत्रपत्रिका, सामाजिक सञ्जालमा ती चप्पले नेता भाइरल भए । उनका गुटका नेताले जुँगामा ताउ लाउँदै महलको ट्यारेसमा बोलाएर देख्यौ तिमी कति लोकप्रिय भयौ भनेर धाप मारे । चप्पले नेता दंग परेर भने- “नेता ज्यू ! मलाई पनि एक जोर लवेता सुरुवाल र जुत्ताको व्यवस्था गरिदिनु न ! बुढीले साह्रै हेपेर अझसम्म ससुराली नै लगेकी छैन भन्या ।”
नेताले अहिले होइन यो पपुलारिटीले अब आउने चुनाब जित्ने अनि मन्त्री बन्ने अनि नयाँ दौरासुरुवाल जुत्ता लगाएर सिंहदरबारभित्र छिर्ने हो भने ।
उनी च्याट्ट झण्डावाल गाडीमा बसेर सलामी खाएको सपनामा एक छिन हराएका मात्र के थिए नेता पत्नीको अत्तरको खिरिलो बासनाले झल्याँस्स भए ।
“हैन वहाँ त भाइरल नेता हैन र ? किन यस्तो गतिछाडा भएर हिँडेको ? लौन हजुर केही व्यवस्था गरिदिस्यो विचरा बाउनलाई ।” नेता पत्नीले भनिन् ।
“हैन म्याडम ठीकै छ, म सर्वसाधारण नै ठीक छु । बरु एक गिलाँस पानी पाउँन ।” उनले भने । एक छिनपछि नेता पत्नीले सितन सहितको प्याकनै लिएर आइन् । चप्पले नेता वाक्क न वक्क । गाउँमा जनताले देख्छन् कि भनेर पल्याकपुलुक हेरेर स्वाँठ्ठ ठर्रा तान्ने अनि एक पसारो साँदेको भटमास र लसुन फ्वाँक्क पार्दै हिँड्ने नेता विदेशी दारु देखेपछि ट्वाँ त पर्ने नै भए ।
“ल चियर्स्” भनेर गुटियारका नेताले भनेपछि एकै सासमा स्वाँठ्ठै पारे । सितनको सलाद र कुखुराको सपेटा टोके ।
“आहा ! नेताज्यू ! यस्तो मीठो चीज त न बीपीको समाजवादमा पाइने, न मदनको जबजमा पाइने, न माक्र्सवाद र माओवादको ठेलीमा ।” जिब्रो लरबराउँदै भने ।
ठूलो नेताले जुँगामा ताउ लाउँदै भने- “अब अन्तरवार्ता दिँदा सधै मेरो नाम लिने, उहाँ जस्तो त्यागी, राष्ट्रवादी, विकास प्रेमी कोही छैन भन्ने ।”
चप्पले नेताले आज्ञाकारी जस्तै मुन्टो हल्लाएर हुन्छ भने । फेरि एकजोर दौरासुरुवाल र जुत्ता मागे ।
ठूलो नेताले फेरि जुत्ताको कुरा नगर, जुत्ता मन्त्री भएपछि, रंग न ढंग त्यसै भरिभंग गर्ने ? त्यत्रो चप्पलले भाइरल बनाएको नेताले जुत्ता लगाएको फोटो बाहिरियो भने लोकप्रियता घट्दैन ? केही समयपछि चुनाब आउँछ अनि जित्ने, यो भाइरल काण्ड सेलाउँछ अनि भन्दै सम्झाए ।
“फेरि जुत्ता किनेपछि मोजा पनि किन्न पर्यो, काठमाण्डौमा हिँड्दा खुट्टामात्र हैन मोजा नै पसिनाले छर्लप्पै हुन्छ अनि डुङ्डुङ् गनाउँछ । उसै त बुढीले पसिना गनायो भनेर सधैँ कुहिनु पड्काउँछे ! हस हजुर ! अनि टिकट त पक्कै मिल्छ हैन ?” एकसासमा बोले ।
त्यस पछि नेताको काखमा घोप्टिएर हजुरभन्दा ठूलो नेता कोही छैन, मेरो बा भने पनि तपाई, दाइ भने पनि तपाईँ म तपाईँको साथ कहिल्यै छाड्ने छैन भन्दै घ्वाँ घ्वाँ रुन थाल्यो ।
“एक पछि नेता पत्नी आएर दुबैलाई “ल जँड्याहहरू बेहोस् भएछन् ।” भन्दै सोफा मुनिको गलैँचामा पल्टाएर च्यादर ओडाएर गइन् । दोहोरो घुराइको आवाजले रातको सन्नाटालाई चुनौती दियो ।
ओहो ! मन्त्रीजीको जुत्ताको बखान गर्न थालेको त उनको पृष्ठभूमिको आख्यान पो गर्न पुगे छु । जेहोस् चप्पले नेता भाइरल भएपछि यसो उत्तर दक्षिण र सुदूर पश्चिमका छिमेकीहरूले समेत उनलाई भेट्न खोजेछन् । दूतावासहरूमै चप्पल पड्काउँदै पुगेछन् र यसो आशीर्वाद समेत प्राप्त गरेछन् अनि जिल्ला फर्केछन् ।
उनको अनुहार उजेलिएको देखेर सहकर्मी र कार्यकर्ताहरू पनि दंग भए । पार्टीका भातृसंगठनहरूले गाजाबाजा सहित जिल्लाका गाउँसहर घुमाए । अविरजात्रा गराए । खादा माला पहिर्याएर धुनचक्रै गरे ।
चुनावमा टिकट पनि पाए मिडियाको ठूलो कभरेज पाए, दूतावास र व्यापारीबाट यसो चुनाब चन्दा पनि पाए । अनि पहिलो पटक चुनाबमा जीत पड्काए ।
पार्टीको प्रचण्ड बहुमत आयो । गुटियारका नेता पनि दाहिना भए मन्त्रिमण्डलमा उनको नाम पनि चर्चामा आयो ।
अब भने उनलाई औपचारिक कार्यक्रम सपथ ग्रहणमा जानु पर्ने भयो, दौरासुरुवाल वा कोट पाइन्ट जे भए पनि भयो तर एक जोर जुत्ता जसरी पनि चाहिने भयो ।
मन्त्रिमण्डलमा नाम परेपछि नजिक टाढाका आफन्तहरू आउन थाले, कार्यकर्ताहरूले फूलमाला बर्साउन थाले, तर जुत्ताको जोहो अहिलेसम्म हुन सकेको छैन । कुन कम्पनिको लाउने हो, कस्तो कस्तो चाहिने हो थाहा पत्तै छैन । एक छिनपछि श्रीमती आएर खुसुक्क कानमा भनिन्- भाइ आएको छ, एक चोटी अर्जेन्ट कुरा गर्नु छ भनेर भित्र लगिन् । सालो केटोलो दश हात परैबाट दशऔला जोड्यो । तर नेताले ठम्याउनै सकेनन् । जुत्ताको जोहो गर्न नसकेर ससुराली जान नपाएको सालौँसाल भयो अनि सालोलाई कसरी चिन्ने त !
“भाइ क्या, कान्छो ! यसलाई पिए राख्नु पर्छ, यो बाठो छ । टाकटुक सबै मिलाउँछ । मन्त्रीको पिए सालोहरू नै ठीक हुन्छन् ।” श्रीमतीले कानमा फुस्फुसाएपछि चप्पले नेताले सालोलाई ढाप मार्दै- “यो मेरो सहयोगी पिए हो” भनेर कार्यकर्ताहरूलाई चिनायो । सालो मसक्क पर्यो । पिए पड्काउन नेतालाई नमस्कार र खादा लगाउन कोठामा सखारै आएका तीन जना कार्यकर्ता ठसक्क परे ।
त्यसपछि सालोलाई कानमा “जा त दुई जोर दौरासुरुवाल र जुत्ता किनेर ल्या ।” भनेर नेताले भन्यो ।
सालो हत्त र पत्त मोटरसाइकल हुँइक्याउँदै बजार झर्यो । बजारका सबैले उसलाई नमस्कार गरे । ऊ पसलमा छिरेर दुई जोर जुत्ता किनेर हिँड्यो । पसलेले पैसा मागेको थियो खातामा लेख भन्दै कुद्यो र दौरासुरुवाल लिएर हुइँकियो ।
मन्त्री हुनलागेको भिनाजुको पिए फुर्ति त भै हाल्छ नि ! ऊ घर आइपुग्दा कार्यकर्ता झन धेरै देख्यो । सबैले उसलाई नमस्कार गरे मानौँ ऊ नै ठूलो नेता हो । तर उसले कसैलाई बालै दिएन र भित्र पसेर भिनाजुलाई बोलायो ।
दौरासुरुवाल देखायो, कोट चाहिँ बिहेकै चल्छ भिनाजु भनेर फकायो । जुत्ता खुट्टाभित्र घुसायो । तर एउटा खुट्टा अलि कति टाइट भयो अर्थात् अर्को खुट्टा अलि खुकुलो भयो भनौँ न ! हैन के साइज नै नमिलेको जुत्ता ल्याइस् ए केटा भनेर सालोलाई थर्कायो ।
“दुई चार दिनपछि आफै ठीक हुन्छ भिनाजु” भनेर सालोले फकायो । साला भिना र दिदीले एउटा सेल्फी हाने । सालोले भिनाजुलाई मन्त्री भएकोमा बधाई भनेर लेख्यो र आफूलाई निजीसचिवालय प्रमुख भनेर चिनायो । बधाईको ओइरो लाग्यो ।
चप्पले नेताले पहिलो पटक जुत्ता लगाएर खोच्याउँदै सपथ खान गयो । गुटियारका नेता प्रधानमन्त्री थिए । उसले कृषि विकास मन्त्रालयको जिम्मा पायो, सपथ खायो र झण्डा हल्लाउँदै मन्त्रालयमा गएर कार्यभार सम्हाल्यो । आफू आधारभूत वर्गबाट आएकोले कृषिविकासलाई द्रुत गतिमा अघि बढाउने भाषण गरेर मन्त्री निवास आयो ।
गाडीबाट ओर्लिएर यसो दुईपाइला चालेको जुत्ताले दुखाएर झण्डै लडेको ।
कोठामा गएर मोजा फुकालेर फाल्यो के गनायो गनायो । सालो भित्र पसेर ल बरवाद कटनको नगनाउने मोजा भनेको त यस्तो दुर्गन्धित पो परेछ भिनाजु ! भन्न थाल्यो । मन्त्रीले मोजाको गन्ध पहिलो पटक थाहा पायो । तर दाइने खुट्टाको कुर्कुच्चा भन्दा तल दुईटा फोका देखेर सालोलाई भन्यो- “हैन ए कान्छा, जनै खटिरा आउँछ भन्थे जुत्ता लगाउँदा त जुत्ते खटिरा पो आयो त !!
सालोले हत्त र पत्त भिनाजुको खुट्टा समायो र भन्यो “यो जुत्ता र कार्यकर्ता उस्तै हो भिनाजु । जुत्ता नयाँ भए काट्छ, पुरानो भए फाट्छ, कार्यकर्ता पनि नयाँमा क्रान्तिकारी, पुरानो भएपछि गुनासोकारी !
ल ठीक छ म तुरुन्त अलि राम्रो खाले जुत्ता किनेर ल्याउँछु भनेर निस्कियो । दिदीलाई बोलायो, ड्राइभरलाई बोलायो, झण्डावाल गाडीको कालो सिसाभित्र दिदीभाइ हुईँकिए झण्डा हल्लाउँदै सलामी खाँदै । तर फेरि नयाँ जुत्ताले पनि खुट्टाको साइज चिनेन ! पहिला दाइने खुट्टा खुकुलो भएको थियो अहिले देब्रे खुट्टा टाइट भयो । धेरै प्रकारका जुत्ता ल्याउँदा पनि नमिलेपछि मन्त्रीलाई नै जुत्ता पसलमा लग्यो ।
पसल अगाडि झण्डावाल गाडी र डण्डावाल पुलिस देखेर पसले पनि दंग पर्यो । हतारिएर पसल बाहिर आएर स्वागत गर्यो । कुर्चीमा बसालेर मन्त्रीजीको खुट्टा नापेको त मन्त्रीजीको दाइने खुट्टा भन्दा एक साइज देब्रे खुट्टा सानो रहेछ । अर्थात् देब्रे खुट्टाभन्दा दाइने खुट्टा एक साइज ठूलो भनौ न !
पसले मुसुक्क मुस्कायो र पछाडि गयो एकचालीस र चालीसको दुईजोर जुत्ता निकाल्यो र एक एक वटा झिकेर वाकसमा हाल्यो फेरि त्यसैगरी अर्को पनि झिक्यो र बाकसमा हाल्यो । अनि मन्त्रीजीलाई लगाइदियो एकदम फिट । मन्त्री दंग पर्यो पिए सालो छक्क पर्यो ।
एक छिनपछि सालोलाई पसलेले इसारा गरेर बोलाएर भन्यो “मन्त्रीजीको खुट्टा देब्रे चालीस र दाइने एकचालीस साइजको रहेछ । कुरा बुझ्नु भो ? उहाँलाई नभन्नु ! अबदेखि दुई जोर किन्नु र मिलाउनु ! सालोले भिनाजुको गुह्य कुरा बल्ल थाहा पायो र जुत्ताको पोको बोकेर गाडीतर्फ लाग्यो ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































