साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्पादक्याैली :: अगस्तीहरूको खाइजात्रा !!

नरोकिएर, नबिसाएर, बेरोकटोक खाएका खायै छन् । खानु नै अगस्तीको नित्य कर्म ! लाज, घिन र सर्म नमानी खाइरहेका छन् । उनीहरूकै खान्तेपिन्ते कार्य सुसञ्चालनबाट यो राष्ट्र अहिले खाइजात्रामय बनेको छ ।

Nepal Telecom ad

पुराणकालीन समयको एक प्राचीन ग्रन्थमा चर्चा गरिएका एक पात्रको नाम हो अगस्ती । उनको भोक यस्तो थियो- देखे, भेटे र पाएजति सबै खाए पनि उनी अघाउँदैनथे । अगस्तीको भोकका अगाडि सिङ्गै समुद्र सुक्यो, उनले तनतनी पिए तर भोक मेटिएन । उनी थिए ऋषि तर उनको भोक थियो राक्षसी । यो प्राचीन सन्दर्भलाई बिर्साउने गरी आज नेपाली भूखण्डमा अगस्तीहरू खडा भएका छन्, उनीहरूको राक्षसी भोकले ती प्राचीन अगस्तीको भोकलाई पनि माथ गरिदिएको छ ।

जात्रा त नेपाली पहिचान नै हो । अन्यान्य जात्राको सांस्कृतिक सन्दर्भमा यो लठुवालाई त्यति सरोकार छैन । सिङ्गै समुद्र पिउँदा पनि नमेटिने भोक जागेका आधुनिक अगस्तीहरूले जुन खाइजात्रा चलाइरहेका छन्, तत्जात्राका बारेमा थोरैतिन वणर्न गर्ने उद्धेश्यले म उद्वेलित भएको छु । यो काखेकम्प्युटरको किबोर्डमाथि औँलाहरू मार्फत बिन्यास हुँदै गरेका यी अक्षर तिनै अगस्तीहरूका खाइजात्राप्रति समर्पित छन् ।

देखे, भेटे र पाएसम्म चिनोचपेटै नराखेर हसहस हसुर्ने विराट क्षमता बोकेका अगस्तीहरूकन यो लखरठ्याक सर्वप्रथम सादर प्रणाम गर्दछ । हामीले मानिआएका प्रभुहरूभन्दा पनि अपरम्पार छन् यी अगस्तीहरू । लोकतन्त्रको जगैबाट उठेर हलक्क भएका यी अगस्तीहरूको भोक जति खाए पनि नअघाउने प्रकृतिको भोक हो । सारा नेपालीको सुखसमुद्र सर्लक्कै पिउँदा पनि यिनीहरूको भोक मेटिएको छैन । भन्छन् विकासको आयोजना तर हरेक आयोजनालाई खाइजात्राको माध्यम बनाउँछन् । भनाइ सुनिन्छ- जनताको भोक मेटाउन आफू मरिमेटी गरिरहेको तर यथार्थमा अगस्तीहरू जुटेका छन् खाइजात्रामा ।

आँखाले देखेजति सबै बस्तु अगस्तीका लागि खाध्य वस्तु हुन् । खाएका खायै छन् । निर्माण खान्छन, ठेक्का खान्छन्, बजेट खान्छन्, कुनै पनि परियोजनाका मूलमुद्ध नै खानेकर्मसँग जोडेर बनाउँछन् । हरेक बुँदामा खाने प्वालहरू सिर्जना गरिन्छन् । यता टाल्यो उता चुहिन्छ, उता टाल्न खोज्यो अन्तै चुहिनथाल्छ । यी तमाम प्वालहरू खाइजात्रा मनाउनका निम्ति नै बने बनाइएका हुन् । अगस्तीको मूल कर्म नै खाने हो, धर्म खाइजात्रामा केन्द्रित छ, जात खञ्चुवा, जति उदरस्थ गरे पनि नअघाउनु अगस्तीहरूको वैशिष्ट्य । बस् । अगस्तीहरू सारै व्यस्त छन् अहिले । उनीहरू बजेट खानमा व्यस्त छन्, योजनै बजाउनमा व्यस्त छन् । ल्वाँठ नेपालीले पाइला पालामा तिरेको कर मिचमाच पारेर घिच्नमा व्यस्त छन् । कसैले यसरी त घिच्न भएन नि भन्यो भने उसको हर खुस्काउन बेर लाउँदैनन् । सरकारी निकाय अगस्तीहरूको खाइजात्रे बजार हो, अगस्तीहरू त्यो बजारका फौबन्जार ! धुतेर खाएका छन्, थुतेर खाएका छन्, उठेर खाएका छन्, लुटेर खाएका छन्, चुटेर खाएका छन् । देखादेखी खाएका छन्, हेर्दाहेर्दै खाएका छन् । नरोकिएर, नबिसाएर, बेरोकटोक खाएका खायै छन् । खानु नै अगस्तीको नित्य कर्म ! लाज, घिन र सर्म नमानी खाइरहेका छन् । उनीहरूकै खान्तेपिन्ते कार्य सुसञ्चालनबाट यो राष्ट्र अहिले खाइजात्रामय बनेको छ ।

हिजो अगस्तीहरू प्राय राजधानीतिरै हुन्थे । उनीहरूको बजार राजधानी केन्द्रित थियो । यतै लठारिन्थे, यतै बटारिन्थे । खान पाएकै थिए, प्युन जानेकै थिए । खञ्चुवा अगस्तीहरूको सङ्ख्या पनि अलि सीमित नै थियो । ल्वाँठ जनताले लडिदिएर थोरै सेता हातीका काला दाँत फुकालेपछि सत्तासवार, वर्षौंदेखि भोकाएका यी अगस्तीहरूको अर्को खाइजात्रे स्वर्ग निर्माण भएछ । स्थिति र परिस्थिति पूरै फेरिएको छ । पुराना अगस्तीको सुखद स्वर्ग भत्किएर नयाँ अगस्तीको राज्य निर्माण भएको छ । नव अगस्तीहरूको खाइजात्राले पनि नवीन रुप लिने नै भयो । अब खाइजात्रालाई सुव्यवस्थित र सुसञ्चालन गर्ने नयाँ नयाँ विधि र प्रक्रिया बन्न बनाउनै पर्‍यो ती बनिबनाउ पनि छन् तर मतैक्य छैन । मतैक्य नभएपछि वादविवाद नहुने कुरै भएन । उनीहरू बेला बेला आपसमा कुटाकुट पनि गर्छन्, झगडा र मारमुङ्ग्री पनि चल्छ । सिद्धान्तको दुवाइ दिँदै लाप्पा पनि खेल्छन् । तर जब खाइजात्रे कार्यक्रम शुरु हुन्छ, अथवा खाने कार्ययोजनामा मतदान प्रक्रिया आरम्भ हुन्छ, उनीहरू एकजुट हुन्छन् । सबका सब सर्वसम्मत । उनीहरू बीच अपूर्व मिलन हुन्छ । खाने पिउने परियोजना पारित हुन्छ । खञ्चुवा सिद्धान्तमा यस्तो अपूर्व मेल आजसम्म कहिँ देखिएको छैन । अगस्तीहरू भोक मेट्ने गरी खानका लागि लपक्कै मिल्छन । भोका अगस्तीहरू मिलेर खान्छन् । मिलेरै खाइरहेका छन् ।

हिजोका अगस्तीहरू इतिहासमै पुरिए । अब अहिलेको अगस्ती नयाँनयाँ दाउ, घाउ, तरिका र परिकारमा निर्लिप्त छन् । हिजो सिंहदरवारतिरै घरवार बनाएका अगस्तीहरू थिए । अहिलेका अगस्तीहरू सिंहदरवारमा मात्र कहाँ सीमित छन् र ? उनीहरूको खाइजात्रे भोक प्रादेशिक हुँदै नगरपालिका, गाउँपालिका र वडा पालिकासम्म पुगेको छ । अगस्ीहरू खानकै लागि बाटै नभएका ठाउँ पुल हाल्छन् । डाँडाका टुप्पा यसै अग्ला थिए, खानकै लागि करोडौँ भ्यु टाउवर बनाउँछन् । खानकै लागि प्रतिनिधि नामका अगस्तीहरू डोजरमालिक बन्छन् । मोटर जाओस् कि नजाओस् पाखापखेरा भत्काउँदै बाटो खन्छन् । यसरी जहाँ, जता र जे गरेर खानै खोज्ने अगस्तीहरूको अर्को वर्ग नै तयार भएको छ । को अगुवा अगस्ती हुने भनेर भयङ्कर प्रतिष्पर्धा हुनु स्वाभाविक हो । त्यो प्रतिष्पर्धालाई सुनियोजित गर्न चुनाव नामको नौटङ्की नै आयोजित हुने संवैधानिक व्यवस्था गरिएको छ । अगस्तीहरू अधिक से अधिक खाएर भोक मेटाउने अवसर प्राप्तिका लागि चुनावी नौटङकीमा नौ करोड खर्च गर्न पनि तयार ! जाबो चारपाँच वर्षमै अरबपति अगस्ती बन्न पाइन्छ भने जाबो करोड खर्च किन नगर्ने ? यसरी चुनिएका अगस्तीहरूले चुनिएपछि खाइजात्रा नचलाएर के चलाउँछन् त ?

यसरी नेपाली भूखण्ड अहिले खाइजात्रामय बन्न पुगेको छ । ल्वाँठ नेपाली जनता परम्परागत गाईजात्रामै मग्न छन् । उनीहरूकै मत लिएर सत्तासीन बनेका अगस्तीहरूचाहिँ धुमधामसँग आयोजित खाइजात्रामा व्यस्त छन्, अलमस्त छन् । उनीहरू खाएका खायै छन्, जति हसुरे पनि, जति घिचे पनि नभेटिने भोक झनपछि झन जागेको जाग्यै छ । अगस्तीहरू एकजुट भएर खाइजात्रामा लागेको लाग्यै छन् । अनि केको गाईजात्रा ? यसरी मुलुक पिटेको खाइजात्रामा खलल पुर्‍याउने छ कसैको तागत ?

०००

२७, साउन २०७९ को गाईजात्रा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x