नरनाथ लुइँटेलसम्पादक्याैली :: अगस्तीहरूको खाइजात्रा !!
नरोकिएर, नबिसाएर, बेरोकटोक खाएका खायै छन् । खानु नै अगस्तीको नित्य कर्म ! लाज, घिन र सर्म नमानी खाइरहेका छन् । उनीहरूकै खान्तेपिन्ते कार्य सुसञ्चालनबाट यो राष्ट्र अहिले खाइजात्रामय बनेको छ ।

पुराणकालीन समयको एक प्राचीन ग्रन्थमा चर्चा गरिएका एक पात्रको नाम हो अगस्ती । उनको भोक यस्तो थियो- देखे, भेटे र पाएजति सबै खाए पनि उनी अघाउँदैनथे । अगस्तीको भोकका अगाडि सिङ्गै समुद्र सुक्यो, उनले तनतनी पिए तर भोक मेटिएन । उनी थिए ऋषि तर उनको भोक थियो राक्षसी । यो प्राचीन सन्दर्भलाई बिर्साउने गरी आज नेपाली भूखण्डमा अगस्तीहरू खडा भएका छन्, उनीहरूको राक्षसी भोकले ती प्राचीन अगस्तीको भोकलाई पनि माथ गरिदिएको छ ।
जात्रा त नेपाली पहिचान नै हो । अन्यान्य जात्राको सांस्कृतिक सन्दर्भमा यो लठुवालाई त्यति सरोकार छैन । सिङ्गै समुद्र पिउँदा पनि नमेटिने भोक जागेका आधुनिक अगस्तीहरूले जुन खाइजात्रा चलाइरहेका छन्, तत्जात्राका बारेमा थोरैतिन वणर्न गर्ने उद्धेश्यले म उद्वेलित भएको छु । यो काखेकम्प्युटरको किबोर्डमाथि औँलाहरू मार्फत बिन्यास हुँदै गरेका यी अक्षर तिनै अगस्तीहरूका खाइजात्राप्रति समर्पित छन् ।
देखे, भेटे र पाएसम्म चिनोचपेटै नराखेर हसहस हसुर्ने विराट क्षमता बोकेका अगस्तीहरूकन यो लखरठ्याक सर्वप्रथम सादर प्रणाम गर्दछ । हामीले मानिआएका प्रभुहरूभन्दा पनि अपरम्पार छन् यी अगस्तीहरू । लोकतन्त्रको जगैबाट उठेर हलक्क भएका यी अगस्तीहरूको भोक जति खाए पनि नअघाउने प्रकृतिको भोक हो । सारा नेपालीको सुखसमुद्र सर्लक्कै पिउँदा पनि यिनीहरूको भोक मेटिएको छैन । भन्छन् विकासको आयोजना तर हरेक आयोजनालाई खाइजात्राको माध्यम बनाउँछन् । भनाइ सुनिन्छ- जनताको भोक मेटाउन आफू मरिमेटी गरिरहेको तर यथार्थमा अगस्तीहरू जुटेका छन् खाइजात्रामा ।
आँखाले देखेजति सबै बस्तु अगस्तीका लागि खाध्य वस्तु हुन् । खाएका खायै छन् । निर्माण खान्छन, ठेक्का खान्छन्, बजेट खान्छन्, कुनै पनि परियोजनाका मूलमुद्ध नै खानेकर्मसँग जोडेर बनाउँछन् । हरेक बुँदामा खाने प्वालहरू सिर्जना गरिन्छन् । यता टाल्यो उता चुहिन्छ, उता टाल्न खोज्यो अन्तै चुहिनथाल्छ । यी तमाम प्वालहरू खाइजात्रा मनाउनका निम्ति नै बने बनाइएका हुन् । अगस्तीको मूल कर्म नै खाने हो, धर्म खाइजात्रामा केन्द्रित छ, जात खञ्चुवा, जति उदरस्थ गरे पनि नअघाउनु अगस्तीहरूको वैशिष्ट्य । बस् । अगस्तीहरू सारै व्यस्त छन् अहिले । उनीहरू बजेट खानमा व्यस्त छन्, योजनै बजाउनमा व्यस्त छन् । ल्वाँठ नेपालीले पाइला पालामा तिरेको कर मिचमाच पारेर घिच्नमा व्यस्त छन् । कसैले यसरी त घिच्न भएन नि भन्यो भने उसको हर खुस्काउन बेर लाउँदैनन् । सरकारी निकाय अगस्तीहरूको खाइजात्रे बजार हो, अगस्तीहरू त्यो बजारका फौबन्जार ! धुतेर खाएका छन्, थुतेर खाएका छन्, उठेर खाएका छन्, लुटेर खाएका छन्, चुटेर खाएका छन् । देखादेखी खाएका छन्, हेर्दाहेर्दै खाएका छन् । नरोकिएर, नबिसाएर, बेरोकटोक खाएका खायै छन् । खानु नै अगस्तीको नित्य कर्म ! लाज, घिन र सर्म नमानी खाइरहेका छन् । उनीहरूकै खान्तेपिन्ते कार्य सुसञ्चालनबाट यो राष्ट्र अहिले खाइजात्रामय बनेको छ ।
हिजो अगस्तीहरू प्राय राजधानीतिरै हुन्थे । उनीहरूको बजार राजधानी केन्द्रित थियो । यतै लठारिन्थे, यतै बटारिन्थे । खान पाएकै थिए, प्युन जानेकै थिए । खञ्चुवा अगस्तीहरूको सङ्ख्या पनि अलि सीमित नै थियो । ल्वाँठ जनताले लडिदिएर थोरै सेता हातीका काला दाँत फुकालेपछि सत्तासवार, वर्षौंदेखि भोकाएका यी अगस्तीहरूको अर्को खाइजात्रे स्वर्ग निर्माण भएछ । स्थिति र परिस्थिति पूरै फेरिएको छ । पुराना अगस्तीको सुखद स्वर्ग भत्किएर नयाँ अगस्तीको राज्य निर्माण भएको छ । नव अगस्तीहरूको खाइजात्राले पनि नवीन रुप लिने नै भयो । अब खाइजात्रालाई सुव्यवस्थित र सुसञ्चालन गर्ने नयाँ नयाँ विधि र प्रक्रिया बन्न बनाउनै पर्यो ती बनिबनाउ पनि छन् तर मतैक्य छैन । मतैक्य नभएपछि वादविवाद नहुने कुरै भएन । उनीहरू बेला बेला आपसमा कुटाकुट पनि गर्छन्, झगडा र मारमुङ्ग्री पनि चल्छ । सिद्धान्तको दुवाइ दिँदै लाप्पा पनि खेल्छन् । तर जब खाइजात्रे कार्यक्रम शुरु हुन्छ, अथवा खाने कार्ययोजनामा मतदान प्रक्रिया आरम्भ हुन्छ, उनीहरू एकजुट हुन्छन् । सबका सब सर्वसम्मत । उनीहरू बीच अपूर्व मिलन हुन्छ । खाने पिउने परियोजना पारित हुन्छ । खञ्चुवा सिद्धान्तमा यस्तो अपूर्व मेल आजसम्म कहिँ देखिएको छैन । अगस्तीहरू भोक मेट्ने गरी खानका लागि लपक्कै मिल्छन । भोका अगस्तीहरू मिलेर खान्छन् । मिलेरै खाइरहेका छन् ।
हिजोका अगस्तीहरू इतिहासमै पुरिए । अब अहिलेको अगस्ती नयाँनयाँ दाउ, घाउ, तरिका र परिकारमा निर्लिप्त छन् । हिजो सिंहदरवारतिरै घरवार बनाएका अगस्तीहरू थिए । अहिलेका अगस्तीहरू सिंहदरवारमा मात्र कहाँ सीमित छन् र ? उनीहरूको खाइजात्रे भोक प्रादेशिक हुँदै नगरपालिका, गाउँपालिका र वडा पालिकासम्म पुगेको छ । अगस्ीहरू खानकै लागि बाटै नभएका ठाउँ पुल हाल्छन् । डाँडाका टुप्पा यसै अग्ला थिए, खानकै लागि करोडौँ भ्यु टाउवर बनाउँछन् । खानकै लागि प्रतिनिधि नामका अगस्तीहरू डोजरमालिक बन्छन् । मोटर जाओस् कि नजाओस् पाखापखेरा भत्काउँदै बाटो खन्छन् । यसरी जहाँ, जता र जे गरेर खानै खोज्ने अगस्तीहरूको अर्को वर्ग नै तयार भएको छ । को अगुवा अगस्ती हुने भनेर भयङ्कर प्रतिष्पर्धा हुनु स्वाभाविक हो । त्यो प्रतिष्पर्धालाई सुनियोजित गर्न चुनाव नामको नौटङ्की नै आयोजित हुने संवैधानिक व्यवस्था गरिएको छ । अगस्तीहरू अधिक से अधिक खाएर भोक मेटाउने अवसर प्राप्तिका लागि चुनावी नौटङकीमा नौ करोड खर्च गर्न पनि तयार ! जाबो चारपाँच वर्षमै अरबपति अगस्ती बन्न पाइन्छ भने जाबो करोड खर्च किन नगर्ने ? यसरी चुनिएका अगस्तीहरूले चुनिएपछि खाइजात्रा नचलाएर के चलाउँछन् त ?
यसरी नेपाली भूखण्ड अहिले खाइजात्रामय बन्न पुगेको छ । ल्वाँठ नेपाली जनता परम्परागत गाईजात्रामै मग्न छन् । उनीहरूकै मत लिएर सत्तासीन बनेका अगस्तीहरूचाहिँ धुमधामसँग आयोजित खाइजात्रामा व्यस्त छन्, अलमस्त छन् । उनीहरू खाएका खायै छन्, जति हसुरे पनि, जति घिचे पनि नभेटिने भोक झनपछि झन जागेको जाग्यै छ । अगस्तीहरू एकजुट भएर खाइजात्रामा लागेको लाग्यै छन् । अनि केको गाईजात्रा ? यसरी मुलुक पिटेको खाइजात्रामा खलल पुर्याउने छ कसैको तागत ?
०००
२७, साउन २०७९ को गाईजात्रा
Subscribe
Login
0 Comments
Oldest








































